A+ A A-

समाचारको मुल बन्द गर्नै राजनीति नै मूख्य शत्रु : जेवी पुन मगर

३१ असोज अर्थात दशैको  अघिल्लो साँझ विकट जिल्ला हुम्ला श्रीगनर कालिका मैलामदवा गाविस २ का झुसे कुलाला खोकीका कारण मरे । त्यसको २ दिनअघि त्यसै गाविसका विश्व महतराले पनि त्यहि रोगले ज्यान गुमाएकाथिए । दशैंको बेला सबै स्वास्थ्यकर्मी घर गएको हुनाले उपचार नपाएर ती दुईको मृत्यु भएको थियो । स्वास्थ्यचौकीमा पुरयाएर घर फर्काइदै गरेको अवस्थामा मृत्यु भएका तिनलाई समयमा औंषधि दिन सकिएको भए ज्यान बच्न सक्थ्यो ।

 


हुम्ला सिमिकोट नजिकका ५ गाविसमा दशै अगाडि देखि नै रुघाखोकीको महामारी चलेपनि स्वास्थ्यकर्मीहरु स्वास्थ्यचौकी छाडेर दशैं मनाउन घर घर गएकोले कुलाला र महताराको ज्यान गएकोथियो । उपचार नपाएर दशैको लामो बिदामा यसरी ज्यान दिने निरिह देशभर कति  होलान्  ? दशैंमा देशका अस्पतालहरु लगभग खाली थिए । यो गल्ति हो भन्ने मीडिया नै थिएनन् । धन्न रेडियो, टिभी र अनलाइनले आफ्नो धर्म निर्वाह गरे । यी नभएका भए सूचनाबाट पूरै बन्चित राखिन्थ्यो ।

जतिसुकै अप्ठ्यारो अवस्थामा समेत स्वास्थ्यकर्मीले मैदान छाड्दैनन् । उनीहरुले त्यसैका लागि कसम खान्छन् तर हामीकहाँ दशैको रमझम मनाउन चौकी नै खाली गरेर घर गइन्छ । यसले हाम्रो समाज के बिध्न गैरजिम्मेवार रहेछ र हामी कति अब्यावसायिक रहेछौ भन्ने पनि थाहा हुन्छ । यस्तो समाचार बाहिर आउदैंन । स्पस्ट भाषामा भन्दा आउन दिइदैन । नेपाल एउटा यस्तो देश हो जहा संचारकर्मी नै एउटा बिशेष पर्वमा समाचार 'किल' गरेर बस्छ । ब्यावसायिक पत्रकारिता अभ्यास गरिने मुलुकमा समाचार लुकाउन खोज्नुलाई अक्षम्य अपराध मानिन्छ तर हामीकहाँ यसको खुल्लमखुल्ला अभ्यास हुन्छ ।
पंचायतकालमा दशैंको १५ दिनसम्म  िदइने बिदा २०४६ सालको परिवर्तनले पनि छाड्न सकेन । अहिले गणतान्त्रिक नेपाल भनिएको राज्यले समेत यो बिरामीमाथि पुर्नमन्थन गर्न चाहेन । दशैं जस्ता चाडलाई सबैधानिक निकायका प्रमुखहरुले जुन किसिमले महत्व दिए त्यसले हिंजोकै नेपालको झलक दिन्थ्यो । जनताको पैसाले चल्ने राष्टिय समाचार समितिले पूर्व राजा ज्ञानेन्द्र, राष्टपति, प्रधानमन्त्री लगायतका ब्यक्तित्वहरुको दशै शुभकामनालाई बिशेष महत्वका साथ प्रचार प्रसार गर्न संचारमाध्यमहरुलाई एक किसिको लविगं नै गरेको थियो ।
देशमा सय बढी जात छन् । तिनका आ आफ्नै पर्व छन् । भिन्न भिन्न धर्म छन् । ति अवसरमा राज्यले यो किसिdको नेतृत्व लिएको अझैसम्म देखिएकोछैन । त्यस किसिमले प्रचार गर्न लगाइएको पनि छैन । दशैंमा लगाउनुको कारण सचेत जमातले खोज्छन् भन्ने बिर्सनुहुदैंन ।पहिचानको राजनीति बढेकोबेला यस्ता प्रश्नहरुले समस्या खडा गर्नसक्छन् । भोलि अन्य समूदायले पनि मीडिया बन्द गर् भन्यो भने राज्यले कुन मुखले जवाफ दिन्छ ? बिशेषगरि नेपालमा दशैलाई सत्ता, धर्म र राजनीतिसंग जोडिएर हेर्ने गरिएकोछ । कतिपय जनजातिहरुले बहिस्कारसम्म गर्नुले यसलाइ साँस्कृतिक रुपमा मात्र ब्याख्या बिश्लेषण गरिनु हुदैन जुन काम दशै आउनु एक महिना अगाडि देखि नै शुरु गरिन्छ ।

हिंजोका शासकले दशैलाई साँस्कृतिक चाडको रुपमा भन्दा पनि करकापको बलमा मनाउन लगाइएको कारण यसप्रति एउटा वर्गको असन्तुष्टि अद्यापि छ । यस्तो विवादास्पद पवर््ामा राष्टप्रमुखहरुलाई जर्वदस्ती जोडेर यो वर्गलाई खिसिट्यूरी देखाउन खोजिएको भान पार्ने काम गरिनु हुदैंन ।  यस्तो कर्मले ध्रुबीकरण गराउछ । राज्य धर्म निरपेक्ष भएको भनिने तर आफुलाई धर्मान्धता देखाउन खोजिन्छ भने त्यसले अर्काे समूदायलाई आघात पुरयाउछ भन्ने कुरा सबैका हौं भनि राज्य संचालन गरिरहेकाहरुले बिर्सन हुदैन । यो किन स्मरण गराउन खोजिएकोछ भने राज्यले नै दशैलाई हिन्दुहरुको महान पर्वको रुपमा मान्यता दिएकोछ । त्यसैले सत्ताका टाउकेले आफुलाई निश्चित धर्मको अभियन्ताको रुपमा प्रस्तुत गराउने यस्ता विवादमा अल्मल्याउनु हुदैन । केहिले नेपालमा हिन्दुको जनसंख्या ८० प्रतिशत भन्दा बढी भएकोले राज्यका अवयव र मिडियामा पनि त्यो अनुरुप प्रभाव देखिनुलाई स्वाभाविक ठान्छन् । तर लोकतन्त्रमा अल्पसंख्यककै झन बढी सम्मान गरिन्छ ।

 संचारकर्मीले हरपल हरक्षण समाचार निस्किरहेकोहुन्छ भन्ने घोकेर बसेका हुन्छन् । दशैको अवसरमा ५ -५ दिन मिडिया हाउसमा ताला मारेर पर्व मनाउन बस्ने पत्रकार र मिडियासंचालकहरुलाई यो कुरा थाहा नभएको होइन । तर तिनले पाँच दिनसम्म समाचार नै बनिरहेका छैनन् भन्ने सन्देश पाठक, स्रोतालाई दिन खोजे । उनीहरुले यस्तो गरेर पाठकको समाचार जान्न पाउने अधिकारमाथि पूरै बुजो लगाउन खोजेकाछन् ।आफुलाई राज्यको चौथो अंग दावि गर्ने मिडियालाई यस्तो अधिनायकत्व  रत्ति सुहाउदैन ।

हरेक दिन लोडसेडिगं हुने देशमा दशैंमा झलमल उज्यालो बनाएर सरकार त यो पर्वमा बिशेष लगानी गर्छ, यो बुझिने कुरा हो । किनकी जति नै निरपेक्षताको कुरा गरे पनि जसको हातमा सत्ता हुन्छ उसले आफ्नो धर्म संस्कृतिको संम्बद्र्धनमा राज्यकोषको दुरुपयोग गर्छ गर्छ । जति नै क्रान्तिकारिता फलाके पनि नेपाल अझै पनि एउटा निश्चित जातिको स्वार्थ र अह्नखटनमा चलिरहेकोले यस्तो हुन्छ नै । तर मिडियाले नै राज्यको त्यस्तो कुत्सित योजनामा सघाउन खोज्छ भने अरु कतैबाट कसरी आश गर्नै !  जनताको करबाट चल्ने गोरखापत्र 4 दिनसम्म बन्द गरियो । यसबारे कोहि केहि बोल्दैन ।  उनीहरुको यस्तो मौनताले आफ्नो जाति, धर्म र स्वार्थका लागि कोहि बोल्नेवाला छैनन् भन्ने सन्देश प्रवाह गरिरहेको हुन्छ ।  कम्युनिस्ट क्रान्तिकारिता यस्तै बेला तुहिन्छ र यो नेपालमा सबैभन्दा बढी हुन्छ ।  द्धन्द्ध ब्यवस्थापन र शान्तिका राग अलाप्नेहरुले भित्रभित्र द्धन्द्ध हुर्काइरहेको यस्ता कुकर्म बारे किन बोल्दैनन् कुन्नि ?

ठिकै छ, सरकारी मिडिया त साम्प्रदायिक भयो रे किनकी उ निश्चित मिसनमा चलिरहेकोछ  । तर आफुलाई अत्यन्त ब्यावसायिक दावि गर्ने देशको सबैभन्दा ठूलो मिडियाहाउसहरु पनि सबै बन्द गरिए । एउटा धार्मिक  पर्वप्रति देखिएको मीडियामोहले ब्यावसायिक संचारकै घाँटी निमोठ्छ भन्ने हेक्का राखिएन ।किनभने उसका यस्ता ब्यवहारले अर्काे पक्षलाई झन बढी साम्प्रदायिक बनाइरहेको हुन्छ । देशमा जातीय ध्रुबीकरण चलिरहेको बेला आफुलाई पथप्रदर्शक ठान्ने मीडियाबाट यस्तो बेला झन बढी संबेदनशीलता देखाइनुपथ्र्याे।
मीडिया एउटा यस्तो शक्ति हो जसले सत्ताले गर्न नसक्ने काम सजिलै फत्ते गर्नसक्छ । दशैं जस्ता चाड फैलाउने कार्य बिस १९९५ मा शुरु भएको नेपाली मिडियाले निरन्तर गरिरहेकोछ । यो अन्जानवश भएको पनि भनिन्छ तर त्यसलाई सुधार्न नखोज्नुले नियतमाथि प्रश्न उठ्नु स्वाभाविक हो । आजसम्म मीडियाले एक जाति, एक भाषा, एक धर्मको वर्चश्व लाड्न गरेको राजनीतिकै कारण बिखण्डनको राजनीति बलियो हुदैं गैरहेको मानिन्छ ।

प्रमुख मीडिया पहाडे बाहुनको वर्चश्वमा रहेकोले यस्तो भएको तर्क गरिन्छ । बहुसास्कृतिक समाजमा राज्यका अन्य संरचना झैं मीडिया पनि एक साँस्कृतिक छ । यस्तो असमानतालाई २०४६ को परिवर्तनले पनि हटाउन सकेकोछैन । भर्खर त्यसमा सुधार हुन थालेकोछ । यस्तो एकसांस्कृतिक संरचना बहुल संस्थामा स्वाभाविक रुपमा बिमर्श हुदैन । बिमर्श नभएपछि पृथकिकरण हुने नै भो । एकसाँस्कृतिक वर्चश्व भएकै कारण देशमा द्धन्द्ध भएकोले नै समावेशीताको कुरा उठेको हो । समावेशीताले मनोपोली रोक्न मद्दत गर्दछ ।
जस्तै मीडियाहाउसहरुमा गैरहिन्दुहरुको राम्रो उपस्थिति रहेकोभए मीडियाहाउस पाँच दिनसम्म बन्द गर्नेपर्नेथिएन । दशै मनाउनेहरु घर जान्थे अरुले पत्रिका निकाल्थे । त्यसैगरि गैरहिन्दुका पर्व जस्तै साकेला,ल्होसार जस्ता चाडमा गैरहिन्दु आफ्नो चाड मनाउन जादा अरुले पत्रिका निकाल्न सक्छन् ।

यसले पाठक समाचारबाट बन्चित पनि हुदैनन् । र, मूख्य कुरा राज्यले दशैं जस्ता चाडमा गर्ने राजनीतिक स्वार्थमा मीडिया फस्नु पनि पर्देन । मीडिया जस्तो स्वतन्त्र उपक्रमलाई यो वा त्यो समूहको मुखपत्र बनाउन हुदैन । त्यसले धु्रबीकरण बढाउछ र साम्प्रदायिक बिद्धेष चर्काउछ । त्यसको भागेदारी संचारकर्मीले नै बोक्नुपर्छ । सबैभन्दा बढी मूल्य देशले भोग्नुपर्छ । स्वाभाविक हो,यस्तो राजनीति ब्यावसायिक संचारको प्रमुख दुश्मन हो ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर