A+ A A-

माओवादी फुट्नबाट घर्ति मगरले जोगाएका थिए-पुष्पकमल दाहाल


५ मंसिर २०६३ मा बृहत शान्ति सम्झौता गरेर १० वर्ष देखि चल्दै आएको सशस्त्र विद्रोहलाई औपचारिक रुपमा समाप्तिको घोषणा गरेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले फेरी आफूले क्रान्ति नछाडेको अर्को विवादास्पद अभिव्यक्ति दिएका छन । मंगलबार रोल्पाको थबाङमा आयोजित एक कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले भने-'मैलें क्रान्तिलाई त्यागेको छैन । पार्टी भित्रको अन्तर संघर्षलाई फुटको रुपमा नबुझनुस् । पार्टी भित्रको अन्तर संघर्षले पार्टी झन मजबुट भएर जान्छ ।'
 
माओवादीद्धारा युद्धकालमा स्थापित अजम्बर्ी जनकम्युन र त्रिभुवन विश्व विद्यालयको पहलमा माओवादी उद्गम थलो रोल्पामा निमार्ण गरिने ट्रफल अनुसन्धान केन्द्रको उद्घाटन गर्न हेलिकप्टर लिएर काठमाडौं देखि थबाङ छिरेका प्रचण्डले विद्रोही स्वभावका थबाङबासीलाई विश्वस्त बनाउन उक्त अभिव्क्ति दिएको जानकारहरुको विश्लेषण छ ।
 
एक पार्टी दुई कार्य नीति लिएर आ-आफ्नो पकड बलियो बनाउन लबिङ गरी रहेको एकीकृत नेकपा माओवादीका अध्यक्षले पार्टी कुनै पनि हालतमा नफुट्ने दावी समेत गरे । ०६१ मा थबाङ-१ कै फुन्तिबाङमा सम्पन्न बैठकमा माओवादी पार्टी झन्डै फुटको संघारमा पुगेको स्मरण पनि प्रचण्डले कार्यक्रममा गर्न भ्याए । त्यत्तिबेला पार्टीलाई फुट्नबाट थबाङका प्रभावशाली माओवादी नेता तेजमान घर्तीमगर 'दीर्घ'ले जोगाएको पनि प्रचण्डले बताए । प्रचण्डले भने-'अहिले पार्टीलाई दीर्घ जस्तै अभिभावक चाहिएको छ । पार्टी भित्रको अन्तर संघर्ष चाँडै अन्त्य हुन्छ ।'
तत्कालीन समयमा अन्य राजनीतिक दलहरुसँग सहकार्य गरेर जाने या विद्रोहकै बाटो रोजेर अघि बढ्ने भन्ने सन्दर्भलाई लिएर माओवादी पार्टी फुटको संघारमा पुगेको थियो ।

रोल्पाको थबाङमा स्थापना गर्न लागिएको ट्रफल अनुसन्धान केन्द्र दक्षिण एसियाकै पहिलो भएको दावी गरिएको छ । ट्रफल च्याउ उत्पादनका लागि अनुसन्धान केन्द्र स्थापना गर्न लागिएको हो । ट्रफल च्याउको विश्व बजारमा ्राम्रो माग रहेकोले च्याउ खेतीको माध्यमबाट थबाङबासीको जीवन स्तर सुधार्न उक्त च्याउ खेती गर्न लागिएको ट्रफल अनुसन्धान केन्द्रका कार्यक्रम संयोजक डाक्टर डिल्लीराज त्रिपाठीले बताए । कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका रजिस्ट्रार डाक्टर चन्द्रमणी पौडेलको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा थबाङबासीको तर्फबाट एकीकृत नेकपा माओवादी मगरात्त राज्य समिति सदस्य तथा पूर्व शिक्षक मन प्रसाद बुढामगरले ८ बुद्धे माग पत्र समेत अध्यक्ष प्रचण्डलाई पेश गरेका थिए । माओवादी अध्यक्ष प्रचण्डलाई पेश गरिएको माग पत्रमा फुलिवन-थबाङ-मुसिकोट सडक खण्ड यथाशिघ्र निमार्ण गर्नु पर्ने राजनीतिक तथा धार्मिक महत्व बोकेको जलजलालाई संरक्षण क्षेत्र घोषणा गर्नु पर्ने थबाङमा आंगिक क्याम्पस निमार्ण गर्नु पर्ने थबाङमा सुविधा सम्पन्न अस्पताल निमार्ण गर्नु पर्ने थबाङमा तटबन्ध निमार्ण गर्नु पर्ने लगायतका रहेका छन् । गत वर्ष जनुयद्धको वार्षिाक उत्सव मनाउन थबाङ आएका प्रचण्डलाई उत्तिखेर पनि उल्लेखित मागहरु थबाङबासीले पेश गरेका थिए । तत्कालिन समयमा पेश गरिएका माग पत्रहरुमा कुनै सुनुवाई नभए पछि पुनः ध्यानाकर्षणको लागि मागहरु पेश गरिएको एकीकृत नेकपा माओवादी मगरात्त राज्य समिति सदस्य बुढामगरले जानकारी दिए ।

प्रचण्ड पक्ष निकट मानिने नेता तथा कार्यकर्ताहरुको मात्र कार्यक्रममा उपस्थिति रहेको माओवादी स्रोतले बतायो । कार्यक्रममा पार्टी भित्रै गुट उपगुटमा रुमलिएका बैद्य पक्षधर मानिने रोल्पा क्षेत्र नं। २ का सभासद् थबाङ निवासी सभासद् सन्तोष बुढामगर रोल्पा क्षेत्र नं। १ का सभासद जयपुरी घर्तीमगरको समेत उपस्थिति थिएन । विगतमा जस्तो गाउँ गाउँबाट नेताहरुको स्वागतमा चर्का नारा जुलुश तथा सांस्कृतिक कार्यक्रमको रौनक पनि कार्यक्रममा देखिएन ।
 
हीराबहादुर घर्ती मगर, रोल्पा
 

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर