A+ A A-

ईश्वरको उपचारार्थ संकलित रकम परिवारलाई हस्तान्तरण

रूद्र श्रीसमगर

पोखरा, २४ जेठ
बागलुङको गलकोट नगरपालिका वडा नं. १०, पाण्डवखानीका १४ वर्षीय बालक ईश्वर श्रीसको उपचारार्थ संकलित रकम उनको परिवारलाई हस्तान्तरण गरिएको छ ।

सामाजिक अभियन्ताहरू दिपेश काउचा र गोविन्द पुनको नेतृत्वमा दाउरा काट्दा च्यापिएर खुट्टा भाँचिएका ईश्वरको घरको आर्थिक अवस्था कमजोर भएकाले उपचारार्थ सहयोग संकलन गरिएको थियो । उपचार खर्च कटाएर बचेको रकम २ लाख ५५ हजार २ सय ३० रुपैयाँ बुधबार हस्तान्तरण गरिएको हो ।

समाजसेवी सुक बहादुर काउचा र कर्ण बहादुर पुनको रोहवरमा ईश्वरकी आमा चन्द्र कुमारी श्रीस र समाजसेवी सु. चन्द्रलाल काउचालाई सो रकम हस्तान्तरण गरिएको उपचार सहयोग समितिका संयोजक गोविन्द पुनले जानकारी दिए । ईश्वरको उपचारमा ५८ हजार ८ सय १३ रुपैयाँ खर्च भएको थियो भने ३ लाख १४ हजार ९ सय ५४ रुपैयाँ रकम संकलित भएको थियो ।

मणिपाल शिक्षण अस्पतालमा सफल उपचारपछि ईश्वर अहिले डिस्चार्ज भइ घरमै आराम गरिरहेका छन् । उनको उपचारमा मणिपालले समेत शल्यक्रिया, चिकित्सक तथा शैया शुल्क निःशुल्क गरिदिएको थियो भने औषधीमा समेत १० प्रतिशत छुट दिएको थियो । आर्थिक अवस्था कमजोर ईश्वरलाई गलकोट नगरपालिका वडा नं. १०, पाण्डवखानीस्थित पाण्डवखानी माविले कक्षा १२ सम्म निःशुल्क पढाउने उद्घोष समेत गरिसकेको छ ।

ईश्वरको उपचारका लागि गलकोट नगरपालिका वडा नं. १०, पाण्डवखानी ज्याथरनिवासी स्थानीय क्लब र आमा समूहको तर्फबाट ८२ हजार ९ सय ७०, कलाकार गौरी गुरुङबाट २ हजार, घुम्टे समाज पोखराबाट ११ हजार ५ सय ६५, गलकोट नगरपालिका वडा नं. १०, पाण्डवखानीनिवासी सुकु तुलाचनबाट २ हजार, काठमाडौं निवासी दीपक थापामगरबाट ५ हजार, नमस्ते किड्स नेपालका अध्यक्ष सगुन गुरुङबाट २ हजार १ सय, युकेनिवासी जस्मी गुरुङबाट २ हजार ५ सय, सीता गुरुङ पोखराबाट २ हजार ५ सय, पाण्डवखानी समाज जापानबाट ६१ हजार ५ सय ९३, क्यानाडानिवासी मोडल सुनिता पुनबाट ७ हजार, सञ्जय लाभाजू र माला लाभाजूको पहलमा विवेक सेढाईंबाट १० हजार, सञ्जय लाभाजूबाट ५ हजार, माला लाभाजूबाट ५ हजार, प्रसिद्ध अर्यालबाट २ हजार, रजत थापाबाट २ हजार, विभु रावलबाट २ हजार, पराग विष्टबाट २ हजार, प्रसुन उपाध्यायबाट २ हजार गरी जम्मा ३० हजार रुपैयाँ, पूर्व सभासद् निरज पुनबाट २ हजार, जीतबहादुर पुन पल्लोखोलाबाट १ हजार ५ सय, लीलाराम श्रीस बगरबाट २ सय, सञ्चारकर्मी एसिका थापामगरबाट ५ सय, तिर्सना गुरुङबाट १ हजार, थम बहादुर र प्रेमकुमारी श्रीसको परिवारका तर्फबाट मीना र झम बहादुर काउचा, सीमा र अमित गुरुङ एवं सुजन र सन्तोष पुनबाट जम्मा १८ हजार रुपैयाँ, पाण्डवखानी समाज युकेबाट ६७ हजार ५ सय १० र पाण्डवखानी सेवा समाज कतारबाट १५ हजार ५ रुपैयाँ सहयोग प्राप्त भएको संयोजक पुनले जानकारी दिए ।

संयोजक पुनले सहयोग गर्ने सबै सहयोगदाताहरूलाई धन्यवाद समेत दिएका छन । ‘हामीलाई विश्वास गरेर ईश्वरको उपचारका लागि सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु’, पुनले भने, ‘बाबुको उपचार सफल भएको छ, संकलित रकम बाँकी उपचार र शिक्षा दीक्षाका लागि खर्च गरिनेछ ।’ आफूहरूले संकलित रकमको दुरुपयोग हुन नदिने समेत पुनले बताए ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी