A+ A A-

महिला ‘अछुत’ ठानिने जनजाति आन्दोलन

जेवी पुन मगर

२६ मार्चका दिन लेखनमा ब्यस्त थिए । मोबाईल बज्यो । उताबाट एक जना मित्र होली कार्यक्रमको निम्ता दिईरहेका थिए । भोलिपल्ट साँझ सामुद्रिक किनारमा भब्य होली कार्यक्रमको आयोजना गरिएको जानकारी दिने ति मित्रले ३ दिन अघि मात्र नेपाली महाबाणिज्यदुतावासको परिसरमा नवनियुक्त महाबाणिज्यदुत महेशप्रसाद दाहाल विरुद्ध आदिवासी जनजाति महासंघले आब्हान गरेको धर्ना कार्यक्रममा रिपोटिंगका लागि डाकेका थिए । उनले ७ अप्रिलका दिन हुने त्यहि विरोधको श्रृखलाको रुप ऱ्यालीमा समेत आईदिन विशेष आग्रह गरेका थिए । करिब ४० हजार जनसंख्या बसोबास गर्ने हङकङमा रहेका सय भन्दा बेसी सामाजिक संस्थाको कार्यक्रमहरुमा सर्वत्र देखिने उनी स्वंय आधा दर्जन जति संस्थाको मुख्य पदमा आसिन छन् ।
मैले कटाक्ष गरे– ‘ हिन्दु धर्मका टाउके पहाडे पुरुष बाहुन क्षेत्रीले देश भीरबाट खसाल्न थाले । आदिवासी/जनजातिका भाषा, धर्म, संस्कृति नामेट पारे भन्दै उफ्रने तपाईंकै सक्रियतामा हिन्दुहरुकै चाडलाई प्रमोशन गर्ने कार्यक्रम गरिरहनु भएकोछ त ?’ एकछिनको स्तब्धतापछि उनले फर्काएको जवाफ थियो–‘ सर हामीले हिन्दु धर्म र बाहुन क्षेत्रीको कहाँ विरोध गरेका हौं र वाहुनवादको पो गऱ्या हौं त ।’ त्यसपछि उनले शुरु गरेको वाहुनवादको शास्त्रीय प्रवचनको लम्बेतान यहाँ संभव छैन । तर उनको जम्माजम्मी तर्क के थियो भने  हिन्दुवादी भारतसंग मिलेर नेपालका सत्ताधारी जाति ( बाहुन/क्षेत्री) ले अन्य समुदायका पहिचान मेट्न लागिपरेका छन् । त्यसका लागि जसरी पनि उनीहरु सत्तामा टाँसिइरहन चाहन्छन् र जस्तोसुकै हत्कण्डा पनि उपयोग गर्छन् ।
७ अप्रिलका दिन घोषित समयमा काउलुङपार्क पुग्दा उनी अझै आईपुगेका थिएनन् । करिब आधा घण्टापछि उनी हस्याङ्फस्याङ् गर्दे आईपुगेपछि माईक समातेर कार्यक्रमको बेलिबिस्तार शुरु गरे । घोषित समयको करिब २ घण्टापछि ऱ्यालीले काउलुङ् पार्क छाड्यो । नौमतीबाजा र च्याम्ब्रुङ् गाजाबाजा र नाच सहित भद्र तरिकाले नेपाली कन्सुलर कार्यालय चिमसासुईका निम्ति करिब ३ सय मान्छेको लश्कर उग्र नारावाजी सहित प्रस्थान गऱ्यो ।
आधिकारिक तथ्याँक छैन तर आदिवासी जनजाति महासंघका नेताहरु हङकङमा ९८ प्रतिशत जनजाति समुदायको बसोबास छ भनि दावी गर्छन् । जनजाति बहुल भएपछि गैर जनजातिले उनीहरुको समस्या नबुझ्ने हुनाले तत् समुदायकै कन्सुलर पठाईनुपर्छ भन्ने माग त्यहि कारण राखिएको उनीहरुको तर्क छ । उनीहरुको यस्तो मागमा करिब धेरै जसो सहमत पनि देखिन्छन् । बाहुन क्षेत्री समुदायका ब्यक्तिहरु समेत प्रकट रुपमा यस मागमा विरोध गरेको सुनिदैंन । किनकी मागभित्र लुकेको, समावेशीता, समानता र लोकतन्त्रको गुढता तिनले राम्ररी बुझेकाछन् । यसभित्रको राजनीति पनि तिनले बुझेकाछन् ।
तर प्रश्न पहिचानको आन्दोलनमा लाग्नेहरुले कत्तिको गम्भीरताका साथ बुझेकाछन् भन्ने हो । किनकी आईतवारको जुलुशमा विताइएको करिब ४ घण्टाको समयभित्र त्यहाँ महसुस गरिएको एउटा  पाटो मेरा लागि महत्वपूर्ण ठान्दछु र आन्दोलनकारीहरुका निम्ति समिक्षा गर्नुपर्ने खास विन्दु हुनुपर्ने लाग्दछ । जनजाति आन्दोलन राजनैतिक रुपले चर्चामा प्रशस्त छ, लामो समयदेखि नेपाली राजनीतिको विषय पनि हुदैं आईरहेकोछ । तर यसले सफलता प्राप्त गर्न सकेको छैन । त्यसको पछाडि एउटा खास कारणले रोल खेलेको हुनसक्छ ।
मातृसत्तात्मक पारिवारीक संरचना भएको जनजाति समूदायमा महिलाको प्रमुख रोल हुने गर्दछ । तिनको रजाबन्दी विना परीवार र समुदायले खास निर्णय गर्ने सक्दैन । जनजाति समाज बजारवादले निर्देशित गरेको ब्यक्तिवादी समाज पनि होईन । त्यसैले ब्यक्तिको भन्दा सामुहिक निर्णय जनजाति समाजको खास विशेषता ठानिन्छ । तर हरेक निर्णयमा प्रमुख हात रहने महिलालाई जनजाति नेताहरुले पहिचानको आन्दोलन या राजनीतिको तालाचाबी भने कहिल्यै दिन चाहेको देखिदैन, जानेर या नजानेर । अर्थात हरेक कुरामा नेतृत्व प्रदान गर्ने जनजाति महिलाहरु पहिचानको राजनीतिमा भने पुरुषको धेरै पछाडि देखिन्छन् । त्यसैले होला जनजाति आन्दोलनमा महिलाले पुरुषलाई राम्ररी टेको दिएको देखिदैन । यसले जनजाति आन्दोलनलाई उचाईमा पुऱ्याउन रोकेको छ । लक्ष्य हासिल गर्न सकेको छैन ।
जनजाति आन्दोलनले साँस्कृतिक रुपमा गर्व गर्न लायक एउटा उपलब्धि हासिल गरेको छ, जातीय पोशाकको विश्वब्यापिकरण । २०४६ सालको परिवर्तनसंगै तत्कालिन जनजाति नेताहरुले थालनी गरेको आ–आफ्ना सामुदायिक पहिचान झल्काउने पोशाकलाई यो अवस्थासम्म ल्याईपुऱ्याउने प्रमुख कारण महिला नै हुन् । पुरुष त निमित्त पात्र मात्र हुन् । महिलाहरुले हरेक कार्यक्रममा ठाँट्टिएर लगाउने जातीय पोशाकले  नवपुस्तालाई समेत आकर्षित गरेको छ । विस्तारै यसले वजारलाई समेत प्रभावित पार्न थालेको छ । सौन्दर्य प्रतियोगितामा समेत यसको उपादेयता महसुस गर्न थालिएको छ । यो श्रेय जनजाति महिलाहरुलाई दिईनु पर्दछ । तर जनजाति आन्दोलनमा यो गुदी तत्व उपयोग गर्ने सवालमा कहिल्यै सोंचिएको देखिएन ।
हङकङमा यसपालि तीज अहिलेसम्मकै भब्य रुपमा मनाइएको थियो । हिन्दु महिलाहरुका निम्ति रचिएको यो धार्मिक चाडमा पोते, चुरा, तिलहरी, सिन्दुर र सारीमा ठाँट्टिएर हिंड्ने र रेष्टुरेन्टहरुमा कार्यक्रम गर्ने र गराउनेमा शतप्रतिशत जनजाति महिला थिए । कार्यक्रम संयोजन नै तिनले गरेका थिए । त्यसको तुलनामा दशैं फिका थियो । पुरुषकै अह्नखटनमा हुने हुनाले दशैंको रौनकता मुर्झाएको देखिन्थ्यो । तर त्यस लगत्तै आउने महिलाको अर्को चाड तिहारमा पुन: तीजकै जस्तो रौनकता थियो । गज्जबको विरोधाभास चरित्र थियो । उता राम्रो लोग्नेको कामना र भएकाहरुले पतिको दिर्घायुको कामना गर्दे हिन्दु आराध्य शिव लिंग ( प्रतिक ) लाई पुजा अर्चना गरि मनाईने तीजमा जनजाति महिलाले नेतृत्व लिई चहक पारिदिएका थिए । यता तिनका श्रीमानहरु भने सत्ता धर्म अर्थात पीडक हिन्दु धर्मको सत्तोसराप गर्दे हिंडिरहेका थिए ।  सदा एउटै ट्रयाकमा हिंड्ने लोग्ने स्वास्नी पहिचानको  मुद्दामा भने कहिल्यै एक हुन सकेनन् । दुई किनारा भई हिंडिरहेका छन् । आईतवारको महाबाणिज्यदुत विरुद्धको आन्दोलनमा पनि महिलाहरुको उपस्थिति औंलामा गन्न सकिने थियो ।
यदि ब्यक्तिवादी समाज भैदिएको भए यसलाई ‘ब्यक्तिगत स्वतन्त्रता उपयोगको अधिकार’ को रुपमा  तर्क गर्न सकिन्थ्यो । लोग्ने एउटा आईडोलोजी, धर्म, संस्कारको प्रवर्द्नमा लाग्ने र श्रीमती अर्को धर्म, संस्कार, संस्कृतिमा डुब्नुलाई स्वाभाविक ठानिन्थ्यो । तर जनजाति समाज पृथक भएकोले यहाँ यो सुत्र पूर्ण रुपमा फिट बस्दैन । त्यसैले केहिले बेलाबखत के पनि भन्ने गरेका छन् भने,‘आफ्नै श्रीमती र छोरीहरुलाई आफ्नो मुद्दामा कन्भिन्स गर्न नसक्नेले के सत्ता प्राप्त गर्ला ?’
यदि ल्होसार, साकेला, माघे सक्रान्तिमा नाचगान र रमाईलो हुदैंनथ्यो भने त्यसले समूदायको भीड जुटाउन हम्मे पर्न सक्थ्यो पनि भनिन्छ । त्यो अवस्थामा बर्षको एक दिन भए पनि भेला गराई आफ्नो सामुदायिक हितका कुरा गर्न र सुनाउन संभव हुने थिएन । समस्या जनजाति पुरुषहरु कै हो, अहिले पनि यस्ता कार्यक्रममा अलिकता भाषणबाजी हुनासाथ छ्या कति राजनीति गरेको होला भनि श्रीमती र बच्चालाई पाखा लगाईन्छ । बरु तिनलाई बर्थ डे जस्ता पार्टीका कानफोडु म्युजिकमा उफारेर त्यसको आनन्द लिएर बसिन्छ अनि कहाँबाट तिनको राजनीतिक चेतनास्तर उकासिन्छ ! अनि, आफ्नो कार्यक्रममा तिनलाई जान अनुरोध गर्दा ति किन मान्थे ? जनजाति पुरुष नेताहरुले अहिले भोगिरहेको सबैभन्दा तिक्त यथार्थ हो, जसको जड् उनीहरु स्वंय नै हुन् ।
लामो कालखण्डसम्म महिलालाई राजनीतिबाट यसरी विमुक्त राखिएको समाजमा त्यसले रातारात राम्रो परिणाम दिन संभव छैन र यो जर्वदस्ती हुने कुरा पनि होईन । तर तिनलाई ल्होसार, साकेला जस्तो रमाईलो साँस्कृतिक पर्वहरुबाट विस्तारै यस्ता गम्भीर मुद्दामा प्रविष्ट गराउन सकिन्छ । महिलाहरुको मुख्य खुबी के हो भने ति काम फत्ते गर्छन तर पत्तै पनि दिदैंनन् । जसरी जातीय पोशाकलाई विश्व बजारमा पुऱ्याउने महिलाहरुको गति कसैले भेऊ नै पाएनन् । त्यसैले जनजाति पुरुष यदि साँच्चिकै उदार र मुद्दामा गम्भीर हुन् भने पहिचानको तालाचावी विस्तारै घरमुलीलाई हस्तान्तरण गर्नतिर लागे हुन्छ ।
पुरुष नेताहरुको गाली पुराणले न त आफ्नै समुदायलाई कन्भिन्स गर्न सकिरहेको छ, सक्छ – न त विपक्षीलाई आफ्नो मुद्दामा झुकाउन सकेकोछ ! कर्कश आवाजले बरु उल्टै आफ्नै दाजुभाईलाई आन्दोलनको किनारातिर धकेलिरहेको छ । गाली राजनीतिले विपक्षीलाई त्यस्तै असहिष्णु बनाउँछ भने आफ्नैहरुलाई पनि पाखा तिर धकेल्छ । तर यदि सामुहिक निर्णयलाई यताउति नपारी घरको कमान सम्हाल्ने महिलाले यसको नेतृत्व पाएको भए तिनले आफ्नालाई काखीमुनी राख्दै पाखाकालाई समदुरीमा राखी मुद्दामा उद्देलित बनाउन सक्थे । कसैलाई नबिझाईकन आफ्नो काम फत्ते गर्न सक्ने जनजाति महिलाले जुन दिन आन्दोलनमा अग्रता लिन थाल्नेछन् त्यतिबेला पहिचानको राजनीतिको विजय अवश्यम्भावी छ । तर पहिचानवादी पुरुषहरुले यसलाई कत्तिको बुझ्छन्, कुन्नि !

 

Error: No articles to display