A+ A A-

के संचारकर्मी पनि 'साम्प्रदायिक' हुन मिल्छ !


-जेवी पुन मगर


आज आदिवासी जनजाति महासंघको बन्दले जातीय ध्रुवीकरणको राजनीतिलाई देखिनेगरि बाहिर ल्याइदिएकोछ । आङकाजीलाई उग्र मन्तब्यका निम्ति उत्तेजित पार्न प्रश्न गर्ने पत्रकार र उत्तेजित भएपछि विरोध गर्न उनलाई हातपात गर्न र शेर्पालाई बाहिर पठा भनि नाराबाजी गर्ने पत्रकारहरु पत्रकार कम जातीय संस्थाका कार्यकर्ता बढी लाग्छन् । नेपाली पत्रकारिताको सबैभन्दा विद्रुप यस्तै रुपले आज संचारकर्मीहरुमाथि हातपात हुनु सामान्य हुन थालेकाछन्, जुन आज बन्दको क्रममा पनि भयो ।
पत्रकार कुनै जाति, धर्म र पार्टीको हुदैन तर नेपालमा सबैभन्दा बढी यो पेशा जाति र पार्टी सापेक्ष छ । दलका भातृसंगठन नै भएर काम गरिरहेकाहरुले कस्तो ब्यावसायिकता निभाउलान् भनेर बहस नगर्दा पनि हुन्छ । ति पक्का कार्यकर्ताकै रोलमा छन् । तर जातीय कार्यकर्ताको रोलमा पनि खुलेर देखिईनु शुभसंकेत होइन ।
मधेस आन्दोलनमा एउटा प्रश्न उठेकोथियो - पत्रकार महासंघ २०४६ सालको बहुदल ल्याउन र २०६२-६३ को आन्दोलन गरि राजतन्त्र फाल्न सडकमा उत्रेकोथियो । तर त्यहि महासंघ किन मधेस आन्दोलनमा चुप रहयो । बरु उल्टै पत्रकारले आन्दोलनलाई भारतीय र आपराधिक भनेर दुष्प्रचार गरे । यहि आरोपका बलमा मधेस आन्दोलनमा संचारकर्मीहरुमाथि आक्रमण भएकाथिए । त्यतिबेला मधेसी पत्रकारहरुले महासंघको समानान्तरण संघ नै खोलेकाथिए ।
अहिले त्यहि कुरा फेरि जनजातिले पनि दोहोर्याएकाछन् । अखण्ड सुदुरपश्चिमका नाममा भएका र बाहुन क्षेत्रीले जातीय राज्यको विरुद्धमा गरेका आन्दोलनलाई कभर गर्नेहरुले सुदुरमा भएको थारु आन्दोलनलाई किन कभर नगरेको । जबकी त्यो अखण्ड सुदुरको भन्दा डबल थियो । त्यसको फोटो समेत दिइएन भनिदैछ । यसले ठूलो असर पार्छ ।
वेव पोर्टलहरुमा भएका समाचारहरुका अनुसार, जातीय संघीयतको विरोधमा भएको भनिएको आन्दोलनले नवलपरासीमा थारुको सग्रहालय जलाउछ । पोखरामा लखन थापाको शालिक तोडफोड गर्छ । ( मगर भएकोले ? ) त्यसो गरेको भन्दै सडकमा निस्केकालाई प्रहरीले गोली ठोक्छ । तर त्यो समाचार महत्वमा पर्देन ।
त्यहि माथि सरकारले एक दिन बन्द गरेका बाहुन क्षेत्री आन्दोलनको माग सकारै पूरा गरिदिन्छ । आदिवासी घोषणा गरेर नुनचुक थपिदिन्छ । यसको प्रभाव र असर बारे संचारकर्मीको कलम चल्दैन । यसरी जातीय हिंसा भड्काउने काम स्वंय हामी संचारकर्मी र सरकारकै ब्यवहारका कारण भैरहेकोछ ।
करिब ९० प्रतिशत बाहुन क्षेत्री समूदायको पकडमा नेपाली संचारमाध्यम रहेकोले यस्तो राजनीति गरिएको बुझाई यी समूदायहरुको छ । सघन बन्दै गएको यस्तो मानसिकताले नेपाली संचार जगतलाई थप चुनौती थपिदिएकोछ ।
भोलि पत्रकार महासंघले विरोधमा आन्दोलन गर्ला तर त्यसको सन्देशलाई माथिको मानसिकताले परिभाषित गरिनेछ जुन प्रत्युत्पादक हुने पक्का छ । यस्तो बेला राज्य र दल भावुक भई जातीय उग्रता बढाउन थाल्यो भन्दैमा पत्रकारहरु पनि त्यसमा फँस्नु हुँदैन ।
यतिबेला पत्रकारले सबैभन्दा बढी ब्यावसायिकता देखाउन जरुरी छ । महासंघ स्वंय ब्यावसायिक संस्था भएकोले उसले गर्ने निर्णय सबैभन्दा महत्वपूर्ण छ । यसका नेतृत्वले ठंडा दिमागले सोंचेर यस अघि राजा फाल्न र बहुदल ल्याउन भएका आन्दोलन भन्दा यो नितान्त भिन्न छ भन्ने बुझ्नुपर्छ । पहिचान केन्द्रित यस्ता आन्दोलन भावना केन्द्रित हुन्छन त्यसैले कुनै प्रतिक्रिया दिदा त्यसले प्रतिक्रियाको राजनीति जन्माउला नजन्माउला र कस्तो ब्याख्या विश्लेषण गरिएला भन्ने कुरा सोंच्नुपर्छ । अर्को महत्वपूर्ण कुरा के नभुलौं भने हिजों महासंघले आन्दोलन गरेको सत्ता विरुद्ध हो जबकि अहिले उठिरहेका आन्दोलन अधिकारका निम्ति सत्ताविरुद्ध केन्द्रित छन् ।
यतिबेला सबै संयत्र दुर्वल भएकोबेला आन्दोलनकारीहरुले पत्रकार महासंघको औचित्यमाथि पनि प्रश्नचिन्ह उठाईदिए भने भोलि विभिन्न आन्दोलनका नाममा हुने दादागिरीको खबरदारी गर्ने संयन्त्र भुत्तो हुने डर रहन्छ । त्यसैले संचारकर्मी मित्रहरु उत्तेजित नहोंऊ । संयम धारण गरौं । लेखेर संवाद गरौं । समस्या सुल्झाउन मदत गरौं ।
मीडिया पनि समाजको एउटा अंग हो । त्यसमा काम गर्ने संचारकर्मी पनि नेपाली समाजबाट आएका प्राणी हुन् । ती भिन्न हुन्छन् भन्ने कोरा कल्पना र अपेक्षा हामीले राख्नु हुदैन । तर पत्रकार भैसकेपछि केहि न्यूनतम धर्म निर्वाह गर्नेपर्ने हुन्छ । जनजाति महासंघको पत्रकार सम्मेलनमा पत्रकारहरु जसरी लड्न उद्दत हुन्छन् ( फेसबुकमा छ्यास्छ्यास्ती रहेको भिडियो हेरौं ) त्यस्तो काम संचारकर्मीको होइन । आन्दोलनकारी त्यसै त उत्तेजित हुन्छन् तिनलाई उत्तेजित पार्नु पनि हाम्रो धन्दा होइन । शेर्पा उत्तेजित भए भन्दैमा पत्रकारले पाखुरा सुर्कनु मुर्खता सिवाय केहि होइन । लेखेर हो विरोध जनाउने । भिडेर होइन । त्यसैले हो, पत्रकारलाई चौथो अंगको मान्यताको सेरोमोनियल मान्यता दिइएको ।
रहयो कुरा, सापेक्षिकता र निरपेक्षताको नेपाली पत्रकारिता कति स्वतन्त्र, कति सापेक्ष कति निरपेक्ष छ भन्ने बारेमा एउटा थेसिस नै तयार हुनसक्छ । तर त्यसका निम्ति नेपाली पत्रकारले प्रायश गर्न दुख मान्ने अध्ययनको भने नितान्त जरुरी छ ।
के नभुलौं भने बजारवादले च्यापेको मीडियाको आफ्नो स्पष्ट ऐजेण्डा हुन्छ । उसको आफ्नो मिसन हुन्छ । नेपालमा त्यो वाहेक अर्को पनि स्वार्थ थपिएकोछ । त्यो देखिदैन । अपृश्य छ । सिके लालकै शब्दमा नेपालका मीडिया परम्परागत सत्ता बचाउन सधै अग्रमोर्चामा छन् ।
नेम चोस्कीले त्यसै भनेका होइनन् । ब्यापार गर्न भनि खुलेका मीडिया कसरी हुन्छ स्वतन्त्र ? उ जे गर्दा आफ्नो ब्यापार फस्ताँउछ त्यहि गर्छ । त्यसैले पत्रकारहरुले के नविर्सो भने जातीय अग्राधिकार जस्ता अलोकतान्त्रिक पद्धतिको विरोधमा कलम चलाउउने पत्रकारहरुले आफुले होल्ड गर्न चाहने अग्राधिकारको वारेमा पनि सचेत हुन जरुरी छ ।
पत्रकार सर्वज्ञाता हुन्छन् र सर्वलौकिक हुन्छन् भन्ने जस्ता अति रुढ मान्यतामा हुर्केको नेपाली पत्रकारिताका विद्याथीले पेशागत अंहता त्यागेर आफ्नो पेशागत मर्यादालाई मात्र ख्याल राख्ने हो भने धेरै समस्याको समाधान हुन्छ । फेरि दोहोर्यउछु - कसैलाई अग्राधिकार जस्ता तानाशाहिता अभ्यास गर्ने अधिकार दिईनु हुदैन तर पत्रकारले पनि पत्रकार भएकै नाताले त्यस्तो तानाशाहिता देखाउने कुनै अग्राधिकारको माग गर्नु हुदैन । त्यो नैतिकता र पेशागत मर्यादा कुनैले पनि दिदैन ।
हामीकहाँ पत्रकार समाजसेवा गर्न निस्केका ठूला त्यागी हुन् भन्ने भ्रम छर्न खोजिएकोछ, जुन सोहै आना गलत हो । आफुलाई विशेष दर्जा दिईनुपर्ने अग्राधिकारको माग त्यसै कारण राखिदै आइएकोछ । तर ति पेट पाल्न आएकाहुन् । एउटा ब्यापारिक प्रतिष्ठानको सामान्य मुलाजिम हुन् भन्ने कुरा बताउन खोजिदैन । यस्तो यथार्थ बुझाएपछि सबै भ्रमको तुँवालो हट्छ । स्वंय पत्रकार पनि यस्तो दिग्भ्रमित यातनाबाट मुक्त हुन जरुरी छ ।

(पुन हङकङबाट प्रकाशित हुने एथ्निक भ्वाईस साप्ताहिकका प्रधान सम्पादक हुन् ।  )

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर