बाँके ५ कात्तिक
कर्णाली अञ्चलका डोल्पा, बाजुरा, जुम्ला र सिमिकोटका लागि निजी विमानहरुले नियमित उडान नभर्दा सर्वसाधारण मर्कामा परेका छन् ।
सीता एयरले एक हप्तादेखि तथा तारा एयरले दसैँको टीकाको दिनदेखि कर्णालीमा उडान नभर्नाले यात्रुहरु मर्कामा परेका हुन् । यी बाहेक कर्णालीमा हप्ताको दुई दिन नेपाल एयरलाइन्सको जहाजले उडान भर्ने गरेको छ ।
सीता र तारा एयरका जहाजहरु बर्सेनि यो समयमा पूर्वमा उडान भर्छन् । विदेशी पर्यटकहरु पाइने भएकाले दुवै एयरका जहाजहरु काठमाडौँ–लुक्ला उडानमा छन् ।
तारा एयर नेपालगन्जका अनुसार पर्यटन वर्ष– २०११ का लागि नेपाल आएका तथा आउँदै गरेका पर्यटकका कारणले पूर्वमा उडान गरिरहेको र आजबाट पुनः कर्णाणीका जिल्लाहरुमा उडान सुरु गरिएको छ ।
सीता र तारा कम्पनीका एक–एकवटा विमान बिग्रिएका छन् ।
सीता एयरको विमान यसअघि लुक्लामा दुर्घटनामा परेपछि अहिलेसम्म मर्मत गरिसकिएको छैन । कर्णालीमा दुवै एयरका दुई–दुईवटा विमानले उडान गरिरहेका छन् ।
निजी कम्पनीका विमान नआएपछि दसैँमा घर गएका यात्रुहरु समयमा फर्किन पाएका छैनन् भने कर्णालीमा काम गर्ने कर्मचारीसमेत दसैँ मनाएर कार्यक्षेत्रमा फर्केका छैनन् ।
जहाज नउड्दा बिरामीहरु उपचारका लागि नेपालगन्ज र सुर्खेतसमेत जान पाएका छैनन् । विमान कम्पनी सेवामुखीभन्दा नाफामुखी भएको स्थानीय यात्रुको आरोप छ । रासस