A+ A A-

किन बांच्नुपर्छ खपाङ्गी (एक राजनेताको योगदानको शल्यक्रिया)

जेवी पुन मगर

मृत्युसंग जुध्दै खपाङ्गी


आज भन्दा २३ बर्ष अघि ‘बहुसास्कृतिक देशमा वर्गीय राजनीति ( Class politics: धनी र गरीवबीचको असमानता हटाउन अगिंकार गरिने राजनीतिक सिद्धान्त) ले मुद्दालाई ठोस रुपमा समेट्दैन बरु समस्यालाई झन बढी विषयान्तर गरि भ्रमपूर्ण र गोलमटोल यथार्थ पेश गर्छ त्यसैले नेपाल जस्तो देशमा पहिचानको राजनीति ( Identity politics: बहुजातीय समाजमा समस्याको थुप्रो पनि जातीय रुपमा जेलिएको हुन्छ र त्यस्तो समाजमा आर्थिक असमानता भन्दा जातीय समस्याको जालो नराम्ररी बल्झिएको हुन्छ । त्यसलाई समाधान गरे मात्र सामाजिक विषमता र त्यहा“ भएको द्धन्द्ध हट्छ भन्ने ८० को दशक यता प्रतिपादित र विश्वभर प्रभावको हिसाबले सघन हुदैं गैरहेको राजनीतिक सिद्धान्त ।)   अत्यावश्यक छ भन्ने तत्वज्ञान बुझेर समाजको अगाडी खुलस्त राख्न सक्ने आंटिला र त्यसलाई दिशा दिने  प्रमुख  ब्यक्तित्वको चर्चा बिना २०४६ साल यताको नेपाली राजनीतिको इतिहास अपांग हुन पुग्दछ । आज तिनै ब्यक्तित्वको चर्चा गर्न गैरहेकोछु । ति ब्यक्तित्व हुन्, नेपाली राजनीतिक कालखण्डको पछिल्लो युगका बहुचर्चित पात्र गोरे बहादुर खपाङ्गी । यस आलेखमा उनको चर्चा गरिनुको खास कारण छ ।

गत महिना दुर्घटनामा परि जीवनमरणसंग जुधिरहेका चमत्कारिक ब्यक्तित्वका धनी  राजनीतिक/सामाजिक नेता खपाङ्गीलाई ‘प्रशासनिक रेग्मी सरकार’ ले कनीकुथी २ लाख सहयोग खर्च जुराईदिने बाचा गरेको समाचार बाहिर आएकोछ, त्यो पनि देशभरका जनजाति बौद्धिक र खपाङ्गीका अनुयायीहरुका लामो दवावपछि मात्र  । बिषयबस्तुले अन्य अर्थ नलागोस् तर कुनै बेला भुटानमा ‘खस राजनीति’ (नेपालभाषीको हितार्थ ) गरेबापत तत्कालिन प्रजातान्त्रिक सरकारले टेकनाथ रिजाललाई ३६ लाख ‘उपचार खर्च’ राज ढुकुटीबाट प्रदान गरेकोथियो । भुटान सरकारसंग दौत्य सम्बन्ध रहेको नेपाल सरकारले रिजाललाई सहयोग गरेर के कुटनीतिज्ञ सन्देश दिन खोजेकोथियो तत्कालिन सरकारमा आसिन नेताहरुलाई नै थाहा होला तर त्यस सम्बन्धमा न कतैबाट विरोध आएकोछ न कसैले सर्वोच्चमा रिट दायर गरेको सम्झना यो पक्तिंकारलाई छ । यो किन स्मरण गराउन खोजिएकोछ भने त्यतिबेला राज्यका विभिन्न कुर्सीमा अहिलेका सत्ताप्रमुख र मन्त्रीहरु कर्मचारीको रुपमा बहाल थिए ।

२०४६ सालयता बढी प्रधानमन्त्री हुने शौभाग्य प्राप्त गर्ने शेरबहादुर देउवाले कुनै बेला जनताले तिरेको करबाट ५ लाख रुपैंया उपचार खर्चको नाममा बुझेकाछन् । माओवादीका प्रभावशाली नेता तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले २ बर्ष अघि मात्र यहि शिर्षकबाट १० लाख लिएकाछन् । नेपालको धनी नेताको उच्च पायदानमा रहेका देउवाको लागि ५ लाख उनले पालेको पशुको अर्धबार्षिक बजेट पनि होईन भनिन्छ । एक्ला सन्त नारायणकाजीले १० लाख बुझेर के सन्देश प्रवाह गर्न खोजेकाथिए भन्ने यथार्थ  उनको सम्पत्ति विवरणले पछि प्रष्ट पार्यो । यी केहि नमुना दृष्टान्ट मात्र हुन् । यसरी सहयोग लिई ‘उपचार’ गराउने हुनेखानेहरुका फेहरिस्ट लामा छन् ।

यहाँ राज्यले आवश्यक ठानेका महत्वपूर्ण ब्यक्तिहरुलाई यस्तो सहयोग दिईनहुदैंन भन्न खोजिएको होईन तर त्यसरी जनताको खुनपसिना बांड्दा त्यो न्यायपूर्ण छ कि छैन भन्ने कुरा सबैभन्दा महत्वपूर्ण कसी हुनुपर्दछ । देशका निम्ति सर्वश्व लुटाएका खास खास ब्यक्तिहरु नेपाली धर्तीमा उदाए, अस्ताए तर ति मध्ये धेरै यस्ता पनि थिए जसमाथि सरकारको कृपादृष्टि कहिल्यै परेन र ति उपचारको अभावमा तड्पीतड्पी परलोक सिधार भए । प्रचण्डका राजनीतिक गुरु जसले नेपाली कम्युनिष्ट आन्दोलनलाई सर्वश्व दिएर यहांसम्म ल्याउन शिर्ष भूमिका निर्वाह गरेकाथिए, रुपलाल विश्वकर्माले यहि नियति भोगेकाथिए । अन्तिम समयमा दलित र सर्वहारा मुक्ति वर्गीयमुक्तिबाट  हैन जातीय मुक्तिको मार्गप्रशस्त गर्दे अघि बढे मात्र प्राप्त हुन्छ भन्ने आत्मज्ञान पलाएपछि रुपलालले दलित श्रमिक मोर्चा बनाएर नयां राजनीतिक अध्याय शुरु गरेकाथिए ।

कम्युनिष्ट हुंदा नेपाली माक्र्सको उपाधि दिइएका उनलाई त्यसो गर्नासाथ ‘बिकेको’ भन्दै सांच्चिकै अछुत बनाईयो र आफ्नै समाजबाट समेत अलग्याईयो । पक्तिंकारले उनलाई अन्तिम क्षणमा भेट्दा उनी एक छाक खान नपाएर छट्पटाईरहेका अवस्थामा थिए । कथित साम्राज्यवादीहरुसंग करौंडौ खाएर कम्युनिष्ट आन्दोलन बित्यास पार्यो भन्ने आरोप लागेको उनीसंग सिटामोल किन्ने एक रुपैया समेत खल्तिमा थिएन । उनको तड्पीतड्पी प्राण पखेरु उडेकोथियो । त्यतिबेला उनका वरपर न कथित क्रान्तिकारी मित्रहरुको साथ थियो न राज्यको कुनै सहयोग ! त्यसैले हरदम प्रश्न उठ्ने गरेकोछ, के राज्यको सहयोग पाउनपनि ‘हुने खाने र बलवान’ नै हुनुपर्छ ?’

जो बिचारका निम्ति जोगी भए
पन्चायतकालमा हालको एमालेको तत्कालिन रुप मालेको शिक्षक संगठनको प्रमुख रहिसकेका त्यतिबेलाका ‘मास्टरसाप’ को रुपमा चर्चित गोरेबहादुरले लामो समय वर्गीय राजनीति मार्फत देशका गरिबगुरुवा, भोका नांगा र असमानता झेलिरहेका बहुसंख्यक जनताका लागि मुठ्ठी बजार्दै हिंडे । तर त्यसले ‘उत्पिडित र गरिबी निर्मूल नगर्ने हुनाले जस्तो समाज उस्तै राजनीति’ गर्ने सोंच सहित २०४० सालतिरै विश्वमा भर्खर शुरु हुन थालेको बहस ‘पहिचान’ र त्यसको राजनीतिक अन्र्तवस्तुमा घोत्लन शुरु गरिसकेकाथिए । त्यसमा तत्कालिन माक्र्सवादीका पोलिटब्यूरो सदस्य तथा पश्चिमान्चल वार एसोसियसनका प्रमुख  मालवरसींह थापा ( एमएस थापा ) को बौद्धिक तिक्ष्णता उनको प्रमुख ब्याकअप थियो ।

पूर्वमा जातीय असन्तुष्टिबाट उठेका बिद्रोह र तामाङ थलोमा भएका केहि ‘बाहुन खेद’ उग्रता उनका निम्ति ब्यावहारिक शिक्षा थिए । साथै, नेपाल मगरसंघमा रहि देशभर घुम्दा बटुलेको देशदर्शन उनको अर्काे ब्यावहारिक पाठ थियो । ऐतिहासिक कालखण्डमा भएका जातीय बिद्रोह सम्बन्धमा समकालिन लेखकहरुको उद्देलित पार्ने लेख र अनुसन्धानले पनि खपाङ्गीको दृष्टिकोण क्रमशः बहुसांस्कृतिक र विविधतापूर्ण समाजको पाटो उत्खनन गर्न तिर उन्मूख थियो । पछि प्राप्त ज्ञानलाई राजनीतिक रुपमा ढाल्ने काम गरिएकोथियो ।

त्यसैको प्रतिफल थियो – एमएस थापाको अध्यक्षता र उनी महासचिव रहेको २०४६ पछि खुलेको राष्ट्रिय जनमुक्ति मोर्चा । त्यसै बखत पूर्वबाट पूर्व अन्चलाधीस काजीमान कन्दङ्वाहरुले खोलेको जनजाति पार्टी र पन्चायतकालिन संसद सदस्य भद्र घलेहरुले शुरु गरेको जन पार्टी, जुन दुबै पछि जनमुक्ति मोर्चासंग एकिकरण भई राष्ट्रिय जनमुक्ति पार्टीको रुपमा उदायो, जसले नेपाली राजनीतिमा पहिचानको मुद्दाको वकालत गरेर देशको राजनीतिक ट्रयाक नै परिवर्तन गरिदियो ।

यद्यपि समकालिन वीर नेम्वाङ्ले लिम्बुवान स्वायत्तता र गोपाल गुरुङले मगोंल नेशनल अर्गनाईजेशनको नाममा नश्लको आधारमा छेडेको राजनीतिक अधिकारको बहस पनि उनका निम्ति मार्गनिर्देशक अनुभव थिए । साथमा, पचासको दशकदेखि भद्रकाली मिश्रहरुले मधेसमा शुरु गरेको पहिचानको राजनीति उनका लागि अर्काे ब्यावहारिक पाठ थियो । लामो समयसम्म गजेन्द्र नारायणसंग उनको साधिन्य उठबसले त्यहि दर्शाउछ । अहिलेपनि चर्चित मधेसी नेताहरु खुल्लमखुल्ला आफुलाई खपाङ्गीका चेलाको रुपमा प्रचार गर्न गर्व ठान्छन् । त्यो सम्मान उनले त्यसै पाएका होईनन् ।

जनमुक्तिले उठाएको राज्यको हरेक निकायमा सबैलाई जातीय समानुपातिक प्रतिनीधित्व, समानुपातिक निर्वाचन प्रणाली, कमजोरलाई आरक्षणबाट माथि तान्ने ब्यवस्था, विकासका निम्ति संघीय ब्यवस्था,  मिश्रित अर्थब्यवस्था, यातायातका निम्ति रोपवे र केवलकार जस्ता नेपाली राजनीतिमा सर्वदा भिन्न तर विश्वमा भर्खर अभ्यास हुन थालेका सिद्धान्तका बारेमा बहस थालेर आंटिलो कामको शुरुआत गरेकोथियो । यसले नेपाली राजनीतिमा नयां बहसको थालनी गरेकोथियो । उत्पिडितहरुको सबैभन्दा बढी वकालत गर्ने कम्युनिष्टहरुले यहि सिद्धान्त टपक्क टिपेर राजनीति शुरु गर्नु र २०५२ सालदेखि एमाओवादीले यहि सिद्धान्तको टेकोमा टेकी सत्ता प्राप्त गर्नुलाई खपाङ्गी र उनका समकालिन जनजाति नेताको दुरदृष्टिको आंकलन स्वत लगाउन सकिन्छ । अतिरन्जना जस्तो लाग्न सक्छ, आजको नेपाल २५ बर्ष अघि नै देख्न सक्ने यस्ता नेता कम्तिमा नेपाली धर्तीमा समकालिन रुपमा उदाएको देखिदैन ।

खपाङ्गीहरुले देखेको सपनामा आज देश हिंडिरहेकोछ । समानुपातिक प्रतिनीधित्व मुद्दा के कम्युनिष्ट के काग्रेंस के राप्रपा सबैले मुख्य नारा बनाएकाछन् । आरक्षणमा त देश उहिल्यै अगाडि बढिसक्यो । राज्यका हरेक निकायमा भैरहेको आरक्षणको ब्यावहारिक अभ्यासले अहिले उपेक्षित जाति र समुदायबाट थुप्रा जनशक्ति निस्किरहेकाछन् । आधा नै सहि समानुपातिक निर्वाचन प्रणालीको अभ्यास संविधानसभामा भैसकेकोछ र नेपालका लागि त्यो उपर्युक्त रहेछ भन्ने कुरा सिद्ध भैसकेकोछ र त्यसमा सबै  एकमत  पनि देखिन्छन् ।

डा. रामशरण महतले मिश्रित अर्थब्यवस्थामा देशलाई डोहोर्याएपछि त्यसले आर्थिक गति पक्रिएको विश्लेषण गरिन्छ, जुन भारतमा ९० को दशकमा लागु गरेर भारतको पनि उन्नति भएको ठानिन्छ । नेपाल जस्तो जलविद्युतको खानी भएको देशमा रोपवे र केवलकार उचित हुन्छ भन्ने सिद्धान्तलाई मनकामना लगायतका केवलकारको सफलताले गज्जबले पुष्टि गरिदिएकोछ । संघीयता विना देश विकास नहुनेमा लगभग सबै एकमतले राजी देखिन्छन्, अब यो मात्र परिक्षणको मुखमा छ ।

यस्तो देश सुहांउदो सिद्धान्तलाई २५ बर्ष अघि पर्गेल्न सक्ने टाउकाहरु मध्ये अब केहि मात्र बांकी छन् । भद्र घले राजनीतिमा निष्क्रिय छन् भने काजीमान कन्दङ्वाको देहावसान भैसकेकोछ । माथिको बिचारलाई आफ्नो अदभुत वतृत्वकलाको बलमा देशको गांउगांउमा पुर्याउने खपाङ्गी नै हुन् । केहिको विश्वासमा यदि अशोक सम्राटले बौद्ध दर्शन फैलाउन राज्यशक्ति उपयोग नगरेकोभए बुद्धले प्रतिपादन गरेको लोककल्याणकारी शिक्षा तत्कालिन अवस्थामा एशियाभर फैलन संभव नै नहुने ठानिएजस्तै यदि नेपाली धरतीमा खपाङ्गी नजन्मिएकाभए अहिले नेपाली राजनीति र समाजको केन्द्र रहेको मुद्दाहरु यो स्तर सम्म आउन अझै दशकौं लाग्न सक्थ्यो । अशोकले आफ्ना छोरा र छोरीलाई बौद्ध शिक्षा फैलाउन एशियाका विभिन्न ठांउमा पठाएर त्यसको फैलावट फराकिलो बनाएकाथिए । पहिचानको गुढी तत्व उत्खनन गर्ने एमएस थापाहरुको धिरगम्भीर उत्पादनलाई जनमानसमा सरल भाषामा पुर्याउने अशोकका सन्तान सरह म्यासेन्जरको भूमिकामा खटेका खपाङ्गीका कारण यो मुद्दा यहांसम्म आईपुगेकोछ ।

मीडिया, राज्य, दलहरुको लाख कोशिसका बावजुद उनीहरुको नाकाबन्दी छिचोल्दै पहिचानको राजनीतिलाई यहांसम्म ल्याउन सक्ने ल्याकत भएको मान्छे खपाङ्गी नै थिए । त्यसैले यस्ता नेता नेपाली राजनीतिमा जन्मिएकोछैन भनिएको हो । राजनीति गर्न नेपाली धर्ति विपी कोईराला, मदन भण्डारी, पुष्पकमल दाहालहरुका निम्ति जति सहज थियो त्यसको दांजोमा हरेक दृष्टिकोणबाट केलांउदा खपाङ्गीहरुका निम्ति सयौं गुणा अप्ठ्याराहरु रहेकोले यहां खपाङ्गीका हकमा अतिरन्जना लाग्ने त्यस्तो दावी गर्ने धृष्टता गरिएको हो ।

खपाङ्गी माक्र्स हैनन् तर योगदानको हिसाबले उनी नेपालका निम्ति लेलिन, स्टालिन, माओ भन्दा कुनै पनि अर्थमा कम छैनन् । नेशनल मण्डेला र महात्मा गान्धीको नेपाली संस्करणको रुपमा उनको भूमिका बुझ्दा कोहि सानो हुनु पर्देन ।
कथित मुलधारका दलले जाति–जाति लडाउने नीति ल्याई समुदायका हातमा हतियार थमाई  समाजलाई जातीय ध्रुबीकरणतिर लैजादा खपाङ्गीहरुले कहिल्यै त्यो बाटो चुन्न उपर्युक्त ठानेनन् ।

त्यतिखेर करिब १ लाख मत  पाएको दलले चाहेको भए समाजलाई चर्को जातीय नाराको बलमा त्यस्तो हिंसक जातीय द्धन्द्धको दलदलमा सजिलै फंसाईदिने हैसियत राख्दथ्यो । प्रचण्डहरुले उठाए जस्तो त्यसको तत्कालिन फाईदा उठाउन सकिने प्रशस्त मौका उनका अगाडि थिए । प्रचण्डले मगर ठिटाहरुकै बलमा विश्वभर क्रान्तिकारी छवि बनाईरहेकाथिए भने खपाङ्गीले आफ्नै समुदायका युवाहरुको कांधमा राईफल बोकाई मुक्तिकामी आन्दोलनका मसिहा बन्ने कुब्बत राख्दथे र उनको ब्यक्तित्व थियो पनि । जातीय मुद्दाको ज्वलनशीलतामा यस्ता हिंसक र आक्राकम कार्यनीति झन बढी सजिलोगरि द्रुतगतिमा फैलने विश्वका पाठ उनले नबुझेका होईनन् तर उनी लगायतका टिम देशलाई जातीय युद्धको डरलाग्दो दलदलमा फंसाउन चाहदैंनथ्यो ।

बरु उनी जनजाति युवाहरुलाई त्यो द्धन्द्धमा नफस्न हरेक मन्चबाट आग्रह गर्दथे । त्यसो गरिदा उनलाई क्रान्तिको दुश्मन र राजावादी भनी उग्र भाषणबाजी गर्ने 'क्रान्तिकारी' जनजाति नेताहरु अहिले घर न घाटका भएकाछन् । प्रचण्डहरुबाट धोका भयो भन्दै खपाङ्गीहरुकै लाईनमा आईपुगेकाछन् ।

जसले देशलाई गृहयुद्धबाट बचाए
त्यतिखेर मैले हिमालखबरपत्रिकाको लागि गरेको एक अध्ययनमा जसरी पश्चिमा मगर युवाहरु ( दलित सहित ) माओवादीमा आकर्षित भई हतियार बोक्न घर छाडे त्यसको तुलनामा गण्डक क्षेत्रका मगर (अन्य दलित र जनजाति पनि) अत्यन्त कम आकर्षित भए । पूर्वमा पनि त्यहि भयो । त्यसको खास कारण थियो । गण्डक क्षेत्र र पूर्वमा जनमुक्तिको राम्रो प्रभाव थियो र यहां जातीय संस्थाहरुको राम्रो पहुंच थियो । जहां जातीय दल र संस्थाको बलियो पकड हुन्छ त्यहां कम्युनिस्ट फस्टाउन सक्दैनन् भन्ने विश्व राजनीतिक अध्ययनको मुर्तरुप नेपालमा पनि देखिएकोछ । पूर्वमा पूर्व जनमुक्तिका युवा नेता तथा पछि खम्बुवान मुक्ति मोर्चा खोलेका गोपाल राईसंग सहकार्य गरेपछि मात्र माओवादीको प्रभाव त्यहां बढेकोथियो । तर भक्तराज कन्दवाको सहयोगले माओवादी लिम्बुहरुबीच छिर्ने प्रयास गरेपनि त्यति सफल हुन सकेन ।किनकी लिम्बुहरुमा अन्य जातीको तुलनमा जातीय चेतना उहिल्यैदेखि प्रवल छ । गण्डकमा विशेष अभियान चलाउंदा समेत माओवादीले ति युवाहरुलाई आकर्षित गर्न सकेन ।


यस हिसाबले विश्लेषण गर्दा पनि खपाङ्गीहरुको योगदानको ग्राफ अझ मथि आंउछ । यदि खपाङ्गीहरुले तिनलाई चेतना दिदैं नरोकेकोभए कल्पना गर्न सकिन्छ, माओवादीका नाममा प्रचण्डको सत्तामोहको लागि अझ कति जनजाति युवाहरुको खुनको नदि बग्थ्यो होला । पक्तिंकारले खपाङ्गीसंग १५ बर्ष अघि यहि प्रश्न सोध्दा उनले दिएको जवाफ बडो मार्मिक थियो ,‘ यदि हामीले चाहेकोभए मैले एउटा भाषण गरेको भोलिपल्टैदेखि जनजाति युवाहरु हातमा हतियार बोकेर जंगलमा पस्न शुरु गर्नेछन् । तर त्यो महत्वपूर्ण कुरा होईन ।

जातीय रुपमा उद्देलित हतियार बोकेका युवाहरुलाई ब्यवस्थापन गर्न सजिलो छैन । मैले फाईदा लिन सकुला तर त्यसले ठूलो तवाही ल्याउनेछ । तिनलाई घर फर्काउन सकिदैन । पहिचानको लडाई कम खतरनाक हुंदैन । त्यसैले हामी युवाहरुलाई हतियार बोकाउने पक्षमा छैनौं ।’ सशस्त्र संघर्षमा नगएको भन्दै त्यतिखेर कुमार लिङ्देन, कमल छाराहाङ् जस्ता हालका चर्चित पहिचानबादी युवा नेताहरुले जनमुक्ति छाड्नुले युवाहरुमा त्यो उन्माद थियो भन्ने पनि बुझिन्छ । खपाङ्गीको अर्काे तर्क पनि दमदार थियो । उनको भनाईमा हतियार अल्पसंख्यकहरुले उठाउने हो ।

जनजाति र उत्पिडितहरु बहुसंख्यक भएको ठांउमा ‘बुलेटले  हैन ब्यालेट’ले सत्ता लिनुपर्छ भन्ने उनको कडा मान्यता थियो । यसलाई उनी रोचक तरिकाले सुफियाना अन्दाजमा सुनाउंथे, ‘ ढिलो चांडो हुन्छ नआत्तिनोस् । खुदाके घर देर है अन्धेर नहि ।’  माओवादी जस्ता दलका कारण देशमा पहिचानको उग्र राजनीतिकरण हुदैं गैरहेको र त्यसले अब धार्मिक पुच्छर पनि समात्न थालेको संवेदनशील घडीमा देशलाई खपाङ्गी जस्तो मोडरेट र लोकतान्त्रिक नेताको अत्यन्त ठुलो खांचो छ । त्यस्तो उग्रता मत्थर गर्न सक्ने क्षमता, ब्यक्तित्व र ईच्छाशक्ति उनको तुलनामा अरुको छैन ।

करिब आधा दर्जन भाषामा धाराप्रवाह रुपमा बोल्न सक्ने उनको भाषण गर्ने शैली बिछट्टैकोछ । रमाईला उखान टुक्का सहि ठांउमा प्रयोग गर्दे उदाहरण सहित गर्नै उनको भाषण सुन्न सानो बच्चा देखि बृद्ध सम्म भेला हुन्थे । हरेक जाति समुदायले चाख मानिमानि सुन्थे । त्यसरी उनले आफ्नो कलाबाट देशभर पहिचानको मुद्दा घरघरमा पुर्याईदिएकाथिए, मान्छेको दिमाग दिमागमा छिराईदिएकाथिए । उनको दम्भपूर्ण आकर्षक ब्यक्तित्वले उनको कलामा ‘सुनमा सुगन्ध’ थपिदिएकोथियो । मदन भण्डारी र उनी समकालिन थिए । असामयिक निधनले भण्डारी देशभर घुम्न सकेनन् र उनको भाषण गर्ने शैली र राजनीतिको ब्यावहारिक परिक्षण पनि हुन सकेन ।

तर खपाङ्गीले आफ्नो कला, ब्यक्तित्व र आत्मविश्वासले नयां बिचारलाई देशको कुनाकुनामा फैलाईदिए । खपाङ्गीको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको उनले देशलाई जातीय द्धन्द्धको डरलाग्दो भुङ्ग्रोमा जानबाट जोगाईदिए । अहिले पनि उनी त्यसमा प्रष्ट छन् र हतियार हैन मतपत्रबाट सत्तामाथि काविज हुने निर्णयमा अडिग देखिन्छन् । त्यसमा उनी कहिल्यै बिचलित भएनन् । उनले शुरु गरेको दल जनमुक्तिले २३ बर्षदेखि अनवरत शान्तिपूर्ण राजनीति गर्नुले त्यो धैर्यताको रुप प्रष्ट देखिन्छ । पछिल्लो समय अशोक राई, पासाङ शेर्पाहरुले त्यहि लाईन अगिंकार गर्नुले उनको उपादेयता स्वतः बुझ्न सकिन्छ ।
तर यो सब गर्दा उनी जोगी भए ।

अहिले पनि उनीसंग बस्ने कुटिर छैन । शुभचिन्तकहरुले दिएको रासनपानीबाट गुजारा गरिरहेकाछन् । उनी भन्थे, यदि मैले कम्युनिष्ट पार्टी नछाडेकोभए अहिले रोयल्सरोयल र मर्सिडिज चढेर हिंड्थे होला । ब्यक्तिगत रुपमा मेरो खुबी पनि थियो । तर मैले आफ्नो भन्दा समुदाय र देशको लागि लड्ने चेतना प्राप्त गरेकोले त्यस्तो गर्नै हुन्थेन र गरिन पनि ।’ उनले मन्त्री हुंदा समेत  अरुले जस्तो चोरबाटोबाट पैसा लिन चाहेनन् । पाएको तलब पनि पार्टी र घर खर्चका निम्ति सुम्पिदिन्थे ।
देशका निम्ति यो विध्न लाग्न सक्ने समकालिन राजनीतिको सबैभन्दा अलग र उचा ब्यक्तित्वलाई आज उपचार खर्च दिनुपर्दा सरकारले ‘अब आईन्दा १ लाख भन्दा बढी नदिने’ नियम पारित गरांउछ । यस्तो गरेपछि जनजातिले देश टुक्रयाउन थाले । जातीय द्धन्द्ध फैलाउन थाले भन्दै कोकोहोलो गरेर मीडियाबाजी गरेर कहिले सम्म ठूलो समुदायको आक्रोशलाई ज्वारभाटामा परिणत हुनबाट रोक्न सकिन्छ र π सरकार नै जातीय ध्रुबीकरण गराउन लागेजस्तो देखिने यस्ता निर्णयले देशमा शान्ति र अमनचयनको कामनाको सुत्रपाठले मात्र काम गर्ला र ।

अभाव खड्केको महसुस
खपाङ्गी गम्भीर दुर्घटनामा परेपछि मात्र उनको हैसियत र महत्व बुझ्न थालिएकोछ । सरकारले उपचारमा कुनै सहयोग नगरेपछि जनजाति बौद्धिक, पेशाकर्मी, राजनीतिकर्मीहरुको ठूलो भेलाले सहयोग समिति बनाई उनको स्वास्थ्य उपचारको लागि सक्रिय रोल खेलिरहेकोछ । अधिकारकर्मी तथा अधिवक्ता शंकर लिम्बुको संयोजकत्वमा डा. ओम गुरुङ, डा. कृष्ण भट्टचन, डा. गणेश गुरुङ, डा.मुक्तसिंह लामा, डा. गोविन्दप्रसाद थापा मगर, डा. केशवमान शाक्य, प्रा. बालकृष्ण माबुहाङ, आङ्काजी शेर्पा लगायतका चर्चित ब्यक्तिहरुको समित बनाई विश्वभर आर्थिक संकलन कार्य थालिएकोछ ।

पहिचानको आन्दोलनमा खपाङ्गीको रोल धुरीको रुपमा थियो र छ भन्ने यो एकताले पनि देखाउंछ । समितीका सदस्य हुम थापाका अनुसार, अहिले सम्म विश्वभरबाट करिब १२ लाख जति जम्मा भएकोछ । समितिले नेपाल बैंक लिमिटेड ललितपुरको खाता नं ०१९११००१४८३३२ मा सिधै सहयोग पठाईदिन अपिल गरिसकेकोछ । थापाको भनाईमा दैनिक ५० हजार जति खर्च लाग्ने हुनाले उठेको रकम अप्रर्याप्त छ । १ महिना ७ दिनसम्म चर्चित न्युरो सर्जन बसन्तराज पन्तले अन्नपूर्ण अस्पतालमा खपाङ्गीको उपचार गराईरहेकोमा टाउकोमा जमेको पानी र छातीमा देखिएको समस्याका कारण अहिले पन्तका गुरु न्युरो सर्जन रमेश चोखानीको सुपरिवेक्षणमा नर्भिक अस्पतालमा रेखदेख शुरु गरिएकोछ । र, आईसीयुमा गम्भीर उपचार चलिरहेको बताईन्छ ।

अचम्म के छ भने नेपाल मगर संघमा लगातार ४ कार्यकाल अध्यक्ष र त्यसअघि कार्यसमितिमा रहि स्थापनाकालदेखि नै सेवा गरेका खपाङ्गीको उपचारका निम्ति सरकारलाई दवाव दिन र आफ्नै पहलमा उपचार खर्च जुटाउन बर्तमान नेतृत्व तातिएको देखिदैन । जनजाति महासंघको अवस्था पनि त्यस्तै छ । उनी महासंघका संस्थापक बौद्धिक योजनाकार हुन् । मगरसंघका एकजना जिल्ला अध्यक्षका भनाईमा खपाङ्गीको उपचारका निम्ति जिल्लाका संघले केन्द्रको निर्देशन कुरेर बसिरहेकाछन् तर केन्द्र केहि बोलेकोछैन । संघ र महासंघ दुबै च्यानलवाईज चल्ने हुनाले ति केन्द्रको निर्देशन कुरेर बसेको ति अध्यक्ष सुनाउंछन् ।

नेपाल यस्तो समाज हो जहां अनौठा र नसोंचिएका घट्ना हुन्छन् र त्यसको लुफ्त उठाईन्छ । खपाङ्गी आईसीयुमा छन् तर नेपाली मिडीयाका निम्ति यो कुनै समाचार होईन । नेपाली मिडियामा खपाङ्गीका प्रकाशित, प्रसारित अन्र्तवार्ता र समाचारको थुप्रा हेर्ने हो भने उनको मीडिया भ्यालु देखिन्छ,पनि । तर यतिखेर उनी सम्बन्धमा मीडियाले गरेको बायकाटले नेपाली मिडीयाको राजनीति प्रष्ट खुलेर आएकोछ । टेकनाथ रिजाललाई उपचार खर्च दिन सरकारलाई दवाव दिने संचारकर्मीलाई स्वदेशकै दमदार तर गरिब नेताका निम्ति त्यस्तो क्याम्पेन जरुरी ठानिदैन ।

यस्तोबेला मीडियाको रोल सबैभन्दा प्रभावी हुन्छ । केहि समय अघि चर्चित राष्ट्रिय स्तरका भलिवल खेलाडी सिपोरा गुरुङको घुंडाको समस्यालाई लिएर बनाइएको दिशानिर्देश कार्यक्रमको प्रभावले एकजना सुप्रसिद्ध चिकित्सकको मन उद्देलित भई उनले लाखौं पर्ने गम्भीर शल्यक्रिया निशुल्क गरिदिएकाथिए । तर यहां त मीडियाले नै सेन्सर गरिदिएपछि खपाङ्गीको यथार्थ जानकारी समाजले कसरी पाओस् । समाचार नै बाहिर नपाएपछि कसैको मन किन पग्लियोस र !   आदिवासी जनजाति पत्रकार संघ (अनिज) का संचारकर्मीहरु पनि अधिवेशनको चटारोले हो क्या हो कुन्नि, यो मुद्दामा कलम चलाउनुपर्छ भन्ने  ध्याउन्नबाट किनारा किनारा देखिन्छन् ।


Error: No articles to display