A+ A A-

गोलीको बोली मात्र बुझ्ने नेपाली राजनीतिको डरलाग्दो पाटो


जेवी पुन मगर
नेपालमा धनी र गरिबबीच ब्यापक असमानत छ त्यसैले त्यो असमानता हटाउन वर्गीय मुक्तिको बाटो पार गर्दे अगाडि बढ्नुपर्छ भन्दै गरिब, पिछडिएका र राज्यबाट बहिष्कृत ठूलो जमातलाई कम्युनिष्ट राजनीतिको बाटो देखाउन थालिएको पनि आधा शताब्दि भन्दा बढी भैसकेकोछ । तर नेपाली गरिबी, उपेक्षित र उत्पिडितहरुको अवस्था जहांको तहिं छ । बि.स. २००६ सालदेखि सांगठनिक रुपले नेपालमा कम्युनिष्ट अर्थात वर्गीय राजनीतिको शुरुआत भएको हो । तर त्यस अघि वि.स. २००३ सालमै नेपाली काग्रेंसले त्यस्तो वर्गीयतामा आधारित राजनीति शुरु गरेकोथियो ।
पचास बर्ष भन्दा बढी जुन राजनीतिले सरोकारवालाहरुको जीवनस्तरमा तात्विक असर पारेको छैन त्यसकै पछि अझै रोमान्चकारी आकर्षण  देखिन्छ । २०४६ सालअघि नेपाली कम्युनिष्ट पार्टीहरुको राज्यसत्तामा प्रत्यक्ष संलग्नता उल्लेख्य हुन सकेन तर बाहिरबाट तिनको भूमिका कम थिएन । यो अवधिमा नेपाली काग्रेंस नै सत्ताको केन्द्रमा रहयो । त्यतिबेला नेकाको मुद्दा आजको कम्युनिष्ट दलहरुको भन्दा कुनै अर्थमा कम थिएन । नेकाले नै नेपालमा  हिंसात्मक राजनीतिको शुरुआत गरेकोथियो ।
आजका कम्युनिष्ट बाहुनहरु जनै लगाई पहिचानको सह–अस्तित्वको वकालत छाट्दै पुराण बाचन गरिरहेको भेट्न सक्छौं तर त्यतिबेलै नेकाका क्रान्तिकारी बाहुनहरु जनै फालेर हलो जोत्दथे । हिन्दु सत्ताको दबदबा रहेको अवस्था जहां बाहुनले हलो जोते चारपाटा मुडाईदिने कानुनी ब्यवस्था थियो, त्यस्तोमा नेकाका युवा बाहुनहरु धर्म छाड कर्म गर भन्दै देशभरी जागरण छर्दे हिंड्थे । २००७ सालमा अहिले माओवादीले गरे जस्तै  जनजाति युवा र भूपू लाहुरेहरुलाई लिएर नेकाले सशस्त्र संघर्ष नै गरेकोथियो । त्यसैले २००६ मै स्थापना भएको कम्युनिष्ट दलहरु नेकाको छेंऊ सम्म पनि पुग्न सकेका थिएनन् । कम्युनिष्टका बेफजुल लाग्ने नारा र आदर्शवादी तिनका नेता भन्दा नेकाको ब्यावहारिक र त्यो दलका  प्रतिबद्ध नेताहरु जो जनजनसंग भिज्थे, ले सबैलाई आकर्षित पारेकोथियो । जबकि त्यतिबेला विश्वका २९ वटा राष्ट्रमा कम्युनिष्ट सत्ता स्थापना भएकोथियो र तिनको ब्यापक सहयोग नेपाली कम्युनिष्ट दलहरुलाई प्राप्त थियो ।
तर नेका आफै सत्तामा पुगेपछि भने त्यसको क्रान्तिकारिता पनि भुत्ते हुदैं गयो । हिंजो सबैलाई सत्तामा लैजान बल गर्ने ति नेताहरु आफु त्यहां पुगेपछि आफ्ना नाता, समुदायलाई मात्र त्यहां थुपार्न शुरु गरे । समानता र क्रान्ति इतिहासको थैलोमा थन्कन थाले । त्यसले जनतामा नेकाप्रति नैराश्य जगाउन थाल्यो । ति बिस्तारै चर्का र क्रान्तिकारी नारा बोकेका कम्युनिष्ट दलहरुप्रति आकर्षित हुन थाले । नारा करिब एउटै थियो, गरिबलाई समान हक दिलाउने र सत्तामा पुर्याउने अनि दुखबाट मुक्ति दिलाउने ।

त्यतिबेलै ( विस २०३८ )केहि कम्युनिष्ट ठिटाहरुले गरेको झापाको हिंसात्मक कार्वाहीले नेकाको ठांउमा कम्युनिष्टहरुको चर्चा चल्न थालेकोथियो । तिनलाई क्रान्तिकारीको रुपमा हेर्न थालिएकोथियो । त्यसको प्रभाव २०४६ सालको परिवर्तनपछि देखियो । नेकाकै वर्चश्व भएपनि थुप्रा कम्युनिष्ट दलहरुले प्राप्त गरेका मतलाई जोड्दा ति बहुमतमा देखिन्थे । मतको हिसाबले अद्यापि कम्युनिष्टहरु नै पहिलोमा पर्छन् । अर्थात मान्छेमा कम्युनिष्टप्रति मोह बढ्दै गएको देखिन्थ्यो । कमाण्डर जीवन मगरको नेतृत्वमा झापा काण्ड गर्ने सिपी मैनाली, राधाकृष्ण मैनाली, केपी ओली, झलनाथ खनालहरुको नेकपा एमालेले अपत्यारिलो किसिमले सत्तामा आफ्नो वर्चश्व देखायो, जसरी गएको संविधानसभामा एमाओवादीले देखाईदियो ।
तर लामो समय सत्तामा रहेको हिंजोको एमाले सत्तामोहमा यसरी लत्पतियो कि त्यसले नेकाले जति पनि आफ्नो प्रभाव र प्रभुत्व टिकाउन सकेन । झन बढी पतित र त्यति नै बढी साम्प्रदायिकताको आरोप लागेको एमालेको यहि कमजोरीको फाईदा उठाउदै २०४२ सालमा हतियार उठाएर केहि चौकीमा असफल आक्रमण गरेका केहि ठिटाहरुले २०५२ सालमा हतियारको राजनीति प्रारम्भ गरे । नेका कमजोर हुंदा कुनै बेला हिंसाको राजनीतिको बलमा सत्तामा पुगेको नेकाको ठांउ लिन हतियारकै भाषा प्रयोग गरेका तत्कालिन माले र हालका एमालेलाई विस्थापन गर्न पुनः हतियारकै बल प्रयोग गर्नुपरेको देखिन्छ ।
माओवादीले २०५२ सालदेखि शुरु गरेको हिंसात्मक राजनीतिले करिब १५ हजार ब्यक्तिले ज्यान गुमाउनुपर्यो । तर त्यसबापत नेकपा एमाओवादी सत्तामा आसिन हुन पुग्यो । नेकाले भित्र्याएको हिंसात्मक राजनीतिको यो लेनदेनलाई धेरैले पछ्याई रहेकाछन् । अहिले माओवादी हतियार फालेर सत्ताको केन्द्रमा छ जसरी हिंजो नेका र एमाले थिए । उसलाई दुई पुराना सत्ताधारी दलको समर्थन प्राप्त छ । तर हिंजो नेका र एमालेले जे गल्ति डोहोर्याएर आफ्नो छवि ध्वस्त बनाई सत्ता बाहिर आउनु परेकोथियो आज माओवादी पनि त्यहि बाटोमा हिडिरहेकोछ । उसले हिंजो उठाएका परिवर्तनशील मुद्दालाई बिर्सदै गएकोछ र त्यसमा आफ्नोपन र अपनत्व गुमाउदै गएकोछ ।
त्यसैको प्रतिफल उसले गएको चुनावमा भोग्नुपर्यो । संघीयतामा चर्काे लविङ गर्दे आएको उसलाई मधेसी जनताले आफ्नो मान्दै आएकाथिए । तर संघीयतामा गिरिजाप्रसाद कोईरालाकै हां मा हां मिलाएपछि हिंसात्मक रुप लिएको मधेस आन्दोलनले नेकाको त पत्तै साफ गरिदियो माओवादीले समेत ठूलो धक्का सहनुपर्यो । रातारात त्यो हिंसाले मधेसी दलहरुको उदय भयो र तिनले उल्लेख्य सीट पनि ल्याए । आज मधेसी दलहरुको मोर्चा तेस्रो ठूलो शक्तिको रुपमा सत्तामा हस्तक्षेप गर्ने हैसियत राख्दछ । हालत यहां सम्म पुग्यो कि मधेसी मोर्चाको समर्थन बिना ३ क्रान्तिकारी दलका केहि चल्दैन ।
नेपाली राजनीतिमा हिंसा यस्तो स्विकार्यता भैसक्यो कि त्यो बिना दलहरुले सत्ता प्राप्त गर्ने सकिदैन भन्ने मनोबिज्ञान बनिरहेको देखिन्छ । नेपाली राजनीतिको यो नै सबैभन्दा घातक पक्ष मान्नु पर्दछ ।
माथिका दलहरु ( मधेसवादी बाहेक) सबै वर्गीय राजनीतिका पक्षधर भएकोले तिनले शुरु गरेका गलत बाटोले देशले भयानक क्षति ब्योहोर्नु परेन ।
तर अब वर्गीयताले नेपाली राजनीतिमा काम गर्न छाडेकोछ । पहिचानको राजनीतिको पिकअप नजानिदो किसिमले उकालो लाग्दोछ । हिंजोका वर्गीय मान्यताहरु मक्किन थालेकाछन् र आ आफ्नो पहिचानको मुद्दाले त्यसमा पालुवा हालेर फक्रन पनि शुरु गरिसकेकोछ । माओवादी हिंसात्मक संघर्षमा १२ बर्षमा १५ हजारले ज्यान गुमाएकाथिए तर मधेस आन्दोलनको १ महिने उथलपुथलमा दर्जनौ ब्यक्ति मारिएकाथिए र हजारौं बिस्थापित हुनु परेकोथियो । माओवादी युद्धमा जातीय, क्षेत्रीय रुपमा समूह नै विस्थापित हुनु परेको थिएन तर मधेस आन्दोलनको हिंसात्मक ववण्डरमा हजारौं पहाडेहरु समूहगत रुपमै मधेसबाट भाग्न बाध्य पारिएकाथिए  । पहिचानको राजनीतिले हिंसात्मक बाटो समात्दा त्यो कति खतरनाक हुन सक्छ भन्ने सानो नमुना हामी स्वंयले मधेस आन्दोलनपछि भोग्यौं ।  रुवाण्डा र श्रीलंकाको जातीय विध्वंशका आततायी कथा सुनेका हामीले त्यसको ट्रेलर मधेस आन्दोलनपछि प्रत्यक्ष भोग्यौ ।
गज्जब के छ भने त्यस्तो हिंसाले भने मधेसी दलहरुलाई सत्ताको ढोका खोलिदियो । ति बलिया भए । अहिले देशभर करिब २ दर्जन जनजाति दलहरु पहिचानको आन्दोललाई राजनीतिक रुप दिईरहेकाछन् । जनजाति महासंघ, जातीय संघ, दलका भातृसंस्थाहरु अब सबै पहिचानको राजनीतिमा होमिएकाछन् । वर्गीय राजनीतिको ठांउ लिदै गएको यस नयां प्रवृतिले विश्वभर आफ्नो प्रभाव जमाईरहेकोछ । तर अनेकन प्रयत्न गरिदापनि जनजाति दलहरुले सत्तामा राम्रो उपस्थिति जनाउन सकेका छैनन् । जस्तैः सबै भन्दा पुरानो दल राष्ट्रिय जनमुक्ति पार्टीले २३ बर्षदेखि शान्तिपूर्ण बाटोबाट पहिचानको राजनीति गरिरहेकोछ तर उसले गएको संविधानसभामा जम्मा दुई सीट मात्र जित्न सक्यो । बरु उ बाटै फुटेर गएका केहि ठिटाहरुले शुरु गरेको संघीय लिम्बुवान राज्य परिषदले उसकै बराबरीमा दुई सीट ल्याएर देखाईदिएको थियो, त्यो पनि दुई बर्षभित्रै । त्यसको कारण थियो । लिम्बुवानका नाममा पूर्वमा पूर्ण नभएपनि आशिंक हिंसात्मक मार्ग अवरुद्ध गरिएकाथिए । आन्दोलनहरु हिंसात्मक नभएपनि ति आक्रमक  थिए । लडाका दस्ता तयार पारेर तिनको भय खडा गरिएकोथियो । त्यसैको प्रभावका कारण २ सीट हात पारेकाथिए ।
यसले डरलाग्दो मनोबिज्ञान गढिरहेकोछ । देश उकुसमुकुस छ । पहिचानको आन्दोलनमा के बाहुन के लिम्बु, के मधेसी, के दलित , के सुदुर , के हिमाल सबै मैदानमा उत्रिएर भिड्न तम्तयार छन् । सबैलाई आफ्नो पहिचान सबैभन्दा प्रिय हुने नै भो । त्यसैले भोलि कुनै अमुक पहिचानबादी दलले हिंसात्मक मार्ग अख्तियार गरे भने त्यसले समाजमा ठुलो भूईचालो ल्याईदिनेछ ।
पहिचानबाछ निसृत हिंसात्मक आन्दोलनले कसैलाई बांकी छाड्ने छैन । बाहुन देखे लखेटिने मधेसी देखे आक्रमण गर्ने हुन थाल्यो भने अत्यन्त छ्यासमिस बसोबास रहेको हाम्रो बहुसांस्कृतिक समाजमा त्यसले डरलाग्दो ताण्डव मच्याउनेछ । त्यो कसैका निम्ति हितकर हुनेछैन । हो, त्यसले त्यो आन्दोलनको सुत्रपात गर्ने दल या जातिलाई सत्तामा त पुर्याउला जसरी अहिलेसम्म हिंसात्मक संघर्ष गर्ने सबैले त्यो पाईरहेको देखिन्छ । तर त्यसले जातीय, धार्मिक र क्षेत्रीय रुपमा रक्तपातको राजनीतिको नरोकिने अध्याय आरम्भ गर्ने खतरा छ ।
 हिंसात्मक राजनीतिको बलमा यहांसम्म आई पुगेका ३ प्रमुख दल र मधेसवादी दलहरुले यस्तो बस्तुसम्मत ऐतिहासिक तथ्यलाई मनन गर्दे संवेदनशील मुद्दामा होस् पुर्याउन जरुरी छ । जनजाति स्वभावैले शान्तिप्रिय तर लडाकु जाति भएको मानवशास्त्री तथा राजनीतिज्ञहरुले राम्ररी बुझेकाछन् । किनकी सदा तिनले सत्ता प्राप्तिका निम्ति यिनकै बुई चढेर हिंसात्मक संघर्षमा होमेकाछन् । नेपालमा मात्र होईन गोर्खाको नाममा यिनले विश्वभर आफ्नो शौर्य गाठा लेखिसकेकाछन्, कसैका निम्ति । तर हिजोआज यी आफ्नै समुदायका निम्ति खुनको होली बगाउन तत्पर छौं भन्दै संगठित भैरहेको अवस्था छ । देशको ठुलो हिस्सा ओगट्ने यत्रो समुदायलाई निहित स्वार्थका निम्ति आफुले हिंडेको बाटोमा हिंड्न बाध्य नबनाउने बुद्धिमता चार शक्तिले गर्नुपर्ने देखिन्छ । यदि चार शक्ति यहांनेर चुक्न गएमा देश भड्खालोमा जाने पक्का छ । जाहेर छ, त्यसको दोष उनीहरुकै कांधमा थुपारिनेछ ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर