A+ A A-

स्यालुट ! तमु एकताका अभियन्ताहरुलाई



हङकङका संघसंस्थाहरुले बिरलै मात्र समाज जोड्न बल पुग्ने कार्यक्रमको आयोजना गर्छन । त्यस्ता कार्यक्म नछुटाउने मेरो यथाशक्य प्रयास हुने गर्दछ । गएको आईतवार यूमातेई कम्युनिटी हलमा भएको संयुक्त तमु ल्होसार ल्होछार समन्वय समितिको कार्यक्रम त्यस्तै खालको सकारात्मक उद्देश्यमूलक कार्यक्रम थियो । त्यसो त आयोजकले निम्तो दिएका थिएनन तर फेसबुकका भित्तामा टाँसिएका सूचनाले मलाई आकर्षित गरेकोथियो । निश्चित समयमा पुगी करिब २ घण्टा त्यहाँ बिताएकोथिए ।

अन्य ठाँउको तुलनामा हङकङका तमुहरुमा ल्होसार÷ल्होछार सम्बन्धमा आश्चर्य लाग्दो विवाद देखिन्छ । तमु प्हेलु संघले एकातिर र तमु ट्यो ह्युलले अर्काेतिर तमुहरुको प्रमुख चाड १५ पुष अर्थात ल्होसार÷ल्होछार मनाउने गरेकोछ । गत साल त बिभिन्न ६ वटा संस्थाले आ–आफ्नै किसिमले यो पर्व मनाएकाथिए । तर केहि चिन्तनशील तमुहरु भने यो चाडलाई एकै ठाँउमा मनाई तमु एकताको सन्देश दिन र आफ्नो समुदायलाई एक सुत्रमा बाँधिएको हेर्न लालायित देखिन्छन् । यहि लालसालाई मुर्त रुप दिन केहि तमुजनहरु यो चाडमा कसरी तमुहरुलाई एकै ठाँउमा ल्याई एकताको चाडको रुपमा स्थापित गर्न सकिन्छ भनि अहोरात्र खटेका देखिन्छन् । त्यसैले मलाई उक्त कार्यक्रमले आकर्षित गरेकोथियो ।

यद्यपि करिब १ महिना अघि देखि नै प्रचार प्रसार गरिएको कार्यक्रममा तमुजनहरुको उपस्थिति उत्साहजनक हुन सकेन । सरोकारवाला प्हेलु र ट्यो ह्युलका कुनै पदाधिकारीहरु आईदिएनन् । आउनेहरु पनि एक डेढ घण्टा ढिलो कार्यक्रम स्थलमा आईपुगेकाथिए । तर जति आएकाथिए ति प्रतिबद्ध र तमु एकताका निम्ति गम्भीर देखिन्थे ।  यस अभियानलाई निस्वार्थ भावले अगाडि बढाईरहेका  भारतीय भूतपूर्व संघका संस्थापक अध्यक्ष जंग बहादुर गुरुङ, ब्रिटिश गुर्खा भूतपूर्व सैनिक संघका अध्यक्ष हेमप्रताप गुरुङ, तमु साँस्कृतिक परिवारका अध्यक्ष रोशन गुरुङ, घले समाजका अध्यक्ष डम्मर घले र एनआरएनएका पूर्व सचिव मिन गुरुङ लगायत केहि चिन्तनशील ब्यक्तिहरु तैपनी किमार्थ आत्तिएका देखिदैनथे । जति आँउछन त्यतिबीच मै छलफल चलाउने भन्दै ति धैर्यताका साथ पर्खिरहेकोथिए ।
करिब २० जना तमुजन जम्मा भएपछि कार्यक्रम शुरु गरियो । बोल्ने अधिकांश वक्ताहरुले तमुहरु मिलि १५ पुषलाई एकै ठाँउमा कसरी मनाउन सकिन्छ भन्दै माथापच्ची गरेकाथिए । तिनका बोलाईमा कृतिमता थिएन । ति मनै देखि त्यस्तो बोलिरहेका लाग्दथे । मलाई जिज्ञासा लागेको के हो भने त्यहाँ आउने संस्थाका हर्ताकर्ताहरुमा पूर्वतिरका तमुहरुको बढी सहभागिता देखिन्थ्यो, पश्चिमको तुलनामा । शायद प्लेहु र ह्युलमा पश्चिमका तमुहरुको बाहुल्यता भएकोले पनि होला ति कम सहभागी थिए । हङकङमा तमु संस्थाहरुले सबैभन्दा ठुलो जनसंख्या तमुको भनि दावी गर्ने गरेकाछन् । तर तमु एकताको निम्ति भएको त्यति राम्रो कार्यक्रममा अन्तिम सम्ममा ५० जना जति मात्र मान्छे आईदिए । के हङकङका तमु एकजुट हुने १५ पुषलाई एउटा उत्सवको रुपमा मनाउन सक्दैनन ? सहभागीहरुको प्रश्न थियो, कार्यक्रममा ।
 केहिका भनाईमा तमुजन्य संस्थामा आवद्ध केहि तमुहरुले नितान्त स्वतन्त्र रुपमा गरिएको यो पवित्र कार्यको जस आफुले लिन नपाउने र  केहि ब्यक्तिले लगिदिने डरले पनि कार्यक्रममा नआएको धारणा ब्यक्त गरिरहेकाथिए । जबकी सार्वजनिक कार्यक्रममा तमुजन्य संस्थाका नेताहरु सबैले एक भई जानुपर्ने र १५ पुष एकै ठाँउमा मनाउनुपर्ने धारणा राख्छन । गत हप्ता भएको प्लेहुको एक कार्यक्रममा बोल्ने प्रायशः सबै वक्ताले पनि यहि कुरा डोहोर्याएकाथिए । कार्यक्रम सभापतित्व गरेका जंगबहादुर गुरुङका अगाडि हेमप्रतापले राखेका कुरा महत्वपूर्ण थिए । उनले भनेकाथिए, यो पवित्र कामको नेतृत्व दुई संस्था (प्हेलु र ट्यो ह्युल) मध्ये जसले गरेपनि हुन्छ, हामीलाई त मात्र कसरी एक ठाँउमा ल्होछार÷ल्होसार मनाउन सकिन्छ भन्ने चिन्ता मात्र छ । त्यसका निम्ति पहल गरिदिएको मात्र हो । तिनको भनाईमा केहि बर्ष अघि सम्म हङकङमा एकै ठाँउमा ल्होसार मनाईने गरिन्थ्यो, पछि मात्र दुईटा संस्थाले भिन्नाभिन्नै मनाउन थालेकाहुन् ।
यो अभियानमा लागेकाहरुलाई पद प्रतिष्ठा र जस लिने ध्याउन्न भन्दा पनि कसरी तमु एकता गराउन सकिन्छ भन्ने देखिन्छ । तिनले प्हेलु र ट्यो ह्युललाई एकै ठाँउमा १५ पुष मनाउन अनुरोध गर्नुको अर्थ सबै संस्कार संस्कृति एकै किसिमले गर्नुपर्छ भनेका पनि होईन भनि बारम्बार भनिरहेकाछन् । एकजना अभियन्ता भन्छन्, हामीले भौतिक रुपमा  एक ठाँउमा मनाउने मात्र भनेका हौं । संस्थागत बिलय हौं भनेका हैनौ । त्यस्तो भेलामा प्हेलुले एकातिर आफ्नै संस्कारले कर्मकाण्ड गर्नेछ भने ट्यो ह्युलले आफ्नै किसिमले संस्कारकर्म गर्नेछ । त्यसरी जाँदा आ–आफ्नो संस्कार पनि बच्ने र तमु एकता पनि देखिने हुनाले यो अभियान थालेको तिनको भनाई थियो ।
यस्तो सत्प्रयास नेपालमा पनि भएको र त्यसले मुर्त रुप लिएकोले यो संभव छ भन्ने अभियन्तकारीहरुको विश्वास देखिन्छ । यदि यसो हो भने तमु एकताको गतिलो सन्देश दिने यस्तो कार्यक्रम हङकङका तमुजन्य संस्थाहरुकै अगुवाईमा गर्न के ले छेकेकोछ ? आफ्नो समुदाय मिलेर बसेको कसलाई मन नपर्दाे हो र । विविधतालाइ कायम राख्दै यदि एकै ठाँउमा आई केहि आधारभूत सवालमा एक हुन सकिन्छ भने तमुजन्य संस्थाहरुले यसलाई ह्दय देखि स्विकारे कसैलाई आपत्ति हुने देखिदैन, यदि जुँघाको लडाई नबनाउने हो भने । पछिल्लो समय जनजाति संस्थाहरुमा विविधताको प्रश्न उठाँउदै टुट्ने भत्कने क्रम शुरु भएको सन्दर्भमा यो अझै महत्वपूर्ण छ । तमुबाट घलेहरु पहिचान खोज्दै अलग्गै हौं भनिरहेकाछन् । मगरमा पुन र राईमा कुलुङले त्यस्तो दावी गर्दे छुट्टिन खोज्दैछन । भोलि विविध संस्कारको आधारमा ल्होछार वा ल्होसार मनाउने मध्ये कसैले हामी भिन्न संस्कृति भएकोले तमु या गुरुङ होईनौ भन्दै छुट्टिन खोजे  भने त्यसले त्यो समुदायलाई कमजोर बनाउनेछ । अहिले पनि जनजाति मध्ये गुरुङ त्यति ठुलो जनसंख्या होईन । यो समुदाय अन्य जनजातिको तुलनामा संगठित र एकजुट रहेको विश्वास गरिन्छ । करिब ७ लाख जनसंख्या बोकेको यस समुदायले यदि १५ पुष संगै मनाएर आफ्नो समुदायको एकतालाई मजबुत बनाउँछ भने त्यस्तो शु–अवसरलाई चुक्न दिनु हुँदैन । यस्तो पवित्र उद्देश्य बोकी हङकङमा लामो समयदेखि लागिपरेका अभियन्ताहरुलाई ह्दय देखि  धन्यवाद दिदैं यसपालिको १५ पुष देखि तिनको अभियान सफल होस र तमु एकता बलियो बनोस शुभकामना ।

जेवी पुन मगर

फोटो श्यामसुन्दर थापा


 

हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी