A+ A A-

हिंसा रापले भत्भतिएका प्रचण्ड

२९ अक्टोवर १९८४ मा उडीसामा चुनावी र्यालीलाई सम्बोधन गर्दै इन्दिरा गान्धिले -"मलाई मृत्युको डर छैन । मेरो रगतको एक एक थोपाले भारतको जग बलियो हुनेछ" भनि बोलेको भनाई उनको अन्तिम भाषण बन्यो ! ३ महिनापछि लोकसभा चुनाव हुंदैथियो । भाषणको २ दिनपछि ३१ अक्टोवरमा उनी आफ्नै दुई सिख अंगरक्षकद्वारा मारिईन् । उनको भाषणको गुढता बुझ्न पन्जाबमा चलेको खालिस्तान आन्दोलन भित्र चियाउनुपर्छ - नेपालमा चलिरहेको लिम्बुवान,मधेस, थारुवान लगायतका माओवादी पोषित आन्दोलन जस्तै !

सिख पहिचानमा आधारित अकाली दलले पन्जाबमा काग्रेंसको हैसियत साईजमा ल्याईदिएपछि गान्धीले फलामलाई फलाम काट्न  साम्प्रदायिक हिंसाको सहारा लिने निधो गरिन । जातीय रुपले उग्र अकाली दलकै सहयोगी युवा  जैलसिंह भिन्द्रावालेलाई 'राज्यको ब्याकअप' दिईन् । (एक मधेस विरुद्ध लक्ष्मण थारु?) त्यसमा उनी  सफल पनि भए । तर बलियों हुँदै गएपछि उन्मत्त भिन्द्रावालेले सिख पहिचानको मुद्दालाई पृथक खालिस्तान मुभमेन्टसंग जोडिदि - मधेसमा गोईत र पूर्वमा केहि खम्वुवान र लिम्बुवानी युवाहरु जस्तै !

सिखको स्वर्ण मन्दिरबाट हिन्दु विरुद्ध  सशस्त्र आतंक फैलाउन थालेपछि दवावमा परेकि गान्धीले आफ्नो नियन्त्रण बाहिर हुँदै गैरहेका भिन्द्रावालेलाई 'कानुन सिकाउन' ३ जुन १९८४ मा सेनालाई ज़िम्मा दिईन् । ब्लुस्टारको नामले ईतिहासमा कलंकित त्यो नरसंहारमा ४९२ जना' उग्रवादी' मारिए भने ८३ सैनिकले ज्यान गुमाए । कयौं घाईते भए । मर्नेमा सर्वसाधारण बढ़ी थिए भनिन्छ । भिन्द्रावाले मारिए तर  गान्धीको शहमा हुर्किएको हिंसा भने साम्य भएन - माओवादी बाईप्रडक्ट हतियारको राजनीति जस्तै ! त्यसमा मिसिएको पहिचानको भावनाले त्यसलाई झन बढ़ी आक्रामकता दियों ।

त्यसैले हिंसाको बलमा उभिएकि इन्दिरा गान्धीलाई  आफु कुनै पनि बेला  मारिनसक्ने भयले सताँउथ्यो  -हाम्रा प्रचण्ड कामरेडलाई जस्तै । गान्धीको माथिको  भाषण त्यहि भय मनोबिज्ञान सृजित अभिव्यक्ति थियो । आखिर उनको आंशका यथार्थमा परिणत भो- उनकै शरिर रक्षा गर्ने जिम्मेवारी लिएका सिख बडीगार्डले नै उनको प्राण हरे । उनकै बुवा जवाहरलाल नेहरुका सहयात्री बहुचर्चित  समाजवादी नेता जेपी नारायणले इन्दिरा सरकार बिरुद्ध  केहि समय अघि दिएको ' यदि सरकार ग़लत काम गर्न आदेश दिन्छ भने सेनाले समेत त्यसको अवज्ञा गर्नुपर्छ' भन्ने भाषणको परिक्षण जस्तै हुन गो इन्दिरा हत्याकाण्ड ।

बांग्लादेश अलग बनाउन मुक्ति वाहिनीलाई सम्पूर्ण सहयोग गर्ने र जनताको बीचमा गई पाकिस्तानसंग युद्ध लल्कार दिने गान्धी पाकिस्तानको ब्याकअप  अमेरिकी शक्तिसंग बरु 'निहू' खोज्न सक्थिन तर धर्म र भाषाका आधारमा देशमा चलिरहेको राजनीतिदेखि भने उनी बुवा नेहरु जत्तिकै भयभीत थिईन । डर स्वाभाविक थियो । इन्दिरा मात्र नभई छोरा राजीव समेत यो राजनीतिको शिकार भए । ८० को दशकपछि कांग्रेस नै यहि राजनीतिले खिईयो ।

अरुको मामिलामा बढ़ी नै हस्तक्षेप गर्ने खेलमा रम्ने, विपक्षी र अन्तरसामुदायिक अन्तर्विरोधको फाईदा उठाउँदै सत्तामा टिकिरहने अधिनायकत्वप्रिय 'इन्दिरा डक्टरिनका नेपाली गणतान्त्रिक मोहरा'  प्रचण्डले मर्ने (झुन्डिने),मार्ने र मारिन सक्ने भाषण अहिले मात्र गर्या होईनन् । त्यो पनि घोषित चुनावकै दुई महिना अघि । उनले यसअघि  भारतसंग सम्बन्ध बिग्रदा आफु पनि मदन भण्डारी जस्तै मारिन सक्ने  हल्ला फिंजाएकैहुन् । बाहिरिया त होईन - कताकति राजकाजमा इन्दिराको फलोअर जस्ता लाग्ने प्रचण्ड हिंजो 'आफ्नै राज्य' को सपना देखाई हतियार बोकाएका युवाहरु जातीय़, भाषिक, क्षेत्रीय मुद्दाले उग्र मात्र होईन बिचारले भिन्द्रावाले भन्दा बलिया  भएकाछन् भन्ने राम्ररी बुझेकाछन् । बहुसांस्कृतिक अन्तर्विरोधमा खेलि सिंहासनमा पुग्ने चाह राख्ने प्रचण्ड आफैले तयार पारेकाे मानव अस्त्रसंग डराएका हुन सक्छन् जसरी इन्दिरा डराएकिथिईन ।

पहिचानको आगोंसंग खेलेर जसरी रातारात उदाउन सुगम छ त्यति नै त्यसको प्रज्वनशीलताले तत्कालै भष्म भईन्छ भन्ने शिक्षा भारतभूमीबाट 'जनयुद्ध' हाँक्ने कामरेडले पढेनन्,सुनेनन् होला भनि तिनको अवमूल्यन गर्न मिल्दैन । इन्दिरा यस्ता महत्वाकाँक्षी राजकाजी महिला थिईन जसले नेपालमा समेत सशस्त्र संघर्षका निम्ति जनजातिका हातमा गोलाबारुद दिन चाहन्थिन् । लड्न गुर्खा रेजिमेन्टका ५० हज़ार मध्येबाट' रेडीमेड गुरिल्ला' हरु उपलब्ध गराईदिने तिनको योजना थियो । तर जनजाति नै यसका निम्ति तयार थिएनन् । धन्य हो तिनका ति परिमार्जित 'मुक्ति सेना' बन्न चाहेनन् । यो त्यो बेलाको कुरा हो जतिखेर राजा महेन्द्र आफुहरुलाई लज्जास्पद हार दिने चीनसंग टाँसिन थाले भन्दै गान्धीको पारा चढिरहेकोथियो ।

महेन्द्रका तत्कालीन दुत खगेन्द्रजंग गुरुगं ( स्वास्थ्य मन्त्री ) संग इन्दिराले जनजाति बिद्रोह थाल्न उक्साएको गुरुगंले उहिल्यै सार्वजनिक गरिसकेकाछन् । त्यस्तो सशस्त्र सहयोग गान्धीले  विपि कोईरालालाई पहिल्यै दिईसकेकाथिए, संयोगले बंगलादेशमा जस्तै त्यसको नाम पनि मिल्दोजुल्दो 'मुक्ति सेना' राखिएकोथियो, जसलाई गुर्खा सेनाहरुको' उल्लेख योगदान' थियो । इन्दिराको जातिय बिग्रह ल्याउन सक्ने त्यो प्रस्तावित योजनाको पछाड़ी के ख़ुराफ़ात थियो उनले जन्माएको RAW को ब्लुप्रिन्टमा केहि छ कि छैन कम्तिमा यस सोपेराका नेपाली पात्रहरुलाई त थाहा भए जस्तो देखिदैन तर संयोग कस्तो मिलेको छ भने २०५२ साल देखि   RAW को छत्रछाँयामा हुर्किएको भनिएको 'प्रचन्ड जनयुद्ध' को नियत र नियति चाहि  जातीय ध्रुवीकरण बढाउन उद्दत रहेको प्रष्ट झल्कन्छ । फ़र्क़ यति मात्र रहयो, मुक्तिसेनाको अगाडी 'जन' थपियो । त्यो एके-४७ सहितको लालझन्डा सिंहदरवार पसेपछि सबै ठिक हुने ठानिएकोथियो, कम्तिमा प्रचन्डको डरले त्यसको आयतन घटेको रहेनछ भन्ने बुझाउँछ  ।

तर कन्सपिरेसी थ्योरीमा सबैभन्दा बढ़ी विश्वास राख्ने प्रचन्ड जस्ता कम्युनिस्ट नेताहरुका निम्ति तल उद्दरण गरिएका वाच्य गुरुमन्त्र हुन्छन् भन्ने कथ्य र तथ्य भुल्नु हुँदैन -'पहिला हतियार दिने पछि 'मेलमिलाप नीति' मा ल्याईपुर्याउने विपीको नियति, पैठेजोरी खेल्ने बिरेन्द्रको बंशनाश, बनारस बास दिने मदन भन्डारीको सर्वनाश, पुल्पुल्याईएका ज्ञानेन्द्रको बनबास, ' एशियाकै सबैभन्दा बढ़ी सम्मानित प्रधानमंत्री' गिरिजाप्रसाद कोईरालाको बालुवाटारको कुनामा बास' बनाउन सक्ने इन्दिरा डक्टरिन ( युज एन्ड थ्रो) ले  आफुलाई पनि तह लगाउन थालिएको महसुस प्रचन्डले गरेका हुनसक्छन् ।

भारतले मधेसमा उपेन्द्र, गोइतहरु  र दलमा बाबुराम बलियों बनाई आफुलाई  चेक गरेको ठान्ने प्रचन्डलाई गालामा चडकन हान्ने पदम कुँवर जस्ताहरुसंग होईन पार्टीमा भएका नयाँ उपेन्द्र, गोइत, मातृका,लक्ष्मण थारु,गोपाल किरातीहरु जस्तासंग डर छ । त्यसो त पुष्पकमल भन्दा प्रचन्ड प्रितकर लाग्ने यि महत्वाकांक्षी पात्र बाहिर बलवान देखिन त खोज्छन तर तिनको बयान सुन्दा भित्रभित्रै जलिरहेका जस्ता  देखिन्छन् । हिंसासंग खेल्नेहरु कहिल्यै सुखी हुन सक्दैन भनिन्छ । प्रचन्डलले आदर्श मान्ने केहि नेताहरुका अन्त सुखदायी रहेनन् । त्यहि आत्मपिरलोले पनि हुनसक्छ, प्रचन्डलाई अस्वाभाविक मृत्युवरणको भयले असाध्यै सताईरहेको जस्तो देखिन्छ ,जसरी उनको राजनीतिक करियरसंग परोक्ष जोडिन आउने इन्दिरा गान्धीलाई मर्ने बेला यो चिन्ताले ज्यादै पिरोलेकोथियो । प्रचण्डलाई  हिंसाको रापले त्यसैगरि भत्भति पोलिरहेको संकेत हो उनको पछिल्लो अभिब्यक्ति ।

-जेवी पुन मगर

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर