जीतबहादुर सिँजाली मगर साहित्य प्रतिष्ठानले यसवर्षको ‘जीवसीम पुरस्कार’ प्रा. वालकृष्ण पोखरेललाई प्रदान गरेको छ । भाषा शास्त्री पोखरेलको छ दशक पुरानो कविता संग्रह ‘कानुङ लाम’का लागि पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका कार्यवाहक अध्यक्ष संजोग लाफा मगरले बताएका छन् । मगर भाषाका आदिकवि जीतबहादुर सिँजाली मगर साहित्य प्रतिष्ठानले हरेक वर्ष पुरस्कार राशी रु। ५ हजारले बृद्धि गर्दै आएको छ ।
प्रतिष्ठानले राजधानीमा एक कार्यक्रम आयोजना गरेर पोखरेललाई सम्मान टकर्याएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले रु.२५ हजार राशीको पुरस्कार तथा प्रमाणपत्र पोखरेललाई प्रदान गरेका थिए । कार्यक्रममा विशेष अतिथि पूर्व मन्त्री तथा राष्ट्रिय जनमुक्ति पार्टीका सहअध्यक्ष गोरबहादुर खपाङ्गी, साहित्यकार डा. तारानाथ शर्मा, साहित्यकार मजुल, मगर नेपाल मगर संघका अध्यक्ष झकबहादुर थापा लगायतले मन्तब्य दिएका थिए । सन्त गाहा मगरको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका कार्यवाहक अध्यक्ष लाफा मगरले गरेका थिए भने संचालन रोम थापा मगरले गरेका थिए ।