नुवाकोट, २८ असोज
दुई सातादेखि नुवाकोटमा टाइफाइड र भाइरल ज्वरोको प्रकोप बढेको छ । गाउँगाउँमा भाइरल ज्वरोको प्रकोप फैलिएपछि अधिकांश गाउँका बिरामीहरू स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधिको अभावमा उपचार सेवा लिनबाट समेत वञ्चित भएका छन् ।
जिल्लाका धेरैजसो गाविसमध्ये सदरमुकाम आसपासका केही थोरै स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी र औषधि भए तापनि बिरामीको चापका कारण औषधिसमेत सकिएको छ ।
जिल्ला अस्पताल त्रिशूलीमा समेत बिरामीको चाप बढेको छ । जिल्ला स्वास्थ्य कार्यालय त्रिशूलीमा दैनिक ७० देखि ८० जनाको हाराहारीमा ज्वरो र टाइफाइडका बिरामी आउने गरेका छन् । साथै सदरमुकामका निजी स्वास्थ्य क्लिनिकहरूमा पनि बिरामीको चाप बढेको छ । अस्पतालमा बिरामीको चाप बढेपछि शय्याको अभावमा बिरामी थप समस्यामा परेका छन् ।
पन्ध्र शय्या क्षमता रहेको अस्पतालमा दैनिक चार दर्जन बिरामी भर्ना गर्नुपर्ने अवस्था आएपछि समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका मेडिकल सुपरिटेन्डेन्ट डा रमेशकुमार सिंहले जानकारी दिनुभएको छ ।
अस्पतालमा आएका अधिकांश बिरामीमध्ये भाइरल फिवर, टाइफाइड र आउँका बिरामी रहेका छन् । अस्पतालमा नुवाकोट जिल्लाका मात्र नभएर रसुवा जिल्लाका पनि धेरै बिरामी आउने गर्दछन् ।
प्रकोपका कारण बिरामीमा रुघा–खोकी लाग्ने, टाउको दुख्ने, ज्वरो आउने र घाँटी दुख्ने लक्षण देखिएका छन् । भाइरलकै प्रकोप देखिएपछि गाउँका विद्यालयमा शैक्षिक क्रियाकलापसमेत प्रभावित बनेको छ ।
स्वास्थ्यचौकीमा सिटामोल र जीवनजल मात्र पाइन्छन् । पश्चिमी भेग दाङसिङका प्रायःजसो घरका एक न एक सदस्य ज्वरो वा टाइफाइडको शिकार भएको स्थानीय युवा नारायण पौडेल बताउनुहुन्छ ।
भाइरल र टाइफाइडको प्रकोप ज्यादाजसो दुईपिपल, चतुराले बेतिनी, लच्याङ, काहुले, सुन्दरादेवीमा देखिएको छ ।
सदरमुकामबाट निकै टाढा रहेका यी क्षेत्रका बिरामी सडक अवरुद्ध हुँदा त्यस ठाउँबाट उपचारका लागि घन्टौँ पैदल हिँडेर बिरामी बोकी आउन बाध्य छन् ।
स्वास्थ्य चौकीमा औषधि र स्वास्थ्यकर्मी नभएपछि सुन्दरादेवी सातविसेका रामेश्वर भण्डारीले टाइफाइड र झाडापखालाले ग्रसित आफ्नी बिरामी आमाको राजधानी काठमाडौँमा एकसातादेखि उपचार गराइरहेका छन् ।
एक महिनाअघि गाउँमा पहिरोले खानेपानीको मुहान र ट्याङ्की बगाएपछि खोलाको दूषित पानीे पिउन गाउँले बाध्य भएपछि धमाधम ज्वरो, टाइफाइड र झाडापखाला बढेको भण्डारीको भनाइ छ ।
विभिन्न गाउँमा स्थापना भएका २० भन्दा बढी स्वास्थ्य संस्थाहरूमा गत साउनदेखि नै स्वास्थ्यकर्मी अनुपस्थित हुँदा ग्रामीण भेगका सर्वसाधारण चाडबाडको मुखमा स्वास्थ्य सेवाबाट वञ्चित छन् ।
जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटअन्तर्गत जिल्लाभर स्थापित स्वास्थ्य संस्थाहरूमध्ये त्रिशूली अस्पताल, तीनवटा प्राथमिक स्वास्थ्य केन्द्र, ११ स्वास्थ्य चौकी र ५३ वटा उपस्वास्थ्य चौकीमा कुल ७२ जना अहेबको दरबन्दी रहेको छ ।
त्रिशुली अस्पताल, तीनवटा प्राथमिक स्वास्थ्य केन्द्र, ११ वटा स्वास्थ्यचौकीमा रहेका २२ अनमीमध्ये १३ जनाले स्वास्थ्य संस्था नै टेकेका छैनन् ।
अस्पतालमा बढिजसो सरकारले तोकेका पाँच तहका बिरामी, असहाय, महिला स्वयम्सेविका, दलित, पिछडिएको वर्ग उपचारका लागि आउने हुनाले अहिलेसम्म रु सात लाख बराबरको औषधि वितरण गरिएको सिंहको भनाइ छ ।
रासस