A+ A A-

बाहुन सराप्ने जनजाति नेताहरुले सिक्नैपर्ने यी कुरा

१२ बजे शुरु हुने भनिएको कार्यक्रम १:३० मा पनि शुरु नभएपछि बाणिज्यदुत पर्खिएको होला भनि अड्कल काड्नेहरुले किरण शाक्यलाई सराप्न थालेकाथिए । मलाई पनि त्यस्तै लागि चेम्बर अफ कमर्सका अध्यक्ष जेएन ज्ञवालीलाई सोधिसकेकोथिंए तर त्यतिन्जेल कार्यक्रम शुरु भएको घोषणा गरिएकोले प्रश्न मुखैमा अड्कियो । कार्यक्रमको ३ दिन अघि चेम्बर्सका अध्यक्ष जेएन ज्ञवाली सहितको टिम र जनजाति महासंघका निवर्तमान अध्यक्ष भुपेन्द्र चेम्जोङ लगायतका टिमबीच भएको लामो छलफलले बाणिज्यदुत किरण शाक्यलाई बोलाउने सहमति भएको सूचना प्राप्त गरेको म जस्ता केहिलाई कार्यक्रमका प्रमुख अतिथि शाक्य नै होलान भनि लाग्नु स्वाभाविक थियो । तर होईन रहेछ । बाणिज्यदुत शाक्यबिनै कार्यक्रम शुरु गरियो ।

विशेष अतिथिका  नाममा हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापा, एनआरएनएका अध्यक्ष दुर्गा गुरुङ, आदिवासी जनजाति महासंघका अध्यक्ष एमवी थापा र एनआरएन आईसीसी प्रतिनीधि कृष्ण पाण्डेलाई ड्यासमा राखियो तर प्रमुख अतिथिको कुर्सी खाली राखि कार्यक्रम शुरु गरियो । मेरा निम्ति यो आकस्मिक कौतुहलता थियो । अन्य पाहुनाका मुहार पनि पढ्न खोजे तर तिनका भावभगिंमा आश्चर्यले खुम्चिएको देखिन । सोंचे, चेम्बरले हङकङमा नयाँ मानक राख्न खोजेको होला– प्रमुख अतिथि बिना कार्यक्रम गरि देखाउने । केहि फरक हुनासाथ पत्रकारको ऐन्टेना सक्रिय हुने र त्यसपछि मगज चल्ने स्वाभाविक क्रियाबाट उब्जिएको प्रतिक्रिया थियो त्यो । तत्क्षण एउटा चर्चित ब्यक्तिको उद्गार दिमागमा खेल्यो– ‘ नबुझ्नु पनि समस्या बढी बुझ्नु झन समस्या ।’

कार्यक्रम शुरु गरिएपछि मात्र थाहा भो कार्यक्रमका प्रमुख अतिथि नै महाबाणिज्यदुत महेश प्रसाद दाहाल रहेछन् । स–शरिर उनी त्यहाँ थिएनन तर उनले सरकारी लेटरप्याडमा सहिछाप ठोकी पठाएको पत्रलाई प्रमुख आतिथ्यको दर्जा दिइएकोथियो । तर सहभागीहरुले त्यो भेऊ नै पाएनन । कार्यक्रम संचालक महासचिव राजेन्द्र थापाले महाबाणिज्यदुताबासको लेटरप्याडमा अग्रेंजीमा टाईप गरिएको महाबाणिज्यदुत महेशप्रसाद दाहालद्धारा हस्ताक्षरित पत्र पढ्न शुरु गरेपछि मात्र मेरो दिमागमा उल्झिएको ‘खाली कुर्सी’को गुत्थी सुल्झिएकोथियो । पत्रको मजनुनमा ‘चेम्बरले  तेस्रो अधिवेशनमा प्रमुख आतिथ्यताको निम्ति आफुलाई बोलाएपनि कार्यब्यस्थताका  कारण आउन नसकिएको ’ भन्दै कार्यक्रमको सफलताको शुभकामना दिईएकोथियो ।

महाबाणिज्यदुतको पत्रको मजनुन

खुल्दुली लागेर मसंगै बसिरहेका चेम्बरको तर्फबाट जनजातिसंग वार्तामा बसेका मित्र कमल पौडेलसंग जिज्ञासा मेट्न ‘ हैन महाबाणिज्यदुतले त प्रमुख अतिथि बोलाएको भनि उल्लेख गरेकाछन् त ?’ भनि सोंधे । उनको दिमाग कतै ब्यस्त थियो या जवाफ दिन चाँहदैनथे । मुद्दालाई बिषयान्तर गरिदिए । दुई दिन अघि मैले एउटा अनलाईनमा लेखेको समाचारबाट उनी त्यति सन्तुष्ट थिएनन त्यसैले मौन बसेका होलान् भनि बढी कोट्याईन । अधिवेशन सकिएपछि आज (मंगलबार) चेम्बरका निवर्तमान अध्यक्ष ज्ञवालीसंग त्यसबारे बुझ्न खोजे । कुराकानीका आधारमा केहि तथ्य बुझ्न पाँए । उनका अनुसार, चेम्बरका संरक्षक महाबाणिज्यदुतलाई तेस्रो अधिवेशनमा प्रमुख अतिथि बोलाउनका निम्ति ३ दिन अघि दुई पक्षबीच वार्ता भएकोथियो । जनजाति महासंघले लिखित रुपमा नवनियुक्त महाबाणिज्यदुतलाई औपचारिक कार्यक्रममा नबोलाईदिन गरेको अनुरोधका आधारमा अन्य संस्थाले जस्तै चेम्बरले पनि त्यो अनुरोधको मान राख्दै आईरहेकोथियो । महासंघले वार्ताबाट छिटै कुरा मिल्ने भनि दिएको आश्वासनका कारण  घोषित समय भन्दा केहि पर अधिवेशनलाई सारिएको पनि थियो । तर दुई चरणको वार्ता विफल भएपछि चेम्बरले अधिवेशनको मिति तोकि आफ्नो संरक्षकलाई प्रमुख अतिथि बोलाउने योजना अनुरुप जनजाति महासंघसंग वार्ता बसेकोथियो । ज्ञवालीले भने,‘ महाबाणिज्यदुतलाई बोलाउने हाम्रो कुरा सुनेपछि उहाँहरुले यदि त्यसो गरिदिनुभयो भने हामीलाई अप्ठेरो पर्छ । यो मुद्दा अन्र्तराष्ट्रियकरण भएकोले हाम्रो पछाडि रहेको समुदाय भड्कन्छ, त्यसैले कृपया बरु महाबाणिज्यदुताबासबाट बाहुन समुदायकै अरु कुनै कर्मचारीलाई प्रमुख अतिथि बनाई कार्यक्रम गर्नाेस तर महाबाणिज्यदुतलाई नबोलाईदिनोस् भनेपछि हामीले उहाँहरुको मान राखेका हौं । यो निर्णयले महाबाणिज्यदुतलाई पनि आहत बनाएको होला ।’ उनको भनाईमा चेम्बरको कार्यक्रममा महाबाणिज्यदुतलाई प्रमुख अतिथि बोलाउनुपर्छ भन्दै उक्साउन स्वंय जनजाति मूलका केहि संस्थाका नेताहरु नै उनीकहाँ पुगेकाथिए । तर चेम्बरले त्यस्तो उक्साहटलाई भाउ दिएन र महाबाणिज्यदुतलाई कार्यक्रममा ल्याएन ।

अधिवेशनमा शुभकामना दिने क्रममा जनजाति महासंघका अध्यक्ष एमवी थापाले चेम्बरको यो सहयोगको खुलेरै प्रशंसा गरे । महासचिव राजेन्द्र थापाले चेम्बरको अधिवेशनमा पहिलोपटक जनजाति महासंघलाई मन्च उपलब्ध गराइएको भनि बाँधेको भूमिका लगत्तै माईक समातेका थापाले चेम्बरलाई मुरीमुरी आभार प्रकट गरेकाथिए । अधिवेशन लगत्तै महासंघका अध्यक्ष एमवी थापासंग पनि कुरा गरेकोथिए । उनको भनाईमा वार्तामा बाणिज्यदुत किरण शाक्यलाई बोलाउने दुई पक्षबीच मोटामोटी सहमति भएकोथियो । तर चेम्बरले शाक्यलाई नबोलाएकोमा उनी स्वंय आश्चर्यमा थिए ।

७ बर्ष देखि थालिएको भनिएको जनजाति महासंघको सबैभन्दा ठूलो कमजोरी के हो भने त्यसलाई हाँक्नेहरुसंग आक्रोश जनित राप र ताप त छ तर आन्दोलनलाई उचाईमा पुर्याउने प्रतापको भने नितान्त खडेरी छ । विवेकको अभाव छ, जसले निर्णय क्षमतामा सोझै प्रभाव पारिरहेकोछ । सरोकारवाला सबैले प्रष्ट के बुझेकाछन् भने नवनियुक्त महाबाणिज्यदुत दाहाल प्रमोशन भएको खण्डमा बाहेक फर्कने अवस्था छैन । उनलाई नबोलाइएपनि महाबाणिज्यदुतावासमा दैनन्दिन कार्य भई नै रहेकाछन् । त्यसमा रत्ति फरक परेकोछैन । गएका वार्तामा उनले महासंघका प्रतिनीधिहरुसंग हङकङमा जनजाति महाबाणिज्यदुत किन चाहियो कारण सहित लिखितम ल्याए आफुले च्यानल मार्फत सम्बन्धित निकायमा पुर्याईदिने प्रतिबद्धता जाहेर गरिसकेकाछन् । अहिले गर्ने नै त्यहि हो । यो मुद्दालाई सम्बन्धित निकायमा सशक्त रुपमा पुर्याउन सिस्टममा कसरी छिराउने र अर्को पालि जनजाति महाबाणिज्यदुत आउने चर्को भावभूमी तयार पार्ने । अन्यथा आन्दोलन मात्र गरेर हुनेभए ७ बर्षमा तेस्रो महाबाणिज्यदुत नियुक्त गरिदा जनजाति आईसक्नेथियो ।

त्यसो त जनजाति महासंघका  नेताहरुले हामीले नेताहरुलाई बुझाएको ज्ञापनपत्र के कागजको खोस्ता हो त ? भनि प्रतिप्रश्न पनि गर्ने गरेकाछन् । त्यस्तो आक्रोश जनित प्रतिक्रियाले आन्दोलनलाई तात्विक निष्कर्षमा पुर्याउदैन । अहिलेको समय भनेको बुद्धिको लडाई हो । मुद्दालाई सतहमा पुर्याउन आन्दोलन गरिनुपर्छ तर त्यो आन्दोलनबाट प्राप्त शक्तिलाई परिणाममा बदल्न विवेकको जरुरी अत्यावश्यक हुन आँउछ । अन्यथा जसरी २०६२/६३ को आन्दोलनको ज्वारले संविधानसभा आयो तर जनजाति लगायतका सरोकारवालाहरुको  विवेकले सहि रुपमा काम गर्न नसक्दा प्राप्त उपलब्धि नै गुम्न पुग्यो । अब संविधान बन्ने हो वा होईन भन्ने परिस्थति श्रृजना हुन गएकोछ । प्राप्त उपलब्धिलाई संस्थागत गर्दे जान नसक्नु जनजातिहरुको जुन कमजोरी नेपालमा पनि छ, हङकङमा त्यसको मात्रा झन बढी देखियो ।

धेरैले ध्यान दिएनन र दिएकापनि छैनन् । मैले माथि उल्लेख गरेको महाबाणिज्यदुतावासको पत्रको अन्र्तवस्तुको अद्योपान्त अध्ययन गर्ने हो भने असहज र विपत्तिमा पनि मगज प्रयोग गर्ने हो भने चुनौतीलाई कसरी अधिकतम उपयोग गर्न सकिन्छ भन्ने बडेमानको पाठ त्यस पत्र भित्र लुकेकोछ । त्यो जनजातिलाई पाठ हुन सक्छ कि सक्दैन थाहा छैन तर आन्दोलनकारीहरुले आक्रोशले हैन मगजमारी गरि संघर्षलाई थन्को लगाउनुपर्छ भन्ने शिक्षा भने त्यो पत्र नै हो । चेम्बरले जनजाति महासंघसंग वार्ता गरि महाबाणिज्यदुतलाई नबोलाउने आश्वासन दिई सौहार्दपूर्ण सम्बन्ध विकसित गर्यो र पहिलोपल्ट आफ्नै मन्च उपलब्ध गराई महासंघको अध्यक्षबाट प्रशंसाको शब्द सुन्ने वातावरण गरायो । त्यसो नगरि चेम्बरले प्रहरीलाई जानकारी गराई महाबाणिज्यदुतलाई बोलाई कार्यक्रम गर्न सक्थ्यो । तर त्यस्तो मुख्र्याई बिकल्पमा उसले ध्यानै दिएको देखिएन । जबकि त्यस्तो सुझाव दिने मुर्ख नेताहरु थुप्रा थिए । उता महाबाणिज्यदुत स–शरिर पो प्रमुख अतिथि बन्न नपाईने हो उनको पत्र त हुन पाउने भो नि । त्यहि गरियो एउटा तीरले तीन तीर शिकार गरियो । एकातर्फ महाबाणिज्यदुतको मान पनि राखियो । उनलाई कार्यक्रममा त बोलाइएको हो तर कार्यब्यस्थताको कारणले मात्र उनी नआएका हुन् भन्ने पारियो । त्यसले चेम्बर र महाबाणिज्यदुतको सम्बन्धमा कुनै दरार पर्न नदिई समस्याबाट पार लगाईयो । यदि बाणिज्यदुत वा अर्को कुनै कर्मचारीलाई बोलाइएकोभए त्यसले चेम्बर र महाबाणिज्यदुतावास दुबै हार्थ्यो । अर्को तर्फ स–शरिर महाबाणिज्यदुतलाई नबोलाएर जनजाति महासंघको अनुरोधको सम्मान राखेको पनि देखियो । जनजाति महाबाणज्यदुत माग राखि गरिएको हङकङको जनजाति आन्दोलनको ब्यवस्थापन पनि यसरी ‘सबैले जित्नेगरि’ गरिन जरुरी छ । तर त्यसका निम्ति बल र आक्रोश हैन विवेकको प्रयोग अपेक्षित छ ।

सरकारी पत्रमा लेखिएको शब्दको विशेष अर्थ हुन्छ । त्यो दस्तावेज हो । शुभकामनापत्रमा लेखिएका शब्दले महाबाणिज्यदुतले हारेर पनि जितेकोछ । चेम्बर्सको नेतृत्वले संस्थालाई कसरी नेतृत्व गर्नुपर्छ भन्ने पाठ नेपाली समाजलाई सिकाईदिएकोछ, यस्तो क्षमता सबै नेताहरुले सिक्दा हुन्छ । महासंघले जति बहिष्कार गरेपनि र जति संस्थाहरुलाई रोक लगाएपनि महाबाणिज्यदुत दाहालको सार्वजनिक कार्यक्रममा आवतजावत रोकिने देखिदैन । कसैले मानेपनि नमानेपनि चेम्बर अधिवेशन औपचारिक रुपमा महाबाणिज्यदुत दाहालको पहिलो सार्वजनिक कार्यक्रम हो । तर यस्तो कार्य सबैले ‘जित्नेगरि’ गरियो । त्यसैले मैले बारम्बार भन्ने गरेको महासंघले पनि प्राप्त मौकालाई विवेक प्रयोग गरि कसरी आफ्नो पक्षमा पार्न सकिन्छ, पार्ने प्रयास गर्नुपर्छ । आन्दोलनलाई दस्तावेजीकरण गर्दे लैजानुपर्छ र त्यसलाई नेपालमा राजनैतिक मुद्दा बनाउनुपर्छ । हङकङ जनजाति महासंघको आन्दोलन यस्तो आन्दोलन हो, न त्यस्को दस्तावेजीकरण भएकोछ न त्यस्ले सम्बन्धित निकायमा राजनैतिक मुद्दाको रुपमा स्थान बनाउन सकेकोछ । हङकङमा चिच्याएर मात्र हुँदैन । मुलतः आक्रोशले मात्र हुँदैन बुद्धि र विवकले आन्दोलन हाँक्न र त्यसलाई निष्कर्षमा पुर्याउन मगजमारी जरुरी छ । बाहुनलाइ गाली गरेर मात्र हुँदैन । आफ्ना कमी कमजोरी र क्षमतालाई पनि बढाउदै लैजान जरुरी छ । नेपालको राज्यसत्तामा शतप्रतिशत किन बाहुनको वर्चश्व भयो र किन जनजातिहरु विदेश भूमीमा पुस्ता दर पुस्ता बिताए होलान भनि बुझ्न र हङकङमा जनजाति नेताहरुले दावी गर्ने गरेको ‘२ प्रतिशत बाहुनले किन ९८ प्रतिशत जनजाति‘माथि राज गरे होलान् भनि गम्न कुनै ईतिहास पढ्नै पर्देन । चेम्बरको अधिवेशनमा महाबाणिज्यदुतको पत्रले प्रमुख आतिथ्य प्राप्त गरेको ‘बुद्धि–खेल’ लाई राम्ररी विश्लेषण गरे पुग्छ  । आफ्नो आन्दोलनमा यस्तो बुद्धि र विवेक उपयोग गर्ने क्षमता आन्दोलनकारीहरुको पनि पलाओस् त्यसले निश्चित रुपमा एउटा परिणाम दिनेछ जसले हङकङेली नेपाली समाजकै भलो गर्नेछ र त्यसले विश्वभरका नेपाली माझ सकारात्मक सन्देश दिनेछ ।
जेवी पुन मगर

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर