A+ A A-

द्रब्य,ड्रग्स र सेक्स लतले छोरा दाँऊमा !


१ जुनमा नेपाली समुदायको तर्फबाट समाजमा राम्रो काम गरेवापत हङकङ सरकारले चुरा थापा मगरलाई सम्मान गरेको १ दिनपछि अर्थात ३ जुलाई बिहानै हङकङका करिब सबै  समाचारपत्र, रेडीयो र टेलिभिजनमा प्रमुखताका साथ स्थान दिइएको नेपाली सम्बद्ध नकारात्मक समाचारले धेरैको रौं ठाडो बनाइएदियो । सबैले जिब्रो टोके । त्यसै त स्थानीयहरुले नेपाली लगायतका दक्षिण एशियाली नागरिकहरुका निम्ति प्रयोग गर्ने विशेषण ‘ अपराधि, असभ्य, जंगली, रिसाहा, अशिक्षित’ ले आहत समुदायलाई त्यो समाचारले मुख छोपेर हिंड्ने अवस्थामा पुर्याईदियो । अहिले पनि यो समाचारको प्रभाव सेलाएको देखिदैन । केहि समययता राम्रो छवि बनाईरहेको नेपाली समुदायलाई पुनः प्रायशः स्थानीयहरुको मुखमा नेपालीहरु के विध्न लापरवाही र आपराधिक हुदोंरहेछन् है भन्न थालेको सुन्नु परेकोछ । यहांको मूलधारका मीडियाबाट आफ्नो धारणा बनाउने स्थानीयहरुका निम्ति यो समाचारले नुनचुक थप्ने काम गरेकोछ ।

एक जना ६ बर्षिय छोराका आमाले आफ्नो प्रेमिकासंग समय बिताउन छोरालाई एक्लै पार्कमा छाडिदिएपछि ति बालकलाई ३ जना केटाहरुले कुटेर नालीमा गाडिदिएकाथिए । त्यसरी हराएका छोरालाई एकछिन खोजेर नपाएपछि ति महिलाले न थप खोज्ने प्रयास गरिन न प्रहरीलाई रिपोर्ट नै गरिन । ४८ घण्टापछि ति बालकलाई त्यहि अध्यारो फोहोर नलीबाट उद्दार गरिएकोथियो ।  यस सम्बन्धमा छापिएका समाचार अपुस्ट र सतही थिए । प्रहरी, महिलालाई चिन्ने, बच्चाका विद्यालयका संगीहरु र तिनका अभिभावकसंग गरिएको कुराकानीपछि घट्ना सम्बन्धमा केहि रोचक तथ्य पत्ता लागेकोछ, जसले हङकङको नेपाली समाजको फुंग उडेको कुरुप अनुहारको बयान गर्दछ ।

 

लिवागं लिम्बु

फिल्मलाई बिर्साउने घटना
लिवागं लिम्बु ( ६ बर्ष ) लाई सदा झैं शनिवारको दिन उनका ३७ बर्षिय आमा विनु लिम्बु ( नाम परिवर्तन ) युमातेई स्थित वालगृहमा लिन पुगेकि थिईन । लिवांग सानो छदैं तिनको आमा बुवाको सम्बन्धमा परेको दरारका कारण उनलाई सरकारको सहयोगमा त्यसरी छुट्टै राखिएकोथियो । बुवाको अत्तोपत्तो नभएको र आमाले पाल्न नसक्ने अवस्था रहेको बताईएपछि तिनको लामो समय देखि त्यहां पालनपोषण हुदैं आईरहेकोथियो । प्राप्त जानकारी अनुसार, उनी स्वंय लागु औषध सेवनकर्ता थिईन । त्यसैले पनि बच्चा उनको जिम्मामा दिइएको थिएन । तर साताको दुई चोटी आमा छोराको भेट गराईदिने र केहि घण्टापछि सांझ पुनः बालगृहमा फर्काइदिने ब्यवस्था मिलाइएकोथियो । २९ जुन, शनिवार त्यहि नियम बमोजिम आमा छोराको भेट भएकोथियो ।
तर रात बितिसक्दा पनि लिवागं नफर्किएपछि उनको सम्पूर्ण रुपमा रेखदेख गर्ने धाई आमा चोङ ( बर्ष ५३) अत्तालिन थालिन । उनले सानैदेखि लिवांगलाई आफ्नै बच्चा सरह हेरचाह गर्थिन । लिवागंले पनि चोङलाई गडमडर भनि सम्बोधन गर्दथे ।

रातभर लिवाङ नफर्किएपछि र तिनको आमाले नै कुनै खबर नगरेपछि चोङले प्रहरीलाई खबर गरिन । दिनभर खोजखबर भयो । तर लिवाङ कतै फेला परेनन् ।  अनुसन्धानको क्रममा प्रहरीले केहि यस्तो कुरा पत्तो लगायो जसले तिनलाई आश्चर्यमा पार्यो । खबर थियो,ति महिला छोरालाई लिएर पार्कमा खेलिरहेको बखत आएको एक कलका कारण उनी लिवांगलाई “एकछिन खेल्दै गर म तुरुन्त आँउछु” भनि हराएका रहेछन् । तर उनी घण्टा बित्दा समेत फर्किएनन् । प्रहरीलाई तिनले दिएको बयान अनुसार, उनी आफ्ना ३६ बर्षिय प्रेमीसंग बाहिर निक्लिएकी थिईन ।

बाल अपराधको भयावहता
उनी निक्लिएपछि लिवांग पार्कमा साथीहरुसंग खेल्दै गर्दा एक जनासंग भनसुन भएछ । एकछिनपछि ८ बर्षिय ति साथीले दुई जना केटा ( एक ८ बर्ष र अर्काे १४ बर्ष) लाई डाकेर ल्याएछ र उनीमाथि बर्सन शुरु गरेछ । तिनलाई खेलिरहेको जार्ज भि मेमोरियल पार्कबाट चुट्दै १४ बर्षिय ति केटा ( उनी पनि नेपाली नै हुन् ) ले अलि पर रहेको चिङपिङ स्ट्रिटको फोहोर बग्ने नालीमा लगि उत्तानो पारि गाडिदिएका रहेछन् । उनीहरुले ६० सेन्टीमिटर गहिरो र ४५ सेन्टीमिटर फराकिरो नाली माथिबाट  सिमेन्टको १८ किलोको भारले बन्द गरिदिएकाथिए । त्यसमाथि एउटा ठेलागाडीले च्यापि दिए । र, ति भागे । त्यसरी च्यापिएका ६ बर्षिय बालक रातभर पानी पर्दा समेत कसैको उद्दार पाउन सकेनन् । तिनको स्वर नालीमै दबेर गयो ।

प्रहरीले लाख खोज्दा पनि नपाँउदा र घट्ना स्थलका क्षेत्रमा हल्लाखल्ली भैसकेपछि सोमवार ११ बजे नाटकिय रुपमा घट्नामा संलग्न एक ८ बर्षिय बालक गई प्रहरीचौकीमा इतिबृतान्त बताईदियो । आफ्नै आंखा अगाडि भएको घट्नाबारे प्रहरीलाई बताईदिएपछि लिवांगको उद्दार र १४ बर्षिय अभियुक्तलाई पक्रने काम गरिएकोथियो । आमा र उनका श्रीमानलाई यसअघि नै पक्राउ गरिसकिएकोथियो । हाल ति दुबै धरौटीमा रिहा छन् र लिवांग अझै कोंगवा अस्पतालमा उपचार गराईरहेकाछन् । उनको घाउचोट सामान्य भएतापनि मानसिक डरका कारण अझै उनी सामान्य अवस्थामा आईसकेका छैनन् । बिशेष स्याहार गरिदैछ ।
प्रहरीले उद्दार गर्दा बच्चा सामान्य आवाज सम्म निकाल्न सक्ने अवस्थामा थिए । उनको शरिरैभरि चोटैचोट लागेको, शरिरमा पानीको मात्रा कम भएकोले ज्यादै नाजुक अवस्थामा थियो ।

भासमा नेपाली समाज

हङकङमा बस्ने करिब ४० हजार नेपाली समाजभित्र चियाउने हो भने यो तिब्र शहरमा पारिवारीक मूल्य, मान्यता र तिनका धारणाहरु पनि त्यहि गतिमा परिवर्तन भैरहेको देखिन्छ । विश्वकै महगो यस शहरमा सामान्य जिवनयापन गर्न पनि कडा केहनत गर्नुपर्ने बाध्यता छ । कम्तिमा मासिक ५० हजार नेरु सानो फ्ल्याटमा खर्चनुपर्ने यस समृद्धशाली शहरमा पाईला पाईलामा पैसा फुक्नुपर्ने हुनाले रातदिन खटेर काममा जोटिनुपर्ने नियति नै हो । भाषा र शिक्षाका कारण राम्रो नोकरीमा पहँुच बनाउन नसकेका नेपालीहरुले राम्रो आयका लागि कन्स्ट्रक्सन, बार, रेष्टुरेन्ट र सेक्युरिटीमा नगई धर छैन । कन्स्ट्रक्सनमा त कम्तिमा १२ घण्टा ड्युटी गर्नुपर्ने र आउन जाने समय जोड्दा दैनिक करिब १६ घण्टा काममै बिताउनुपर्छ ।  कामले लखतरान भई थाकेका ति आउनासाथ भोलि सखारै ड्युटी जान बिस्तरा पक्रनुपर्ने हुँदा तिनले दिनभर बच्चा कहाँ गए, के गरे, पढे पढेनेन् केहि हेर्ने पाउदैनन् । एक त ति आँउदा बच्चा सुतिसकेका हुन्छन् र बिहान काममा जाँदा ति उठेकै हुदैनन् । त्यहि हुनाले सातामा एक दिन मात्र भेट हुने गर्दछ ।

स्वभावतः अभिभावकत्व नपाएका बच्चाहरु पार्कमा गई खेलेर मन बहलाउने, गेम सेन्टरमा जाने र संगी बनाउन शुरु गर्छन् । त्यहां प्रायशः आफु जस्तै संगी तिनले भेट्छन् र तिनको कुरा मिल्न जान्छ ।  तिनले त्यहांबाट सिक्ने कुराहरु अधिकाधिक नराम्रा हुने गर्छन । किनकी त्यस्ता पार्क वरिपरि कुलतमा फँसेकाहरु र दुब्र्यसनमा फँसाउने ग्यागं नै  यताउति गरिरहेका हुन्छन् । बिस्तारै ति कुलतमा फँस्ने, आपराधिक मनोबृत्ति बढ्ने र दुब्र्यसनमा फँस्न थाल्छन् । त्यसरी फँसाइएका टिनएजर्सहरुको पार्कमा बेलाबखत हुने ग्याङफाईट त्यसैका नमुना हुन् । तिनलाई यहाँ रहेका नेपाली समुदायकै केहि गुण्डाहरुले दुरुपयोग गरिरहेकोले पनि अवस्था संगीन छ ।
माथिको प्रकरणमा एकजना बालकलाई निर्मम तरिकाले कुटेर त्यसरी नालीमा गाडेर फाल्न सक्ने ति बालकहरुको मानसिकताले अनुमान गर्न सकिन्छ, हाम्रा बच्चा कति भयावह कुलतमा फसिंरहेकाछन् । कति खतरनाक हुदैं गैरहेकाछन् । हामीले दिन नसकेको अभिभावकत्वको कमीले कलिला बच्चाहरुको मानसिक बिकास खतरनाक रुपमा आपराधिक हुदैं गैरहेकोछ । भोलि तिनलाई यहाँका गुण्डाहरुले दुरुपयोग गर्नेहुन् । घट्ना सेलाएकोछैन, गत साल गुण्डाहरुद्धारा त्यसरी कलिला बच्चा दुरुपयोग गरिदा ग्याङ फाईट( नेपाली टिनएजहरुबीच भएको ) मा एक जना निर्दाेष टिनएज छात्रको धारिलो हतियारको प्रहारबाट मृत्यु भएकोथियो । त्यसको आरोपमा कलिला केटाहरु जेल सजाय काटिरहेकाछन् । त्यसरी अपराध गर्नेहरु गतसाल हङकङका जेलमा सय जना जति थिए । यस्तो कुरुप छ, नेपाली समाजको हनुहार ।

द्रब्य, दुब्र्यसन र सेक्स
नेपालका विभिन्न गाँउ र शहरबाट यहाँको चकाचौंध दुनियामा छिरेकाहरु यसको ग्ल्यामर्समा यसरी फँस्न पुग्छन् कि ति चाहेर पनि बाहिर निक्लन सकिरहेकाछैनन् । लिवांगको बाउ आमाको दुखदायी बिछोड पछाडिको कारण हङकङको चकाचौंध प्रमुख कारण पनि हुनसक्छ, जसले दाम्पत्य सम्बन्धलाई मात्र ध्वस्त पारेन निर्दाेष बच्चाको भविष्य नै अन्धकार पारिदियो । अभिभावकविहिन बनाईदियो ।
हङकङ आईसकेपछि लोग्ने स्वास्नी दुबै आत्मनिर्भर भएपछि क्रमशः ति स्वभावतः स्वतन्त्रता खोज्न तर्फ उद्दत हुन्छन् । पैसा हातमा भएपछि हरेक चीज खरिद गर्न सकिने यहाँ ति त्यसको स्वाद चाख्न लालायित हुन्छन् ।र, त्यसले ग्ल्यामर्स, नशा, यौनको यस्तो दुनियाँमा पुर्याईदिन्छ कि मान्छे चाहेर पनि त्यसबाट पार पाउन सक्दैन । हङकङमा लागु औषध दुब्र्यसनीहरुमा नेपालीको संख्या बढी रहेको रेकर्ड बेलाबखत सार्वजनिक भैरहन्छ । त्यसले ब्यक्ति आफु मात्र डुब्दैन पारिवारिक संरचना नै तहसनहस बनाईरहेको देखिन्छ ।
लिवांगको आमा आफै दुब्र्यसनी रहेकोले यहि नशाका कारण उनको परिवार विखण्डन भयो या परिवार विग्रिएपछि नशाको लतमा पुगिन उनी बोलेपछि थाहा होला तर यहि कारण उनले भएको आफ्नो बच्चालाई समेत रखवारी गर्न सकिनन् । आफ्नो प्रेमीले बोलाएको तालमा गएकी उनी छोरालाई भुल्ने गरि अलप हुनुपर्ने बाध्यता यहि दुब्र्यसनका कारण भैदिएकोछ । यसरी द्रब्य ( पैसा), दुब्र्यसन र सेक्सले सयौं नेपाली परिवार छिन्नभिन्न भएको यहाँको यथार्थ हो ।
पछिल्लो समय बच्चाहरु पनि यस्तो आपराधिक कर्ममा फस्दैं गैरहेकाछन् । यो अत्यत डरलाग्दो रुपमा फैलिरहेको देखिन्छ । आश्चर्य के छ भने करिब २ सय संस्था छन् तर तिनले नेपाली समाजको यस्तो दुर्दान्त पाटालाई आँखा चिम्म गरेर बसिदिएकाछन् । बरु तिनले उल्टै मनोरन्जन कार्यक्रम गरेर ब्यक्तिलाई ऐयासी बनाउने बाटोमा सहयोग गरेको जस्तो पो देखिन्छ । अभिभावकलाई सजग बनाउदै तिनको बच्चालाई कसरी पालनपोषण गर्ने भन्ने काउन्सलिङ गर्ने काम नेपाली संघ संस्थाको हो । यदि अझै ति विविक्यू, डिस्को पार्टी, भट्टी, रेष्टुरेन्ट डान्समा मात्र भुल्दै जाने र संस्थाहरुले पनि त्यस्तो वातावरणलाई प्रोत्साहन दिदैं जाने हो भने लिवांगको जस्तो नियति अन्य बालबच्चाहरुले पनि भोग्नुपर्नेछ । सयौं बालाहरु अभिभावकविहिन हुनेछन् ।


-लक्ष्मण थापाको सहयोगमा

Last Updated on Thursday, 04 September 2014 11:44

Hits: 1771

गोलीको बोली मात्र बुझ्ने नेपाली राजनीतिको डरलाग्दो पाटो


जेवी पुन मगर
नेपालमा धनी र गरिबबीच ब्यापक असमानत छ त्यसैले त्यो असमानता हटाउन वर्गीय मुक्तिको बाटो पार गर्दे अगाडि बढ्नुपर्छ भन्दै गरिब, पिछडिएका र राज्यबाट बहिष्कृत ठूलो जमातलाई कम्युनिष्ट राजनीतिको बाटो देखाउन थालिएको पनि आधा शताब्दि भन्दा बढी भैसकेकोछ । तर नेपाली गरिबी, उपेक्षित र उत्पिडितहरुको अवस्था जहांको तहिं छ । बि.स. २००६ सालदेखि सांगठनिक रुपले नेपालमा कम्युनिष्ट अर्थात वर्गीय राजनीतिको शुरुआत भएको हो । तर त्यस अघि वि.स. २००३ सालमै नेपाली काग्रेंसले त्यस्तो वर्गीयतामा आधारित राजनीति शुरु गरेकोथियो ।
पचास बर्ष भन्दा बढी जुन राजनीतिले सरोकारवालाहरुको जीवनस्तरमा तात्विक असर पारेको छैन त्यसकै पछि अझै रोमान्चकारी आकर्षण  देखिन्छ । २०४६ सालअघि नेपाली कम्युनिष्ट पार्टीहरुको राज्यसत्तामा प्रत्यक्ष संलग्नता उल्लेख्य हुन सकेन तर बाहिरबाट तिनको भूमिका कम थिएन । यो अवधिमा नेपाली काग्रेंस नै सत्ताको केन्द्रमा रहयो । त्यतिबेला नेकाको मुद्दा आजको कम्युनिष्ट दलहरुको भन्दा कुनै अर्थमा कम थिएन । नेकाले नै नेपालमा  हिंसात्मक राजनीतिको शुरुआत गरेकोथियो ।
आजका कम्युनिष्ट बाहुनहरु जनै लगाई पहिचानको सह–अस्तित्वको वकालत छाट्दै पुराण बाचन गरिरहेको भेट्न सक्छौं तर त्यतिबेलै नेकाका क्रान्तिकारी बाहुनहरु जनै फालेर हलो जोत्दथे । हिन्दु सत्ताको दबदबा रहेको अवस्था जहां बाहुनले हलो जोते चारपाटा मुडाईदिने कानुनी ब्यवस्था थियो, त्यस्तोमा नेकाका युवा बाहुनहरु धर्म छाड कर्म गर भन्दै देशभरी जागरण छर्दे हिंड्थे । २००७ सालमा अहिले माओवादीले गरे जस्तै  जनजाति युवा र भूपू लाहुरेहरुलाई लिएर नेकाले सशस्त्र संघर्ष नै गरेकोथियो । त्यसैले २००६ मै स्थापना भएको कम्युनिष्ट दलहरु नेकाको छेंऊ सम्म पनि पुग्न सकेका थिएनन् । कम्युनिष्टका बेफजुल लाग्ने नारा र आदर्शवादी तिनका नेता भन्दा नेकाको ब्यावहारिक र त्यो दलका  प्रतिबद्ध नेताहरु जो जनजनसंग भिज्थे, ले सबैलाई आकर्षित पारेकोथियो । जबकि त्यतिबेला विश्वका २९ वटा राष्ट्रमा कम्युनिष्ट सत्ता स्थापना भएकोथियो र तिनको ब्यापक सहयोग नेपाली कम्युनिष्ट दलहरुलाई प्राप्त थियो ।
तर नेका आफै सत्तामा पुगेपछि भने त्यसको क्रान्तिकारिता पनि भुत्ते हुदैं गयो । हिंजो सबैलाई सत्तामा लैजान बल गर्ने ति नेताहरु आफु त्यहां पुगेपछि आफ्ना नाता, समुदायलाई मात्र त्यहां थुपार्न शुरु गरे । समानता र क्रान्ति इतिहासको थैलोमा थन्कन थाले । त्यसले जनतामा नेकाप्रति नैराश्य जगाउन थाल्यो । ति बिस्तारै चर्का र क्रान्तिकारी नारा बोकेका कम्युनिष्ट दलहरुप्रति आकर्षित हुन थाले । नारा करिब एउटै थियो, गरिबलाई समान हक दिलाउने र सत्तामा पुर्याउने अनि दुखबाट मुक्ति दिलाउने ।

त्यतिबेलै ( विस २०३८ )केहि कम्युनिष्ट ठिटाहरुले गरेको झापाको हिंसात्मक कार्वाहीले नेकाको ठांउमा कम्युनिष्टहरुको चर्चा चल्न थालेकोथियो । तिनलाई क्रान्तिकारीको रुपमा हेर्न थालिएकोथियो । त्यसको प्रभाव २०४६ सालको परिवर्तनपछि देखियो । नेकाकै वर्चश्व भएपनि थुप्रा कम्युनिष्ट दलहरुले प्राप्त गरेका मतलाई जोड्दा ति बहुमतमा देखिन्थे । मतको हिसाबले अद्यापि कम्युनिष्टहरु नै पहिलोमा पर्छन् । अर्थात मान्छेमा कम्युनिष्टप्रति मोह बढ्दै गएको देखिन्थ्यो । कमाण्डर जीवन मगरको नेतृत्वमा झापा काण्ड गर्ने सिपी मैनाली, राधाकृष्ण मैनाली, केपी ओली, झलनाथ खनालहरुको नेकपा एमालेले अपत्यारिलो किसिमले सत्तामा आफ्नो वर्चश्व देखायो, जसरी गएको संविधानसभामा एमाओवादीले देखाईदियो ।
तर लामो समय सत्तामा रहेको हिंजोको एमाले सत्तामोहमा यसरी लत्पतियो कि त्यसले नेकाले जति पनि आफ्नो प्रभाव र प्रभुत्व टिकाउन सकेन । झन बढी पतित र त्यति नै बढी साम्प्रदायिकताको आरोप लागेको एमालेको यहि कमजोरीको फाईदा उठाउदै २०४२ सालमा हतियार उठाएर केहि चौकीमा असफल आक्रमण गरेका केहि ठिटाहरुले २०५२ सालमा हतियारको राजनीति प्रारम्भ गरे । नेका कमजोर हुंदा कुनै बेला हिंसाको राजनीतिको बलमा सत्तामा पुगेको नेकाको ठांउ लिन हतियारकै भाषा प्रयोग गरेका तत्कालिन माले र हालका एमालेलाई विस्थापन गर्न पुनः हतियारकै बल प्रयोग गर्नुपरेको देखिन्छ ।
माओवादीले २०५२ सालदेखि शुरु गरेको हिंसात्मक राजनीतिले करिब १५ हजार ब्यक्तिले ज्यान गुमाउनुपर्यो । तर त्यसबापत नेकपा एमाओवादी सत्तामा आसिन हुन पुग्यो । नेकाले भित्र्याएको हिंसात्मक राजनीतिको यो लेनदेनलाई धेरैले पछ्याई रहेकाछन् । अहिले माओवादी हतियार फालेर सत्ताको केन्द्रमा छ जसरी हिंजो नेका र एमाले थिए । उसलाई दुई पुराना सत्ताधारी दलको समर्थन प्राप्त छ । तर हिंजो नेका र एमालेले जे गल्ति डोहोर्याएर आफ्नो छवि ध्वस्त बनाई सत्ता बाहिर आउनु परेकोथियो आज माओवादी पनि त्यहि बाटोमा हिडिरहेकोछ । उसले हिंजो उठाएका परिवर्तनशील मुद्दालाई बिर्सदै गएकोछ र त्यसमा आफ्नोपन र अपनत्व गुमाउदै गएकोछ ।
त्यसैको प्रतिफल उसले गएको चुनावमा भोग्नुपर्यो । संघीयतामा चर्काे लविङ गर्दे आएको उसलाई मधेसी जनताले आफ्नो मान्दै आएकाथिए । तर संघीयतामा गिरिजाप्रसाद कोईरालाकै हां मा हां मिलाएपछि हिंसात्मक रुप लिएको मधेस आन्दोलनले नेकाको त पत्तै साफ गरिदियो माओवादीले समेत ठूलो धक्का सहनुपर्यो । रातारात त्यो हिंसाले मधेसी दलहरुको उदय भयो र तिनले उल्लेख्य सीट पनि ल्याए । आज मधेसी दलहरुको मोर्चा तेस्रो ठूलो शक्तिको रुपमा सत्तामा हस्तक्षेप गर्ने हैसियत राख्दछ । हालत यहां सम्म पुग्यो कि मधेसी मोर्चाको समर्थन बिना ३ क्रान्तिकारी दलका केहि चल्दैन ।
नेपाली राजनीतिमा हिंसा यस्तो स्विकार्यता भैसक्यो कि त्यो बिना दलहरुले सत्ता प्राप्त गर्ने सकिदैन भन्ने मनोबिज्ञान बनिरहेको देखिन्छ । नेपाली राजनीतिको यो नै सबैभन्दा घातक पक्ष मान्नु पर्दछ ।
माथिका दलहरु ( मधेसवादी बाहेक) सबै वर्गीय राजनीतिका पक्षधर भएकोले तिनले शुरु गरेका गलत बाटोले देशले भयानक क्षति ब्योहोर्नु परेन ।
तर अब वर्गीयताले नेपाली राजनीतिमा काम गर्न छाडेकोछ । पहिचानको राजनीतिको पिकअप नजानिदो किसिमले उकालो लाग्दोछ । हिंजोका वर्गीय मान्यताहरु मक्किन थालेकाछन् र आ आफ्नो पहिचानको मुद्दाले त्यसमा पालुवा हालेर फक्रन पनि शुरु गरिसकेकोछ । माओवादी हिंसात्मक संघर्षमा १२ बर्षमा १५ हजारले ज्यान गुमाएकाथिए तर मधेस आन्दोलनको १ महिने उथलपुथलमा दर्जनौ ब्यक्ति मारिएकाथिए र हजारौं बिस्थापित हुनु परेकोथियो । माओवादी युद्धमा जातीय, क्षेत्रीय रुपमा समूह नै विस्थापित हुनु परेको थिएन तर मधेस आन्दोलनको हिंसात्मक ववण्डरमा हजारौं पहाडेहरु समूहगत रुपमै मधेसबाट भाग्न बाध्य पारिएकाथिए  । पहिचानको राजनीतिले हिंसात्मक बाटो समात्दा त्यो कति खतरनाक हुन सक्छ भन्ने सानो नमुना हामी स्वंयले मधेस आन्दोलनपछि भोग्यौं ।  रुवाण्डा र श्रीलंकाको जातीय विध्वंशका आततायी कथा सुनेका हामीले त्यसको ट्रेलर मधेस आन्दोलनपछि प्रत्यक्ष भोग्यौ ।
गज्जब के छ भने त्यस्तो हिंसाले भने मधेसी दलहरुलाई सत्ताको ढोका खोलिदियो । ति बलिया भए । अहिले देशभर करिब २ दर्जन जनजाति दलहरु पहिचानको आन्दोललाई राजनीतिक रुप दिईरहेकाछन् । जनजाति महासंघ, जातीय संघ, दलका भातृसंस्थाहरु अब सबै पहिचानको राजनीतिमा होमिएकाछन् । वर्गीय राजनीतिको ठांउ लिदै गएको यस नयां प्रवृतिले विश्वभर आफ्नो प्रभाव जमाईरहेकोछ । तर अनेकन प्रयत्न गरिदापनि जनजाति दलहरुले सत्तामा राम्रो उपस्थिति जनाउन सकेका छैनन् । जस्तैः सबै भन्दा पुरानो दल राष्ट्रिय जनमुक्ति पार्टीले २३ बर्षदेखि शान्तिपूर्ण बाटोबाट पहिचानको राजनीति गरिरहेकोछ तर उसले गएको संविधानसभामा जम्मा दुई सीट मात्र जित्न सक्यो । बरु उ बाटै फुटेर गएका केहि ठिटाहरुले शुरु गरेको संघीय लिम्बुवान राज्य परिषदले उसकै बराबरीमा दुई सीट ल्याएर देखाईदिएको थियो, त्यो पनि दुई बर्षभित्रै । त्यसको कारण थियो । लिम्बुवानका नाममा पूर्वमा पूर्ण नभएपनि आशिंक हिंसात्मक मार्ग अवरुद्ध गरिएकाथिए । आन्दोलनहरु हिंसात्मक नभएपनि ति आक्रमक  थिए । लडाका दस्ता तयार पारेर तिनको भय खडा गरिएकोथियो । त्यसैको प्रभावका कारण २ सीट हात पारेकाथिए ।
यसले डरलाग्दो मनोबिज्ञान गढिरहेकोछ । देश उकुसमुकुस छ । पहिचानको आन्दोलनमा के बाहुन के लिम्बु, के मधेसी, के दलित , के सुदुर , के हिमाल सबै मैदानमा उत्रिएर भिड्न तम्तयार छन् । सबैलाई आफ्नो पहिचान सबैभन्दा प्रिय हुने नै भो । त्यसैले भोलि कुनै अमुक पहिचानबादी दलले हिंसात्मक मार्ग अख्तियार गरे भने त्यसले समाजमा ठुलो भूईचालो ल्याईदिनेछ ।
पहिचानबाछ निसृत हिंसात्मक आन्दोलनले कसैलाई बांकी छाड्ने छैन । बाहुन देखे लखेटिने मधेसी देखे आक्रमण गर्ने हुन थाल्यो भने अत्यन्त छ्यासमिस बसोबास रहेको हाम्रो बहुसांस्कृतिक समाजमा त्यसले डरलाग्दो ताण्डव मच्याउनेछ । त्यो कसैका निम्ति हितकर हुनेछैन । हो, त्यसले त्यो आन्दोलनको सुत्रपात गर्ने दल या जातिलाई सत्तामा त पुर्याउला जसरी अहिलेसम्म हिंसात्मक संघर्ष गर्ने सबैले त्यो पाईरहेको देखिन्छ । तर त्यसले जातीय, धार्मिक र क्षेत्रीय रुपमा रक्तपातको राजनीतिको नरोकिने अध्याय आरम्भ गर्ने खतरा छ ।
 हिंसात्मक राजनीतिको बलमा यहांसम्म आई पुगेका ३ प्रमुख दल र मधेसवादी दलहरुले यस्तो बस्तुसम्मत ऐतिहासिक तथ्यलाई मनन गर्दे संवेदनशील मुद्दामा होस् पुर्याउन जरुरी छ । जनजाति स्वभावैले शान्तिप्रिय तर लडाकु जाति भएको मानवशास्त्री तथा राजनीतिज्ञहरुले राम्ररी बुझेकाछन् । किनकी सदा तिनले सत्ता प्राप्तिका निम्ति यिनकै बुई चढेर हिंसात्मक संघर्षमा होमेकाछन् । नेपालमा मात्र होईन गोर्खाको नाममा यिनले विश्वभर आफ्नो शौर्य गाठा लेखिसकेकाछन्, कसैका निम्ति । तर हिजोआज यी आफ्नै समुदायका निम्ति खुनको होली बगाउन तत्पर छौं भन्दै संगठित भैरहेको अवस्था छ । देशको ठुलो हिस्सा ओगट्ने यत्रो समुदायलाई निहित स्वार्थका निम्ति आफुले हिंडेको बाटोमा हिंड्न बाध्य नबनाउने बुद्धिमता चार शक्तिले गर्नुपर्ने देखिन्छ । यदि चार शक्ति यहांनेर चुक्न गएमा देश भड्खालोमा जाने पक्का छ । जाहेर छ, त्यसको दोष उनीहरुकै कांधमा थुपारिनेछ ।

Last Updated on Thursday, 04 September 2014 11:47

Hits: 1153

एनआरएन हङकङ भित्रको किचलोको अन्र्तवस्तु

जेवी पुन मगर
गएको साता एनआरएन हङकङको अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार भारतीय सेनाका भूतपूर्व कर्नेल एमवी तमुले पत्रकार सम्मेलन गरि चुनाव धा“धलीपूर्ण भएको र आफु न्यायको लागि अदालत जाने घोषणा गरे । आफुले एकमुष्ठ बनाएका नया“ सदस्यहरुले मताधिकार नपाएपछि उनी चुनावस्थलबाट हराएकाथिए । त्यसपछि भएको चुनावमा निवर्तमान अध्यक्ष तथा उनका प्रत्याशी दुर्गाबहादुर गुरुङले भारीमतले जितेकाथिए । एमवीले चुनाव नै वैधानिक नभएको भन्दै उक्त पत्रकार सम्मेलन गरेकाथिए । उनले एनआरएन हङकङलाई विभिन्न गम्भीर आरोप लगाएकाछन् । यद्यपि उनी स्वंय त्यतिबेला कार्यसमिति सदस्य थिए । नाताले मामा भान्जा पर्ने यी दुईको ब्यक्तिगत रिसईवीले यसपालि अधिवेशन स्थलमा दुई पक्षबीच हात हालाहालको स्थिति बनेको थियो ।
त्यस घट्नापछि एनआरएन मुख्यालयले एशिया प्यासिफिक प्रमुख त्रिलोक गुरुङको अध्यक्षतामा छानविन समिति बनाएकोछ । उक्त समितिले घट्नाको अनुसन्धान गरिरहेकोछ । तर यहि बीच गएको साता नवनिर्वाचित कार्यसमितिलाई सम्मान र पुरानोलाई विदाई कार्यक्रम गरिएकोछ र चुनावलाई वैधानिकता दिईसकिएकोछ । दिइएको प्रमाणपत्रमा त्रिलोक गुरुङले नै हस्ताक्षर गरेकाछन् ।

अधिवेशन रणमैदानमा परिणत
 गएको महिनाको अन्तिम साता हङकङका नेपालीहरुका निम्ति शुभदिन हुनुपर्नेमा भैदियो उल्टो । घृणा, झगडा, आक्रोश र लडाभा“तीका कारण ‘ नेपालीद्धारा नेपालीका निम्ति’ भन्ने मिठो नारा बोकेको र विश्वब्यापी संजाल भएको गैरआवासीय नेपाली संघ ( एनआरएन) को हङकङ शाखाले लज्जास्पद ईतिहासको भारी बोक्नु पर्यो । यसले अहिलेसम्म अन्य देशको तुलनामा राम्रो रहेको एनआरएन हङकङको छवि खस्कन पुगेकोछ । विश्वको ६७ वटा देशहरुमा संगठन विस्तार गरेको यस संस्थालाई विदेशमा बस्ने नेपालीहरुको सबैभन्दा शक्तिशाली संगठन मानिन्छ । छोटो समयमा यसले नेपाली राजनीतिमा समेत प्रभावी भूमिका खेल्ने हैसियत बनाएकोछ ।

नेपाली कानुनले नचिनेपनि यस संस्थालाई विदेशमा बस्ने २५ लाख बढी नेपालीहरुको हक अधिकार र समस्याको कुरा उठान गरिदिने संस्थाको रुपमा नेपाल सरकार र दलहरुले बुझ्ने गरेकाछन् । प्रमुख दलका शिर्ष नेता देखि राज्य प्रमुख समेतले एनआरएनले उठाएको माग र मुद्दालाई ठाडै नकार्न नसक्नु र तिनले यसलाई अनौपचारिक बैधानिकता दिएकोले पनि यसको प्रभाव र शक्ति बुझ्न सकिन्छ । एनआरएनका नेताहरुका दलका नेता, प्रधानमन्त्री, राष्ट्रपति र विशिष्ट ब्यक्तिहरुसंग कुम जोडेर फोटो खिचाउने हैसियत त्यसैको देखिने रुप हो ।
द्धैध नागरिकताको चर्को लविंग र बिना दर्ताको संस्थाको लगानी सम्बन्धमा उठेका प्रश्नहरुमा नेपाल सरकारको सकारात्मक रवैयालाई यसैसंग जोडेर विश्लेषण गर्न सकिन्छ । विप्रेषण (रेमिट्यान्स) ले धानिएको भनिएको नेपालको अर्थतन्त्रलाई धक्का पुग्नेगरि एनआरएनलाई बिच्काउनु हु“दैन भनि सरकार र दलले यस्तो नीति अख्तियार गरेका हुनसक्छन् । किनकी एनआरएनले बाहिर बसेका सबै नेपालीहरुको प्रतिनीधित्व गरेको बुझाई ब्याप्त छ ।  पैसा कमाउनासाथ मान्छेलाई चाहिने सत्ता र शक्तिको चाहनाले ब्यक्तिलाई एनआरएनतर्फ आकर्षित गरेको देखिन्छ । त्यसैले कतिपयले एनआरएनलाई ‘हुनेखाने र सुटेड बुटेड हरुको संस्था’ भनि आक्षेप पनि लगाउने गरेकाछन् । त्यसैले यसमा शिक्षित, महत्वाकांक्षी र पैसावालहरुको तुलनामा निम्नस्तरका कामदारहरुको प्रवेश कम मात्रामा हुने गरेको विश्वास गरिन्छ ।
 यस्तो शक्ति आर्जन गरेको संस्थामा नेतृत्व गरि आफ्नो पहिचान स्थापित गराउन नचाहने बिरलै होलान् । हङकङका नेपाली त्यो लोभबाट मुक्त रहने कुरै भएन । १४ अगस्ट २००४ मा स्थानीय ट्राभल ब्यावसायी कृष्ण पाण्डेको अध्यक्षतामा खोलिएको तदर्थ समिति एनआरएनमा दुई बर्षपछि अर्का ब्यापारी त्रिलोक गुरुङ अध्यक्षको रुपमा भित्रिए र ५ बर्ष नेतृत्व गरे । उनीपछि ब्यापारिक रुपमा प्रत्यक्ष संलग्न नदेखिएपनि ‘हुने खाने’ छवि बनाएका दुर्गा गुरुङले २ बर्षअघि नेतृत्व सम्हाले । गएको आईतवार सम्मको रेडर्क अनुसार, उनको कार्यकालसम्ममा ६०९ जना सदस्य संख्या देखिन्छ ।
आईतवार उनै दुर्गाको नेतृत्वमा रहेको कार्यसमिति बिघटन र नया“ नेतृत्व चयन गरिने हरेक दुई बर्षमा हुने कर्मकाण्डी अधिवेशनको आयोजन गरिएकोथियो । पुराना अध्यक्षले निरन्तरता दिन चाहेको र कार्यसमिति सदस्य मीन बहादुर गुरुङले पनि आफुलाई अध्यक्षको प्रत्यासीको रुपमा उभ्याएपछि माहोल प्रतिष्पर्धात्मक हुने ठानिएकोथियो । त्यसैले हुनसक्छ, गएको अधिवेशनको तुलनामा यसपालि सदस्यहरुको जमघट बाक्लो थियो । तर तिनको जमघटको भित्री रहस्य चाहिं अर्के रहेछ । अधिवेशन स्थलमा यी दुई प्रत्यासीका समर्थकहरुको हुलहुज्जत र घटिया स्तरको ब्यवहारले तिनको सहभागिता एनआरएनप्रतिको मोहले भन्दा पनि आफ्ना उम्मेदवारलाई ‘जुनै मूल्यमा भएपनि जिताउने’ गरि भेला भएको देखिन्थ्यो । अधिवेशन स्थललाई रणमैदानमा परिणत गराइएकोले त त्यहि देखॉ“उथ्यो ।
मीन बहादुर गुरुङ पक्षले ७ मे मा उपाध्यक्ष राधिका गुरुङलाई  एकमुष्ठ  बुझाएको ५३ जना नया“ सदस्यता रकम ५३०० र तिनको मताधिकारलाई लिएर गरेको ववालले उग्र रुप धारण गरेकोथियो । एनआरएन मुख्यालयले जारी गरेको निर्वाचन आचारसंहिता र नियमावलीमा अधिवेशन तिथि घोषणा भएको एक साता अघिसम्म नयॉ सदस्य बनाउन नपाउने प्रावधान तोकेकोछ । कसैले समूहगत रुपमा सदस्यता बनाउन नपाउने पनि नियमावलीमा छ । तर यी दुबै नियम मिचि मीन गुरुङ पक्षले राधिकालाई एकमुष्ठ रुपमा सदस्यहरुको नामावली अधिवेशनको ५ दिन अघि मात्र  दिएको थियो । अधिवेशन हलमा तिनैको मताधिकार माग गरिएकोथियो, जुन एनआरएनको नियमावली विपरित थियो । नियम तिनले मात्र मिचेका थिएनन् बुझ्ने कार्यसमितिका जिम्मेवार ब्यक्ति समेत त्यसको भागिदार थिए । तिनले नियमावली अनुसार नया“ सदस्यहरु नबनाईदिएकोभए अधिवेशन कुस्ती मैदानमा परिणत हुने नै थिएन । उता संस्थापन पक्षले पनि ९३ जना नय“ा सदस्य बनाएर समस्यालाई पेचिलो बनाईदिएकोथियो । दुबै पक्षका गरि कुल १४७ जना नया“ सदस्यहरुलाई मत हाल्ने अधिकार विधानसम्मत नहुने भएकोले ठूलो रस्साकस्सीपछि अन्तमा कृष्ण पाण्डेको अध्यक्षतामा गठित ५ सदसीय निर्वाचन मण्डलले ती सबैलाई मत हाल्न नदिने तर उनीहरुको सदस्यता कायम रहने निर्णय गर्नुपरेकोथियो । एनआरएन कार्यसमितिले नया“ सदस्यहरु थपेपनि तिनलाई मताधिकार नदिने भनि माईन्यूट गरेको र त्यसमा अध्यक्षका प्रत्यासी मीन गुरुङले पनि सदस्यको हैसियतले सहमति गरि हस्ताक्षर गरेको पृष्ठभूमीमा यस्तो निर्णय गरिएकोथियो । यदि निर्वाचन मण्डलले विवेकपूर्ण र विधानसम्मत बाटो नराजेकोभए त्यस स्थललाई दुई पक्षको ग्याङ्फाईटको मैदान बन्न बाट कसैले रोक्न सक्ने थिएन । कल्पना मात्र गर्न सकिन्छ, त्यसपछि कति जना निर्मम घाईते हुने थिए l

त्यसैले निर्णय सुनाउन करिब दश घण्टा माथापच्ची गर्नुपरेकोथियो । तैपनी निर्णय सुनाउनासाथ चुनाव बहिष्कार गरिएको भन्दै उमेदवार मीन गुरुङ बाहिरिएपछि मीन पक्षका समर्थकहरुले मेरिन क्लवमा रहेका सिसा फुटाउने र ब्यक्तिमाथि प्रहार  शुरु गरे । एउटा गिलासले निर्वाचन मण्डलका सदस्य कुलप्रसाद गुरुङको कुममा नराम्ररी लाग्न पुगेकोछ । वातावरण त्रासपूर्ण हुन पुग्यो । क्लवको बारमा दिनभर वियर पियर टन्न भएका केहि युवाहरुले गर्न नहुने ब्यवहार प्रदर्शन गरे । धन्य हो ब्यवस्थापन π जसले प्रहरीलाई बोलाईदिएन । तर यथार्थ के हो भने सिसिटी क्यामेरामा कैद भएका नेपालीका जंगली हर्कतको अद्योपान्त अध्ययन तिनले अवश्य गर्नेछन् र आगामी दिन मेरिन क्लव नेपालीका निम्ति ‘प्रवेश निषेध’ स्थलमा परिणत हुन पनि सक्दछ । एक जना आयोजक सदस्यका भनाईमा त्यसका ब्यवस्थापनका एक जिम्मेवार ब्यक्तिले  फोन गरि नेपालीले लज्जास्पद हर्कत देखाएको भन्दै आईन्दा स्थान उपलब्ध गराउन गाहे हुनसक्ने भनि जनाउ दिईसकेकोछ । नेपालीलाई स्थानीय सरकारले हङकङ प्रवेशमा सात मध्ये ६ प्रकारका भिसामा रोक लगाईनुको कारण खोतल्ने हो भने  यस्ता असभ्य ब्यवहार प्रमुख कारक ठानिन्छ ।

मताधिकार नदिईएपछि आफुहरुले बुझाएको ५३ सय रकम अन द स्पट बुझेर चुनाव बहिष्कार गर्यौं भन्दै हिड्ने टिमको नियत के थियो भनि तिनले नै छरपरस्ट पारे । पैसा फिर्ता लैजानुले ति एनआरएन सदस्य हुनु भन्दापनि मीनलाई मत हाल्न मात्र सदस्य बनेका रहेछन् भन्ने प्रष्ट पारेकोछ । झोंकमा तिनले दिएको नया“ एनआरएन खोल्ने धम्की र पैसा फिर्ता लग्ने ब्यवहार दुबै उचित थिएन ।  यद्यपि दुर्गा गुरुङका समर्थकहरुका जंगली ब्यवहार पनि कम्ता उदेक लाग्दा थिएनन् । बारम्बार अनुरोधका बावजुद ति निर्वाचन कक्षभित्रै वियरका गिलास लिएर असभ्य र अश्लील गाली गर्दे हिंडिरहेकाथिए । एक जना संस्थाका जिम्मेवार ब्यक्ति जो स्वंय उम्मेदवार थिए, ले मीनका समर्थकलाई निर्वाचन मण्डलकै अगाडि हाथापाई गरे । उम्मेदवारहरु नै अधिवेशन स्थलमा आचारसंहिता विपरित निकृष्ट ब्यवहार देखाईरहेकाथिए । नेपालका कतिपय स्थानमा हुने ‘ चुनावी गुण्डागर्दी’ त्यहा“ देख्नुपरेकोथियो ।

अधिवेशन रणमैदानमा बदलिएपछि एनआरएनप्रति आस्था राख्ने ईमान्दार सदस्यहरुलाई डरले बीचैबाट भाग्नु परेकोथियो । त्यसैले जम्मा ९१ मत मात्र खस्न पुग्यो । जसमध्ये दुर्गाले ८५ मत पाएर विजयी भए भने मीनले २ मत पाएकाथिए । ४ मत रद्द थिए । ति चार जनाले जानाजान विगारेको जस्तो देखिन्थ्यो । एकै किसिमले रद्द गरिएकोथियो । मतपत्र बिगारेर अधिवेशनमा भएको लडाई मन नपर्ने हरुले आफ्नो असन्तुष्टि पोखेका पनि हुनसक्छ ।
आफ्ना सामुहिक मुद्दामा समेत कहिल्यै एक हुन नसकेका हङकङका नेपालीहरुलाई एनआरएन जस्तो सामूहिक संस्थाले एकजुट गराउने अपेक्षा गरिएकोमा त्यो ब्यर्थ रहेछ भन्ने यस अधिवेशनले देखाईदिएकोछ । धेरै सहभागीहरुले आईतवारे बवण्डर देखेपछि गरेको टिप्पणी यस्तो थियो – केहि समययता हङकङमा भैरहेका सामाजिक संस्थाहरुको अधिवेशनमा फजुलको विवाद नभएको उदाहरण नै छैन । त्यस्तो झगडा हुने संस्थाहरुको नाम पनि तिनैले गिनाएकाथिए– स्याङ्जा जन सेवा समिति, पर्वत मन्च, तमु ट्यो ह्युल र अहिले एनआरएन  तिनको विश्लेषणमा, संयोग के भने सबै संस्थाको नेतृत्व तहमा पश्चिमान्चल भित्रका खास जिल्लाका गुरुङहरुकै वर्चश्व थियो ।
यसमा सत्यता के कति छ ति संस्थामा आवद्धहरुलाई नै राम्ररी थाहा होला तर एनआरएनको झगडाको गा“ठी कुरा भने दुई उम्मेदवार ( नातेदार र पर्वत जिल्लाबासी) बीच उत्पन्न ब्यक्तिगत रिसईवी प्रमुख कारण थियो भन्नेहरु प्रशस्त थिए । त्यस्तो त्यहा“ देखियो पनि । त्यहा“ लड्ने दुबै पक्षका युवाहरु अधिकांश पर्वतेहरु नै थिए । एनआरएन जस्तो बृहत लक्ष्य बोकेको संस्थामा अमुक ब्यक्तिहरुको पारिवारीक रिसईवी, ब्यक्तिगत दुश्मनी र महत्वाकांक्षाहरुलाई कुनै स्थान दिईन हुदैंन,जुन यसपालिको अधिवेशनमा हुन पुगेकोछ । यसले विश्वभर हङकङेली नेपालीको नराम्रो छवि प्रसारित/प्रचारित हुन्छ । यो अधिवेशनले एनआरएन हङकङमा पनि क्षेत्रीयता, जातीयता र नातावादको बटबृक्ष फैलदैं गैरहेको संकेत गरेकोछ । यो झांगिन नपाओस् । नया“ नेतृत्वले एनआरएनको झण्डामुनी सबैलाई समेट्ने पवित्र काम गरोस् । नवनिर्वाचित सदस्यहरुलाई शुभकामना l

Last Updated on Thursday, 04 September 2014 11:48

Hits: 817

किन बांच्नुपर्छ खपाङ्गी (एक राजनेताको योगदानको शल्यक्रिया)

जेवी पुन मगर

मृत्युसंग जुध्दै खपाङ्गी


आज भन्दा २३ बर्ष अघि ‘बहुसास्कृतिक देशमा वर्गीय राजनीति ( Class politics: धनी र गरीवबीचको असमानता हटाउन अगिंकार गरिने राजनीतिक सिद्धान्त) ले मुद्दालाई ठोस रुपमा समेट्दैन बरु समस्यालाई झन बढी विषयान्तर गरि भ्रमपूर्ण र गोलमटोल यथार्थ पेश गर्छ त्यसैले नेपाल जस्तो देशमा पहिचानको राजनीति ( Identity politics: बहुजातीय समाजमा समस्याको थुप्रो पनि जातीय रुपमा जेलिएको हुन्छ र त्यस्तो समाजमा आर्थिक असमानता भन्दा जातीय समस्याको जालो नराम्ररी बल्झिएको हुन्छ । त्यसलाई समाधान गरे मात्र सामाजिक विषमता र त्यहा“ भएको द्धन्द्ध हट्छ भन्ने ८० को दशक यता प्रतिपादित र विश्वभर प्रभावको हिसाबले सघन हुदैं गैरहेको राजनीतिक सिद्धान्त ।)   अत्यावश्यक छ भन्ने तत्वज्ञान बुझेर समाजको अगाडी खुलस्त राख्न सक्ने आंटिला र त्यसलाई दिशा दिने  प्रमुख  ब्यक्तित्वको चर्चा बिना २०४६ साल यताको नेपाली राजनीतिको इतिहास अपांग हुन पुग्दछ । आज तिनै ब्यक्तित्वको चर्चा गर्न गैरहेकोछु । ति ब्यक्तित्व हुन्, नेपाली राजनीतिक कालखण्डको पछिल्लो युगका बहुचर्चित पात्र गोरे बहादुर खपाङ्गी । यस आलेखमा उनको चर्चा गरिनुको खास कारण छ ।

गत महिना दुर्घटनामा परि जीवनमरणसंग जुधिरहेका चमत्कारिक ब्यक्तित्वका धनी  राजनीतिक/सामाजिक नेता खपाङ्गीलाई ‘प्रशासनिक रेग्मी सरकार’ ले कनीकुथी २ लाख सहयोग खर्च जुराईदिने बाचा गरेको समाचार बाहिर आएकोछ, त्यो पनि देशभरका जनजाति बौद्धिक र खपाङ्गीका अनुयायीहरुका लामो दवावपछि मात्र  । बिषयबस्तुले अन्य अर्थ नलागोस् तर कुनै बेला भुटानमा ‘खस राजनीति’ (नेपालभाषीको हितार्थ ) गरेबापत तत्कालिन प्रजातान्त्रिक सरकारले टेकनाथ रिजाललाई ३६ लाख ‘उपचार खर्च’ राज ढुकुटीबाट प्रदान गरेकोथियो । भुटान सरकारसंग दौत्य सम्बन्ध रहेको नेपाल सरकारले रिजाललाई सहयोग गरेर के कुटनीतिज्ञ सन्देश दिन खोजेकोथियो तत्कालिन सरकारमा आसिन नेताहरुलाई नै थाहा होला तर त्यस सम्बन्धमा न कतैबाट विरोध आएकोछ न कसैले सर्वोच्चमा रिट दायर गरेको सम्झना यो पक्तिंकारलाई छ । यो किन स्मरण गराउन खोजिएकोछ भने त्यतिबेला राज्यका विभिन्न कुर्सीमा अहिलेका सत्ताप्रमुख र मन्त्रीहरु कर्मचारीको रुपमा बहाल थिए ।

२०४६ सालयता बढी प्रधानमन्त्री हुने शौभाग्य प्राप्त गर्ने शेरबहादुर देउवाले कुनै बेला जनताले तिरेको करबाट ५ लाख रुपैंया उपचार खर्चको नाममा बुझेकाछन् । माओवादीका प्रभावशाली नेता तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले २ बर्ष अघि मात्र यहि शिर्षकबाट १० लाख लिएकाछन् । नेपालको धनी नेताको उच्च पायदानमा रहेका देउवाको लागि ५ लाख उनले पालेको पशुको अर्धबार्षिक बजेट पनि होईन भनिन्छ । एक्ला सन्त नारायणकाजीले १० लाख बुझेर के सन्देश प्रवाह गर्न खोजेकाथिए भन्ने यथार्थ  उनको सम्पत्ति विवरणले पछि प्रष्ट पार्यो । यी केहि नमुना दृष्टान्ट मात्र हुन् । यसरी सहयोग लिई ‘उपचार’ गराउने हुनेखानेहरुका फेहरिस्ट लामा छन् ।

यहाँ राज्यले आवश्यक ठानेका महत्वपूर्ण ब्यक्तिहरुलाई यस्तो सहयोग दिईनहुदैंन भन्न खोजिएको होईन तर त्यसरी जनताको खुनपसिना बांड्दा त्यो न्यायपूर्ण छ कि छैन भन्ने कुरा सबैभन्दा महत्वपूर्ण कसी हुनुपर्दछ । देशका निम्ति सर्वश्व लुटाएका खास खास ब्यक्तिहरु नेपाली धर्तीमा उदाए, अस्ताए तर ति मध्ये धेरै यस्ता पनि थिए जसमाथि सरकारको कृपादृष्टि कहिल्यै परेन र ति उपचारको अभावमा तड्पीतड्पी परलोक सिधार भए । प्रचण्डका राजनीतिक गुरु जसले नेपाली कम्युनिष्ट आन्दोलनलाई सर्वश्व दिएर यहांसम्म ल्याउन शिर्ष भूमिका निर्वाह गरेकाथिए, रुपलाल विश्वकर्माले यहि नियति भोगेकाथिए । अन्तिम समयमा दलित र सर्वहारा मुक्ति वर्गीयमुक्तिबाट  हैन जातीय मुक्तिको मार्गप्रशस्त गर्दे अघि बढे मात्र प्राप्त हुन्छ भन्ने आत्मज्ञान पलाएपछि रुपलालले दलित श्रमिक मोर्चा बनाएर नयां राजनीतिक अध्याय शुरु गरेकाथिए ।

कम्युनिष्ट हुंदा नेपाली माक्र्सको उपाधि दिइएका उनलाई त्यसो गर्नासाथ ‘बिकेको’ भन्दै सांच्चिकै अछुत बनाईयो र आफ्नै समाजबाट समेत अलग्याईयो । पक्तिंकारले उनलाई अन्तिम क्षणमा भेट्दा उनी एक छाक खान नपाएर छट्पटाईरहेका अवस्थामा थिए । कथित साम्राज्यवादीहरुसंग करौंडौ खाएर कम्युनिष्ट आन्दोलन बित्यास पार्यो भन्ने आरोप लागेको उनीसंग सिटामोल किन्ने एक रुपैया समेत खल्तिमा थिएन । उनको तड्पीतड्पी प्राण पखेरु उडेकोथियो । त्यतिबेला उनका वरपर न कथित क्रान्तिकारी मित्रहरुको साथ थियो न राज्यको कुनै सहयोग ! त्यसैले हरदम प्रश्न उठ्ने गरेकोछ, के राज्यको सहयोग पाउनपनि ‘हुने खाने र बलवान’ नै हुनुपर्छ ?’

जो बिचारका निम्ति जोगी भए
पन्चायतकालमा हालको एमालेको तत्कालिन रुप मालेको शिक्षक संगठनको प्रमुख रहिसकेका त्यतिबेलाका ‘मास्टरसाप’ को रुपमा चर्चित गोरेबहादुरले लामो समय वर्गीय राजनीति मार्फत देशका गरिबगुरुवा, भोका नांगा र असमानता झेलिरहेका बहुसंख्यक जनताका लागि मुठ्ठी बजार्दै हिंडे । तर त्यसले ‘उत्पिडित र गरिबी निर्मूल नगर्ने हुनाले जस्तो समाज उस्तै राजनीति’ गर्ने सोंच सहित २०४० सालतिरै विश्वमा भर्खर शुरु हुन थालेको बहस ‘पहिचान’ र त्यसको राजनीतिक अन्र्तवस्तुमा घोत्लन शुरु गरिसकेकाथिए । त्यसमा तत्कालिन माक्र्सवादीका पोलिटब्यूरो सदस्य तथा पश्चिमान्चल वार एसोसियसनका प्रमुख  मालवरसींह थापा ( एमएस थापा ) को बौद्धिक तिक्ष्णता उनको प्रमुख ब्याकअप थियो ।

पूर्वमा जातीय असन्तुष्टिबाट उठेका बिद्रोह र तामाङ थलोमा भएका केहि ‘बाहुन खेद’ उग्रता उनका निम्ति ब्यावहारिक शिक्षा थिए । साथै, नेपाल मगरसंघमा रहि देशभर घुम्दा बटुलेको देशदर्शन उनको अर्काे ब्यावहारिक पाठ थियो । ऐतिहासिक कालखण्डमा भएका जातीय बिद्रोह सम्बन्धमा समकालिन लेखकहरुको उद्देलित पार्ने लेख र अनुसन्धानले पनि खपाङ्गीको दृष्टिकोण क्रमशः बहुसांस्कृतिक र विविधतापूर्ण समाजको पाटो उत्खनन गर्न तिर उन्मूख थियो । पछि प्राप्त ज्ञानलाई राजनीतिक रुपमा ढाल्ने काम गरिएकोथियो ।

त्यसैको प्रतिफल थियो – एमएस थापाको अध्यक्षता र उनी महासचिव रहेको २०४६ पछि खुलेको राष्ट्रिय जनमुक्ति मोर्चा । त्यसै बखत पूर्वबाट पूर्व अन्चलाधीस काजीमान कन्दङ्वाहरुले खोलेको जनजाति पार्टी र पन्चायतकालिन संसद सदस्य भद्र घलेहरुले शुरु गरेको जन पार्टी, जुन दुबै पछि जनमुक्ति मोर्चासंग एकिकरण भई राष्ट्रिय जनमुक्ति पार्टीको रुपमा उदायो, जसले नेपाली राजनीतिमा पहिचानको मुद्दाको वकालत गरेर देशको राजनीतिक ट्रयाक नै परिवर्तन गरिदियो ।

यद्यपि समकालिन वीर नेम्वाङ्ले लिम्बुवान स्वायत्तता र गोपाल गुरुङले मगोंल नेशनल अर्गनाईजेशनको नाममा नश्लको आधारमा छेडेको राजनीतिक अधिकारको बहस पनि उनका निम्ति मार्गनिर्देशक अनुभव थिए । साथमा, पचासको दशकदेखि भद्रकाली मिश्रहरुले मधेसमा शुरु गरेको पहिचानको राजनीति उनका लागि अर्काे ब्यावहारिक पाठ थियो । लामो समयसम्म गजेन्द्र नारायणसंग उनको साधिन्य उठबसले त्यहि दर्शाउछ । अहिलेपनि चर्चित मधेसी नेताहरु खुल्लमखुल्ला आफुलाई खपाङ्गीका चेलाको रुपमा प्रचार गर्न गर्व ठान्छन् । त्यो सम्मान उनले त्यसै पाएका होईनन् ।

जनमुक्तिले उठाएको राज्यको हरेक निकायमा सबैलाई जातीय समानुपातिक प्रतिनीधित्व, समानुपातिक निर्वाचन प्रणाली, कमजोरलाई आरक्षणबाट माथि तान्ने ब्यवस्था, विकासका निम्ति संघीय ब्यवस्था,  मिश्रित अर्थब्यवस्था, यातायातका निम्ति रोपवे र केवलकार जस्ता नेपाली राजनीतिमा सर्वदा भिन्न तर विश्वमा भर्खर अभ्यास हुन थालेका सिद्धान्तका बारेमा बहस थालेर आंटिलो कामको शुरुआत गरेकोथियो । यसले नेपाली राजनीतिमा नयां बहसको थालनी गरेकोथियो । उत्पिडितहरुको सबैभन्दा बढी वकालत गर्ने कम्युनिष्टहरुले यहि सिद्धान्त टपक्क टिपेर राजनीति शुरु गर्नु र २०५२ सालदेखि एमाओवादीले यहि सिद्धान्तको टेकोमा टेकी सत्ता प्राप्त गर्नुलाई खपाङ्गी र उनका समकालिन जनजाति नेताको दुरदृष्टिको आंकलन स्वत लगाउन सकिन्छ । अतिरन्जना जस्तो लाग्न सक्छ, आजको नेपाल २५ बर्ष अघि नै देख्न सक्ने यस्ता नेता कम्तिमा नेपाली धर्तीमा समकालिन रुपमा उदाएको देखिदैन ।

खपाङ्गीहरुले देखेको सपनामा आज देश हिंडिरहेकोछ । समानुपातिक प्रतिनीधित्व मुद्दा के कम्युनिष्ट के काग्रेंस के राप्रपा सबैले मुख्य नारा बनाएकाछन् । आरक्षणमा त देश उहिल्यै अगाडि बढिसक्यो । राज्यका हरेक निकायमा भैरहेको आरक्षणको ब्यावहारिक अभ्यासले अहिले उपेक्षित जाति र समुदायबाट थुप्रा जनशक्ति निस्किरहेकाछन् । आधा नै सहि समानुपातिक निर्वाचन प्रणालीको अभ्यास संविधानसभामा भैसकेकोछ र नेपालका लागि त्यो उपर्युक्त रहेछ भन्ने कुरा सिद्ध भैसकेकोछ र त्यसमा सबै  एकमत  पनि देखिन्छन् ।

डा. रामशरण महतले मिश्रित अर्थब्यवस्थामा देशलाई डोहोर्याएपछि त्यसले आर्थिक गति पक्रिएको विश्लेषण गरिन्छ, जुन भारतमा ९० को दशकमा लागु गरेर भारतको पनि उन्नति भएको ठानिन्छ । नेपाल जस्तो जलविद्युतको खानी भएको देशमा रोपवे र केवलकार उचित हुन्छ भन्ने सिद्धान्तलाई मनकामना लगायतका केवलकारको सफलताले गज्जबले पुष्टि गरिदिएकोछ । संघीयता विना देश विकास नहुनेमा लगभग सबै एकमतले राजी देखिन्छन्, अब यो मात्र परिक्षणको मुखमा छ ।

यस्तो देश सुहांउदो सिद्धान्तलाई २५ बर्ष अघि पर्गेल्न सक्ने टाउकाहरु मध्ये अब केहि मात्र बांकी छन् । भद्र घले राजनीतिमा निष्क्रिय छन् भने काजीमान कन्दङ्वाको देहावसान भैसकेकोछ । माथिको बिचारलाई आफ्नो अदभुत वतृत्वकलाको बलमा देशको गांउगांउमा पुर्याउने खपाङ्गी नै हुन् । केहिको विश्वासमा यदि अशोक सम्राटले बौद्ध दर्शन फैलाउन राज्यशक्ति उपयोग नगरेकोभए बुद्धले प्रतिपादन गरेको लोककल्याणकारी शिक्षा तत्कालिन अवस्थामा एशियाभर फैलन संभव नै नहुने ठानिएजस्तै यदि नेपाली धरतीमा खपाङ्गी नजन्मिएकाभए अहिले नेपाली राजनीति र समाजको केन्द्र रहेको मुद्दाहरु यो स्तर सम्म आउन अझै दशकौं लाग्न सक्थ्यो । अशोकले आफ्ना छोरा र छोरीलाई बौद्ध शिक्षा फैलाउन एशियाका विभिन्न ठांउमा पठाएर त्यसको फैलावट फराकिलो बनाएकाथिए । पहिचानको गुढी तत्व उत्खनन गर्ने एमएस थापाहरुको धिरगम्भीर उत्पादनलाई जनमानसमा सरल भाषामा पुर्याउने अशोकका सन्तान सरह म्यासेन्जरको भूमिकामा खटेका खपाङ्गीका कारण यो मुद्दा यहांसम्म आईपुगेकोछ ।

मीडिया, राज्य, दलहरुको लाख कोशिसका बावजुद उनीहरुको नाकाबन्दी छिचोल्दै पहिचानको राजनीतिलाई यहांसम्म ल्याउन सक्ने ल्याकत भएको मान्छे खपाङ्गी नै थिए । त्यसैले यस्ता नेता नेपाली राजनीतिमा जन्मिएकोछैन भनिएको हो । राजनीति गर्न नेपाली धर्ति विपी कोईराला, मदन भण्डारी, पुष्पकमल दाहालहरुका निम्ति जति सहज थियो त्यसको दांजोमा हरेक दृष्टिकोणबाट केलांउदा खपाङ्गीहरुका निम्ति सयौं गुणा अप्ठ्याराहरु रहेकोले यहां खपाङ्गीका हकमा अतिरन्जना लाग्ने त्यस्तो दावी गर्ने धृष्टता गरिएको हो ।

खपाङ्गी माक्र्स हैनन् तर योगदानको हिसाबले उनी नेपालका निम्ति लेलिन, स्टालिन, माओ भन्दा कुनै पनि अर्थमा कम छैनन् । नेशनल मण्डेला र महात्मा गान्धीको नेपाली संस्करणको रुपमा उनको भूमिका बुझ्दा कोहि सानो हुनु पर्देन ।
कथित मुलधारका दलले जाति–जाति लडाउने नीति ल्याई समुदायका हातमा हतियार थमाई  समाजलाई जातीय ध्रुबीकरणतिर लैजादा खपाङ्गीहरुले कहिल्यै त्यो बाटो चुन्न उपर्युक्त ठानेनन् ।

त्यतिखेर करिब १ लाख मत  पाएको दलले चाहेको भए समाजलाई चर्को जातीय नाराको बलमा त्यस्तो हिंसक जातीय द्धन्द्धको दलदलमा सजिलै फंसाईदिने हैसियत राख्दथ्यो । प्रचण्डहरुले उठाए जस्तो त्यसको तत्कालिन फाईदा उठाउन सकिने प्रशस्त मौका उनका अगाडि थिए । प्रचण्डले मगर ठिटाहरुकै बलमा विश्वभर क्रान्तिकारी छवि बनाईरहेकाथिए भने खपाङ्गीले आफ्नै समुदायका युवाहरुको कांधमा राईफल बोकाई मुक्तिकामी आन्दोलनका मसिहा बन्ने कुब्बत राख्दथे र उनको ब्यक्तित्व थियो पनि । जातीय मुद्दाको ज्वलनशीलतामा यस्ता हिंसक र आक्राकम कार्यनीति झन बढी सजिलोगरि द्रुतगतिमा फैलने विश्वका पाठ उनले नबुझेका होईनन् तर उनी लगायतका टिम देशलाई जातीय युद्धको डरलाग्दो दलदलमा फंसाउन चाहदैंनथ्यो ।

बरु उनी जनजाति युवाहरुलाई त्यो द्धन्द्धमा नफस्न हरेक मन्चबाट आग्रह गर्दथे । त्यसो गरिदा उनलाई क्रान्तिको दुश्मन र राजावादी भनी उग्र भाषणबाजी गर्ने 'क्रान्तिकारी' जनजाति नेताहरु अहिले घर न घाटका भएकाछन् । प्रचण्डहरुबाट धोका भयो भन्दै खपाङ्गीहरुकै लाईनमा आईपुगेकाछन् ।

जसले देशलाई गृहयुद्धबाट बचाए
त्यतिखेर मैले हिमालखबरपत्रिकाको लागि गरेको एक अध्ययनमा जसरी पश्चिमा मगर युवाहरु ( दलित सहित ) माओवादीमा आकर्षित भई हतियार बोक्न घर छाडे त्यसको तुलनामा गण्डक क्षेत्रका मगर (अन्य दलित र जनजाति पनि) अत्यन्त कम आकर्षित भए । पूर्वमा पनि त्यहि भयो । त्यसको खास कारण थियो । गण्डक क्षेत्र र पूर्वमा जनमुक्तिको राम्रो प्रभाव थियो र यहां जातीय संस्थाहरुको राम्रो पहुंच थियो । जहां जातीय दल र संस्थाको बलियो पकड हुन्छ त्यहां कम्युनिस्ट फस्टाउन सक्दैनन् भन्ने विश्व राजनीतिक अध्ययनको मुर्तरुप नेपालमा पनि देखिएकोछ । पूर्वमा पूर्व जनमुक्तिका युवा नेता तथा पछि खम्बुवान मुक्ति मोर्चा खोलेका गोपाल राईसंग सहकार्य गरेपछि मात्र माओवादीको प्रभाव त्यहां बढेकोथियो । तर भक्तराज कन्दवाको सहयोगले माओवादी लिम्बुहरुबीच छिर्ने प्रयास गरेपनि त्यति सफल हुन सकेन ।किनकी लिम्बुहरुमा अन्य जातीको तुलनमा जातीय चेतना उहिल्यैदेखि प्रवल छ । गण्डकमा विशेष अभियान चलाउंदा समेत माओवादीले ति युवाहरुलाई आकर्षित गर्न सकेन ।


यस हिसाबले विश्लेषण गर्दा पनि खपाङ्गीहरुको योगदानको ग्राफ अझ मथि आंउछ । यदि खपाङ्गीहरुले तिनलाई चेतना दिदैं नरोकेकोभए कल्पना गर्न सकिन्छ, माओवादीका नाममा प्रचण्डको सत्तामोहको लागि अझ कति जनजाति युवाहरुको खुनको नदि बग्थ्यो होला । पक्तिंकारले खपाङ्गीसंग १५ बर्ष अघि यहि प्रश्न सोध्दा उनले दिएको जवाफ बडो मार्मिक थियो ,‘ यदि हामीले चाहेकोभए मैले एउटा भाषण गरेको भोलिपल्टैदेखि जनजाति युवाहरु हातमा हतियार बोकेर जंगलमा पस्न शुरु गर्नेछन् । तर त्यो महत्वपूर्ण कुरा होईन ।

जातीय रुपमा उद्देलित हतियार बोकेका युवाहरुलाई ब्यवस्थापन गर्न सजिलो छैन । मैले फाईदा लिन सकुला तर त्यसले ठूलो तवाही ल्याउनेछ । तिनलाई घर फर्काउन सकिदैन । पहिचानको लडाई कम खतरनाक हुंदैन । त्यसैले हामी युवाहरुलाई हतियार बोकाउने पक्षमा छैनौं ।’ सशस्त्र संघर्षमा नगएको भन्दै त्यतिखेर कुमार लिङ्देन, कमल छाराहाङ् जस्ता हालका चर्चित पहिचानबादी युवा नेताहरुले जनमुक्ति छाड्नुले युवाहरुमा त्यो उन्माद थियो भन्ने पनि बुझिन्छ । खपाङ्गीको अर्काे तर्क पनि दमदार थियो । उनको भनाईमा हतियार अल्पसंख्यकहरुले उठाउने हो ।

जनजाति र उत्पिडितहरु बहुसंख्यक भएको ठांउमा ‘बुलेटले  हैन ब्यालेट’ले सत्ता लिनुपर्छ भन्ने उनको कडा मान्यता थियो । यसलाई उनी रोचक तरिकाले सुफियाना अन्दाजमा सुनाउंथे, ‘ ढिलो चांडो हुन्छ नआत्तिनोस् । खुदाके घर देर है अन्धेर नहि ।’  माओवादी जस्ता दलका कारण देशमा पहिचानको उग्र राजनीतिकरण हुदैं गैरहेको र त्यसले अब धार्मिक पुच्छर पनि समात्न थालेको संवेदनशील घडीमा देशलाई खपाङ्गी जस्तो मोडरेट र लोकतान्त्रिक नेताको अत्यन्त ठुलो खांचो छ । त्यस्तो उग्रता मत्थर गर्न सक्ने क्षमता, ब्यक्तित्व र ईच्छाशक्ति उनको तुलनामा अरुको छैन ।

करिब आधा दर्जन भाषामा धाराप्रवाह रुपमा बोल्न सक्ने उनको भाषण गर्ने शैली बिछट्टैकोछ । रमाईला उखान टुक्का सहि ठांउमा प्रयोग गर्दे उदाहरण सहित गर्नै उनको भाषण सुन्न सानो बच्चा देखि बृद्ध सम्म भेला हुन्थे । हरेक जाति समुदायले चाख मानिमानि सुन्थे । त्यसरी उनले आफ्नो कलाबाट देशभर पहिचानको मुद्दा घरघरमा पुर्याईदिएकाथिए, मान्छेको दिमाग दिमागमा छिराईदिएकाथिए । उनको दम्भपूर्ण आकर्षक ब्यक्तित्वले उनको कलामा ‘सुनमा सुगन्ध’ थपिदिएकोथियो । मदन भण्डारी र उनी समकालिन थिए । असामयिक निधनले भण्डारी देशभर घुम्न सकेनन् र उनको भाषण गर्ने शैली र राजनीतिको ब्यावहारिक परिक्षण पनि हुन सकेन ।

तर खपाङ्गीले आफ्नो कला, ब्यक्तित्व र आत्मविश्वासले नयां बिचारलाई देशको कुनाकुनामा फैलाईदिए । खपाङ्गीको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको उनले देशलाई जातीय द्धन्द्धको डरलाग्दो भुङ्ग्रोमा जानबाट जोगाईदिए । अहिले पनि उनी त्यसमा प्रष्ट छन् र हतियार हैन मतपत्रबाट सत्तामाथि काविज हुने निर्णयमा अडिग देखिन्छन् । त्यसमा उनी कहिल्यै बिचलित भएनन् । उनले शुरु गरेको दल जनमुक्तिले २३ बर्षदेखि अनवरत शान्तिपूर्ण राजनीति गर्नुले त्यो धैर्यताको रुप प्रष्ट देखिन्छ । पछिल्लो समय अशोक राई, पासाङ शेर्पाहरुले त्यहि लाईन अगिंकार गर्नुले उनको उपादेयता स्वतः बुझ्न सकिन्छ ।
तर यो सब गर्दा उनी जोगी भए ।

अहिले पनि उनीसंग बस्ने कुटिर छैन । शुभचिन्तकहरुले दिएको रासनपानीबाट गुजारा गरिरहेकाछन् । उनी भन्थे, यदि मैले कम्युनिष्ट पार्टी नछाडेकोभए अहिले रोयल्सरोयल र मर्सिडिज चढेर हिंड्थे होला । ब्यक्तिगत रुपमा मेरो खुबी पनि थियो । तर मैले आफ्नो भन्दा समुदाय र देशको लागि लड्ने चेतना प्राप्त गरेकोले त्यस्तो गर्नै हुन्थेन र गरिन पनि ।’ उनले मन्त्री हुंदा समेत  अरुले जस्तो चोरबाटोबाट पैसा लिन चाहेनन् । पाएको तलब पनि पार्टी र घर खर्चका निम्ति सुम्पिदिन्थे ।
देशका निम्ति यो विध्न लाग्न सक्ने समकालिन राजनीतिको सबैभन्दा अलग र उचा ब्यक्तित्वलाई आज उपचार खर्च दिनुपर्दा सरकारले ‘अब आईन्दा १ लाख भन्दा बढी नदिने’ नियम पारित गरांउछ । यस्तो गरेपछि जनजातिले देश टुक्रयाउन थाले । जातीय द्धन्द्ध फैलाउन थाले भन्दै कोकोहोलो गरेर मीडियाबाजी गरेर कहिले सम्म ठूलो समुदायको आक्रोशलाई ज्वारभाटामा परिणत हुनबाट रोक्न सकिन्छ र π सरकार नै जातीय ध्रुबीकरण गराउन लागेजस्तो देखिने यस्ता निर्णयले देशमा शान्ति र अमनचयनको कामनाको सुत्रपाठले मात्र काम गर्ला र ।

अभाव खड्केको महसुस
खपाङ्गी गम्भीर दुर्घटनामा परेपछि मात्र उनको हैसियत र महत्व बुझ्न थालिएकोछ । सरकारले उपचारमा कुनै सहयोग नगरेपछि जनजाति बौद्धिक, पेशाकर्मी, राजनीतिकर्मीहरुको ठूलो भेलाले सहयोग समिति बनाई उनको स्वास्थ्य उपचारको लागि सक्रिय रोल खेलिरहेकोछ । अधिकारकर्मी तथा अधिवक्ता शंकर लिम्बुको संयोजकत्वमा डा. ओम गुरुङ, डा. कृष्ण भट्टचन, डा. गणेश गुरुङ, डा.मुक्तसिंह लामा, डा. गोविन्दप्रसाद थापा मगर, डा. केशवमान शाक्य, प्रा. बालकृष्ण माबुहाङ, आङ्काजी शेर्पा लगायतका चर्चित ब्यक्तिहरुको समित बनाई विश्वभर आर्थिक संकलन कार्य थालिएकोछ ।

पहिचानको आन्दोलनमा खपाङ्गीको रोल धुरीको रुपमा थियो र छ भन्ने यो एकताले पनि देखाउंछ । समितीका सदस्य हुम थापाका अनुसार, अहिले सम्म विश्वभरबाट करिब १२ लाख जति जम्मा भएकोछ । समितिले नेपाल बैंक लिमिटेड ललितपुरको खाता नं ०१९११००१४८३३२ मा सिधै सहयोग पठाईदिन अपिल गरिसकेकोछ । थापाको भनाईमा दैनिक ५० हजार जति खर्च लाग्ने हुनाले उठेको रकम अप्रर्याप्त छ । १ महिना ७ दिनसम्म चर्चित न्युरो सर्जन बसन्तराज पन्तले अन्नपूर्ण अस्पतालमा खपाङ्गीको उपचार गराईरहेकोमा टाउकोमा जमेको पानी र छातीमा देखिएको समस्याका कारण अहिले पन्तका गुरु न्युरो सर्जन रमेश चोखानीको सुपरिवेक्षणमा नर्भिक अस्पतालमा रेखदेख शुरु गरिएकोछ । र, आईसीयुमा गम्भीर उपचार चलिरहेको बताईन्छ ।

अचम्म के छ भने नेपाल मगर संघमा लगातार ४ कार्यकाल अध्यक्ष र त्यसअघि कार्यसमितिमा रहि स्थापनाकालदेखि नै सेवा गरेका खपाङ्गीको उपचारका निम्ति सरकारलाई दवाव दिन र आफ्नै पहलमा उपचार खर्च जुटाउन बर्तमान नेतृत्व तातिएको देखिदैन । जनजाति महासंघको अवस्था पनि त्यस्तै छ । उनी महासंघका संस्थापक बौद्धिक योजनाकार हुन् । मगरसंघका एकजना जिल्ला अध्यक्षका भनाईमा खपाङ्गीको उपचारका निम्ति जिल्लाका संघले केन्द्रको निर्देशन कुरेर बसिरहेकाछन् तर केन्द्र केहि बोलेकोछैन । संघ र महासंघ दुबै च्यानलवाईज चल्ने हुनाले ति केन्द्रको निर्देशन कुरेर बसेको ति अध्यक्ष सुनाउंछन् ।

नेपाल यस्तो समाज हो जहां अनौठा र नसोंचिएका घट्ना हुन्छन् र त्यसको लुफ्त उठाईन्छ । खपाङ्गी आईसीयुमा छन् तर नेपाली मिडीयाका निम्ति यो कुनै समाचार होईन । नेपाली मिडियामा खपाङ्गीका प्रकाशित, प्रसारित अन्र्तवार्ता र समाचारको थुप्रा हेर्ने हो भने उनको मीडिया भ्यालु देखिन्छ,पनि । तर यतिखेर उनी सम्बन्धमा मीडियाले गरेको बायकाटले नेपाली मिडीयाको राजनीति प्रष्ट खुलेर आएकोछ । टेकनाथ रिजाललाई उपचार खर्च दिन सरकारलाई दवाव दिने संचारकर्मीलाई स्वदेशकै दमदार तर गरिब नेताका निम्ति त्यस्तो क्याम्पेन जरुरी ठानिदैन ।

यस्तोबेला मीडियाको रोल सबैभन्दा प्रभावी हुन्छ । केहि समय अघि चर्चित राष्ट्रिय स्तरका भलिवल खेलाडी सिपोरा गुरुङको घुंडाको समस्यालाई लिएर बनाइएको दिशानिर्देश कार्यक्रमको प्रभावले एकजना सुप्रसिद्ध चिकित्सकको मन उद्देलित भई उनले लाखौं पर्ने गम्भीर शल्यक्रिया निशुल्क गरिदिएकाथिए । तर यहां त मीडियाले नै सेन्सर गरिदिएपछि खपाङ्गीको यथार्थ जानकारी समाजले कसरी पाओस् । समाचार नै बाहिर नपाएपछि कसैको मन किन पग्लियोस र !   आदिवासी जनजाति पत्रकार संघ (अनिज) का संचारकर्मीहरु पनि अधिवेशनको चटारोले हो क्या हो कुन्नि, यो मुद्दामा कलम चलाउनुपर्छ भन्ने  ध्याउन्नबाट किनारा किनारा देखिन्छन् ।


Last Updated on Thursday, 04 September 2014 11:46

Hits: 3568

महिला ‘अछुत’ ठानिने जनजाति आन्दोलन

जेवी पुन मगर

२६ मार्चका दिन लेखनमा ब्यस्त थिए । मोबाईल बज्यो । उताबाट एक जना मित्र होली कार्यक्रमको निम्ता दिईरहेका थिए । भोलिपल्ट साँझ सामुद्रिक किनारमा भब्य होली कार्यक्रमको आयोजना गरिएको जानकारी दिने ति मित्रले ३ दिन अघि मात्र नेपाली महाबाणिज्यदुतावासको परिसरमा नवनियुक्त महाबाणिज्यदुत महेशप्रसाद दाहाल विरुद्ध आदिवासी जनजाति महासंघले आब्हान गरेको धर्ना कार्यक्रममा रिपोटिंगका लागि डाकेका थिए । उनले ७ अप्रिलका दिन हुने त्यहि विरोधको श्रृखलाको रुप ऱ्यालीमा समेत आईदिन विशेष आग्रह गरेका थिए । करिब ४० हजार जनसंख्या बसोबास गर्ने हङकङमा रहेका सय भन्दा बेसी सामाजिक संस्थाको कार्यक्रमहरुमा सर्वत्र देखिने उनी स्वंय आधा दर्जन जति संस्थाको मुख्य पदमा आसिन छन् ।
मैले कटाक्ष गरे– ‘ हिन्दु धर्मका टाउके पहाडे पुरुष बाहुन क्षेत्रीले देश भीरबाट खसाल्न थाले । आदिवासी/जनजातिका भाषा, धर्म, संस्कृति नामेट पारे भन्दै उफ्रने तपाईंकै सक्रियतामा हिन्दुहरुकै चाडलाई प्रमोशन गर्ने कार्यक्रम गरिरहनु भएकोछ त ?’ एकछिनको स्तब्धतापछि उनले फर्काएको जवाफ थियो–‘ सर हामीले हिन्दु धर्म र बाहुन क्षेत्रीको कहाँ विरोध गरेका हौं र वाहुनवादको पो गऱ्या हौं त ।’ त्यसपछि उनले शुरु गरेको वाहुनवादको शास्त्रीय प्रवचनको लम्बेतान यहाँ संभव छैन । तर उनको जम्माजम्मी तर्क के थियो भने  हिन्दुवादी भारतसंग मिलेर नेपालका सत्ताधारी जाति ( बाहुन/क्षेत्री) ले अन्य समुदायका पहिचान मेट्न लागिपरेका छन् । त्यसका लागि जसरी पनि उनीहरु सत्तामा टाँसिइरहन चाहन्छन् र जस्तोसुकै हत्कण्डा पनि उपयोग गर्छन् ।
७ अप्रिलका दिन घोषित समयमा काउलुङपार्क पुग्दा उनी अझै आईपुगेका थिएनन् । करिब आधा घण्टापछि उनी हस्याङ्फस्याङ् गर्दे आईपुगेपछि माईक समातेर कार्यक्रमको बेलिबिस्तार शुरु गरे । घोषित समयको करिब २ घण्टापछि ऱ्यालीले काउलुङ् पार्क छाड्यो । नौमतीबाजा र च्याम्ब्रुङ् गाजाबाजा र नाच सहित भद्र तरिकाले नेपाली कन्सुलर कार्यालय चिमसासुईका निम्ति करिब ३ सय मान्छेको लश्कर उग्र नारावाजी सहित प्रस्थान गऱ्यो ।
आधिकारिक तथ्याँक छैन तर आदिवासी जनजाति महासंघका नेताहरु हङकङमा ९८ प्रतिशत जनजाति समुदायको बसोबास छ भनि दावी गर्छन् । जनजाति बहुल भएपछि गैर जनजातिले उनीहरुको समस्या नबुझ्ने हुनाले तत् समुदायकै कन्सुलर पठाईनुपर्छ भन्ने माग त्यहि कारण राखिएको उनीहरुको तर्क छ । उनीहरुको यस्तो मागमा करिब धेरै जसो सहमत पनि देखिन्छन् । बाहुन क्षेत्री समुदायका ब्यक्तिहरु समेत प्रकट रुपमा यस मागमा विरोध गरेको सुनिदैंन । किनकी मागभित्र लुकेको, समावेशीता, समानता र लोकतन्त्रको गुढता तिनले राम्ररी बुझेकाछन् । यसभित्रको राजनीति पनि तिनले बुझेकाछन् ।
तर प्रश्न पहिचानको आन्दोलनमा लाग्नेहरुले कत्तिको गम्भीरताका साथ बुझेकाछन् भन्ने हो । किनकी आईतवारको जुलुशमा विताइएको करिब ४ घण्टाको समयभित्र त्यहाँ महसुस गरिएको एउटा  पाटो मेरा लागि महत्वपूर्ण ठान्दछु र आन्दोलनकारीहरुका निम्ति समिक्षा गर्नुपर्ने खास विन्दु हुनुपर्ने लाग्दछ । जनजाति आन्दोलन राजनैतिक रुपले चर्चामा प्रशस्त छ, लामो समयदेखि नेपाली राजनीतिको विषय पनि हुदैं आईरहेकोछ । तर यसले सफलता प्राप्त गर्न सकेको छैन । त्यसको पछाडि एउटा खास कारणले रोल खेलेको हुनसक्छ ।
मातृसत्तात्मक पारिवारीक संरचना भएको जनजाति समूदायमा महिलाको प्रमुख रोल हुने गर्दछ । तिनको रजाबन्दी विना परीवार र समुदायले खास निर्णय गर्ने सक्दैन । जनजाति समाज बजारवादले निर्देशित गरेको ब्यक्तिवादी समाज पनि होईन । त्यसैले ब्यक्तिको भन्दा सामुहिक निर्णय जनजाति समाजको खास विशेषता ठानिन्छ । तर हरेक निर्णयमा प्रमुख हात रहने महिलालाई जनजाति नेताहरुले पहिचानको आन्दोलन या राजनीतिको तालाचाबी भने कहिल्यै दिन चाहेको देखिदैन, जानेर या नजानेर । अर्थात हरेक कुरामा नेतृत्व प्रदान गर्ने जनजाति महिलाहरु पहिचानको राजनीतिमा भने पुरुषको धेरै पछाडि देखिन्छन् । त्यसैले होला जनजाति आन्दोलनमा महिलाले पुरुषलाई राम्ररी टेको दिएको देखिदैन । यसले जनजाति आन्दोलनलाई उचाईमा पुऱ्याउन रोकेको छ । लक्ष्य हासिल गर्न सकेको छैन ।
जनजाति आन्दोलनले साँस्कृतिक रुपमा गर्व गर्न लायक एउटा उपलब्धि हासिल गरेको छ, जातीय पोशाकको विश्वब्यापिकरण । २०४६ सालको परिवर्तनसंगै तत्कालिन जनजाति नेताहरुले थालनी गरेको आ–आफ्ना सामुदायिक पहिचान झल्काउने पोशाकलाई यो अवस्थासम्म ल्याईपुऱ्याउने प्रमुख कारण महिला नै हुन् । पुरुष त निमित्त पात्र मात्र हुन् । महिलाहरुले हरेक कार्यक्रममा ठाँट्टिएर लगाउने जातीय पोशाकले  नवपुस्तालाई समेत आकर्षित गरेको छ । विस्तारै यसले वजारलाई समेत प्रभावित पार्न थालेको छ । सौन्दर्य प्रतियोगितामा समेत यसको उपादेयता महसुस गर्न थालिएको छ । यो श्रेय जनजाति महिलाहरुलाई दिईनु पर्दछ । तर जनजाति आन्दोलनमा यो गुदी तत्व उपयोग गर्ने सवालमा कहिल्यै सोंचिएको देखिएन ।
हङकङमा यसपालि तीज अहिलेसम्मकै भब्य रुपमा मनाइएको थियो । हिन्दु महिलाहरुका निम्ति रचिएको यो धार्मिक चाडमा पोते, चुरा, तिलहरी, सिन्दुर र सारीमा ठाँट्टिएर हिंड्ने र रेष्टुरेन्टहरुमा कार्यक्रम गर्ने र गराउनेमा शतप्रतिशत जनजाति महिला थिए । कार्यक्रम संयोजन नै तिनले गरेका थिए । त्यसको तुलनामा दशैं फिका थियो । पुरुषकै अह्नखटनमा हुने हुनाले दशैंको रौनकता मुर्झाएको देखिन्थ्यो । तर त्यस लगत्तै आउने महिलाको अर्को चाड तिहारमा पुन: तीजकै जस्तो रौनकता थियो । गज्जबको विरोधाभास चरित्र थियो । उता राम्रो लोग्नेको कामना र भएकाहरुले पतिको दिर्घायुको कामना गर्दे हिन्दु आराध्य शिव लिंग ( प्रतिक ) लाई पुजा अर्चना गरि मनाईने तीजमा जनजाति महिलाले नेतृत्व लिई चहक पारिदिएका थिए । यता तिनका श्रीमानहरु भने सत्ता धर्म अर्थात पीडक हिन्दु धर्मको सत्तोसराप गर्दे हिंडिरहेका थिए ।  सदा एउटै ट्रयाकमा हिंड्ने लोग्ने स्वास्नी पहिचानको  मुद्दामा भने कहिल्यै एक हुन सकेनन् । दुई किनारा भई हिंडिरहेका छन् । आईतवारको महाबाणिज्यदुत विरुद्धको आन्दोलनमा पनि महिलाहरुको उपस्थिति औंलामा गन्न सकिने थियो ।
यदि ब्यक्तिवादी समाज भैदिएको भए यसलाई ‘ब्यक्तिगत स्वतन्त्रता उपयोगको अधिकार’ को रुपमा  तर्क गर्न सकिन्थ्यो । लोग्ने एउटा आईडोलोजी, धर्म, संस्कारको प्रवर्द्नमा लाग्ने र श्रीमती अर्को धर्म, संस्कार, संस्कृतिमा डुब्नुलाई स्वाभाविक ठानिन्थ्यो । तर जनजाति समाज पृथक भएकोले यहाँ यो सुत्र पूर्ण रुपमा फिट बस्दैन । त्यसैले केहिले बेलाबखत के पनि भन्ने गरेका छन् भने,‘आफ्नै श्रीमती र छोरीहरुलाई आफ्नो मुद्दामा कन्भिन्स गर्न नसक्नेले के सत्ता प्राप्त गर्ला ?’
यदि ल्होसार, साकेला, माघे सक्रान्तिमा नाचगान र रमाईलो हुदैंनथ्यो भने त्यसले समूदायको भीड जुटाउन हम्मे पर्न सक्थ्यो पनि भनिन्छ । त्यो अवस्थामा बर्षको एक दिन भए पनि भेला गराई आफ्नो सामुदायिक हितका कुरा गर्न र सुनाउन संभव हुने थिएन । समस्या जनजाति पुरुषहरु कै हो, अहिले पनि यस्ता कार्यक्रममा अलिकता भाषणबाजी हुनासाथ छ्या कति राजनीति गरेको होला भनि श्रीमती र बच्चालाई पाखा लगाईन्छ । बरु तिनलाई बर्थ डे जस्ता पार्टीका कानफोडु म्युजिकमा उफारेर त्यसको आनन्द लिएर बसिन्छ अनि कहाँबाट तिनको राजनीतिक चेतनास्तर उकासिन्छ ! अनि, आफ्नो कार्यक्रममा तिनलाई जान अनुरोध गर्दा ति किन मान्थे ? जनजाति पुरुष नेताहरुले अहिले भोगिरहेको सबैभन्दा तिक्त यथार्थ हो, जसको जड् उनीहरु स्वंय नै हुन् ।
लामो कालखण्डसम्म महिलालाई राजनीतिबाट यसरी विमुक्त राखिएको समाजमा त्यसले रातारात राम्रो परिणाम दिन संभव छैन र यो जर्वदस्ती हुने कुरा पनि होईन । तर तिनलाई ल्होसार, साकेला जस्तो रमाईलो साँस्कृतिक पर्वहरुबाट विस्तारै यस्ता गम्भीर मुद्दामा प्रविष्ट गराउन सकिन्छ । महिलाहरुको मुख्य खुबी के हो भने ति काम फत्ते गर्छन तर पत्तै पनि दिदैंनन् । जसरी जातीय पोशाकलाई विश्व बजारमा पुऱ्याउने महिलाहरुको गति कसैले भेऊ नै पाएनन् । त्यसैले जनजाति पुरुष यदि साँच्चिकै उदार र मुद्दामा गम्भीर हुन् भने पहिचानको तालाचावी विस्तारै घरमुलीलाई हस्तान्तरण गर्नतिर लागे हुन्छ ।
पुरुष नेताहरुको गाली पुराणले न त आफ्नै समुदायलाई कन्भिन्स गर्न सकिरहेको छ, सक्छ – न त विपक्षीलाई आफ्नो मुद्दामा झुकाउन सकेकोछ ! कर्कश आवाजले बरु उल्टै आफ्नै दाजुभाईलाई आन्दोलनको किनारातिर धकेलिरहेको छ । गाली राजनीतिले विपक्षीलाई त्यस्तै असहिष्णु बनाउँछ भने आफ्नैहरुलाई पनि पाखा तिर धकेल्छ । तर यदि सामुहिक निर्णयलाई यताउति नपारी घरको कमान सम्हाल्ने महिलाले यसको नेतृत्व पाएको भए तिनले आफ्नालाई काखीमुनी राख्दै पाखाकालाई समदुरीमा राखी मुद्दामा उद्देलित बनाउन सक्थे । कसैलाई नबिझाईकन आफ्नो काम फत्ते गर्न सक्ने जनजाति महिलाले जुन दिन आन्दोलनमा अग्रता लिन थाल्नेछन् त्यतिबेला पहिचानको राजनीतिको विजय अवश्यम्भावी छ । तर पहिचानवादी पुरुषहरुले यसलाई कत्तिको बुझ्छन्, कुन्नि !

 

Last Updated on Thursday, 04 September 2014 11:49

Hits: 971

हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी