दमौली, ३१ असोज
कृषकहरूलाई व्यावसायिकरूपमा सजीवनखेतीतर्फ अग्रसर गराई बायोडिजेल उत्पादन र उनीहरूको आयआर्जन वृद्धि गर्ने उद्देश्यले पाँचवटा जिल्लामा सजीवन खेती गरिएको छ ।
चितवनको दारेचोक–२ चुम्लिङटारस्थित सजीवन अनुसन्धान तथा तालिम केन्द्रले गोरखा, तनहुँ, कास्की, चितवन र मकवानपुर जिल्लामा सो खेती गराएको हो ।
केन्द्रका वनस्पतिविज्ञ डा. खेमराज भट्टराईले ती जिल्लामा चार लाख सजीवनका बिरुवा रोपण गरेको बताए ।
एभरेस्ट बायोडिजेल कम्पनी र विकास केन्द्र नेपालले सजीवनको दाना सङ्कलन गरी बिक्री गर्न सहयोग पु¥याउने केन्द्रका कार्यक्रम अधिकृत डिल्लीप्रसाद रिजालले बताए ।
नेपालमा भेटिएको २३ नम्बर जिनो टाइप नामकरण गरिएको सजीवन विश्वमा नै बढी तेल निस्कने वनस्पति भएको ल्याब परीक्षणबाट पुष्टि भएको जनाइएको छ ।
फिनल्यान्ड दूतावासको आर्थिक सहयोगमा तीन वर्ष सजीवनखेती विस्तार कार्यक्रमअन्तर्गत गाउँगाउँमा समूह गठन गरी खेती सुरु गरिएको केन्द्रले जनाएको छ ।
छ महिनायतादेखि सजीवनखेती कार्यक्रम सुरु भएको हो । एक हजार पाँंच सयभन्दा बढी किसान यसमा आबद्ध छन् । रासस