झापा (गौरिगञ्ज) ३१ असोज
प्रत्येक वर्ष दसैँको अवसरमा झापा र मोरङका आदिवासी सन्थालहरूले देखाउने गरेको सांस्कृतिक नाच सुरु भएको छ । आफूलाई काली देवीको भक्त बताउने सन्थालहरूले दसैँको नवमीदेखि कोजाग्रत पूर्णिमासम्म विभिन्न देवीका मन्दिर तथा शक्ति पीठहरूमा गएर आफ्नो मौलिक पोसाक तथा बाजागाजासहित यो नृत्य देखाउने गरेका छन् ।
दसैँको अवसरमा झापा र मोरङका विभिन्न क्षेत्रमा लाग्ने मेलामासमेत सन्थाल नृत्य मुख्यआकर्षण हुने गरेको छ । यसैबीच आज झापाको लखनपुर–१ को पाडाजुङ्गीमा सन्थाल नाचसहितको सांस्कृतिक मेला लागेको छ ।
वषौँअघिदेखि लाग्दै आएको यस मेलामा झापा, मोरङ तथा इलामका विभिन्न क्षेत्रबाट मेला भर्न आउने गरेका छन् । यसैगरी लखनपुरकै वडा नं १ र २ को मङ्गलबारेमा भोलि लाग्ने मेलाको समेत तयारी पूरा भएको स्थानीय व्यवस्थापक सगुन युवा क्लबले जनाएको छ ।
क्लबका सचिव विष्णु सुब्बाका अनुसार मेलाका लागि विभिन्न क्षेत्रबाट सन्थाल समूहसमेत नाचका लागि आउने टुङ्गो भएको छ ।
दसैँको अवसरमा झापाका लखनपुर, गौरादह, जुरोपानी, गौरिगञ्जलगायतका क्षेत्रमा लाग्ने मेलामा सन्थावल नृत्य प्रस्तुुत हुने गरेको छ । आर्थिकरूपमा विपन्न सन्थालहरूका पुराना बाजा बिग्रन थालेकाले नाच देखाउनमा समस्या आएको उनीहरूको गुनासो छ ।
रासस