A+ A A-

माओवादी बुझ्न पालुङटार हैन खरिपाटी फर्कनुपर्छ

माओवादीभित्र चलिरहेको विवादको जड बुझ्न पालुङटार होइन, दुई वर्ष अगाडिको खरिपाटी भेलाका निर्णयहरूमा घोत्लिनुपर्छ ।

-जेबी पुन मगर


अन्तरविरोध (शत्रु) को पहिचान गर्न नसक्ने कम्युनिष्ट पार्टी शत्रुकै घेराबन्दीमा सिद्धिन्छ भन्ने दह्रो मान्यता बोकेको एमाओवादी त्यही शत्रु किटान गर्न नसकेर छट्पटिइरहेको पालुङटार बैठकमा देखियो। नेकपा मशाल, चौथो महाधिवेशन, सर्वहारावादी श्रमिक सङ्गठन र विद्रोही मसालबीचको एकतापछि २०४८ सालमा भएको महाधिवेशनले भारतीय विस्तारवादद्वारा संरक्षित घरेलु प्रतिक्रियावाद लाई प्रधान अन्तरविरोध मानेको थियो। प्रमुख शत्रु किटान भएपछि मात्र सुव्यवस्थित आक्रमणबाट पराजित गरेर राज्यसत्तामा पुगिन्छ भन्ने युद्धनीतिमा विश्वस्त माओवादीले त्यसको पालना पनि गर्दै आएको छ।

त्यही आधारमा २०५२ मा थालिएको जनयुद्ध मा भारतद्वारा संरक्षित दलका नेता-कार्यकर्ता र तिनका समर्थक शिक्षक, पत्रकार, कर्मचारी, व्यापारी, बौद्धिकहरू पहिलो निशानामा परे। राजा मित्र शत्रु र संसद्वादी दलहरू प्रमुख शत्रु बने। भारतीय विस्तारवादका पक्षपोषक सफायाका नाममा १० वर्षमा १५ हजारभन्दा बढी नेपाली मारिए। यही वर्गविश्लेषणमा भारतको पनि मित्रशक्ति को रूपमा उपयोग भयो। युद्धकालमा माओवादी पार्टी एकातर्फ दलहरूसँग भिडिरहेको थियो भने अर्कोतर्फ राजसंस्थासँग। दुईतिर सोझयाएको तीरले निशाना नठम्याएपछि माओवादीले भारतको सहयोगमा दलहरूको काँध चढेर राजतन्त्रको सिकार गर्‍यो। सधैं अन्तरविरोधमा अर्जुन दृष्टि लगाउन चाहने ऊ अहिले पनि त्यस्तै प्रहार चाहन्छ।

माओवादीले सरकारमै छँदा खरिपाटी भेलाबाट नेपाली काङ्ग्रेसलाई प्रमुख अन्तरविरोध किटान गरेको थियो, प्रहारका लागि। त्यसको व्यापक विरोध भएपछि आफ्नो आक्रामकतालाई मत्थर पारेको माओवादी त्यतिवेला एमालेलाई समेत साथ लिएर काङ्ग्रेसलाई साइजमा ल्याउन चाहन्थ्यो। अहिले पनि ऊ अन्य दललाई प्रमुख दुश्मन भन्न सक्ने स्थितिमा छैन। तर, उसका दस्तावेज र कुटिलता चाहिँ त्यही नै छ।

संविधानसभा निर्वाचनमा सबैलाई उछिन्दा पनि अन्य दलमाथिको आक्रमण नरोक्नु र सरकारमा बसी-बसी दल-दलबीचको अन्तरविरोधमा खेलेर धु्रवीकरणमा लाग्नु उसको कार्यदिशा थियोे। २०४८ को वर्गविश्लेषणले उसलाई गिरिजाप्रसाद कोइराला र माधव नेपाललाई राष्ट्रपति मान्न दिएन। राजतन्त्र फालेपछि ऊ प्रमुख अन्तरविरोधको रूपमा दल, प्रशासनयन्त्र, सेना जस्ता संस्थालाई कमजोर बनाउन उद्यत भयो। तर, त्यसमा असफल भई सत्ताबाट झ्रेर प्रतिपक्षमा आउनासाथ सरकार, राष्ट्रपति र भारतमाथि एकैचोटि खनिँदा तीन वटै मोर्चामा अझ् नराम्ररी असफल भयो। सरकारमा गएर दुश्मन तह लगाउन नसकेको उसले सडकबाट पनि सत्ता कब्जा गर्न सकेन। संविधानसभामा दलहरूलाई खुइल्याएर, थकाएर परास्त गर्ने योजना पनि संविधानको मस्यौदा प्रतिवेदन बन्दा नबन्दै चकनाचुर भएको छ। सबै योजना तुहिएपछि अहिले प्रमुख अन्तरविरोधका सम्बन्धमा नेतृत्वबीचमै विवाद देखिएको हो।

प्रमुख शत्रुलाई हान्ने भुलभुलैयामा रुमल्लिएको एमाओवादीले पछिल्लो चार वर्षमा कुनै नयाँ रणनीति तय गर्न सकेको छैन। प्रमुख शत्रु लाई हानेर भाग्ने रणनीति खुल्ला राजनीतिमा चल्दैन भन्ने निधो खरिपाटी भेलामै भएको हो। पोस्टर काण्डमा माफी माग्नुपरेपछि भारत विरोधी आन्दोलन पनि गत साल नै फासफुस भयो। चीनले भारतसँग मिलेर आउनुस्, सहयोग गरौंला भनिदियो। अब दिल्ली र्झ्न आतुर रहेको कुरा पुष्पकमल दाहालले नै सार्वजनिक गरिसकेका छन्।

आन्तरिक शत्रु नै बलियो
अध्यक्ष दाहालले सिज ९सिस्ने जलजला० अभियानबाट रातारात नायक बनेका सहपाठी रामबहादुर थापालाई कटवाल प्रकरणमा जाकेर उठ्नै नसक्ने गरी थचारिदिए। विद्रोहकालमै दाहालले थापा र पम्फा भुसालको सम्बन्धको समेत मिहिन जाँचबुझ् गरेका थिए। यसरी पार्टीको पाँचौं बरियतामा झ्रेका थापा शान्तिकालमा दाहालको स्तुति गाउन बाध्य छन्।
त्यसयता दाहालले त्यसपछिका चुनौती भट्टराईलार्ई साइजमा ल्याउन मोहन वैद्यको उपयोग गरे। दाहाललाई भगवान बनाउने प्रचण्डपथरुपी पोथाका रचनाकार र व्याख्याकार तिनै वैद्य हुन्। प्रचण्डपथमा हिँड्न आनाकानी गर्ने भट्टराईलाई तर्साउन बलसमेत प्रयोग भयो। शान्ति प्रक्रियामा आइसकेपछि अझ् बलियो हुन थालेका भट्टराईलाई काबुमा राख्न उनले कहिले वैद्य त कहिले नारायणकाजी श्रेष्ठरुपी कार्डहरू प्रयोग गरिरहेका छन्।

तर, पालुङटारमा दुई उपाध्यक्ष एकै ठाउँमा उभिएपछि भने दाहाल थला परेका छन्। अन्तर्राष्ट्रिय शक्ति र सहयात्री दलहरूसँग पौंठेजोरी खेलिरहेका उनले यसपटक आन्तरिक शत्रुसँगै हार्नुपर्‍यो, आफ्नो प्राधिकारयुक्त चामत्कारिक नेतृत्व गर्ल्यामगुर्लुम ढलेको देख्नुपर्‍यो। चौतर्फी घेराबन्दी बाट प्रतिरोधात्मक क्षमता गुमाएका दाहाल टाइफाइड बोकेरै कीर्तिपुर पुगेर क्याम्पसहरूलाई ब्यारेक बनाउने अभिव्यक्ति दिन पुगे।

यो देखेर केहीले बाबुरामलाई प्रधानमन्त्री बनाए माओवादी लोकतान्त्रिक हुन्छ भन्ने तर्क दिन थालेका छन्। तर, गत वर्ष एउटा विदेशी सञ्चारमाध्यमलाई बाबुरामले दिएको क्रान्तिकारी अन्तर्वार्तालाई अहिले नै बिर्सन मिल्दैन। दलहरूलाई सिध्याउने रणनीतिका अभियन्ता उनलाई लोकतान्त्रिक ठान्नु माओवादीलाई नबुझनु हो। बाबुराम २०४८ सालको अन्तरविरोध सम्बन्धी व्याख्यालाई नै पछ्याइरहेका छन् जसलाई खरिपाटी भेलाले लिपिबद्ध गरेको छ। त्यसले माओवादीको शत्रु भारत होइन नेपालकै दलहरूलाई मान्छ।

पालुङटार बैठकमा माओवादीहरू अरू कुरामा लडे तर जनविद्रोहमा एकमत भए। अब संविधान नबन्नेमा निश्चिन्त भएकाले एमाओवादी जनतामा हामी संविधान निर्माणमा गम्भीर छौं भन्ने सन्देश प्रवाह गर्न चाहन्छ। संविधान नबन्दा जनजाति, मधेशी, दलित, महिला, उपेक्षित वर्ग र क्षेत्रका जनता सडकमा निस्केर सत्तामा पुर्‍याउँछन् भन्ने लाइनमा छ, एमाओवादी। ६ महिने कार्यदिशा त्यसैको उपज हो।

संविधानसभाको वैधानिकता गुमेपछि शासन राष्ट्रपतिको हातमा जान्छ र प्रमुख शत्रु बन्छ भन्ने एमाओवादीको विश्लेषण बुझन गाह्रो छैन। शान्तिप्रक्रियामा आएयता अन्तरविरोध सम्बन्धी विश्लेषणमा हरेकपटक चुकेको एमाओवादीले संविधानसभा निर्वाचनबाट आफूलाई प्राप्त सबै उपलब्धि गुम्ने गरी शत्रु खोज्ने दुस्साहस लिन चाहनुले उभित्रको हतासाको स्तर देखाउँछ। खरिपाटीको घेराबाट बाहिरिन नसक्दा पालुङटारपछि पनि एमाओवादीलाई यो औडाहाले पोलिरहेको छ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर