एउटा मगर पर्व बिलुप्त हुदैंछ

Read Time:7 Minute, 48 Second

 

 यऊनाट मगर जातिको मौलिक पर्व हो । विशेष गरी स्याङ्जा जिल्लाको चण्डीभञ्ज्याङ्ग, आलम देवी, बीर्र्घा गा.वि.स.मा पर्ने मगर गाउँहरुमा फागुन पूर्णिमामा मनाइन्छ ।

भिम राना मगर

यसैगरी गुल्मीको याकसिङ्ग र पाल्पाको वौघागुम्बामा यो पर्व वसन्त पञ्चमीको दिन मनाइन्छ । होली पूर्णिमामा शहरी क्षेत्रमा रङ्ग र पानीको लोला हानेर मनाइएपनि यी गाउँहरुमा नाचगान तथा अन्य मनोरञ्जनका साथ मनाउने गरिन्छ ।

यो पर्व विशेष गरेर कृषिसँग सम्बन्धित छ ।  यो पर्व पूर्णिमाको अघिल्लो दिनदेखि शुरु भई लगातार चार दिनसम्म चल्छ । यस पर्वको नाम यऊनाट रहनुमा दुई वटा धारणा रहेकोछ । १) गाउँलेहरुले जिम्माल र मुखियालाई तरुल, बटुक (बारा) र जाँड कोसेलीको रुपमा दिने प्रचलन छ । मगर भाषामा दिनु लाई “यो” र कोसेलीलाई “नाट” भनिन्छ । यसरी यो+नाट बाट योनाट भयो र पछि कालान्तरमा यऊनाट भयो भन्ने अवधारणा छ । २) विशेषगरी पूर्णिमाको दिन बिहान आगो बालेपछि १२ः०० बजेको समयसम्म कुनै किसिमको काम गर्न नहुने र अरुको घर पनि छुन हँुदैन भनी प्रतिबन्ध लाग्दछ । १२ः०० बजेपछि मीरगाकले “नाट डासा” भनेपछि सबै प्रतिबन्ध फुकुवा हुन्छ । अर्थात “यो”े भनेको दिनु र “नाट” को अर्थ छुटकारा अर्थात छुटकारा दिनु हो ।

पहिलो दिन (गैडू)
यस पर्वको पहिलो दिनलाई गैडु भनिन्छ । यो दिन बिहान तरुल खन्ने, मगरहरुको विशेष खाना बारा बनाउने  देउली पखाल्ने , ढिकीमा कुट्ने र पकाउनुका साथै वर्ष भरी खेतीपाती गर्दा प्रयोग गरिने हातहतियार तथा विभिन्न किसिमका अन्नका बीउको पूजा हुन्छ । जसलाई गैडू पूजा भनिन्छ ।
यस पुजामा घरभित्र पोथी कुखुराको बली दिइन्छ भने आँगनमा भाले कुखुराको बलि दिइन्छ । यस पूजापछि तरुलको विभिन्न परिकार तथा बारा खाने चलन छ ।  

 दोश्रो दिन (पूर्णिमा)

यस दिन बिहानै उठेर आगो बाली  परिवारका सबैले आगो ताप्ने  गर्दछन् । आगो बालिसकेपछि गुन्द्री ओछ्याएर सुत्न हुदैन । त्यसरी सुतेमा आफूले लगाएको बालीनाली ढलेर नष्ट हुने जनविश्वास छ । बिहानै देखि ११÷१२ बजेसम्मका अवधिलाई नाट लागेको समय भनिन्छ । जुन समयमा अरुको घर छुन हुँदैन । अरुको घर छोएमा नेक ( सजाय) लाग्ने गर्दछ ।
उज्यालो भएपछि युवाहरु सिकार गर्न जान्छन् भने महिला तथा केटाकेटीहरु वनजंङ्गल गई घाँस काट्ने तथा नूहाई धुलाई गर्दछन् । यस दिन गाउँलेहरुले दुई जना व्यक्ति तथा आलम देवीको पूजारीलाई गाउँलेको प्रतिनिधि छनोट गर्दछन् । जसलाई ‘मिरगाक’ भनिन्छ । उनीहरुले ११ः०० बजे खाना खाइसकेपछि “नाट डासा” भन्ने गरिन्छ अथवा कुनै साङकेतिकरुपमा  मिरगाकहरुले खाना खाएपछि परम्परा अनुसार नाट डासा भनी जनसमुदायलाई जानकारी दिइन्छ ।
“नाट डासा” को अर्थ “बन्धन मुक्त” हो । त्यसपछि पूजारी धारामा गई नुहाएर शुद्घ पानी लिएर आउँछ । सो पानीलाई “मीलुडी” भनिन्छ । मीलुडी ल्याएपछि प्रत्येक घरको गाग्रोमा राख्ने प्रचलन  छ । त्यसपछि पूनः गैडू पूजा गर्ने ठाउँमा धुपधुवांर गरेपछि तरुल आदि खाइन्छ ।

यो दिन चेलिबेटी तथा पाहुना खुवाउने चलन छ । तत्पश्चात बुढापाका तथा युवाहरु एक जुट भई तारो (आर्चरी) खेल्छन् भने युवती तथा महिलाहरु गुप्फो खेल्छन् । यो दिन साँझ गाउँलेहरुले जिम्माललाई तरुल, बटुक (बारा) र जाँड कोसेली दिन्छन् । त्यसपछि पूनः मुखियालाई पनि कासेली दिन्छन् । यसरी गाउँलेहरुले जिम्माल र मुखियालाई कोसेली दिने परम्परालाई नै योनाट भनियो । पछि गएर यऊनाट भन्न थालियो ।

 तश्रो दिन ( टूकबाट)ः

यो दिन बिहानै धुपधुवाँर गरेपछि खाना खान तथा अन्य सबै कार्य गर्न फुकुवा हुन्छ । यो दिन दिउँसो पनि तारो हान्ने र गुप्फो खेल्ने गरिन्छ । सो दिन साँझ पुनः जम्मा भई झाम्र्या र जीउमामा नाच्ने गरिन्छ । नाचगान रातभरी चलिरहन्छ ।

 चौथो दिन  (नीकबाट)ः

यो दिन बिहानै युवायुवतीहरु तथा बुढाबूढीहरु एक ठाउँमा भेला भई दुई जना युवतीलाई लाहुरे बनाइन्छ र नाचगान गरिन्छ । ती युवती पुरुषको भेषमा सजिई टाउकोमा गलबन्दीको फेटा गुथी दिनभर नाच्ने परम्परा छ । त्यसलाई लाहुरे नाच भनिन्छ । लाहुरेहरुले हातमा रुमाल लिई नाच्दछन् । नाच हेर्न आउने आगन्तुकलाई रुमाल राखी पैसा झार्ने गरिन्छ । यसरी नाचेर जम्मा गरेको रकम मध्ये केही रकम दिनभरी नाचगान गर्ने टोली तथा जो–जसले पैसा दिएको हो उनीहरुलाई सुंगुरको मासु खुवाउने चलन छ भने केही रकम सामाजिक कार्यमा उपयोग गर्दछन् ।

हरेक वर्ष यऊनाट चार दिनसम्म विविध मनोरञ्जनका साथ मनाउदै आएको भएतापनि पछिल्ला वर्षहरुमा यो पर्व मनाउने कार्य क्रमिक रुपमा घट्दै गएकोछ । यसो हुनुको मुख्य कारण आधुनिकीकरण, सरकारी उदासिनता तथा देशमा व्याप्त बेरोजगारी हो ।
 त्यसैगरी स्थानीय समुदायमा आफ्नो भाषा र संस्कृतिको महत्वबारे ज्ञान नहुनु पनि हो । हामीले याद गर्नु पर्ने कुरा के हो भने आज स्याङ्गजाको दह्रौं सिरुबारी, स्वरेक र कास्कीको घान्द्रुक गाउँका स्थानीय समुदायले यिनै स्थानीय लोक संस्कृतिकै कारणले पर्यटकीय विकास गरी विदेशी मुद्रा आर्जन गरेकाछन् । हामीले पनि यो पर्वलाई नयाँ सोच र योजना बनाई सदुपयोग गर्न सकेमा अवश्य पनि आयआर्जनको माध्यम बनाउन सकिन्छ ।

( यऊनाट पर्वका अनुसन्धता रानाले यस सम्बन्धि एउटा बृत्तचित्र पनि बनाएकाछन् )

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %