A+ A A-

सरकार प्रतिगमनतिर अघि बढेको छ- प्रा.डा. ओम गुरुङ

रूद्र बहादुर श्रीस

पोखरा, ३० भदौ

नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष प्रा.डा. ओम गुरुङले वर्तमान नेकपा नेतृत्वको सरकार प्रतिगमनतर्फ अघि बढेको आरोप लगाएका छन ।

अखिल नेपाल आदिवासी जनजाति महासंघ, प्रदेश नं. ४ ले पोखरामा आयोजना गरेको विरोधसभामा बोल्दै प्रा.डा. गुरुङले नेकपा सरकारमा जातीय अहंकारवाद हावी भएको बताए । अझै पनि राज्यसत्ता परिवर्तन नभएको जिकिर गर्दै उहाँले वर्तमान संविधान खारेज हुनुपर्ने धारणा राखे । सरकारले जनतालाई पीडा मात्र दिएको भन्दै नेपाली जनता अझै पनि सचेत हुनुपर्ने उल्लेख गरेका छन ।

अखिल नेपाल आदिवासी जनजाति महासंघका महासचिव नगेन्द्र राईले जातीय पहिचानका आधारमा स्वायत्त प्रदेशहरू निर्माण गरिनुपर्ने धारणा व्यक्त गरे । अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष निल बहादुर पुनले सरकारले आदिवासी जनजाति लगायतका उत्पीडित समुदाय विरोधी हर्कत गरेको भन्दै मगरात स्वायत्त प्रदेशका लागि आन्दोलन गर्नुपर्ने जिकिर गरेका थिए । अखिल नेपाल तमु राष्ट्रिय मुक्ति मोर्चाका उपाध्यक्ष छविलाल घलेले तमु र मगर लगायतका आदिवासी जनजातिको ऐतिहासिक भूमिलाई गण्डकी प्रदेश भनेर नामाकरण गरिएकोमा आपत्ति जनाउँदै तमुवान स्वायत्त प्रदेशका लागि कडा आन्दोलनको आवश्यकता औंल्याए ।

ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ (बीगेसो)का सभापति पदम सुन्दर लिम्बूले भूपू गोर्खाहरूलाई बेलायतले समान अधिकार दिन नचाहेको भन्दै नेपाल सरकारले भूपू गोर्खाको अधिकारका लागि कुनै पहल गर्न नचाहेको आरोप लगाए । सो अवसरमा अखिल नेपाल छन्त्याल राष्ट्रिय मुक्ति मोर्चाका नेता बम बहादुर छन्त्यालले पनि बोलेका थिए ।

Error: No articles to display