A+ A A-

पत्रकारका लागि अंग्रेजी भाषाको कार्यशाला सम्पन्न

रूद्र श्रीसमगर
Image may contain: 5 people, people sitting and indoor

पोखरा, साउन १५ - कास्कीका पत्रकारका लागि दुई दिने अंग्रेजी भाषाको कार्यशाला आइतबार सम्पन्न भएको छ ।

अर्बिट इन्टरनेशनल एजुकेशनसँगको सहकार्यमा नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा आयोजित कार्यशालामा दुई दिनसम्म नेपाली पत्रकारका लागि अंग्रेजी भाषाको प्रयोग र आवश्यकताबारे छलफल भएको थियो ।

कार्यशालामा रेडियो नेपालका अंग्रेजी भाषाका पूर्व समाचार सम्पादक वरिष्ठ सञ्चारकर्मी माइकल चन्द र वरिष्ठ पत्रकार युवराज घिमिरेले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा अंग्रेजी भाषाको महत्व र आवश्यकता एवं प्रयोगका विषयमा सहजीकरण गर्नुभएको थियो । कार्यशालाका सहभागी पत्रकारहरूले अंग्रेजी भाषामा संवाद, समाचार संकलन र प्रश्नावली कसरी तयार पार्ने भन्ने बारेमा अभ्यास गरेका थिए । कार्यशालामा सहभागी पत्रकारहरूलाई प्रमाणपत्र समेत वितरण गरियो ।

कार्यशालाको समापन गर्दै अर्बिट इन्टरनेशनल एजुकेशनका अध्यक्ष केशवप्रसाद अधिकारीले व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत आफूहरूले कार्यशालाको आयोजना गरेको उल्लेख गर्नुभयो । ‘हामीले व्यवसायिक नाफा मात्रै हेरेका छैनौं’, अधिकारीले भन्नुभयो, ‘हाम्रो पनि केही सामाजिक उत्तरदायित्व छ भन्ने बुझेर नै हामीले यस्ता किसिमका कार्यक्रम गर्दै आएका छौं ।’ कास्कीका पत्रकारका लागि कार्यशालाको आयोजना गर्ने अवसर प्राप्त गर्नु खुशीको कुरा भएको भन्दै अधिकारीले आगामी दिनमा समेत पत्रकार महासंघसँग सहकार्यका लागि तयार भएको प्रतिक्रिया दिनुभयो ।

अर्बिटका निर्देशक शेषराज भट्टराईले अंग्रेजी भाषाको बढ्दो महत्वलाई ख्याल गरेर अंग्रेजी भाषासम्बन्धी कार्यशाला गर्दै आएको बताउनुभयो । ‘पोखराजस्तो अन्तर्राष्ट्रिय सम्पर्क हुने सहरमा अंग्रेजी भाषाको झनै महत्व छ’, भट्टराईले भन्नुभयो, ‘पत्रकारहरूका लागि अंग्रेजी भाषाका कुराकानी गर्न सक्ने क्षमता हुनु आवश्यक छ ।’ दुई दिनको कार्यशाला अपर्याप्त भएपनि पत्रकारका लागि अंग्रेजी भाषा बोलचालको सुरुवात भएको अधिकारीको भनाइ थियो ।

कार्यशालाका सहभागी पत्रकारद्वय निरज पन्त र स्मिता अधिकारीले कार्यशाला पत्रकारका लागि निकै उपयोगी बनेको प्रतिक्रिया दिनुभयो । नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अर्बिट इन्टरनेशनल एजुकेशनका प्रमुख कार्यकारी अधिकृत राधेश्याम मल्लले सञ्चालन गर्नुभएको थियो ।

 

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी