A+ A A-

मगर आदिकवि पुरस्कारबाट झुस्या मगर सम्मानित भाषा जति बाँड्यो, उति बढ्छ: पूर्व मन्त्री थापा

रूद्र श्रीसमगर
Image may contain: one or more people and people standing

दमौली, भदौ ३ - मगर भाषाका आदिकवि सु. रेखबहादुर सारूमगरको नाममा स्थापित “मगर आदिकवि सु. रेखबहादुर सारूमगर स्मृति साहित्य पुरस्कार–२०७४”बाट मगर भाषाका अग्रज साहित्यकार एवं भाषाविद् लोकबहादुर थापामगर ‘झुस्या मगर’ सम्मानित हुनुभएको छ ।

आदिकवि रेखबहादुरको ७४ औं जन्मजयन्तीका अवसरमा नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिद्वारा बुधबार तनहुँको दमौलीमा आयोजित कार्यक्रममा साहित्यकार झुस्या मगरलाई सो पुरस्कारबाट सम्मान गरिएको हो । साहित्यकार झुस्या मगरलाई पुरस्कार राशि ५ हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

सम्मान गर्दै पूर्व विज्ञान तथा प्रविधि मन्त्री एवं सांसद् शिवलाल थापामगरले मगर भाषा हराए मगर जातिको अस्तित्व नै हराउने बताउनुभयो । ‘मगर भाषा हराए मगरहरू पनि हराउनेछन्’, मगर भाषाका अग्रज साहित्यकार समेत रहेका थापामगरले भन्नुभयो, ‘आज मगर भाषा असुरक्षित अवस्थामा छ, यो निकै चिन्ताको विषय हो ।’ मगर भाषामा साहित्यको विकास हुनु अति जरुरी रहेको भन्दै उहाँले मगरात क्षेत्रका स्थानीय तहमार्फत् मगर भाषालाई हरेक कामकाजमा प्रयोग गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । कुनै पनि भाषा जति बाँड्यो उति बढ्ने उहाँको भनाइ थियो ।

मगर आदिकवि रेखबहादुरले मगर साहित्यका लागि गोरेटो बनाइदिएको उल्लेख गर्दै मगर आदिकवि रेखबहादुरलाई राज्यले विशेष सम्मान दिनुपर्ने उल्लेख गर्नुभयो । सो अवसरमा उहाँले मगर आदिकवि रेखबहादुर नाममा पुरस्कार स्थापना गरेकोमा खुशी व्यक्त गर्दै पुरस्कारको अक्षयकोषका लागि सांसद् विकास कोषमार्फत् सक्दो सहयोग गर्ने वचन दिनुभयो ।
Image may contain: 15 people, people smiling, people standing, shoes and indoor

सम्मानित भएपछि बोल्दै मगर भाषाका अग्रज साहित्यकार झुस्या मगरले एक मुठी सास रहेसम्म मगर भाषा, साहित्यको सेवा लागिरहने प्रतिबद्धता जनाउनुभयो । ‘एक मुठी सास रहेसम्म मगर भाषा, साहित्यमा मेरो कलम निरन्तर चल्नेछ’, साहित्यकार झुस्या मगरले भन्नुभयो, ‘पुरस्कारले मलाई अझै धेरै हौसला मिलेको छ, पुरस्कारका लागि मलाई योग्य ठानिदिनुभएकोमा धन्यवाद ।’ साहित्यको विकास नभएसम्म सभ्यताको विकास हुन नसक्ने भन्दै उहाँले मगर साहित्य लेखनलाई अघि बढाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

सो अवसरमा नेपाल मगर लेखक संघका केन्द्रीय सचिव रूद्र ‘सन्देश’ मगर, केन्द्रीय सदस्यद्वय रूद्रबहादुर श्रीसमगर, अनुराग थापामगर, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, तनहुँकी सह–सचिव मीना थापामगर, नेपाल मगर संघ तनहुँका सचिव मनिराज थापामगर, नेपाल मगर विद्यार्थी संघ गण्डकी अञ्चल समितिका सचिव सिजन थापामगर, मगर समाज सुधार समिति, दमौलीका अध्यक्ष पूर्णबहादुर थापामगर, नेपाल मगर विद्यार्थी संघ तनहुँकी अध्यक्ष ऋतु आलेमगर, मगर गुठ समिति, दमौलीकी सचिव मीना थापामगर, मिसेज तनहुँ–२०७४ की बिजेता विष्णु थापामगर, शुक्ला साहित्य संगमका रामशरण गैरेलगायतले मगर साहित्यको विकासमा मगर आदिकवि रेखबहादुरले महत्वपूर्ण योगदान गरेको भन्दै राज्यले कुनै वास्ता नगर्नु दुःखद् भएको बताएका थिए ।

नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिका अध्यक्ष गीता थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव ऋतुभक्त थापामगर र स्वागत तनहुँ जिल्ला अध्यक्ष रामबहादुर आलेमगर एवं उपाध्यक्ष धिरेन्द्र थापामगरले मगर आदिकवि रेखबहादुरको जीवनी वाचन गर्नुभएको थियो । त्यस्तै, सम्मानित व्यक्तित्व झुस्या मगरका बारेमा सह–सचिव रिमबाबु रानामगरले प्रस्तुती राख्नुभएको थियो ।


 

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी