दोलखा, १८ असोज । एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य गङ्गाबहादुर कार्कीले खिम्ती–१ सँग भएको विद्युत खरिद संझौता (पिपिए) को पुनरावलोकन नभएसम्म तामाकोशी–३ र किर्ने जलविद्युत आयोजना बन्न नदिने चेतावनी दिएका छन् ।
कार्कीले खिम्ती–१ मा तत्कालीन सरकारमा भएको अधिकारीहरुले गलत सम्झौताका कारण राष्ट्रले वार्षिक रु एक अर्ब ४६ करोड ७५ लाख घाटा व्यहोर्दै आएकाले स्थानीयले पनि केही नपाउने र राष्ट्रले पनि वर्षौंसम्म घाटा खानुपर्ने भएकाले आयोजना बन्नुको कुनै अर्थ नरहने बताए।
किर्ने जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी किर्नेमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा माओवादी नेता कार्कीले सो कुरा बताएका हुन् ।
‘वर्तमान अवस्थामा स्थानीय र राष्ट्रलाई फाइदा नहुने देखेर नै माओवादीले तामाकोशी–३ लगायत देशका ठूला १४ आयोजनामा काम गर्न नदिने भनेको हो कार्कीको भनाइ थियो ।
कार्यक्रममा नेपाली काँग्रेस दोलखाका सचिव केशवराज चौलागाईं र नेकपा एमाले दोलखाका उपसचिव प्रोणप्रताप केसीले स्थानीय वासिन्दा र मुलुकलाई फाइदा हुने गरी आयोजनाहरुको निर्माण गरिनुपर्नेमा जोड दिए ।
किर्ने जलविद्युत आयोजनाका प्रवन्धक खड्गबहादुर बिष्टले नर्वेजियन प्रतिनिधि र नेपाल सरकारबीच छलफलको माध्यमबाट समस्या समाधान गर्न पहल भइरहेको बताए ।
किर्ने जलविद्युत आयोजना ६० मेगावाट विद्युत उत्पादन गरिरहेको खिम्ती–१ जलविद्युत आयोजनाको सुरुङ, सर्ज साफ्ट आदि संरचनाहरु प्रयोग गरी वर्षायाममा प्रयोगमा नआएको खिम्ती खोलाको पानीलाई उपयोग गरी थप ६५ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । रासस