A+ A A-

चिन्डियाक: मगरलाई गलत ईतिहास पढाउने फिल्म

लामो समयपछि हिंजो ( ८ सेप्तेम्बर) मगर रोस गुमष्ठाले युनलोगं थियटरमा प्रदर्शन गरेको मगर संस्कृतिमा आधारित भनिएको चलचित्र चिन्डियाक हेरियो । ब्यस्तताका बावजुद अर्धागिनी सीताको करकापले त्यहां पुगेकोथिए । नेपाली संस्थाहरुले हरेक साता जसो आयोजना गर्ने यस्ता कार्यक्रममा मेरो उपस्थिती शून्य जस्तो हुने गर्दछ । तिनले खाममा हाली पठाईदिएका भिआईपी पास त्यसै खेर जाने गरेकाछन । मेरो आफ्नो प्रष्ट अडान छ, यदि बुद्धि- बिमर्श र समाज लाई अगाडी बढाउने खालका कार्यक्रम आयोजना गरिएकाभए त्यसमा नबोलाईएपनि हरहालमा पुग्ने प्रयास गर्दछु तर मनोरन्जन र सम्मान जस्ता कार्यक्रम मेरा प्राथमिकताको सबै भन्दा पुछारमा रहने गर्दछ । त्यसैले गत साल दुई-दुई पटक देखाईएको यो चलचित्र हेर्न गएको थिईन ।

जस्तै हिंजै तमु एकताका निम्ति युमातेई कम्युनिटी हलमा  गरिएको कार्यक्रममा  नबोलाईएपनि ब्यक्तिगत काम थाँती राखेरै करिब २ घण्टा बिताएकोथिए । यहाँ यी सब भूमिका किन बाँधिरहेकोछु भने यदि हिंजो चिन्डियाक हेर्न सीताले बाध्य नपारेकोभए बित्यास पार्दोरहेछ !
 सन्तोष पिठाकोटेको लेखन र निर्देशनमा  चिन्डियाक सिनेमा भन्दा पनि बृतचित्र बन्न पुगेकोछ ।  मगर संस्कृतिमा आधारित भनिएतापनि चलचित्रमा देखाईएका केहि दृश्य  ( बिवाह र नाचगान )  बाहेक त्यसभित्र के कुरा मगर संस्कृतिका छन् भन्ने नै भेउ पाईदैन । घाँटु, मारुनी, कौडा, झ्याउरे गीत राख्दैमा त्यसलाई मगर संस्कृतिमा आधारित चलचित्र भन्न सकिदैन । किनकी कथाबस्तु नै त्यसको सेरोफेरो घुम्दैन । सिनेमालाई एउटा कथाले डोहोर्याएको हुन्छ तर चिन्डियाकमा त्यस्तो कथा नै छैन । तनहूको एउटा गाँउमा साथीको लोकन्ती बनी जन्त गएको नायकको त्यसै गाँउको एक युवती जसलाई आफ्नो भाषा बोले र ड्रेस लगाए मगर संस्कृति बच्छ भन्ने लाग्दछ,संग प्रित बस्दछ । नायकलाई पनि आफ्नो समुदायको भाषा संस्कृति बचाउन चेतना बाँड्नुपर्छ भन्ने चेत छ । खैरेनी पढिरहेको नायक फर्किएकोबेला युवतीलाई लाहुरे माग्न आँउछ र तिनको बुवाले छोरीलाई नसोधीकनै बिवाहको छिनोफानो गरिदिन्छन । छोरी आमासंग प्रतिवाद गर्छिन तर उनको ज़ोर चल्दैन । केटी आईपरेको समस्या नायकलाई फ़ोन गरि बेलिबिस्तार लगाउछिन । नायकले उनलाई खैरेनी डाक्छन् । बहिनीको सहयोगमा केटी खैरेनी पुग्छिन र केटासंग उनको गृहजिल्ला पुगी बिवाह बन्धनमा बाँधिन्छन् ।
चलचित्रको कथा यति हो । यो कथामा मुलधारका दर्जनौ सिनेमा बनेकाछन । नयाँपन केहि छैन । मुलत: कथाको अन्तर्बस्तु हो । चलचित्रमा बारम्बार 'भाषा बोले र मगर पोशाक' लगाए मगरको पहिचान सुरक्षित हुन्छ र लाहुरे हुनु भन्दा पढ्नुपर्छ भन्ने सन्देश दिन खोजिएकोछ तर ठाडो पारामा । भाषाका निम्ति म्याग्दीको मगर ढुट नजान्ने एक पुन थरकी युवतीलाई खडा गरिएकोछ । ति पात्रलाई अगाडी सारि बहुसंख्यक  मगरहरुले आफ्नो भाषा बोल्न नजान्नुका पछाडि जे कारण दिईएकोछ त्यो झारा टार्ने खालको छ । त्यति गम्भीर बिषयमा त्यो बिध्न उपेक्षाले लेखकको बौद्धिक स्तर देखाँउछ । 

त्यसैगरि शिक्षा प्रवद्धन गर्न प्रमुख पात्रहरुलाई कलेज हिंडेको पनि देखाईएकोछ । तर पढ्नुपर्छ, मगर संघ मार्फ़त राजनीति गर्नुपर्छ भनि शिक्षा दिदै हिंड्ने नायकले नै समस्या आँउदा पढ़ाई पूरा नहुदै पढिरहेकि नायिकालाई भगाएर बिवाह गर्ने  परम्परागत शैली अपनाउँछ,जुन फिल्मले दिन खोजेको सन्देशसंग तारतम्य नै मिल्दैन । चलचित्र भरि मगर जागरूक हुनुपर्छ भन्दै नाराबाजीको शैलीमा आग्रह गरिएकोछ,जसले सिनेमा हैन बृतचित्र हेरेको महसुस गराँउछ । आफ्नो कुरा भन्ने लेखकको रचनात्मकता रत्ति देखिदैन । चलचित्र जति निरस छ त्यो भन्दा ख़तरनाक बदमासी त्यसभित्र भएका पटकथाका दृश्यहरुमा छन्, जुन लेखकको जानकारीमा  भएको देखिन्छ !

एउटा दृश्यमा मगर भाषाको पहिलो उपन्यास भन्दै स्याग्जाका लोकबहादुर थापा ( झुस्याहा मगर ) को एउटा कृतिलाई अनावरण गरेको देखाईएकोछ । जबकि मगर बुद्धिजिवी दुनियालाई थाहा छ, उदयपुरका सन्जोग लाफाद्वारा लिखित 'रेवस' मगर भाषामा लेखिएको पहिलो उपन्यास हो । धनकुटा घर भएका भनिएका पिठाकोटेलाई यो जानकारी नभएको कसरी मान्ने ! कार्यक्रममा ळेखक थापा स्वंय आमन्त्रित छन् ।

यो नाम राख्ने लोभमा थापा स्वंयको बदमासी हो वा लेखकको तर आफ्नो नाम राख्ने जस्तो तुच्छ बदमासीका निम्ति किन सिनेमा नै दुरुपयोग गरियो भन्ने कुरा चाहिं उदेक लाग्दो छ । माओवादीका मगरात मुक्ति मोर्चाका योजनाकार थापालाई प्रोजेक्ट गरिएको उक्त कार्यक्रममा प्रथम शहिद लखन थापासंगै मगर भाषाका आदिकविको तस्वीरमा धूप बालेर सम्मान दिईएकोछ । जबकि सिन्जाली जिउदै छन । सबैलाई थाहा छ, मगर संघले आदिकविको खिताव दुई जनालाई दिएकोछ । सिन्जाली र सुवेदार रेखबहादुर सारु मगरलाई ।

सिनेमामा देखाईएको तनहूको मगरसंघको एउटा इकाई समितिको उक्त कार्यक्रमका दिवंगत रेख बहादुरको फोटो नै राखिएकोछैन ।आयोजकलाई आफ्नै गृहजिल्लाका आदिकवि सारुबारे थाहा नहुनु र त्यहाँ आएका प्रमुख अतिथि लोकबहादुरले यसमा औला नदेखाईदिनुले चलचित्र बनाउनेले यो सिनेमा मगरलाई जागरूक बनाउन भन्दापनि भ्रम र अन्यौल छर्ने राजनीतिका निम्ति बनाएको देखिन्छ ।

हगंकगंमा मात्र ३ पटक यो सिनेमा देखाईएकोछ । अन्य ठाँउमा पनि देखाईयो होला । आफुलाई यत्रो त्रुटीबारे कसैले भनेको र लेखेको थाहा छैन । मगरसंघले त ध्यान दिएन रे ठिकै छ तर मगर चलचित्रकर्मी संघ, मगर लेखक संघ, आदिवासी चलचित्रकर्मीसंघले चाहि भ्रम छर्ने र यस्तो ख़तरनाक सन्देश प्रवाह गरिरहेको सिनेमा चलिरहदा चाहि के हेरिरहेकोछ कुन्नि !  मगर संस्कृतिका नाममा मगरकै ईतिहासलाई मेटाउन खोज्ने र ग़लत ईतिहास स्थापित गराउन खोज्ने राजनीति बोकेको सिनेमा भित्रका यी दृश्यहरु सम्बन्धमा नजानेर नबोलिएको हो कि जानेर पनि मौन बसिएको हो पत्तो भएन । तर यदि हिजों यो सिनेमा हेर्न नगएकोभए मैले पनि यति ठुलो बदमासी देख्न पाँउथेन । त्यसैले त्यहाँ ज़बर्दस्ती लैजाने सीतालाई धन्यवाद दिएको हुँ ।

जेवी पुन मगर

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर