A+ A A-

अस्थिर सरकारका कारण बाह्य हस्तक्षेप बढ्यो : अधिकारी

रुद्र श्रीसमगर

Image may contain: 7 people, people standing, people on stage and indoorपोखरा, मंसिर २ - नेकपा (एमाले)का युवा नेता एवं कास्की क्षेत्र नं. २ का प्रतिनिधिसभाका उम्मेदवार रविन्द्र अधिकारीले अस्थिर सरकारका कारण बाह्य हस्तक्षेप बढेको बताउनुभएको छ ।

संयुक्त आदिवासी जनजाति वाम गठबन्धन निर्वाचन प्रचार–प्रसार समिति, कास्की क्षेत्र नं. २ (क)द्वारा आयोजित उम्मेदवारसँग आदिवासी जनजाति भेटघाट कार्यक्रममा बोल्दै अधिकारीले बाह्य हस्तक्षेपबाट जोगाएर स्वाधीन राष्ट्र निर्माणका लागि वामपन्थीको सरकार आवश्यक रहेको जिकिर गर्नुभयो । “अस्थिर सरकारका कारण बाह्य हस्तक्षेप बढ्यो”, अधिकारीले भन्नुभयो, “स्थायित्व र बलियो सरकारका लागि वाम गठबन्धन बनाएका हौं, हामीलाई बहुमत दिएर हेर्नुस् ।”
सामाजिक न्यायसहितको लोकतन्त्र र लोकतन्त्रसहितको समाजवाद वामपन्थीहरूको मूल ध्येय रहेको भन्दै नेता अधिकारीले समाजवादी लोकतन्त्रको स्थापनाका लागि वाम गठबन्धन निर्माण भएको बताउनुभयो । त्यस अवसरमा उहाँले बुर्जुवाहरूभन्दा फरक देखाउन नसके कम्युनिष्टहरूको औचित्य नरहने उल्लेख गर्नुभयो ।
 
नेकपा (एमाले) कास्कीका अध्यक्ष एवं कास्की क्षेत्र नं. २ (क)का प्रदेशसभा उम्मेदवार कृष्ण थापाले कास्की जिल्लालाई वामपन्थीको किल्ला बनाउन आदिवासी जनजातिहरूको मुख्य भूमिका हुने भन्दै लोकतान्त्रिक वामपन्थी सरकार बनाउन वाम गठबन्धनको दुई तिहाइ आवश्यक भएको बताउनुभयो । “अब बहुमत मात्र होइन, हामी दुई तिहाइ ल्याउने गरेर अघि बढेका छौं”, नेता थापाले भन्नुभयो, “निर्वाचनमार्फत् कम्युनिष्ट सत्ता स्थापना गरेरै छोड्छौं ।”

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य लोकबहादुर थापा “धर्म”, नेकपा (एमाले)का नेता एवं नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष झकबहादुर थापा, नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभाकी समानुपातिक उम्मेदवार मीनाकुमारी गुरुङ, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य चेतबहादुर गुरुङ, मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालकी केन्द्रीय सदस्य एवं कास्की जिल्ला इञ्चार्ज एलिसा आले “सासा”लगायतले वाम गठबन्धनको विजयका लागि एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

संयुक्त आदिवासी जनजाति वाम गठबन्धन प्रचार–प्रसार समिति, कास्की क्षेत्र नं. २ (क)का संयोजक गजेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेकपा (एमाले)का युवा नेता प्रेम थापाले गर्नुभएको थियो ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी