काठमाडौँ, ३१ असोज
प्रधानमन्त्री माधवकुमार नेपालले नेपालीहरूको महत्वपूर्ण चाड बडादसैँको उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेकाछन् । विजयादशमीको उपलक्ष्यमा आज दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री नेपालले दसँैं नेपाली जनताको ठूलो चाडका साथसाथै आपसमा सद्भाव, सहिष्णुता र एकता अभिवृद्धि गर्ने अवसर भएको बताएकाछन् ।
मनोमालिन्य, द्वेष र कलहलाई परित्याग गरी मेलमिलाप र मित्रतालाई थप सुदृढ पार्ने मौकाका रूपमा पनि विजयादशमीलाई लिन सकिन्छ भन्दै उहाँले अभिभावक र वरिष्ठहरूबाट सुख, समृद्धि तथा दीर्घायूको कामना र आशिष ग्रहण गर्ने एउटा विशिष्ट पर्व भएको उल्लेख गरेकाछन् ।
प्रधानमन्त्रीले सन्देशमा भनेकाछन्– त्यसैले स्वदेश र विदेशमा रहेका सबै नेपालीलाई दसैँले इष्र्या र अविश्वासबाट मुक्त भएर प्रेम, सद्भाव र विश्वासको दिशामा अग्रसर हुन पे्ररित गर्ने आशा मैले गरेको छु ।
शान्तिप्रक्रियालाई इमान्दारीका साथ पूरा गर्ने र संविधान निर्माणको कामलाई थपिएको समयसीमाभित्रै सक्नुपर्ने अभिभारा सबैको काँधमा रहेकाले ती कार्यलाई आपसी एकता, सहकार्य र दूरदर्शिताका साथ सम्पन्न गर्नुपर्नेमा जोड दिँदै यो कार्यलाई पूरा गर्ने अभियानमा यो विजयादशमीले सबैलाई विजयी बनाउन सकोस् भनि कामना गर्दछु । प्रधानमन्त्री नेपालले समस्त नेपालीमाझ यो दसँैंले हर्ष, उल्लास, सुख र समृद्धिका साथै एकता, मेलमिलाप, सहकार्य, संयम र सहिष्णुतालाई अझ बढाउन प्रेरित गरोस् भनी शुभकामना समेत व्यक्त गरेकाछन् ।
रासस