A+ A A-

राखी त्यौहारसंग मगरको गोरु बेचेको साईनो !


जेवी पुन मगर ---
केहि समययता मगर समुदायबीच तिनका भाषा, धर्म, सँस्कृति, चालचलन र राजनीति सम्बन्धमा अमेरिकाबाट मल्टिमीडीया बहस र अन्र्तक्रिया चलाँउदै आउनुभएका मगर बुद्धिजिवी विके राना ज्यूले आफ्नी बहिनीले यूकेबाट पठाएको ‘राखी’ बारे एउटा टुक्रा लेखेर त्यसको महिमागान वेवसंजालमा छर्नुभएकोछ । पाल्पा स्थित बलढेंगडी (बल्ढ्याङगडी) का मगर ? राजा वलिहाङ ( जसलाई हिन्दुधर्मका आराध्य विष्णुको प्रशस्तिगान गाउन लेखिएको उपन्यास विष्णु पुराणमा बलि ( बलिहाङ) राजा जसलाई विष्णुले पातालमा धसाईदिएको सन्दर्भ दिएर विष्णुको पुरुषार्थ देखाईएकोछ । ) संग सम्बन्ध जोड्न खोज्नु भएकोछ । तर बलिहाङ र ‘राखी त्यौहार’ बीच के कस्तो सम्बन्ध थियो र छ भन्ने कुरा वहाँको त्यो टिपोटमा कतै खुल्दैन । बरु वहाँले तत्कालिन भारतद्धिपको असान्दर्भिक राजचरित ल्याएर राखीको महत्ता दर्शाउन खोज्नुभएकोछ ।


सन १५५३ मा चितौरगढ ( केहि बुद्धिजिवीहरु चितौरगढका राणाहरुसंग नेपालको राणाको सम्बन्ध खुट्याउन खोज्छन् । पछिल्लो समय विकेज्यूहरु ती राणा शासकहरुमा मगरका राना थरको बंशावली पहिल्याउन लाग्नुभएको हो कि जस्तो लाग्छ ।) की विधवा रानी कर्णावतीले मुगल बादशाह ह्युमायुलाई राखी पठाएर मद्दत मागेको बेतुके प्रसंग जोड्नुभएकोछ । बेतुके यसर्थ कि कुनै पर्वलाई कुनै जातिसंग साईनो रहेको देखाउन खोजिएपछि त्यसको पुष्ट्याई गर्न जरुरीछ । नसके केहि तथ्यको काँधमा चढी तर्क गर्न सकिन्छ । किनकी जातीय प्रश्न उठ्नासाथ त्यसले समग्र समाजको कथा र ऐतिहासिकताको सम्बन्धमाथि विमर्श शुरु गर्दछ । यहाँ प्रश्न चितौरगढको रानी र मुगल बादशाहको दाज्यू–बहिनीको ममतामयी बीरगाथामाथि प्रश्न उठाउन खोजिएको होइन । प्रश्न तत्कालिन युद्धगाथा र राखीबीचको सम्बन्ध मगर समुदायमा कहाँनेर आएर फिट हुन्छ भन्ने पहिल्याउन खोजिएको मात्र हो ।
विके ज्यूले टिपोटमा राखी त्यौहारलाई जर्वदस्ती मगरको साँस्कृतिक पर्व हो भनि बौद्धिक मुढेतर्क राखेको जस्तो देखिन्छ । त्यसपछि स्वाभाविक रुपमा यस्तो प्रश्न उठेकोहो । भारतको हिन्दीभाषी हिन्दुहरुको ठुलो त्यौहार राखी पर्व नेपालमा भित्रिएको धेरै भएकोछैन । वलिउडी फिल्म र बिना सेन्सर बेडरुममा छिर्ने टिभी सोपेराहरु जसको मुख्य ध्येय महिलाहरु मार्फत ब्यापारसंगै हिन्दुधर्म, राष्ट्रवाद, भाषा, संस्कृति र सँस्कारको प्रवद्र्धन गर्ने रहेकोछ, राखी जस्ता पर्वका बारेमा देखाईने काल्पनिक कथावाचनको प्रभावबाट हाम्रा दिदिबहनीहरुले त्यस्ता पर्व कपी गरेकाहुन् । विके ज्यूको बहिनी अनिताले पनि त्यहि फेशनलाई सगर्व आत्मसात गरेकिहुन् । कुनै पनि मगर समुदायमा राखी बाँधेर भाई र बहिनीको अपार प्रेम सम्बन्धको दिर्घायुको कामना गरिएकोछैन । त्यसका निम्ति मगर लेखकहरुले आफ्नो दावी गरेको बलि राजासंग सम्बन्धित भैलोको अवसर नै कुरिन्छ । त्यस दिन भाईटिका लगाईन्छ । तिनका दिर्घायुको कामना गरिन्छ । यो झर्रा नेपालीपर्व हो । तर त्यो भाईटिकाको कथापुराण पनि यमराजसंग जोडिएको हुनाले त्यसको विश्वस्नियता पनि धुमिल पारिएकोछ । बरु विकेज्यूहरुले त्यसमा आफ्नो दिमाग खर्चेर त्यसको ऐतिहासिकता पहिल्याउने प्रयास गरे समाजलाई राम्रो योगदान हुनेथियो ।  विकेज्यूले उल्लेख गर्न खोज्नुभएको बलि राजा त्यहि भैलोसंग ( हाल देउसी, तिहार, भाइटिका ) सम्बन्धित हुन सक्छन् । त्यसबारेमा एउटा कथा मगर समुदायमा दन्त्यकथाको रुपमा अद्यापि गाँउघरतिर सुनिने कुरा मगर इतिहासकारहरुले उल्लेख गरेकाछन् । तर त्यो साउनमा पर्ने राखी त्यौहारको महिमागान नभई कार्तिकतिर पर्ने भाइटिकाको हो, जसको आफ्नै सौन्दर्य छ । ऐतिहासिकता छ । एउटा के तर्क गर्न सकिन्छ भने यदि साच्चिकै बलि राजा मगर हुन् र तिनले राखी चलाएकाहुन् भने मगर समुदायमा किन छैन राखीको प्रचलन ? किन भाईटीका मार्फत दिदी बहिनीले दाजु भाईको दिर्घायुको कामना गर्छन् ? वहाँहरुले यस्ता प्रश्नको जवाफ खोज्नुपर्यो ।
विकेज्यूले चितौरगढका शासकसंग ( राणा या राना ?) नाता पहिल्याउन खोज्दा भावुकतावश यथार्थको बांगोटिंगो प्रस्तुति हुन गएको पनि हुनसक्छ वा आफ्नो वंशलाई माथि उकास्न (  केहि मगरहरु आफुलाई क्षेत्री  कहलाउन गर्व गर्ने इतिहास खोज्न धेरै पछाडि फर्कनु पर्देन । तिनले जनै समेत लगाएका उदाहरण छन् । सत्तासंग नजिक रहन र त्यसको स्वाद चाख्न यस्तो गरिनुलाई समाजशास्त्री र मानवशास्त्रीहरु अन्यथा ठान्दैनन् । नेपालमा यस्ता जात परिवर्तनका विचलित ‘रामकहानी’ मगर समुदायमा थुप्रा छन् । त्यसैले पनि होला केहि मानवशास्त्रीहरु जाति स्थिर हुदैंन चलायमान हुन्छ भनि तर्क गर्छन । ) केहि तथ्यलाई ट्विस्ट गरिएको पनि हुनसक्छ । नियतबश वा अन्जानवश । तर मगर समाज र इतिहासका निम्ति दुबै घातक छन् ।
बरु नेपाली हिन्दुहरु ( त्यसमा पनि बाहुन क्षेत्री ) ले जनै फेर्ने दिन रक्षाबन्धन ( भारतीय हिन्दु पर्व ) लाई जनैपुर्णिमा भनेर नेपाली पात्रो र कानुनले समेत चिन्दछ । त्यसलाई त्यसरी नै बुझ्नु उपर्युक्त हुनेछ । रक्षाबन्धन र जनैपुर्णिमाबीचको सम्बन्ध कसरी भो र के अन्तरसम्बन्ध छ बरु त्यतातिर घोत्लिने हो कि ? त्यसो गर्दा नेपाली जातीय समुदाय र भारतीय समुदायबीचको बंशानुगत सम्बन्धको केहि तथ्य उजागर हुन्छ कि ? अर्काे एउटा तथ्य विके ज्यूलाई स्मरण गराउन चाहन्छु । मगरले कम्मरमा कन्ननी ( सुताको एक खालको जनै ) बाँध्ने प्रचलन पश्चिमा मगरहरुमा छ । तर त्यो सुता यहि राखी या जनैपुर्णिमाकै दिन किन फेरिदैन ? किन बाँधिन्छ ? त्यो भने सोधको विषय हुनसक्छ । किनकी कन्ननीको प्रचलन २० बर्ष यता लगभग हराउदै गैरहेकोछ । बरु त्यसको ऐतिहासिक तथ्य खोतल्दा केहि रहस्य उद्घाटित हुने पो थियो कि ?

ऐतिहासिक कालखण्डमा मगरहरु समुदायगत रुपमा हिन्दु थिए भन्ने प्रमाण खुल्दैन । बरु प्राकृत र बौद्ध अनुयायीहरु देखिन्छन् । कालान्तरमा मगरहरु सत्ताका कारण हिन्दुकृत भएकाहुन् । केहि सिमित ब्यक्ति र परिवार आफ्नो सत्तासम्बन्ध सुदृढ गर्न र त्यसको रस्वादन गर्न । धेरै सत्ताको नीतिगत डण्डाको कारण त्यसरी हिन्दुकरण भएकाछन् । कन्ननी फालेर काशी गएर जनै बाँध्ने पृथ्विनारायण शाह र क्षेत्री उपाधि थाप्ने जंगबहादुर राणाहरु सत्ताका लागि जातच्यूत ( उनीहरु पदोन्नति ठान्छन् ) भए भने तिनले काब्यकुन्ज बाहुन तथा श्री ६ देखि श्री १००० सम्मको सल्लाहमा बनाएका निति नियमहरुको जालोमा परि बहुसंख्यक मगरहरु कालान्तरमा हिन्दु बनाइएकाहुन् ।  त्यसैले धेरै पछाडि लेखिएका हिन्दु आराध्यहरुको स्तुतिगानमा यो महाद्धिपमा उहिल्यै देखि बसोबास गर्दे आइरहेको मगर जातिको समग्रता ( केहि हदमा यथार्थपूर्ण इतिहास ) भेट्न सकिदैन । त्यसका निम्ति हाम्रो समुदायमा चलेका श्रुति, कथा, भाषा, संस्कार र संस्कृतिभित्र घोत्लिनु जरुरी छ । केहि हिन्दु इतिहासकारहरुले नेपालमा त्यसरी लेखिएका स्तुतिगानमा मगर जाति हिन्दु थिए भनि पुष्ट्याई गर्न खोजेकाछन् । त्यो उनीहरुको स्वार्थ र बाध्यता दुबै हो । विके राना ज्यूको राखी सन्दर्भ पनि उनीहरुसंग कताकति मिलेको भान हुन्छ । तर मगर लेखकले स्वंय यस्तो सिद्धान्त स्थापित किन गराउनु पर्यो भन्ने कुरा भने सोचनिय छ ।
जातीयचेत र राजनीतिक चेतना नहुने मानवप्राणीहरुले पछिल्लो समय भैरहेको भु–उपग्रह र साईबर हस्तक्षेपबारे बुझ्न नसक्नु स्वाभाविक हो । तर बौद्धिकहरुले यस्तो महत्वपूर्ण परिवर्तनलाई उपेक्षा गर्नुहुदैंन । भु–उपग्रहमार्फ हाम्रो शयनकक्षमा बेरोकटोक छिर्ने भारतीय सिरियलहरुले हामीलाई यस्तो परिवार दिइरहेकोछ, जसको सोंचाई, लवाई, खवाई र मानसिकता सबै हिन्दुधर्म वर्णित पुराण अनुरुपको छ । अर्थात महिला पीडक मानसिकताको छ । विशांल नयंन सुन्दर भवति......छातीमा रौं भएका पुरुषहरु मर्द हुन् ......अग्ला पुरुषमा शक्ति हुन्छ......लिंग लामो पुरुषले मात्र चरमोकत्कर्षमा पुर्याउन सक्छ... आदि इत्यादि मान्यतालाई स्थापित गराउन रचिएका साहित्य र बनाइएको श्रब्यदृष्यहरु माथि हाम्रा बुद्धिवाजहरु धेरै घोत्लिएका छैनन् । यस्ता फेहरिस्ट टन्न छन् । यी माथिका सबै कुरा झुठको बुनियादमा खडा छन् र ति सबै अबैज्ञानिक छन् भनि प्रमाणित गर्न सकिन्छ । तर यस्तो गलत सम्प्रेणले हाम्रो समाजले कस्तो दुख र असर भोग्नुपरिरहेकोछ भन्ने कुरामाथि भने रत्तिभर विमर्श गरिदैन ।
यी सबै एउटा जाति, धर्म, सम्प्रदायको मनोबल उच्च बनाउन र तिनको रजगज चलाउन तत् समुदायका कलमबाजहरुले श्रृजना गरेकाहुन् भन्ने कुरा हाम्रा बुद्धिवाजहरुले छिटै बुझे समाजले चेतना छिटो प्राप्त गर्न सक्नेछ । यी प्रायशः जसो  साहित्य राजनीतिक हुन् भन्ने कुरामा प्रष्ट हुन जरुरी छ । त्यसैले राखी जस्ता पर्वको साँस्कृतिक सम्प्रुभता फैलाउन रचिएका कथा, कहानी, श्रब्यदृष्यबाट हामी पनि कुनै न कुनै रुपबाट प्रभावित छौं । विश्वका जुनै कुनामा गएपनि हिन्दी सिरियलको मोहपासबाट मुक्त हुन नसकेका चेलीहरु विमुक्त होलान् भनि तत्काल कल्पना गर्न सकिदैन । राखी जस्ता मगर समुदायमा गोरु बेचेको साईनो नदेखिएको ( अहिलेसम्मलाई ) पर्वका बारेमा बहिनीको साँस्कृतिक फेशनबाट प्रभावित विके ज्यूको  भावुकताले मगर समाजमा भ्रम छर्ने डर हुनाले यो स्मरण गराइएको हो । किनकी गम्भीर विषयमा ठट्टा विमर्श घातक हुनसक्दछ ।

लेखक एथ्निक भ्वाईस साप्ताहिकका प्रधानसम्पादक हुन्

Error: No articles to display