A+ A A-

गुरुङको बिदा फिर्ता नगरे आन्दोलन गछौँ – रेशम गुरुङ !

प्रेमध्वज गाहा 

नवलपरासी , कार्तिक १७  - नेपाल तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष रेशम तमुले सरकारले गरेको बिदा कटौतीका बिरुद्धमा आन्दोलन गर्ने बताउनु भएको छ । शनिबार तमु बिद्यार्थी छोँज धीँ नवलपरासीको ऐतिहासिक सातौँ जिल्ला अधिबेशनको समुद्घाटन समारोहमा बोल्नुहुँदै तमुले छोँज धीँको आगामी केन्द्रिय समितिको बैठकबाट आन्दोलन घोषणा गर्ने  बताउनुभएको हो ।



शनिबार  पश्चिम नवलपरासीको सुनवल ५ स्थित बनकट्टी पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा तमुले समृद्धिका नाममा बिदा कटौती गरी ३५ प्रतिशत आदिवासी जनजातिहरुलाई दुखी बनाएको आरोप लगाउनुभएको छ । “३५ प्रतिशत आदिवासी जनजातिलाई दुखी बनाएर समृद्धि आउँदैन ” , वहाँले भन्नुभयो । सत्ताधारी समुदायको चाड पर्बमा दिइएको बिदालाई यथाबत राखेर अन्य समुदायको एक दिन बिदा पनि कटौती गरेको भन्दै वहाँले सरकारको निर्णय प्रति असन्तुष्टि जनाउनुभयो ।

“समृद्धिकै लागि बिदा कटौति गरिएको हो भने सबैको बिदा कटौती गरौँ हामी पनि चित्त बुझाउँला , नत्र यो अन्याय हामी सहँदैनौँ ” वहाँको भनाइ थियो । फरक प्रसँगमा वहाँले प्रधानमन्त्री केपी ओली पनि आदिवासी जनजाति प्रति सकारात्मक नभएको बताउनुभएको छ । आफ्ना आफन्त र नातेदारलाई कार्यकक्षमै भेट्न सक्ने प्रधानमन्त्रीले आदिवासी जनजातिहरुलाई भेट्न नचाहेको वहाँको आरोप थियो । वहाँले आन्दोलनका लागि  छोँज धीँका जिल्ला समिति तथा भातृ सँगठनहरुलाई तयारी अवस्थामा रहन निर्देशन पनि दिनुभयो ।



कार्यक्रममा तमु बिद्यार्थी छोँज धीँ नवलपरासीका  अध्यक्ष नरेश तमुको अध्यक्षता रहेको थियो भने तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष रेशम तमुको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा तमु बिद्यार्थी छोँज धीँ का केन्द्रिय अध्यक्ष पुकार तमु , उपाध्यक्ष बमर्श तमु ,  , तमु ह्युल छोँज धीँका महासचिव सुर्य बहादुर तमु , केन्द्रिय सह कोषाध्यक्ष तौ बहादुर गुरुङ लगायत केन्द्रिय तथा जिल्ला नेताहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमको समुद्घाटन अघि सुनवल ४ तुरियाबाट पार्टी प्यालेससम्म गरिएको साँस्कृतिक झाँकी सहितको र्याली गरिएको थियो ।

अधिबेशनको बन्दसत्र १८ गते हुने भएको छ । बन्दसत्रबाट पुर्बी नवलपरासी र पश्चिम नवलपरासीको छुट्टा छुट्टै कार्य समित गठन हुने अध्यक्ष नरेश तमुले जानकारी दिनुभयो ।

 

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर