हेटौंडा ३० असोज
मकै र भटमास उब्जनीमा निरन्तर गिरावट आएपछि गोल्पिङटारका किसानले व्यावसायिकरूपमा तुलसीखेती थालेका छन् । हेटौँडा नगरपालिका–११ गोल्पिङटारका ६० परिवारले मकैबारीमा तुलसीखेती थालेका हुन् । साबुन, चियापत्ती, मञ्जन, स्याम्पुलगायत आयुर्वेदिक औषधिका रूपमा तुलसीको प्रयोग हुने गरेको छ ।
एकपटक लगाएको बालीबाट तीनपटकसम्म उब्जनी लिन सकिने उक्त वाली तीन महिनामा तयार हुने भएकाले किसानहरू आकर्षित भएका किसान प्रदीप पौडेल बताउँछन् । तुलसीको बोटमात्र नभई त्यसका पात, बीउ, जरा, डाँठको पनि उत्तिकै प्रयोग हुने गरेको छ । अन्य बालीलाई जस्तो श्रम र धन खर्च गर्न नपर्ने तुलसीखेतीमा प्रतिकट्ठा २० हजार रुपैयाँसम्म आम्दानी गर्न सकिने अर्का किसान निर्मला ढकालले बताए । । तुलसीको पात प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुने गरेको छ ।
रासस