काठमाडौँ, २८ असोज
संविधान निर्माणमा राजनीतिक दलहरूबीच रहेका असहमति हटाएर छिटो संविधान लेखनको काम अघि बढाउन गठित कार्यदलले संविधानका आधारभूत र सैद्धान्तिक विषयहरूमा छलफल सुरु गरेको छ । खासगरी दलहरूबीच रहेका मुलुकको शासकीय स्वरूप, सङ्घीय संरचनालगायत संविधानका मूलभूत विषयहरूमा रहेका असहमति टुङ्ग्याउन कार्यदलले छलफल सुरु गरेको हो । कार्यदलको सिंहदरबारमा आज बसेको पहिलो बैठकले संविधान लेखनका सैद्धान्तिक र मूलभूत विषयहरूमा गम्भीर बहस सुरु गरेको नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले बताए ।
पौडेलले उक्त कार्यदलको बैठक आउँदो कात्तिक २ गते १ बजे बस्ने निर्णय भएको पनि संवाददताहरूलाई जानकारी दिए । । बैठकले बुँदागत रूपमा प्रश्नावलीहरूमा छलफल गर्ने र त्यसक्रममा उठेका सैद्धान्तिक मतभिन्नताहरूको पनि टुङ्गो लगाउने सहमति बनाएको छ । सभामुख सुवास नेम्बाङले कार्यदलले सिधै प्रश्नावलीबाट छलफल सुरु गरेर त्यसमा देखिएका सैद्धान्तिक विषयमा पनि निर्णय गर्दै जाने सम्बन्धमा गम्भीर कुराकानी भएको बताए । । कार्यदलका संयोजक एवम् एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले १२ बुँदे विस्तृत शान्तिसम्झौता र अन्तरिम संविधानलगायत राज्यको अग्रगामी संरचनाका लागि कार्यदलको पहिलो बैठकमा सकारात्मक छलफल प्रारम्भ भएको बताए । ।
रासस