A+ A A-

आदिवासी जनजाति युवा महासंघ, नेपालको पोखरामा अन्तरक्रिया

‘नेपालको संविधानले आदिवासी जनजातिको जेनोसाइट ग¥यो’

रूद्र बहादुर श्रीस मगर

पोखरा, १९ साउन

आदिवासी जनजाति युवा महासंघ, नेपाल, संघीय परिषद्ले २४ औं विश्व आदिवासी दिवस तथा अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा पोखरामा एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै संयुक्त राष्ट्र संघको आदिवासीसम्बन्धी स्थायी मञ्चका उपाध्यक्ष फूलमान चौधरीले नेपाल सरकारले आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणापत्र र अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि नं. १६९ अनुमोदन गरेको ११ वर्ष भएपनि कार्यान्वयनमा कुनै चासो नदेखाएको प्रति चिन्ता व्यक्त गरे ।

अहिलेसम्म पनि अन्तर्राष्ट्रिय महासन्धि र घोषणापत्र कार्यान्वयन गर्न कुनै चासो नदेखाउनु नेपाल सरकारको नेतृत्व गरेका शासकको नश्लवादी चिन्तन रहेको भन्दै चौधरीले निरन्तरता र कार्यान्वयनका लागि आदिवासी जनजाति युवाहरू जुर्मुराउने बेला आएको बताए ।

‘संविधानमा आदिवासी जनजातिहरूको अधिकार तथा पहिचानसहितको प्रदेश नामाकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले आदिवासी जनजातिलाई नेपालका शासकहरूले पटक पटक झुक्याएको भन्दै आक्रोश व्यक्त गरे ।

‘संविधानमा आदिवासी जनजातिहरूको अधिकार सम्बन्धी आफ्नो प्रस्तुती राख्दै महासंघका सल्लाहकार अधिवक्ता शंकर लिम्बूले नेपालको वर्तमान संविधानले आदिवासी जनजातिहरूको जेनोसाइट गरेको आरोप लगाए । ‘नेपालको संविधानले आदिवासी जनजातिहरूको जेनोसाइट गरेको छ’, अधिवक्ता लिम्बूले भनाइ थियो, ‘आदिवासी जनजातिलाई नामेट पार्ने र अस्तित्व संकटमा पार्ने षड्यन्त्रका साथ अहिलेको संविधान जारी भएको छ ।’
आदिवासी जनजातिहरूले बेलैमा सचेत नहुने हो भने नेपालबाट आदिवासी जनजातिहरूको पहिचान नामेट गराउन नेपाली शासकहरू लागिपरेको भन्दै लिम्बूले आदिवासी जनजातिहरूको एकताबद्ध र सशक्त आन्दोलनको आवश्यकता रहेको उल्लेख गरे । सशक्त आन्दोलनविना आदिवासी जनजातिहरूले अधिकार प्राप्त गर्न नसक्ने उहाँको भनाइ थियो ।

पहिचानसहितको प्रदेश नामाकरणसम्बन्धी प्रस्तुती राख्दै तमुवान–मगरात संघर्ष समितिका प्रवक्ता हुम बहादुर गुरुङले पहिचानका आधारमा प्रदेश नामाकरण गराउन सशक्त आन्दोलनको आवश्यकता रहेको बताए । अधिकार स्थापित गराउन सबै युवाहरू अभियन्ता बनेर अगाडि आउनुपर्ने बताउँदै गुरुङले संघीयता मास्न भइरहेको षड्यन्त्र चिर्न सचेत हुनुपर्नेमा जोड दिए । आदिवासी जनजातिको आन्दोलन पहिचान प्राप्तिको आन्दोलन मात्र नभइ मानवअधिकारका लागि भएको आन्दोलन भएको उहाँको भनाइ थियो ।

आदिवासी जनजाति युवा महासंघ, नेपालका अध्यक्ष जीएस गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव हेमन्त राई र वरिष्ठ उपाध्यक्ष जुनु पुनमगरले स्वागत गरेका थिए ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर