काठमाडौँ, ७ कात्तिक
संविधान निर्माणका क्रममा विवादित बनेका विषयमा सहमति जुटाउन गठित राजनीतिक कार्यदलको अवधि ११ दिनका लागि थप भएको छ ।
संविधानसभा भवन नयाँ बानेश्वरमा आज बसेको २७ दलको बैठकले विवादित विषयमा कार्यदलमा थप छलफल आवश्यक भएको ठहर गर्दै यही कात्तिक १८ गतेसम्मका लागि समय थप भएको हो ।
गत असोज २५ गते बसेको सर्वदलीय बैठकबाट कार्यदलको गठन भएको थियो । कार्यदलका संयोजकमा एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको भ्रमणमा रहनुभएकाले उक्त पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले प्रतिनिधित्व गरेका थिए ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उपाध्यक्ष श्रेष्ठले थपिएको समयमा गम्भीरतापूर्वक छलफल भई विवादलाई नजिक ल्याउने काम हुने विश्वास २७ दलले गरेको जानकारी दिए ।
नयाँ संविधान निर्माणका मूलभूत अन्र्तवस्तु र सैद्धान्तिक खाकाका बारेमा पनि छलफल भएको तर विषयगत समितिको मस्यौदा प्रतिवेदनका विवादित बुँदाहरूका आधारबाट छलफल चलिरहेकाले यसलाई नै निरन्तरता दिनु सान्दर्भिक हुने बताए ।
बैठकमा सहभागी तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीले कार्यदलकै मागका आधारमा ११ दिन समय थप गर्ने निर्णय भएको जानकारी दिए ।
राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले छलफलको प्रक्रिया सकारात्मक भएको बताउँदै अब नेपालको प्रजातान्त्रिक संविधानको खाका तय गर्न नसकेमा कार्यदलको औचित्य नहुने धारणा राखे ।
बैठकमा संविधानसभाकी उपाध्यक्ष पूर्णकुमारी सुदेवीको उपस्थिति थियो । रासस
