A+ A A-

प्रथम शहीदको शालिक अन्यत्र सारिए आन्दोलन गर्ने जनजाति अगुवाको चेतावनी

रुद्र श्रीसमगर पोखरा, १३ माघ

पोखराका विभिन्न चोकमा रहेका विभिन्न व्यक्तित्वका शालिकहरू पार्क बनाएर अन्यत्रै सार्ने कुरा आइरहेका बेला आदिवासी जनजाति अगुवाहरूले ध्यानाकर्षण भएको जनाएका छन् ।

पोखराको लखनचोकमा रहेको प्रथम शहीद लखन थापामगरको शालिक पनि अन्यत्र सार्न लागिएको हल्ला चलेको भन्दै उनीहरूले नसार्न खबरदारी गरेका छन् । लखनचोकस्थित प्रथम शहीदको शालिकसहितको आइल्याण्ड पोखरा लेखनाथ महानगरपालिकाले भत्काएपछि प्रथम शहीदको अपमान भएको भन्दै सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट चर्को विरोध भएका थिए ।

शुक्रबार नेपाल मगर संघ कास्कीको सभाहलमा सम्पन्न आदिवासी जनजाति अगुवाहरूको छलफलमा उनीहरूले प्रथम शहीदलाई राजा महाराजासँग दाँज्न नहुने तर्क गरे । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्व उपाध्यक्ष एवं नेपाल मगर संघका केन्द्रीय संरक्षक झकबहादुर थापामगरले प्रथम शहीदलाई जातिविशेष मात्रको पेवा बनाउन नहुने धारणा राख्नुभयो ।

नेपाल आदिवासी जनजाति महासंघका प्रवक्ता एवं नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोकामगरले परिवर्तनविरोधीहरूले प्रथम शहीदको अपमान गरेको भन्दै देशको प्रधानमन्त्रीले अनावरण गरिसकेको शालिक फाल्नु प्रतिगमनको संकेत भएको बताउनुभयो । नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गणेशलाल थकालीले राजा महाराजाका शालिक र शहीदहरूका शालिकलाई एकै ठाउँमा राख्ने दुष्प्रयत्न गर्न खोजिएको भन्दै लखनचोकको शालिक अन्यत्र सारिए कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

नेपाल मगर संघका केन्द्रीय महासचिव ज्ञानेन्द्र पुनमगरले प्रथम शहीद लखन थापामगरको शालिक तयार भइसकेको जनाउँदै प्रशासन र महानगरसँग समन्वय गरी लखनचोकमा पुनः शालिक स्थापना गरिने बताउनुभयो ।

संघका केन्द्रीय सदस्य खेम पुनमगर, कास्की जिल्ला अध्यक्ष पूर्णबहादुर रानामगर तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष धर्म गुरुङले प्रथम शहीदको शालिक पुनस्र्थापनाको पहल भइरहेको बताउँदै लखनचोकबाट पार्कका नाममा शालिक अन्यत्र सारिए दुर्भाग्य हुने चेतावनी दिनुभयो ।

हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी