काठमाडौँ २ कात्तिक
एकीकृत नेकपा (माओवादी) को पदाधिकारीको बैठकले वर्तमान कामचलाउ सरकारलाई बजेट ल्याउने अधिकार नभएको निष्कर्ष निकालेको छ । आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास नयाँबजारमा बसेको सो बैठकले नयाँ सरकार गठनपछि मात्र बजेट ल्याउन उपयुक्त हुने ठहर गरेको छ ।
बैठकपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मुलुकमा देखिएको आर्थिक सङ्कट समाधानका लागि राजनीतिक सहमति कायम गरी बजेटको वैकल्पिक व्यवस्था गर्न आफ्नो पार्टी तयार रहेको बताए ।
नयाँ सरकार छिटो गठन गर्न दलहरूबीचको वार्तालाई तीव्र तुल्याउनुपर्नेमा जोड दिँदै उहाँले त्यसका लागि शान्ति, संविधान र सहमतिका पक्षधरबीच एकता कायम हुनुपर्ने पार्टीको अडान यथावत रहेको बताए ।
मुलुकमा देखिएको अस्थिर राजनीतिका कारण वैदेशिक चलखेल बढेको भनी चिन्ता व्यक्त गर्दै त्यसतर्फ सचेत हुने राष्ट्रवादी शक्ति सचेत हुनुपर्ने आवश्यकता सो पार्टीले औँल्याएको छ ।
रासस