किन भीरे ‘जनै’ मगरले

Read Time:25 Minute, 48 Second

 

लेखक : मेजन पुन मगर

२०६७ भदौ ९ गते कान्तिपुरमा प्रकाशित मगरहरुले जनै फेरे भन्ने समाचार पढे पश्चात केही लेख्न मन लाग्यो । नेपालमा विद्यमान विभिन्न जातजाति मध्ये मगर, जनसंख्याको हिसाबमा तेश्रो ठूलो जाति हो । बहुभाषिक, बहुधार्मिक र बहुजातीय रूपमा रहेको नेपालको विविधता नै यसको सुन्दर पक्ष हो । राज्यले सबै जाति, भाषा र धर्मलाई उत्तिकै रूपमा फल्ने पूmल्ने मौका दिनु पर्दथ्यो । सबैले सबै क्षेत्रमा समान अवसर पाउनु पथ्र्यो । तर एक जातीय रूपमा एकलौटी हैकम चलाउदै आईरहेको कारण यस देशका भूमिपूत्रहरू राज्यले प्रदान गर्ने हरेक अवसरबाट बञ्चीत भईरहेको र जातीय चेतना नआएकै कारणले गर्दा यसप्रकारका समाचारहरू बन्ने गर्दछ ।

मगरहरू अथवा मंगोलियाईहरू यस महाद्वीपमा ढुङ्के युग वा शिकारी युगमा अर्थात आजभन्दा लगभग ४ हजार वर्ष अगाडि बसाई सर्दै आएको हुनुपर्दछ । चीनको ऐतिहासिक वृतान्तमा ईसापूर्व ३ हजार १ सयमा आजको मंगोलियाई देशको दक्षिण पामिर पठारदेखि पूर्व र तिब्बतदेखि उत्तरको क्षेत्रमा ठूलो भिषण भौगर्भिक प्रलय भई त्यो क्षेत्र सामुद्रिक बाढीले बलौटे भएकोले त्यस क्षेत्रका मानिसहरू अन्यत्र बसाई सरेको प्रष्ट संकेत गरेको छ ।
उक्त ईसापूर्व ३ हजार १ सय वर्ष भनेको आजभन्दा लगभग ४ हजार १ सय वर्ष अगाडिको घटना देखिन्छ ।

तिब्बतदेखि उत्तर, पामिर पठारदेखि पूर्व र मंगोलिया देशदेखि दक्षिण र चीनको सु–चु–यान क्षेत्रदेखि पश्चिममा हाल पनि विशाल बलौटे क्षेत्र छ र त्यहाँ कोकोनोर ताल, लोकनोर ताल जस्ता ठूला तालहरू पनि अवशेषको रूपमा छँदैछ । चिनियाँ इतिहासको उक्त वृतान्तसँग ठीक मिल्दो घटनालाई बाइबल, मनुस्मृति र किराँत मुन्धुममा पनि प्रष्ट उल्लेख भएको पाइन्छ । यसरी आजभन्दा ४ हजार वर्ष अगाडि मगर लगायतका अन्य मंगोलियाई वंशजहरू यस महाद्वीपमा प्रवेश गरेको देखिन्छ । (एम.एस.थापा मगर, अक्खारिका)
    मगर जातिको प्राचीन इतिहास खोजेर प्रकाश गर्ने कार्यमा नेपाली इतिहासकारहरू सदा मौन रहेकाले मगर जातिको नाम‘ ‘मगर’ कसरी रहयो भन्ने कुरामा अभैm अनभिज्ञ नै छ । पूण्य मल्लको कनकपत्र १२५८ मा‘ महाराजिः, महरा, महतो, मगर राजाहरूको उल्लेख भएको देखिन्छ । मुख्य रजाई भएको ठाउ बाह्र मगरातलाई महरलोक पनि भनिन्छ । यी कारणहरूबाट पनि मगरहरूको पूर्व रूप महर वा महाराजीका नै थियो । (खिलध्वज थापा मगर, मगर जाति ः एक ऐतिहासिक रुपरेखा)

