राष्ट्रपति र प्रधानमन्त्रीबाट टीका चलिरहेकोछ

Read Time:2 Minute, 27 Second

   

    काठमाडौँ ३१ असोज
 दशैं अवसरमा आज बिहान १०ः४३ बजेको शुभसाइतमा राष्ट्रपति डा रामवरण यादवले मूलपुरोहित रघुनाथ अर्यालबाट शितल निवासमा जमरा र देवी भगवतीको टीका प्रसाद ग्रहण गरे । राष्ट्रपति डा यादवले आफ्ना परिवारका सदस्यलाई टीका लगाई आशीर्वाद थापे ।

    आजै राष्ट्रपति डा यादवले प्रधानमन्त्री, संवैधानिक अङ्गका पदाधिकारी, मन्त्रीहरू, सरकारका उच्चपदस्थ कर्मचारीलाई पनि टीका जमरा लगाइदिए । राष्ट्रपति डा यादवले शीतल निवासमा पुगेका सर्वसाधारणलाई पनि टीका लगाइदिए ।  

    यसैगरी, प्रधानमन्त्री माधवकुमार नेपालले टीकाको साइतमा सरकारी निवास बालुवाटारमा आफ्ना ९५ वर्षीय बुबा मङ्गलप्रसाद उपाध्यायबाट टीका र आशीर्वाद थापे । सोही अवसरमा प्रधानमन्त्री नेपालले आफ्ना पारिवारिक सदस्य र शुभेच्छुकहरूलाई टीका लगाइदिए ।
   

आज देशभर आफ्ना मान्यजनबाट टीका, जमरा र प्रसाद लगाउने क्रम जारी  छ ।नेपाल पञ्चाङ्ग निर्याणक समितिले आज बिहान १०ः४३ बजेका लागि टीकाको उत्तम साइत तय गरेको भए पनि दिनभर नै टीकाको साइत हुने जनाएको छ । टाढाटाढाबाट आउने आफन्तजनहरूले भने कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाउने परम्परा छ । घटस्थापनादेखि पूजा आराधना गरी घरघरमा उमारिएको जमरा र दूर्गा भगवतीको प्रसाद तथा दही अक्षताले मुछिएको टीका लगाएर विजयादशमी मनाइन्छ ।

आज राजधानीका सडकमा टीका लगाएर आफन्तकोमा जाने–आउनेहरूको लर्काे देखिन्छ । सडकमा देखिएका अधिकांशको निधारमा रातो अक्षताको टीका र कान तथा कपालमा पहेँलो जमरा लगाइएको देखिन्छ । उपत्यका बाहिरबाट काठमाडौँमा बसोबास गर्नेमध्ये धेरैजसो मानिसहरू गाउँघरमा गएकाले यहाँको यातायात र आवागमन भने खुकुलो देखिएको छ ।
 

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %