घुमेर दशैं छुट्टि मनाउछन् मधेसका हुनेखानेहरु

Read Time:4 Minute, 52 Second

 

शीतल महतो

    वीरगञ्ज, ३० असोज
 खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर रामहित यादव यसपालि फरक किसिमले दसैं मनाउँदैछन् । दउसैंको बिदामा उनी सपरिवार वैद्यनाथधाम यात्रामा निस्केका छन् । अघिल्लो दसैं सपरिवार जनकपुरमा मनाएका नेपाल दूरसञ्चार कम्पनीमा कार्यरत ईन्जिनियर विनोद यादवले पनि यसपालि आफ्नो गन्तव्य भारतको कोलकाता बनाएका छन् । यसपालिको दुर्गापूजा कोलकातामा सम्पन्न गर्न उनी त्यसतर्फ लागेका हुन् ।
गत वर्ष दसैं पोखरामा मनाएका शिक्षक मनोज चौरसिया यसपटक नगरकोट र तातोपानीमा मनाउने योजनाका साथ घरबाट निस्केका छन् भने उद्यमी प्रमोद गुप्ता दार्जिलिङ, सिक्किम र कालिम्पोङमा रमाउने भएका छन् । सधैँ काममा व्यस्त रहने उनीहरू लामो छुट्टीको मौका पारेर यसरी घुम्न निस्केका हुन् । दसैंमा घुम्न जाने नेपाली विशेषगरी मित्रराष्ट्र भारतका विभिन्न प्रान्त र केही उच्च एवम् नवधनाढ्यहरू तेस्रो मुलुकमा समेत जाने गरेका छन् ।
    विगत पाँच वर्षयता दसैंमा घुम्न जानेको सङ्ख्या बढ्दै गएको छ । अरू बेलाभन्दा दसैंमा बाहिर घुम्न जानेको सङ्ख्या झन्डै दोब्बर हुन्छ, भारतीय रेल्वे टिकटको स्थानीय बिक्रेता हुकुम सिंहले भने –  ‘दसैंमा पुरी, बैङ्गलोर, माउन्टआवु, जम्मु र कोलकाता जानेको सङ्ख्या बढी हुन्छ । पुरी जाने जगन्नाथ मन्दिर, बैङ्गलोर जाने साईबाबा धाम, माउन्टआवु जाने ब्रह्मकुमारी स्थान, जम्मुजाने वैष्णोदेवी र कोलकाता जाने माकालीको दर्शनका लागि पुग्छन् ।

 सधैँ कामकाजमा व्यस्त रहनुपर्ने हँुदा दसैंको बेलामा केही दिनका लागि भए पनि बिदाको सदुपयोग गर्दै आफ्नो परिवारका साथ रमाइलो गर्ने सोचका साथ घुम्न निस्कनेको सङ्ख्या पनि अत्यधिक रहेको नेपाल दूरसञ्चार कम्पनीमा कार्यरत इन्जिनियर विनोद यादव बताउछन् । दसैँमा लामो बिदा भएका कारण कतिपयले भारतमा स्वास्थ्य उपचारका साथै घुम्ने योजनाका साथ जाने गरेका छन् ।

    ‘दसैंमा लामो बिदा हुने, गर्मी कम हुने र जाडोसमेत सुरु भइनसकेको हुँदा घुम्नका लागि यो समय अत्यन्त उपयुक्त हुन्छ’–शिक्षक मनोज चौरसियाले भने –‘परिवारका सबै सदस्यका लागि अनुकूल हुने यस्तो मौका अरू बेलामा पाउन गाह्रो हुन्छ । हामीले आन्तरिक पर्यटन प्रवद्र्धनमा विशेष जोड दिनुपर्दछ । दसैंमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विशेष गुरुयोजना र प्याकेज बनाएर त्यसको व्यापक प्रचारप्रसार गर्नुपर्दछ ।’

    यो बेलामा घुम्नजाने सङ्ख्या बढेकाले भारतीय रेलको टिकट उपलब्ध हुन छाडेको छ । रेल टिकट नपाएका कारण भारत घुम्नजाने योजना रद्द गर्नुपरेको व्यवसायी विनोद चौधरीले बताए । एक महिनाअघि नै बुकिङ गर्दा पनि टिकट कन्फर्म हुन सकेको छैन्, उनले भने, टिकट कन्फर्म नहुँदा भारतको रेल यात्रा रद्द गर्नुपरेको हो ।

    दसैं आउनुभन्दा डेढ–दुई महिनाअघि देखि नै नेपाली भारतका विभिन्न सहरको रेल्वे स्टेसनसम्मको टिकट बुकिङ गराउन आउँछन्, सीमावर्ती भारतीय सहर रक्सोल रेल्वे स्टेसनका रेल्वे टिकट आरक्षक सुनिल भन्छन् – ‘विशेषगरी नेपाली दिल्ली, हरिद्वार, जम्मु, बंगलोर, देहरादुन, कोलकाता, मुम्बई, गोवा, पुरीलगायत विभिन्न रेल्वे स्टेसनसम्मको टिकट बुकिङ गराउँछन् । सीमावर्ती भारतीय सहर रक्सोलबाट भारतका प्रमुख सहरसम्म ब्रोडगेज रेल्वे सेवा सञ्चालनमा छन् ।

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %