A+ A A-

‘बार्दलीको छेउबाट’ मंसिर २९ र पुस १ गते मञ्चन हुने

रुद्र श्रीसमगर
Image may contain: 3 people, people standing

पोखरा, कार्तिक २५ - पोखरा पहिलो अभिनय स्कुल नेशनल आर्ट स्कुलले तयार पारेको नाटक ‘बार्दलीको छेउबाट’ आगामी मंसिर २९ र पुस १ गते पोखरामा मञ्चन हुने भएको छ ।

नेशनल आर्ट स्कुलले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी नाटक मञ्चनबारे जानकारी दिएको हो । कला कलाका लागि, कला जीवनका लागि भन्ने मूल उद्घोषका साथ स्थापना भएको आर्ट स्कुलले पहिलो ब्याचका कलाकारहरुले निर्माण र अभिनय गर्ने नाटक मञ्चन गर्न लागेको स्कुलका संस्थापक एवं निर्देशक कृष्ण उदासीले जानकारी दिनुभयो ।
बार्दलीको छेउबाट एक सामाजिक नाटक भएको र सामाजिक, आर्थिक, राजनीतिक विसंगति एवं विकृतिलाई उठाउँदै शान्ति, सद्भाव र सकारात्मक सोंच निर्माणका लागि सन्देश दिने उदासीले बताउनुभयो । सामाजिक अन्तरविरोध र त्यसले ल्याएको पारिवारिक विखण्डन र व्यक्ति विचलनको उठान नाटकमा गरिएको उदासीले जानकारी दिनुभयो । द्वन्द्वबाट सुरु भएर द्वन्द्वमै सकिने सो नाटकको लेखन तथा निर्देशन उदासी आफैंले गर्नुभएको हो ।

नेशनल आर्ट स्कुल, पोखराको प्रस्तुती रहेको नाटककी परिकल्पनाकार लक्ष्मी हमाल, मञ्च व्यवस्थापनमा सुमन केसी र मुकुन्द तिमिल्सिना, कोरियोग्राफी शान्ति थापा पुन, द्वन्द्वकलामा सगुन तामाङ, संगीतमा रोम तामाङ, सहनिर्देशन तथा व्यवस्थापन ममता मञ्जुल रहनुभएको छ । त्यस्तै, कलाकारहरुमा ममता मञ्जुल, निश्चल विमल, एसिला विक, कृष पौडेल, पार्वती थापा, विष्णु तिमिल्सिना, कुशल अधिकारी, लक्ष्मी न्यौपाने, सोनिया खत्री र प्रवेश श्रेष्ठ रहेका छन् ।

नेशनल आर्ट स्कुलका संस्थापक, निर्देशक कृष्ण उदासीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा स्कुलका संस्थापक, व्यवस्थापक ममता मञ्जुल र प्रेस सल्लाहकार सन्देश श्रेष्ठले पनि बोल्नुभएको थियो ।

 

 

 

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी