A+ A A-

हरे ! कहिले सुध्रन्छन हङकङका नेपाली नेताहरु



हङकङका नेपाली संस्थाका टाउकेहरुलाई कहाँ, के र कसरी प्रस्तुत हुनुपर्छ भन्ने न्युनतम ज्ञान पनि रहेनछ भन्ने पछिल्लो दृष्टान्ट मेरो निर्देशनमा तयार भएको ‘जातीय राजनीतिको हङकङ कनेक्सन’ बृत्तचित्रको प्रिमियर प्रदर्शनीमा उदाँगो गरि छरपरस्ट भएकोछ । हङकङमा ७ बर्ष देखि आदिवासी जनजाति महासंघ हङकङले थालेको जनजाति महाबाणिज्यदुत मागको आन्दोलन सम्बन्धमा तयार पारिएको यस बृत्तचित्रका प्रमुख पात्रहरु महाबाणिज्यदुत महेशप्रसाद दाहाल, जनजाति महासंघका अध्यक्ष एमवी थापा, एनआरएनएका अध्यक्ष दुर्गा गुरुङ, चेम्बरका जेएन ज्ञवाली, एमाओवादी हङकङका सचिव जेवी ओख्राबु, गुर्खा भूपूका हेमप्रताप गुरुङ लगायतका यहाँका संघसंस्थाका प्रमुख ब्यक्तित्वहरु मेरा कार्यक्रमका पाहुना थिए । तिनलाई स्वंय मैले ब्यक्तिगत रुपमा अनुरोध गरि त्यहाँ डाकेकोथिए ।

समाजलाई असाध्यै ध्रुबीकरण बनाईरहेको जनजाति महासंघको यो मागलाई कसरी ब्यवस्थापन गर्ने भन्ने सवालमा नेपाली समाजका बहुसंख्यक सदस्यहरु चिन्तित छन् । त्यसो त जनजाति महासंघ स्वंय यसलाई लम्ब्याउने भन्दा कसरी आफ्नो गरिमा र आत्मसम्मानलाई जोगाँउदै यो संघर्षलाई ब्यवस्थापन गर्न सकिन्छ भन्ने चिन्ताले दुई दुई पटक महाबाणिज्यदुतावासको कार्यालयमा वार्ताको टेबलमा बसिसकेकोछ ।
त्यसैलाई मध्यनजर राखि मैले त्यसै बिषयमा तयार पारेको बृत्तचित्रको पहिलो शो यिनै सरोकारवालाहरुबीच देखाउने निधो गरेकोथिए । एउटा पत्रकारले जनजाति महासंघको यो आन्दोलनलाई जे देखेकोछ त्यसैको आधारमा तयार पारेको हुनाले यसको संयोजनकारी भूमिका खेलिदिन  नेपाल पत्रकार संघ हङकङका अध्यक्ष किसन राईलाई अनुरोध गरेकोथिए । त्यस दिनको कार्यक्रम संयोजन संघले गरेकोथियो । यद्यपि पाहुनाहरुलाई म स्वंयले आमन्त्रित गरेकोथिंए ।
जनजाति महासंघले महाबाणिज्यदुतलाई कुनै पनि कार्यक्रममा नबोलाउन उर्दी जारी गरेको परिप्रेक्ष्यमा यो आन्दोलनको पक्ष बिपक्षलाई कम्तिमा एकै ठाँउमा राखी अनौपचारिक रुपमा भएपनि भेट गराउन सके त्यसले सहज वातावरण श्रृजना गर्ला भनि यो भेटको आयोजन गरिएकोथियो । यदि जनजाति महासंघबाट विरोध वा धम्की केहि आएछ भने त्यो म स्वंय ब्योहोरुला भनि एउटा रिस्क उठाएकोथिएं । त्यसको बदलामा यस्तो भेटले भोलि हुने दुई पक्षबीचको वार्तालाई सहजीकरण गर्ने मेरो बुझाई थियो,जुन नेपाली समाजको निम्ति सुखद परिणाम हुन सक्थ्यो । साथै, दिवगंत पत्रकार मित्र देव पाटाको निम्ति आर्थिक कोष तयार पार्न निकट भविष्यमा च्यारिटी शो गर्न गैरहेको र नेपालमा पनि सरोकारवालाहरुबीच यसलाई प्रदर्शन गरिने हुनाले  बृत्तचित्रमा भएका कमीकमजोरी माथि सुझाव आँउछ कि भनि  हङकङका सरोकारवालाहरुलाई डाकिएकोथियो ।
तोकिएको समयमा आईदिएका दुई पक्षका पाहुनाहरुको एकापसमा भेट हुनु मेरा निम्ति सुखद क्षण थियो, त्यो । त्यस्तो वातावरणमा दुई पक्षले संगै बसी आफ्नै बारेमा बनेको पौने घण्टाको चलचित्र शान्तसाथ हेरिदिए । सबै पाहुनाहरुको भद्रता उल्लेख्य थियो । तर बृत्तचित्र सकिनासाथ शुरु भएको त्यसभित्रको कन्टेन्टलाई लिएर किसन राई ( उनले बोलेका केहि क्लिप्सलाई लिएर उठेको प्रश्न) माथि प्रश्न शुरु भएपछि बहसले भने गलत ट्रयाक समात्न पुग्यो । यदि प्रश्नोत्तर सम्बन्धित बिषयमा मात्र सिमित भएकोभए त्यसले राम्रो अन्र्तक्रिया गर्न सहयोग पुग्थ्यो पनि होला तर प्रश्नोत्तरको सिलसिला यति अभद्र र असभ्य हुन पुग्यो कि उपद्रो तरिकाले प्रस्तुत भएका संस्थाका नेताहरु नै ब्यक्तिगत गालीगलौजमा उत्रन पुगे, आ–आफ्ना समस्यामाथि भडास निकाल्न शुरु गरे, जुन अत्यन्त दुखद मान्छु म । किसन राई त्यहाँ जनजाति आन्दोलनकारी र उनको पत्रिकाको सम्पादकको हैसियतमा थिएनन उनी पत्रकार संघका अध्यक्षको हैसियतले कार्यक्रम संचालन गरिरहेकाथिए, जुन मेरो अनुरोधमा उनले त्यो भूमिका निर्वाह गरिरहेकाथिए ।
तर उनी माथि खनिएकाहरुले राईले जनजाति आन्दोलन, विद्रोही एनआरएनलाई पुर्याएको सहयोग, बृत्तचित्रमा बोलेका आफ्नो दृष्टिकोण र उनले लेखेको समाचारलाई लिएर अत्यन्त तुच्छ शब्द प्रयोग गरि गाली गलौज गर्ने कार्य भए । दुखद के हो भने त्यस्तो गर्नेहरुमा संस्थाका टाउकेहरु नै थिए । तिनले कार्यक्रम कसले, किन र के प्रयोजनका लागि आयोजन गरेको हो भन्ने सामान्य नम्स समेत बिर्सन पुगे ।  यो सबै कृत्य महाबाणिज्यदुत र समाजका गन्यमान्य ब्यक्तित्वहरुकै माझ हुन गयो । त्यहि बीच पत्रकारितालाई समेत गाली गर्ने काम भयो, जुन मेरा निम्ति अत्यन्त खेदजनक कुरा हुन । आफै नागिंनेगरि किन यस्ता कृत्य गरिन्छन् स्वंय नेताहरुले शान्त दिमागले आफैलाई सोध्ने हो भने भविष्यमा यस्ता गल्ति नदोहोरिएलान कि ? तर एउटा महत्वपूर्ण कुरा के बिर्सन हुदैंन भने पाहुना मान्न गएपछि  त्यसको सामान्य प्रतिष्ठा र ईज्जत राख्न सक्नुपर्छ । यति ज्ञान समेत तिनमा नदेखिएको हुनाले मेरा निम्ति यसलाई एउटा पाठको रुपमा लिएकोछु । एक पटक त नेपाली समाजका नेताहरु द्धन्द्ध र विवाद साम्य नहोस भन्ने भित्री उद्देश्य नै राखि कार्यक्रम बिथोल्न खोजेका त होईनन भन्ने मनमा समेत पर्न गयो ।
तर यसका बावजुद जनजाति महासंघका अध्यक्ष र महाबाणिज्यदुतले जुन सौहार्दता र भद्रतापूर्वक संयम नगुमाई आफ्नो बिचार राखे त्यसले मेरो कार्यक्रम सफल भएको ठानेकोछु । दुबै पक्षले राखेको भनाई मिलेर जाने र वार्ताको विकल्प नभएको भन्ने थियो, जुन नेपाली समाजका निम्ति शुभ समाचार हो । म लगायत हङकङेली नेपाली समाज सबै यो आन्दोलनले एउटा टेको लेओस र सबै शान्तपूर्वक बस्न पाईयोस भन्ने शुभेच्छा पालिरहेकाछन । त्यसैले पनि सम्पूर्ण समाजका नेताहरुले गम्भीरतापूर्वक आ–आफ्नो भूमिका निर्वाह गर्न जरुरी छ भनेको हुँ ।
अन्तमा,
मेरो निम्तोलाई स्विकारी आफ्नै समाजको आईनालाई हेरिदिन आउनुभएका महाबाणिज्यदुत दाहाल लागयतका पाहुनाहरुले त्यस दिन जे जस्ता अप्ठ्याराहरु भोग्नु भो र विशेषगरि पत्रकार संघका अध्यक्ष किसन राईले मेरो कार्यक्रममा मेरा निम्ति जे अपमान ब्योहोर्नु पर्यो त्यसका निम्ति म अत्यन्त लज्जित छु । आशा छ, यहाँहरुले तत्कालिन समयको गाम्भीर्यतालाई बुझिदिनुहुनेछ र मलाई माफ गर्नुहुनेछ ।
 

हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी