म्याग्दी (बाबियाचौर), २९ असोज
शिख गाविसको पाउद्धार गाउँमा गर्भवती र सुत्केरी अवस्थाका महिलालाई सहयोग गर्ने उद्देश्यले आकस्मिक कोष स्थापना भएको छ । गोसेबराह आमा समूहमा आबद्ध २१ जना महिलाले आकस्मिक कोष स्थापना गरेका हुन् । गर्भ र सुत्केरी अवस्थामा आर्थिक अभावमा हुनसक्ने सम्भावित दुर्घटना रोक्न कोषको स्थापना गरिएको समूहकी अध्यक्ष नौमाया मगरले जानकारी दिइन । ।
कोषमा नगद जम्मा गर्न प्रतिव्यक्ति मासिक रु २० सङ्कलन गर्ने गरिएको उहाँले बताउनुभयो । त्यहाँका गर्भवती र सुत्केरी महिलालाई मासिक भेला बोलाई उनीहरूको अवस्था, सुरक्षित मातृत्व र मातृशिशु स्याहारका विषयमा छलफल गर्ने गरिएको अध्यक्ष मगरले जानकारी दिइन ।
चन्दा, नाचगान र सदस्यबाट मासिक रूपमा नगद सङ्कलन गरेर उनीहरूले रु ३५ हजार जम्मा पारेका छन् । कोषको रकम आर्थिक अभावमा सुरक्षित प्रसूति सेवा र पौष्टिक आहारको उपभोग गर्न नसक्नेलाई उपलब्ध गराउने गरिएको छ ।
प्राकृतिक प्रकोपपीडित पनि सो कोषबाट लाभान्वित बनेका छन् ।
रासस