    जुम्ला, डोटी र कुमाउ भेकतिर मगर जातिलाई‘ ‘महर’ भनिन्छ । पूण्य मल्लको वि.सं. १३९३ को ताम्रपत्रमा पनि‘ महर शब्द पाइन्छ । यसैले‘ ‘महर’ शब्दको भाषा विनाश हुँदाहुँदै पछि‘ मगर भएको हुनसक्छ । मगरहरू धेरै नै परिश्रम गर्ने जाति भएकोले जुनसुकै काम पनि‘ म गर्छु भन्ने परम्परागत स्वभाव छ, यस स्वभावले गर्दा‘ म गर्छु…..म गर्छु भन्दाभन्दै‘ मगर नाम भएको हुनसक्छ ।
    प्रो. राजनाथ पाण्डेले प्राचीन कालमा मगरलाई‘ ‘मंगल’ भनिन्थ्यो भनी लेखेका छन् । मगरहरू मंगोल जातिको एक हागा भएकोले उनीहरूलाई‘ मंगल भनिनु औचित्यपूर्ण तर्क मान्न सकिन्छ । यस दृष्टिकोणबाट मंगल भन्दा भन्दै‘ मगर भनिएको हुनसक्छ । सिक्किममा पहिले मगरहरूलाई‘ मंगर भनिन्थ्यो । मगर नामाकरणको विषयमा त्यहा के तर्क दिइन्छ भने मगरहरू‘ माङ्क वा मङ्क वा मङ्कोलको सन्तानहरू भएकोले‘ मगर शब्द रहन गएको हो । चिनियाँ र वर्मेलीहरू‘ माङ्क वा मङ्कलाई‘ मंगोलियन भन्ने गर्दछन् र ‘अर वा अरुई भन्नाले‘ सन्तान सम्झन्छन् । यसैले ‘माङ्क र अर वा मङ्क र अर बाट‘ माङ्कर वा मङ्कर हुन जान्छ । ‘मंगरको अर्थ‘ माङ्क वा मङ्क वा मंगोलको सन्तान जनाइने हुनाले ‘मगर’ भएको हुन सक्छ । (लाफा पत्रिका ०४९, वर्ष १, अंक १)
इतिहासमा मगरहरू राजा थिए । गण्डकी नदीको प्रसिद्ध ठाउ रिडीदेखि पश्चिम १८ र १२ बाट क्रमशः २२ से २४ से खस राज्य नामले चिनिदै कथित विशाल नेपालको एकिकरण भएको इतिहास छ । (भूम्याः बमकुमारी बुढा मगर) सुदूर पश्चिम क्षेत्रतिर १८ राज्य र पश्चिमाञ्चल क्षेत्रतिर १२ राज्यमा मगरले राज्य गरेका थिए । मगरभित्र तीन प्रकारको भाषा विद्यमान छ । १८ वटा राज्य भएको भागतिर बोलिने मगर भाषालाई अठार मगरात मगर भाषा, त्यही भेगतिर बोलिने अर्को मगर भाषा काइके र १२ मगर राज्यतिर बोलिने मगर भाषालाई बाह्र मगरात मगर भाषा भन्ने गरिन्छ ।
राज्य सञ्चालनमा बहुल जातिको सहभागिता हुनु पर्ने हो तर सिमित जाति बाहेक अन्य जातिहरू यो देशमा दोश्रो दर्जाको नागरिक सरह व्यवहार गरिंदै आइरहेको छ । यस देशमा आदिवासी जनजातिहरूलाई तल्लो तह वा विदेशी मुलुक पठाउने कार्य गर्नु बाहेक केही भएन । आदिवासी जनजातिहरूमा आफ्नै प्रकारका जीवन निर्वाह गर्ने तरिका, साँस्कृतिक पहिचान, लिखित वा अलिखित इतिहास, हामी भन्ने भावना भएका विशिष्ट पहिचानहरू छन् । जसलाई राज्य सञ्चालनार्थ जिम्मेवारिता वहन गर्ने उच्च जातिहरूले सकारात्मक रूपमा कहिल्यै व्यवहार गरेनन् ।

जनै लगाएका एक जना पुन मगर

चार हजार पर्वतमा भएको अतिक्रमण
    मगरात क्षेत्रमा भने १५ देखि १६ औं शताब्दीतिर पाल्पाली सेन राजाहरूले हिन्दुकरणमा जोडदिएको देखिन्छ । तर यस क्षेत्रमा राजा राम शाह (१६०३–०३६) को थितिको भने निकै ठूलो प्रभाव परेको देखिन्छ । राम शाहले हिन्दु विधिशास्त्रमा आधारित न्याय व्यवस्थालाई सुदृढ गरे, बाहुनहरूको प्रतिष्ठा र मान बढ्यो, उनीहरूले बढी विर्ता जग्गाहरू पाउन थाले, उनीहरूको रैकर जग्गा पनि बढी सुरक्षित हुन पुग्यो । बाहुन, सन्यासी, बैरागी, भाट र चौतरियाले ज्यान मारे पनि कपालमात्र मोडेर देश निकाला गरिदिने थिति विकसित भयो ९च्भअअबचमष्, ज्ञढढठ० ।
वि.सं. १६६३ सालमा मल्ल राजाले बेनीलाई राजधानी घोषित गर्न अगाडि– संगठित सैनिक र रणकौशलको विकास नभइसकेको अवस्थामा अर्को राज्यको कुनै एक स्थललाई व्यापारिक केन्द्र बनाउने साेंचले आक्रमण गर्ने राज्यले त्यो राज्यभन्दा बढी र सक्षम लडाकुहरू तयार गरी आक्रमण गर्दछ र रणकौशल पनि । हालसम्म पनि छलकपट गर्न नजान्ने मगरहरू त्यतिबेला झन् कुन अवस्थामा बसोबास गरिरहेका थिए भन्ने कुरा अध्ययनको विषय भित्र पर्छ । र, एक ठाउँमा बसिबसाई गरेको राज्यले अर्को स्थानको मान्छेलाई आफ्नो राजपाट कहिल्यै पनि त्यसै सुम्पिदैन । राज्य प्राप्त गर्न एउटै उपाय हुन्छ, लडाई गरेर जित्नु । कसैले पनि अर्को ठाउको मान्छेलाई यहाँ राम्रोसँग राज्य गर्नु भनेर बोलाएर राज्य सुम्पने कुरै हुँदैन । अझ बाईसे चौबिसे राज्य रहेको बेला । यदि लेखिन्छ भने– त्यो इतिहासलाई बङ्ग्याउने प्रयास मात्र हो ।
वि.सं १४९३ मा आनन्द बमको राज्य पर्वतमा स्थापना भएको मानिन्छ । भारत वर्षमा साम्राज्यको स्थापना भएपछि हिन्दु धर्म, संस्कृति र परम्परा जोगाउन दुर्गम उत्तरी पहाडतिर छिरेका ब्राह्मणहरूको धार्मिक प्रभाव यस क्षेत्रमा निकै बढ्न थाल्यो । विद्वान भारतीय पण्डितहरूको धर्मशास्त्र र कर्मकाण्डमा रहेको विशेष दखलले यस क्षेत्रका धर्मभिरु हिन्दुहरूलाई आकर्षित र प्रभावित गर्नु स्वाभाविक थियो । (चन्द्र प्रकाश बानियाँ, ऐतिहासिक पर्वत राज्य, ०६२)
स्मरणरहोस् १६ हजार पर्वत, ४ हजार पर्वत राज्य भनेको अहिलेको म्याग्दी, पर्वत र बागलुङ जिल्लाको एउटै रूप हो । विकट पहाडी भेगमा बसोबास गर्ने सोझा प्रकृतिपूजक मगरहरूलाई धर्मको नाममा विगतमा हिन्दु बनाइएको प्रमाण ऐतिहासिक पर्वत राज्य पुस्तकमा पाइन्छ । सोझा मगरहरू राज्य शक्तिको डर–त्रासमा आफ्नो धर्म परिवर्तन गरे पनि व्यवहारमा उनीहरूले पूज्दै आएको मौलिक शक्तिपिठ, डाँडा, देउरालीहरूलाई पूज्न पनि भूल्न सकेनन् । जसले गर्दा हिन्दुकृत भए पनि मौलिक परम्परागत रहनसहन, रीतिरिवाजले उनीहरू हिन्दु होइनन् भन्ने प्रमाण दिलाउछ । जनै फेरेका ती मगरहरुकै गाविसमा ४७ सय मिटर अग्लो ठाउमा रहेको खयर तालमा पूर्णिमाको दिन खयर बराहाको पूजा वर्षेनी गर्ने गरिन्छ । साथै उनीहरुकै शिख गाउ नजिक रहेको नाकाजीको थानमा सोही दिन नाकाजी बराहाको पूजा गर्ने गरिन्छ । जुन प्रकृति पूजा हो ।

१२देखि १४ औं शताब्दी बीच पश्चिममा गण्डक र कर्णाली प्रदेशतिर बस्ने बाहुन–क्षेत्रीहरूबाट नै हिन्दुकरणको प्रक्रिया प्रारम्भ भएको हो । सबभन्दा पहिले कर्णाली प्रदेशका बौद्ध तथा प्रकृतिपूजक खसहरू मध्ये राजा, रजौटा, ठूला–ठालु र हुनेखानेहरू हिन्दु बने र क्षेत्री, ठकुरी आदि भए (बिष्ट १९९६ः७०–७८) । त्यसपछि क्रमशः यो प्रक्रिया फैलदै गयो । जनजातिहरू मध्ये सबभन्दा पहिले मगरहरू हिन्दु बाहुन, क्षेत्री, ठकुरीको प्रभावमा परेर हिन्दु संस्कारहरू ग्रहण गर्न पुगे (शर्मा १९९७) ।

इतिहास जित्नेहरूको घोडा हो । जित्नेले हार्नेको इतिहास जस्तो पनि लेखिदिन्छन् । स–साना राज्यको अलिखित इतिहास मल्ल राजाहरूको प्रभुत्व बढेपछि लेखिदिने कुरा आएन भने ठकुरी राजाहरूको प्रभुत्व समाप्त भए पछि गोर्खाका राजा पृथ्वीनारायण शाहका सन्तानले लेखिदिने कुरा झन रहेन । यसरी यस क्षेत्रमा मगर राज्य रहेको इतिहास अलिखित रूपमा समाप्त भयो । यद्यपि म्याग्दीमा मगर राजाहरूले राज्य गरेको वृतान्त पाउन सक्छौं तर क–कसले, कुन–कुन ठाउँमा राज्य गरेका थिए अपुष्ट छ ।

निसीभुजी क्षेत्रमा मगरहरुको ४ हजार पर्वत भनेर चिनिने स्वतन्त्र राज्य रहेको थियो । चौबिसे राज्यहरु मध्येका शक्तिशाली राज्य १६ हजार पर्वतको शिलान्यस त्यही निसीभुजीको ४ हजार पर्वतबाट भएको थियो । मगराँत क्षेत्रमा सिङो एउटा मगर राज्यको स्थापना भएको ऐतिहासिक प्रमाण नभएतापनि स–साना मगर राज्यहरुको समूहलाई मगराँत भनिन्छ ।

हालको म्याग्दी÷पर्वत÷बाग्लुङ– अधिकांश रूपमा मगरको बाहुल्य रहेको क्षेत्र हो । चन्द्रप्रकाश बानियाका अनुसार पर्वत राज्यको राजधानी ताकम, पुला, ढोलठाना हुँदै वि.सं. १६३१ तिर बेनी बजारमा स्थानान्तरित भयो । व्यापारिक केन्द्रस्थलको रूपमा विकसित गर्न सक्ने भूमि देखेर नै त्यसलाई आफ्नो कब्जामा गरेका हुन् । र, बाईसे चौबिसे राज्य रहेको त्यस बेलाको राज्यमा अधिकांश ठाउँमा राजा वा त्यस ठाउँको हर्ताकर्ता (मुखिया) पनि मगरहरू थिए भन्न सकिन्छ ।

भूगोलको अध्ययन गर्दा म्याग्दी, पर्वततिरका अधिकांश ठाउको नाम मगर भाषामा राखिएको छ । मेङ्डीबाट अपभं्रश भई बनेको म्याग्दी– मगर शब्द नै हो । मेङ् र डीको अर्थ हुन्छ मुलको पानी । बुढा पाकाहरु अझै पनि म्याग्दीलाई मेङ्डी भनि उच्चारण गर्ने गर्दछन् । यसै गरि सदरमुकाम बेनीको मगर रूप बेडी हो । जसको अर्थ हुन्छ – क्षेत्र÷खण्ड ।

कुनै पनि जातिलाई दमन गरि राख्ने हो भने सर्वप्रथम उसको इतिहास र संस्कृतिलाई पूर्णतया नष्ट गर्नुपर्छ नत्र भने बेलामौकामा आफ्नो पूर्खाको इतिहास सम्झि विद्रोह गर्छन् भन्ने १५ औं शताब्दीमा म्याक्वेभिलेको भनाई नेपालमा अक्षरशः लागू गरियो । इतिहासमा उल्लेखित ‘बालीहाङ आज बाग्लुङ भएको छ भने तनहाङबाट तनहुँ, मासीहाङबाट मस्याम्, मालीहाङबाट वालिम भएको छ । मगर भाषामा हाङ भनेको राज्य हुन्छ । (एम.एस. थापा मगर– प्राचीन मगर र अक्खा लिपि)

म्याग्दीको पाखापानी गाउका पाईजा राजा सम्बन्धी कथन अझै पनि बुढापाकाहरूबाट सुन्नमा पाइन्छ । यसैले पनि ४ हजार पर्वतमा रहेका राजा मध्ये टुल्कु पाईजा (पुन) पनि एक हुन् भन्ने अनुमान सहजै लगाउन सकिन्छ । यस्तै गरि चिमखोलामा सत्तलसिंह र मुना गाउमा रन्के राजाले राज्य गरेका थिए भनिन्छ । (फिमला अंक ११–१२ र फिमला अंक १६) म्याग्दी जिल्लामा– टुल्कु पाईजा, चिमखोलाका सतलसिंह र मुनाका रन्के (पुन) राजा लगायत अन्य ठाउँमा पनि मगर राजाको अस्तित्व थियो वा छ भन्ने कुराको खोज तथा अध्ययन गर्न बाँकी नै छ । इतिहाससँग सम्बन्धित यस्ता कुराहरू लिखित रूपमा जित्नेले क्रमशः हार्नेको इतिहास नष्ट वा समाप्त गरिदिन्छ । यसैले खोज्न गाह्रो हुन्छ । यसको मुख्यकारण पुराना कृति, हस्तलिखित किताबहरू सम्बन्धीत मान्छे मरेपछि चिहानमा फालिदिने वा जलाउने (षड्यन्त्रपूर्वक) कारणले हाम्रो ऐतिहासिक पाण्डुलिपिहरु हराउदै गएको पनि सत्य हो ।

सुरेन्द्र वीर विक्रमको शासनकालमा अर्थात् १९१० (ई. १८५४) मा जङ्गबहादुरद्वारा जारी गरिएको इस्तिहारबाट सरकारी कामकाजमा तत्पश्चात् नेपालीबाहेक अन्य भाषाहरूको प्रयोगमाथि बन्देज लगाएको थियो ।  (मल्ल के. सुन्दर २००२ः२०८) नेवारी भाषा आन्दोलनका हस्तीहरू कविकेशरी चित्तधर ‘हृदय’  ‘आमा’ शीर्षकको कविता नेपाल भाषामा प्रकाशित गरे वापत सन्् १९४०  (वि.सं. १९९७ साल) मा १० वर्ष कैद परेका थिए । कवि सिद्धिचरण श्रेष्ठले ‘वर्षा’ शीर्षकको कविता नेपाल भाषामा प्रकाशित गरे वापत सन् १९४० मा सर्वस्वहरण सहित आजन्म कैद र फत्तेबहादुर सिंहले नेपाली विहार पुस्तक नेपाल भाषामा प्रकाशित गरे वापत सन् १९४० मै सर्वस्वहरणसहित आजन्म कारावास दिएका थिए । यसै गरी गाउघरका लिम्बूहरूलाई शिक्षित तुल्याउन प्रयत्न गर्ने छेन्ताङ, ताप्लेजुङ (पहिले आठराई) का लालसोर सेन्दाङले ७४ वर्षको उमेरमा वि.सं. १९७१ (सन् १९१४) मा ज्यान बचाउन देश छोडेर आफ्ना चेलाहरूसहित सिक्किम भाग्नु प¥यो । (डा. चैतन्य सुब्बा, २००२) । वि.सं. १९७८ (ई. १९२१) श्रावण २९ को राणा सरकारले एक इस्तिहार जारी गरी गैरनेपाली भाषामा लेखिएका कागजपत्रहरू अदालतमा प्रमाणस्वरूप पेश गर्न नसकिने व्यवस्था लागू भयो । (डा. चैतन्य  लिम्बू)

४ हजार पर्वतमा छन्त्याल र मगरहरु खानी खन्ने काम गरि जिविकोपार्जन गर्ने गर्दथे । र, उनीहरु आफ्नै भाषा, संस्कृतिमा रमाएका जातिहरु हुन् । विभिन्न ठाउको राज्य जित्ने क्रममा आफु माथि षड्यन्त्र हुने सम्भावना देखेर जातीय भाषा बोल्नबाट वञ्चित गराउनुको साथै दण्ड तिर्ने व्यवस्था मल्ल राजाहरुले लागू गरे । सबैलाई खस भाषा बोल्न लगाईयो । ४ पैसासम्म दण्ड तिराइन्थ्यो भन्ने कुरा अझै पनि बुढापाकाहरु भन्ने गर्दछन् । यही दण्डको कारण कालान्तरमा छन्त्याल भन्दा बढी मगरहरु पिडित बन्न पुगे ।

म्याग्दीमा छन्त्यालहरु अझै पनि मज्जाले भाषा बोल्छन् तर मगरहरु म्याग्दी, बाग्लुङ, पर्वत, गुल्मी, पाल्पाको पश्चिम भेगमा समेत भाषा बोल्दैनन् । यो त्यही दण्डको कारण मात्र नभई त्यो भन्दा ठूलो सजाय– मृत्युको भयको कारणले भएको हो भन्न सकिन्छ । मृत्युको त्रास मगरहरुमा निकै गराइएको वा आफ्नो भाषा बोल्न नछाड्ने कत्तिजनालाई सजाय दिएको हुनाले नै मर्ने त्रासको कारण उनीहरु भाषा विहिन हुन पुगे । र, जुन जातिबाट शासक बढी त्रसित बन्दछ– त्यही जाति नै सजायबाट बढी प्रभावित बन्दछ । निश्चित पनि थोरै जनसंख्यामा रहेका छन्त्यालहरु भन्दा धेरै जनसंख्यामा रहेका मगरहरुदेखि राज्य गर्ने राजाहरु बढी डराएका थिए । यसैले मगरहरुनै सजायबाट बढी प्रभावित बने ।

ढोलठानको राजाले टुलुलाई (टुल्कु) पराजित गरेका हुन् भनिन्छ । ठकुरी राजाहरुले बेनी विजय गरेपश्चात नजिकमा रहेको राज्यबाट खतरा हुनसक्ने अनुमान गरि त्यहाका मगर राजाहरुलाई पराजित गर्ने क्रममा पाखापानी तर्फ नजर लगाउदा त्यो राज्य आफ्नो अधिनमा पारेका हुन् भन्न सकिन्छ । र, मल्ल राजाहरू पहिले मगर नै हुन् भन्ने कुरा पनि उठेको छ । मल्ल युद्धमा निपुण भएको हुँदा पाएको मल्ल उपाधि कालान्तरमा जात हुन आएको कुरा नकार्न पनि सकिन्न । र, नेपालमा जात फेर्नेमा सबैभन्दा बढी मगर अनि तामाङ जाति अगाडि आउँछ । २०५९ सालमा शिख गाविसका केही गर्बुजाहरु जनै लगाएर आफुलाई उच्च जाति बनेको कुरा त्यति टाढाको पनि होइन । (फिमला अंक १, जनै विवाद र प्रथा मगरको पुस्तक ः जनै फेर्नेहरु)
आफ्नो जातीय प्रचलन नत्यागेकोदेखि उच्च जातिहरुले नेपालका विभिन्न जातिहरुको धर्म, संस्कृति र इतिहासलाई पूर्णरुपले नष्ट गर्ने वा नष्ट गर्न नसके विकृत गर्ने षडयन्त्र जोडतोडले चलाए । पश्चिम नेपालका विशेष गरि म्याग्दी, गुल्मी, अर्घाखाँची र बाग्लुङ तर्फका मगरहरुलाई मगर भाषा बोलेमा ४ पैसा दण्ड लाग्ने व्यवस्था गरियो भने दशैं वा अन्य चाडपर्वमा जीवजन्तुको बली प्रथालाई लादियो । धेरै पछि पृथ्वीनारायण शाहका पालामा हिन्दू धर्म स्वीकार नगर्ने लिम्बुहरुलाई २ पैसा दण्ड लगाइयो भने तिरोको आधार जातीय आधारमा निर्धारण गरियो ।

हलो नजोत्ने भएकोले ब्राम्हणहरुलाई ‘कुटे कोदालो तिरो भनि एक रुपैया एक पैसा तिरो लगाइयो भने हलो जोत्ने यहाका गैर ब्राम्हणहरु उपर ‘हले पाटेको तिरोको नाउमा एक रुपैयाँ तेह्र पैसा कर लगाइयो । नेवारहरुलाई ‘छिपो छापो तिरो र सार्कीलाई ‘सुजेरो तिरोको रुपमा एक रूपैया तेह्र पैसा कर निर्धारण गरियो । यसप्रकार जातको आधारमा निर्धारण गरेको तिरो र जातको आधारमा दण्ड सजाय भोग्नु पर्ने लालमोहर, सनद, रुक्का, खड्गनिशान, ऐन, कानुन नेपालमा भरिभराउ छ । (एम.एस. थापा मगर– प्राचीन मगर र अक्खा लिपि) यसरी त्यसबेलादेखि नै खस नेपाली भाषाको विकास र प्रसारमा मात्र ध्यान दिइएन, अन्य नेपाली (राष्ट्रिय) भाषाहरूको उन्मुलनमा पनि उत्तिकै जोड दिइयो (याक्खा राई १९९६, २७४–२७५) । अहिले म्याग्दीका मगरहरु जातीय भाषा विहिन भई खस भाषा बोल्ने भएका छन् ।

यसरी जातीय आत्म गौरवका चिजहरु माथि शासकले अतिक्रमण गरि आफूले गर्ने संस्कार प्रयोग गर्न लगाई मगरलाई संस्कृति विहिन बनाउने पहल समेत नगरिएको होइन । धार्मिक सहिष्णुताको लागि मगरद्वारा सामूहिक जनैधारण– यो पछिल्लो थाहा पाईएको नमूना मात्र हो । (कान्तिपुर दैनिक, २०५९ भदौं ६) जसको निरन्तरता स्वरुप अहिले (२०६७) पनि उनीहरूले जनै फेरेका हुन् । शरुमा जनै फेर्न खोज्दा उनीहरूले कुन प्रकारको यातना भोगे । उनीहरु कहा गएर  जनै फेरे । किन त्यस्तो व्यवहार भो बुझ्ने प्रयास उनीहरूले नै गर्नु पर्छ । सायद, त्यही बुझेर ३५ जनाबाट अहिले १८ जना मात्र भएका हुन् कि ।
जय करबाकेली !   

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %