A+ A A-

१९ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस गोरखामा पनि मनाइयो

रूद्र श्रीसमगर
पोखरा, ९ फागुन
१९ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिको सहयोगमा नेपाल मगर लेखक संघ जिल्ला समिति गोरखाको आयोजनामा बुधबार एकदिने मगर भाषासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं नेपाल मगर लेखक संघका केन्द्रीय सदस्य रूद्रबहादुर श्रीसमगरले साहित्य क्षेत्रबाट पनि भाषा संरक्षणमा ठूलो योगदान पु¥याउन सकिने हुनाले यस क्षेत्रमा कलम चलाउन आवश्यक रहेको बताउनुभयो । उहाँले मगर लेखक संघको स्थापना, उद्देश्य भावी रणनीतिलगायतका विषयमा बोल्नुभएको थियो ।


नेपाल आदिवासी जनजाति महासंघ तथा नेपाल मगर संघका अध्यक्ष विष्णु रानामगरले मगर भाषा संरक्षणका लागि पहल चाल्नुपर्ने र त्यसका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले पछिल्लो पुस्तामा मातृभाषासम्बन्धी ज्ञान नहुनु, मातृभाषा हाम्रो पहिचान हो भन्ने भावना नहुनु जस्ता कारणहरूले मगर भाषा लोप हुँदै गइरहेको बताउनुभयो । यसको संरक्षणमा युवा पुस्ता सचेत भएर लागि पर्नुपर्ने पनि बताउनुभयो ।


सो अवसरमा नेपाल मगर बौद्ध सेवा समाज, गोरखाका अध्यक्ष विष्णु थापामगर, नेपाल मगर संघ प्रारम्भिक समिति, गोरखाका पूर्व अध्यक्ष शेरबहादुर थापामगर, नेपाल मगर महिला संघ गोरखा नगर समितिकी अध्यक्ष पवित्रा थापामगर, सुसारे आमा समूह, गोरखाकी अध्यक्ष सीता पुनमगरलगायतले मातृभाषाको संरक्षणका लागि सबै जुट्नुपर्ने धारणा राख्नुभएको थियो ।


कार्यक्रमको समापन गर्दै नेपाल मगर लेखक संघ गोरखाकी अध्यक्ष अस्मिता थापामगरले मगर भाषा संरक्षणका लागि आगामी दिनमा मगर संघसँग समन्वय गरि छिट्टै नै मगर भाषा सम्बन्धी कक्षा सञ्चालन गर्ने बताउनुभएको छ । उपाध्यक्ष स्मिता थापामगरले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सोना थापामगरले गर्नुभएको थियो ।


पछिल्लो समय बढ्दो शहरीकरण, बसाइँसराइँ, पश्चिमी संस्कृतिको प्रभाव, मातृभाषामा पठनपाठनको व्यवस्था नहुनुलगायत विभिन्न कारणले मातृभाषा प्रतिको मोह घट्दै गएको पाइन्छ । मातृभाषा मानिसको सभ्यता र संस्कारको सम्बाहक भएकाले मगर भाषा मात्रै नभई कुनै पनि मातृभाषा लोप हुँदा समग्र भाषा, संस्कृति र संस्कारमा नै नकारात्मक असर पर्ने बताउँदै यसको संरक्षणमा राज्य तथा सरोकारवालाले पनि ध्यान दिनुपर्ने सहभागीहरूको भनाइ छ ।


सन् १९५२ मा तत्कालीन पाकिस्तान (हाल बड्डलादेश)मा बड्डाली भाषा बोल्न पाउनुपर्ने माग राखी गरिएको आन्दोलनमा त्यहाँका ४ जना विद्यार्थी बुधबारकै दिन मारिएको सम्झनामा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै आएको छ ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर