A+ A A-

हङकङमा पत्रकारमाथि सांघातिक हमलाको राजनीतिक पाटो

जेवी पुन मगर

बुधवार विहान हङकङको प्रमुख चिनिया दैनिक पत्रिका मिङ्पावका पूर्व प्रधान सम्पादक केभिन लाउ चून–टू माथि मोटरसाईकिलमा आएका दुई युवाले चक्कु प्रहार गरि गम्भीर घाईते बनाएकाछन् । स्थानीय सरकारका कडा आलोचक केभिन लोकतान्त्रिक मान्यता र प्रेस स्वतन्त्रताका सक्रिय नेता हुन् । कुनै बेला उनी सम्बद्ध पत्रिकामा पत्रकारलाई बिना कारण निकालेकोमा अस्ति आईतवार हङकङ पत्रकार संघको अगुवाईमा भब्य विरोध प्रदर्शन भएकोथियो । हङकङ सरकारको प्रेस स्वतन्त्रतता र नागरिक अधिकारमाथि हस्तक्षेप र सेन्सरसीप गर्न थालिएकोमा आलोचना गरि लेखिएको भरमा ति पत्रकारलाई निकालिएकोथियो । जसको सर्वत्र विरोध भैरहेकोछ । आईतवार गरिएको विरोधसभामा प्रेस स्वतन्त्रताको पक्षमा ऐक्यबद्धता जाहेर गर्दे र्यालीमा सहभागी हजारौंको जनलहरले त्यो देखाउँथ्यो । केहि समययता हङकङमा प्रेस माथि सुनियोजित रुपले श्रृखंलाबद्ध रुपमा  आक्रमण भैरहेकोछ । त्यस्ता आक्रमणको स्वरुप विभिन्न प्रकृतिका छन् । स्वतन्त्रताका सक्रिय सिपाही केभिनमाथिको भौतिक आक्रमण त्यसैको पछिल्लो कडी थियो ।

हङकङमा सत्ताको विपक्षमा  आवाज मुखर गर्न सक्ने मध्ये चिनिया पत्रिका मिङ्पावलाई प्रमुख मानिन्थ्यो । त्यसैगरि अग्रेंजी दैनिक साउथ चाईना मर्निङ मोस्टलाई प्रतिपक्ष ठानिन्छ । यि बाहेक यहाँ भएका केहि चिनिया पत्रिकाले मीडियाले खेल्नुपर्ने प्रतिपक्षको भूमिका निभाएको विश्वास गरिन्छ । बेलायतको उपनिवेशबाट मुक्त भएपछिको हङकङमा शक्ति लुछाचुडीको जुन खेल शुरु भएकोछ, त्यसमा मीडिया पनि दुई धारमा विभक्त भएकोथियो । विशेषगरि अहिलेका सरकार प्रमुख सि वाई ल्युङ् सत्तासीन भएपछि हङकङमा राजनीतिक उभार उथलपुथलकै अवस्थामा पुगेको विश्वास गरिन्छ ।

अहिलेको सरकार बेईजिङको कठपुतली भएको र चाईनीज कम्युनिष्ट पार्टी ( सिसिपी) लाई रिझाउन हङकङका जनताको स्वार्थलाई तिलान्जली दिंदै मेन्ल्यान्डरहरुको पक्षमा धमाधम निर्णय गरिरहेको भन्दै विरोध प्रदर्शन भैरहेकाछन् । यस्ता कार्यक्रमको संख्या बढ्दो छ । त्यस्ता आन्दोलनमा युवा, विद्यार्थीहरुको आक्रमक सक्रियताले धेरैलाई चकित पार्ने गरेकोछ । यस्ता आन्दोलनमा भीड दिनवदिन बढ्दै गैरहेकोछ । सामान्यतः राजनीतिक रुपमा निरपेक्ष बस्ने भनिएको हङकङबासीको यस्तो राजनैतिक सक्रियताको कारणले चकित तुल्याएको हो । बेईजिङ समर्थक भनिएको सरकारको विरोधमा जनता सडकमा उत्रन थालेपछि यसलाई बेईजिङले आफ्नो प्रतिस्ठासंग जोडेर हङकङमा रणनीति  तय गर्न थालेकोछ । तिब्बति मुद्दामा नसकेपछि हङकङको मुद्दामा आफुलाई कर्नरमा पार्न अमेरिका लगायत पश्चिमाहरुले चलखेल गरेको बुझाईका कारण बेईजिङले हङकङमा हरेक हत्कण्डा अपनाउँदै आफ्नो पकड बलियो बनाउदै गैरहेकोछ । त्यसमा आफु समर्थक डिएभी पार्टी र उसको नेतृत्वको सरकारलाई उसले सक्दो सहयोग गरिरहेकोछ । त्यसले पनि विपक्षी र युवाहरुलाई आक्रोशित  तुल्याएकोछ । युवाहरु आफ्ना लागि रोजगारको ब्यवस्था नगर्ने तर मेनल्यान्डरहरुका लागि राम्रा नीति ल्याउने भन्दै विरोधमा उत्रिएकाहुन् ।मीडियाले स्वाभाविक रुपमा प्रतिपक्षहरुलाई समर्थन पुग्नेगरि रोल खेल्दै आईरहेकोछ । मीडियाको यस्तो रोलका कारण विरोधका स्वरहरु सघन हुन थालेको विश्वास गरिन्छ ।

त्यसै कारण के विश्वास गरिन्छ भने मीडियाको यस्तो सक्रियतालाई भुत्ते बनाउन बेईजिङले ठूलो लगानी गरिरहेकोछ । त्यस्तो भन्ने आधार छन् । जस्तै, सरकार विरोधि छवि बनाएका केभिनले मिङ पाव दैनिकलाई उपयोग नगरुन भनि त्यहाँबाट उनलाई निकालिएकोथियो । उनको ठाँउमा चिनिया कम्युनिष्ट पार्टीका समर्थक चोङ टिएन सीङलाई पदवहाली गरिएकोथियो । उनी हङकङको नभई मलेशियान मूलका चिनिया थिए । मिङ पावका मालिक सिओङ हियू किङ स्वंय मलेशियन मूलका चिनिया हुन् । त्यति गरेपछि प्रतिपक्ष भूमिका खेलिरहेको स्थानीभाषाको पत्रिका आफु अनुकूल हुने बेईजिङ समर्थक सरकारको आँकलन देखिन्छ । केहि आलोचकको भनाईमा केभिनको बर्हिगमनपछि मिङपावको छवि भुत्ते हुँदै गैरहेकोछ ।  

त्यति मात्र होईन – साउथ चाईना मर्निङ पोस्टमा पनि प्रतिपक्षी भूमिका खेल्ने सम्पादक हटाई पहिलोचोटी मेनल्यान्डर तथा सिसिपी समर्थक प्रधान सम्पादक ल्याईएकोछ । उनको आगमनपछि चीनमा प्रभाव बढाउन पोस्टको चिनिया भाषा संस्करणको वेवपेज पनि शुरु गरिएकोछ र उनलाई त्यसैकारण ल्याइएको बताईन्छ । चीनमा सरकार नजिकका पत्रिकाहरुमा काम गरेको अनुभवी अहिलेका पोस्टका प्रधान सम्पादक ल्याईनुका पछाडि मीडियालाई भुत्ते बनाउने र आफु विरुद्ध उर्लिएको जनलहर रोक्ने प्रमुख कारण रहेको केहिको भनाई छ । पत्रकारलाई यस्तो पक्ष विपक्षमा विभक्त बनाईदिएपछि आन्दोलन कमजोर हुन्छ भन्ने ठाानिएपनि सत्ता र बेईजिङको यस्तो योजना सफल भएको थिएन । पत्रकारको अस्तिको आईतवारे विरोधसभाले सत्तालाई झस्काएकोथियो । त्यसैले दुई दिन भित्रै छद्दभेषमा प्रस स्वतन्त्रताका हिमायती केभिनमाथि आक्रमण गरेर सबैलाई तर्साउन खोजिएकोछ । यो आक्रमण राजनीतिक प्रेरित देखिन्छ । साम, दाम, दण्डले मीडियामाथि नियन्त्रण पाउन नसकेपछि अब भौतिक रुपमै आक्रमणमा उत्रन शुरु गरिएको यस घट्नाले खुलस्त देखाएकोछ ।

तर यस्तो कायरताले सिवाई ल्यूङ सरकार र बेईजिङ विरुद्ध झन विद्रोह र आक्रोश जन्माउने निश्चित छ । यसले हङकङमा युवालाई सडकमा उतार्न झन आगोमा तेल थपिदिएकोछ । ब्यावसायीकरणको नाममा ब्यापारिकरणमा फँस्दै गैरहेको आरोप लागिरहेको हङकङका मीडिया र तिनका कर्मीहरुलाई समेत यसले पेशागत एकजुटता हुन दवाव श्रृजना गरिदिएकोछ । हङकङ पत्रकार संघले आज सदस्यहरुलाई जारी गरेको सर्कुलरमा आजको कायर कृत्य विरुद्ध सडकमा उत्रन आब्हान गरिसकेकोछ । चाईनीज विश्वविद्यालयका मीडिया प्रोफेसर मित्र सिन्डी जोङ्ले घट्ना लगत्तै मेरो फेसबुकको भित्तामा गरेको ट्यागमा लेखेकिछन्– “ सन २००२ मा विश्व प्रेस स्वतन्त्रतता इन्डेक्समा हङकङ अठारौं नंवरमा थियो तर अहिले ६१ नंबरमा पुगेकोछ । बेईजिङ तिम्लाई धन्यवाद छ ।”

हङकङमा चर्किरहेको तर नेपालीले बुझ्न नखोजेको यो राजनीतिभित्र बाहिरियाहरुप्रति यहाँको स्थानीयमा चर्काे आक्रोश देखिन्छ । त्यसमा मेनल्यान्डर चिनियाहरुप्रति स्थानीय युवाहरुको घृणा अचाक्ली देखिन्छ । त्यसैले बेईजिङ समर्थक डिएभी पार्टी जसले सत्ता संचालनको  नेतृत्व गरिरहेकोछ, त्यसप्रति त्यहि अनुपातमा विरोध गरिरहेकाछन् । संयोग के छ भने त्यहि डिएभी पार्टीमा नेपाली बहुसंख्यक नेताहरु खुलेरै लागेकाछन् । पारिका आगन्तुकहरु विरुद्ध यसरी आईलागेका स्थानीयहरुले पारिको समर्थक दल र सरकारलाई समर्थन गर्ने नेपाली समुदायलाई कसरी हेरिरहेकाछन् र भोलि उनीहरुको हामीमाथि हुने ब्यावहार के कस्तो हुने हो कसैले सोंचको देखिदैन । भोलि नेपाली स्थानीय नेताहरुको राजनीतिक रोमाचंकताले यहाँ बसोबास गरिरहेका अल्पसंख्यक नेपालीले  मेनल्यान्डर जस्तो घृणा र दुब्र्यवहारको सामना गर्न नपरोस्, किनकी घृणाको राजनीति अत्यन्त डरलाग्दो हुन्छ जसको आँखा नै हुदैंन ।

Last Updated on Wednesday, 26 February 2014 18:57

Hits: 1428

किन लड्या होलान् यी गुर्खा !


ज्ञानराज राई एण्ड टिमको भोक हडताल


गएको आईतवार सम्पन्न ब्रिटिश गर्खा भूतपूर्व सैनिक संघ हङकङको अधिवेशनमा उल्लेख्य केहि थिएन । कार्यक्रम सादा थियो । तर त्यहाँ बोल्ने केहि जोशिला गुर्खाहरुका उत्तेजक भाषण भने मेरा निम्ति ध्यानयोग्य थिए । पदम गुरुङको नेतृत्वमा लामो समयदेखि बेलायती राजले गरेको गुर्खाहरुमाथि गरेको विभेद विरुद्ध लड्दै आएको गेसोका केन्द्रिय सदस्य मणिकिरात वान्तवा देखि अन्य समर्थक वक्ताहरुले धुँवाधार रुपमा दुरुस्त त्यहि आन्दोलन गरिरहेका सहधर्मीहरुमाथि जुन खाले गालीगलौज गरिरहेकाथिए त्यो अत्यन्त निकृष्ट थिए ।
त्यसो त यस्तो विरोध तिनका विवेकबाट निस्किएको जस्तो थिएन । पदम गुरुङको नाममा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा त्यस्तो अभद्र र असभ्य भाषा प्रयोग गरिएकोथियो,जुन मीडियामा पहिल्यै आईसकेकाथिए । त्यहि बिज्ञप्ति बाचन गर्दे वक्ताहरु उफ्रिरहेकाथिए, गालीगलौजकै स्तरमा ।
जुन संस्थाले लामो समय देखि विभेद, न्याय, समानता, आत्मसम्मान, स्वाभिमान र ईज्ज्तको दुहाई दिदैं बेलायती सरकारको ब्यवहार विरुद्ध आन्दोलन गरिरहेकोछ, त्यहि संस्था र तिनकै नेताहरुले जुन तरिकाले सहधर्मीहरुको विरोध गरिरहेकाछन्, त्यो गोराको विभेदरुपी ब्यवहार भन्दा कुनै अर्थमा फरक देखिदैन । अरुलाई पाठ पढाउनेले त्यहि दुष्कर्म गरेपछि तिनको नेतृत्व र आचरणमाथि स्वतः प्रश्न उठिहाल्छ । त्यस्तो गालीगलौजले माथि उठाँउदैन,गिराउँछ ।
गेसोको लान्छना र गालीगलौज भरिएको प्रेस बिज्ञप्ति र तिनका नेताहरुले ओकलिरहेका गालीगलौजले फाईदा कसलाई पुर्याउँछ ? तिनको भनाईमा हालसालै १५ दिनसम्म बेलायतमा गुर्खा मागका निम्ति आमरण बसेका ज्ञानराज राई र उनीसंग आवद्ध विभिन्न आधा दर्जन संघसंस्था बेलायती शासनका मोहरा हुन् । तिनमाथि बेलायती सरकारकै षड्यन्त्रमा गेसोलाई कमजोर पार्न खडा गरिएका भाडाका टट्टु हुन् भन्दै गम्भीर लान्छना लगाइएकोछ ।
१५ दिनसम्म ३ डिग्रीको सिरेटोमा नाँगो आकाशमुनी भोकभोकै आन्दोलन गरि बेलायती सरकारका प्रतिनीधिहरुलाई सडकमा आई अनुसन्धान गर्ने प्रतिबद्धता बक्न लगाउने अवस्थामा पुर्याउने आफ्नै सहधर्मीहरुमाथि किन यो विध्न लान्छना लगाए, गम्भीरतापूर्ण सोच्न थाल्नुपर्छ । किनकी १५ दिन सम्म जिवनमरणसंग लड्दै आन्दोलन गरिरहदा गेसो केहि बोलेको थिएन । तर जब आन्दोलन सफल भएको जस्तो देखियो गेसो एकाएक दुष्प्रचार शैलीमा मैदानमा कुदेको देखिन्छ, जुन उसको आन्दोलनको मर्म विपरित देखिन्छ । ज्ञानराज राई एण्ड टिमले गेसोको आरोपलाई कपोलकल्पित भनिसकेकोछ र प्रमाण भए सार्वजनिक गर्न चुनौती समेत दिएकाछन् । गेसोका नेताहरुसंग आरोप र गाली सिवाय अहिले सम्म तिनले बोलिरहेको गम्भीर आरोपको कुनै प्रमाण देखिदैन । दिइएका प्रमाणहरु राजनीतिक दलले लगाउने आरोपका खोस्टा भन्दा कम छैनन ।
ज्ञानराज राई एण्ड टिमले जुन र जे जसरी आन्दोलन गरेपनि ति सबैले गेसोले उठाँउदै आएको मुद्दाहरुलाई नै अगाडि बढाईरहेकाहुन् । समानताको मुद्दा उठाएरै ति आमरण अनसन जस्तो दुरुह आन्दोलनमा उत्रिएकाहुन् । सडकमा उफ्रिएर चिच्याउन भन्दा आमरण अनसन स्वभावले खतरा र दुरुह ठानिन्छ । आफुहरुले उठाईरहेको मागलाई आफु जस्तै पीडित नंवरीहरुबाट आन्दोलन गर्दा साथ दिन र गर्व गर्नुपर्नेमा यसरी धारेहात लगाएपछि त्यसले समस्त गुर्खा आन्दोलनमै दुष्प्रभाव पार्छ भन्ने हेक्का राखिएकोछैन ।

उल्टै गुर्खा अफिसरसंग मिलेर आमरण अनसनको नौटंकी गरेको आरोप लगाइएकोछ । अचम्म त के छ भने अस्तिको कार्यक्रममा गेसोका नेताहरुले ज्ञानराज राईले लुकीलुकी खाना खाँदै त्यो अनसन गरेको हो भन्दै आरोप लगाए । आरोप लगाउनुअघि त्यो कसले देख्यो, कुनै फुटेज छ त्यस्तो गरिएको ? गुर्खा अफिसरहरुसंग मिलिएको भए गेसोले यसअघि गरेका आन्दोलनलाई पनि त्यसरी नै हेर्नुपर्ने होला भनि कसैले प्रश्न उठायो भने के गर्ने ।  एउटै आन्दोलनमा आफुले गर्दा ठिक अरुले गर्दा बेठिक भन्ने सोंचाई नै गलत छ ।
होला, ज्ञानराज राईहरु हिरो हुँदा गेसोका नेताहरुको चार्म घट्ला या केहिले भने जस्तो संस्थालाई उठाउने रकम नउठ्ला या साल्मे डाँडाको अभियानलाई अप्ठेरो पर्ला तर आन्दोलनकारीले त्यस्तो तुच्छ बिचार राख्नु हुदैन । यदि गुर्खा समानताको माग सफल जुन संस्था र ब्यक्तिले गरेपनि फाईदा त गुर्खा समुदायलाई नै हो पुग्ने । आफु आफुमै लड्न थालेपछि भाई फुटे गँवार लुटे नै हो हुने । आफु लडेपछि अरुले त्यसै उठाई हाल्छन् नी । गेसोले बिज्ञप्ति छाडेपछि ज्ञानराज राईहरुले पनि त्यस्तै बिज्ञप्ति मार्फत प्रतिक्रिया दिईसकेकाछन् । यो शुभ संकेत होईन । आफु आफु लड्न थाल्नु भन्दा कसरी आफ्नो मुद्दा सशक्त बनाउन सकिन्छ त्यसमा ध्यान पुर्याउन जरुरी छ । अन्यथा गुर्खाका सन्तान हामीले यस्तो दिन देख्न नपरोस् जहाँ बेलायती सत्तासंग समानताका लागि लड्न हिंडेका गुर्खाहरु बघिङ्गम प्लेस अगाडी आफै कुटाकुट गरिरहेका होऊन ।

Last Updated on Thursday, 04 September 2014 11:27

Hits: 2581

हङकङका दृढनिश्चयी यी महिला नेतृहरु



नेपालमा पुरुष वर्चश्व सामाजिक र राजनीतिक संस्थाहरुमा झै–झगडा, बैमनस्यता, ईवी, ईष्र्या र द्धन्द्ध मात्र हुनाले देश  उँधोगति  लाग्नै सकेन । हङकङमा पनि पुरुषहरुकै वर्चश्व रहेको सय भन्दा बढी संस्थाका नेताहरु काम भन्दा बढी गफ र आफु आफुमै लडाभाँती गर्न ठिक्क छ । तिनले नेपाली समाजलाई नराम्ररी भाँडिरहेकाछन् ।  यस्तो लाग्छ, ति दिमाग टोकरीमा बन्द राखी मसल भिडाउने भन्दा कमका कुरै गर्देनन् । यी दम्भीहरुलाई के भ्रम छ भने तिनको दम्भका अगाडि कसैको बाऊको केहि लाग्दैन । त्यसैले तिनले शुरु गरेका आन्दोलन, बाचा, प्रतिबद्धता र घोषणा गरेका कार्यक्रम पुरा भएका दृष्टान्ट धेरै कम छन् । तर यहाँका महिलाले हाँकेका संस्थाहरु भने सोंचिएभन्दा बढी गतिशील देखिन्छन् । परम्परागत ढर्रामा हुन्छ के भने महिलालाई पुरुष वर्चश्व सामाजिक मान्यताले निर्दिष्ट गरेको संरचनाभित्र फिट गराउन खोजिन्छ । मनोरन्जक साधनको रुपमा । तिनलाई शो पीसको रुपमा उपयोग गरिन्छ । तर हङकङमा उल्टो देखिन्छ, यहाँ विस्तारै महिलाले पुरुषलाई शो पिसको रुपमा सभा समारोहमा फुल माला झुण्ड्याई क्याटवाक गराईरहेकाछन् र ति मसक्क मस्किदै हरेक कार्यक्रममा माईक समाउदै महिला दर्शकका कमोडिटी भैरहेकाछन् ।  महिलाहरुको यो खुबी विस्तारै उत्कर्षमा  देखिन शुरु गरेकोछ ।
मंगलवार साँझ मगरसंघ हङकङले आयोजना गरेको च्यारिटी डिनरले कम्तिमा त्यहि सन्देश दिन खोजेको देखिन्छ । त्यो कार्यक्रममा एकै रात ७ लाख हङकङ डलर उठाएर चन्द्रज्योतीले एउटा मानक स्थापना गरिदिएकिछन् । हङकङमा पहिलोपल्ट ठुलो संस्थाको कमान एउटा महिला (चन्द्रज्योति आले) को नेतृत्वमा आउनासाथ टिकाटिप्पणी शुरु भएकोथियो– यिनले खै के गर्लान ? तर समयक्रममा उनको अपत्यारिलो काम गराई सबै पुरुषहरुको तुलनामा भिन्न र फलदायी देखिन थालेकोछ । उनको विशेषता के देिखन्छ भने आलेलाई कुनै काम ठिक लागे त्यसलाई फत्ते गर्न उनी आफ्नो खुबी यसरी प्रयोग गर्छन, जुन खुबीका कारण त्यो काम फत्तै भै छाड्छ । सबैलाई ठिक्क पारेर आफ्नो मतलव निकाल्न सक्ने यस्तो खुबी धेरै कममा हुन्छ । उनमा भएको यो खुबी एउटा सफल राजनीतिज्ञको जस्तो छ । त्यो भन्दा पनि महत्वपूर्ण के हो भने उनी अभियानमा लागेपछि दत्तचित्त भै त्यसमा जोतिन्छन् ।

चन्द्रज्योति आले (बाँया )र नमो बुद्ध आमा समुहका उपाध्यक्ष तथा हङकङ महिला संघकी अध्यक्ष टिका गुरुङ - फोटो स्यारोन पुन

हङकङको सबैभन्दा पुरानो जातीय संस्था मगरसंघ हङकङले अहिलेसम्म आफ्नो भवन बनाउने कुरै नगरिरहेको सन्दर्भमा आलेले त्यति ठूलो चुनौतीलाई फत्ते गर्ने महत्वाकाँक्षी योजना सार्वजनिक गरिन । यहाँका प्रमुख संस्थाहरुको समेत नीजि भवन त छाड्नोस् आफ्नो भाडाको कार्यालय समेत नभई झोला र भर्चुअल कार्यालयबाटै काम चलाईरहेको सन्दर्भमा आलेले एउटा यस्तो महत्वाकाँक्षी योजनाको संखनाद गरिन, जसमा कसैलाई विश्वास नै थिएन । त्यसैले भनियो– हङकङ नेपाली महासंघ जस्तो ३ दर्जन संस्थाको महासंघले बर्षाेदेखि घोषणा गरेको कार्यालय खरिद कार्यक्रम अनेकन प्रयत्न गर्दा त सकेकोछैन यि महिलाले के सपना देखेकि होलान ? उनलाई केहिले यस्तो लफडामा नफँस्न सुझाव दिएको पनि बताईन्छ तर भयो उल्टो । उनले कसैको सुनिनन् । गर्छु भनेपछि पटुकि कस्ने उनले यसमा पनि हात खिचिनन् । यसअघि उनले सबैलाई अचम्ममा पार्नेगरि गोरेबहादुर खपाङ्गीको लागि थालेको अर्थ संकलनले पनि धेरैको मुखमा बुजो लगाईदिएकोथियो । आदिवासी जनजाति महासंघ हङकङले ठुलो हल्ला गरि दर्जनौ ब्यक्तिहरुको संलग्नता सहितको समिति बनाई आर्थिक संकलन गर्ने भनि शुरु गरेको कार्यक्रम के भो, कहाँ पुग्यो सार्वजनिक भएको छैन । तर यी अध्यक्षले एक्लै फोनको भरमा एक रातमै ४ लाख २० हजार नेरु उठाएर भोलिपल्टै काठमाण्डौ पठाईदिएकि थिईन । उनको नेतृत्वमा ४ चोटी खपाङ्गीका लागि सहयोग पठाइएकोछ, करिब ८ लाख जतिको । यसका निम्ति उनले कुनै समिति बनाएर पत्रकार सम्मेलन गरि ध्वाँग पुक्न जरुरी ठानिनन् । लो प्रोफाईलमै यी सब गरिन । प्रचार पनि गरिनन् ।

सोमवार तिनले पहिलोपल्ट आफ्नो महत्वाकाँक्षी योजनाको निम्ति डाकेको च्यारिटी डिनरमा ब्यक्ति र संस्थाहरुले जुन किसिमले संलग्नता दर्शाए त्यसले उनको खुबी फेरि देखाएकोछ । यद्यपि त्यसपछि मैले केहि सामाजिक नेताहरुलाई फोन गरि कार्यक्रमबारे राय बुझ्न खोजेकाथिए, ति मध्ये धेरैले ‘ज–जसले बोली लगाएकाछन् ति सबै नाटक हुन् अरुको पैसा तान्ने आईडिया हो, बोलिएका ति पैसा कसैले दिदैनन्, यस्ता बोली यसअघि हङकङमा दर्जनौचोटी लगाइएकोछ’ । तिनको यस्तो नकारात्मक टिप्पणी नेपाली महासंघको घर खरिदको तितो यथार्थका कारण आएको थियो । तिनले मुख फोरेरै तितो ईतिहास स्मरण गराएकाथिए ।
त्यसपछि मेरो मोवाईल चन्द्रज्योतिको नंवरमा दवेकोथियो । तर उनी बेफिक्र थिए र आफ्नो महत्वाकाँक्षी योजनाप्रति झन बढी आत्मविश्वासी देखिन्थिईन । ६ मिलियन अर्थात ६० लाख हङकङ डलर बराबरको कार्यालय यहि आउने अप्रिल सम्ममा किनिसक्ने योजनामा उनी निश्चिन्त थिईन । उनको हिसाव प्रष्ट थियो । शुरुमै च्यारिटी डिनरमा चेम्बर अफ कमर्सका सचिव नेत्र पहराई र धनाढ्य लिका सिंहका सुरक्षा प्रमुख  कुल बहादुर बुढाथोकीले क्रमशः ३१ र ३० हजार दिने घोषणा गरेकाथिए । आले र उनका सचिव सुमन थापाले जनही २५,५०० दिएकाथिए । मगरसंघको नौमती बाजा समूहले ५० हजार र भातृसंघ मगर महिला संघले ५० हजार दिने घोषणा गरेकोथियो । मगरसंघको भातृसंस्था  पुन समाजले घरको मूल्य जति पर्छ त्यसको आधा रकम संकलन गरिदिने प्रतिबद्धता जाहेर गरिसकेकोछ भने अर्काे भातृसंस्था लाङ्घाली कल्याण समाजले पनि च्यारिटी कार्यक्रम गरि रकम संकलन गर्ने आश्वस्त पारेकोछ । आलेले हङकङमा भएका करिब ७ हजार मगर बन्धुहरुमध्ये १ हजारले मात्र ५÷५ हजार दिएपनि कार्यालय किन्न सकिने हिसाबकिताब गरि बसेकिछन् । दत्तचित्त भै लाग्ने यी अध्यक्षको शैलीका कारण यो असम्भव पनि लाग्दैन ।
विश्वभर बढिरहेको पहिचानको राजनीतिले जातीय एकता बढाईरहेको नाडी छामेकी उनले यस्तो हिसाकिताब गरेको हुनसक्छ । एक महिनाभित्र आर्थिक अवस्था जिर्ण भएका मगरसंघका पूर्व अध्यक्ष गोरेबहादुर खपाङ्गीलाई फेसबुकका माध्यमबाट करिब डेढ करोड जम्मा गरि मृत्युको मुखबाट जोगाईदिएको अभियानमा प्रत्यक्ष संलग्न आलेलाई ६ मिलियन जम्मा गर्नसक्छु भन्ने आत्मविश्वास बढेको हुनुपर्छ ।
यसअघि हङकङमा महिलाहरुको संस्था नमोबुद्ध आमा समुहले अपत्यारिलो किसिमले फ्ल्याट किनेर देखाईदिएकाछन् । ति फेरि अर्काे घर किन्ने अन्तिम तयारीमा छन् । महिलाहरुकै वर्चश्व रहेको हेवेन्लीपाथले पनि घर किन्ने अभियान थालेकोछ । अर्थात महत्वाकाँक्षी योजनाहरु सबैमा महिलाहरुकै अग्रता देखिन्छ, हङकङमा । यसले पुरुषहरुलाई कत्तिको मार्गनिर्देशित गर्छ त्यो पछि देखिएला नै तर महिलाहरुको संगठित एकता र तिनको अडिग कर्मले हङकङेली नेपाली समाजलाई सकारात्मक मार्गतिर डोर्याउन प्रयत्न गरेकोछ । यस्ता कर्मयोगी महिलाहरुलाई सलाम छ ।

- जेवी पुन मगर


Last Updated on Thursday, 04 September 2014 11:29

Hits: 1342

हिंसा रापले भत्भतिएका प्रचण्ड

२९ अक्टोवर १९८४ मा उडीसामा चुनावी र्यालीलाई सम्बोधन गर्दै इन्दिरा गान्धिले -"मलाई मृत्युको डर छैन । मेरो रगतको एक एक थोपाले भारतको जग बलियो हुनेछ" भनि बोलेको भनाई उनको अन्तिम भाषण बन्यो ! ३ महिनापछि लोकसभा चुनाव हुंदैथियो । भाषणको २ दिनपछि ३१ अक्टोवरमा उनी आफ्नै दुई सिख अंगरक्षकद्वारा मारिईन् । उनको भाषणको गुढता बुझ्न पन्जाबमा चलेको खालिस्तान आन्दोलन भित्र चियाउनुपर्छ - नेपालमा चलिरहेको लिम्बुवान,मधेस, थारुवान लगायतका माओवादी पोषित आन्दोलन जस्तै !

सिख पहिचानमा आधारित अकाली दलले पन्जाबमा काग्रेंसको हैसियत साईजमा ल्याईदिएपछि गान्धीले फलामलाई फलाम काट्न  साम्प्रदायिक हिंसाको सहारा लिने निधो गरिन । जातीय रुपले उग्र अकाली दलकै सहयोगी युवा  जैलसिंह भिन्द्रावालेलाई 'राज्यको ब्याकअप' दिईन् । (एक मधेस विरुद्ध लक्ष्मण थारु?) त्यसमा उनी  सफल पनि भए । तर बलियों हुँदै गएपछि उन्मत्त भिन्द्रावालेले सिख पहिचानको मुद्दालाई पृथक खालिस्तान मुभमेन्टसंग जोडिदि - मधेसमा गोईत र पूर्वमा केहि खम्वुवान र लिम्बुवानी युवाहरु जस्तै !

सिखको स्वर्ण मन्दिरबाट हिन्दु विरुद्ध  सशस्त्र आतंक फैलाउन थालेपछि दवावमा परेकि गान्धीले आफ्नो नियन्त्रण बाहिर हुँदै गैरहेका भिन्द्रावालेलाई 'कानुन सिकाउन' ३ जुन १९८४ मा सेनालाई ज़िम्मा दिईन् । ब्लुस्टारको नामले ईतिहासमा कलंकित त्यो नरसंहारमा ४९२ जना' उग्रवादी' मारिए भने ८३ सैनिकले ज्यान गुमाए । कयौं घाईते भए । मर्नेमा सर्वसाधारण बढ़ी थिए भनिन्छ । भिन्द्रावाले मारिए तर  गान्धीको शहमा हुर्किएको हिंसा भने साम्य भएन - माओवादी बाईप्रडक्ट हतियारको राजनीति जस्तै ! त्यसमा मिसिएको पहिचानको भावनाले त्यसलाई झन बढ़ी आक्रामकता दियों ।

त्यसैले हिंसाको बलमा उभिएकि इन्दिरा गान्धीलाई  आफु कुनै पनि बेला  मारिनसक्ने भयले सताँउथ्यो  -हाम्रा प्रचण्ड कामरेडलाई जस्तै । गान्धीको माथिको  भाषण त्यहि भय मनोबिज्ञान सृजित अभिव्यक्ति थियो । आखिर उनको आंशका यथार्थमा परिणत भो- उनकै शरिर रक्षा गर्ने जिम्मेवारी लिएका सिख बडीगार्डले नै उनको प्राण हरे । उनकै बुवा जवाहरलाल नेहरुका सहयात्री बहुचर्चित  समाजवादी नेता जेपी नारायणले इन्दिरा सरकार बिरुद्ध  केहि समय अघि दिएको ' यदि सरकार ग़लत काम गर्न आदेश दिन्छ भने सेनाले समेत त्यसको अवज्ञा गर्नुपर्छ' भन्ने भाषणको परिक्षण जस्तै हुन गो इन्दिरा हत्याकाण्ड ।

बांग्लादेश अलग बनाउन मुक्ति वाहिनीलाई सम्पूर्ण सहयोग गर्ने र जनताको बीचमा गई पाकिस्तानसंग युद्ध लल्कार दिने गान्धी पाकिस्तानको ब्याकअप  अमेरिकी शक्तिसंग बरु 'निहू' खोज्न सक्थिन तर धर्म र भाषाका आधारमा देशमा चलिरहेको राजनीतिदेखि भने उनी बुवा नेहरु जत्तिकै भयभीत थिईन । डर स्वाभाविक थियो । इन्दिरा मात्र नभई छोरा राजीव समेत यो राजनीतिको शिकार भए । ८० को दशकपछि कांग्रेस नै यहि राजनीतिले खिईयो ।

अरुको मामिलामा बढ़ी नै हस्तक्षेप गर्ने खेलमा रम्ने, विपक्षी र अन्तरसामुदायिक अन्तर्विरोधको फाईदा उठाउँदै सत्तामा टिकिरहने अधिनायकत्वप्रिय 'इन्दिरा डक्टरिनका नेपाली गणतान्त्रिक मोहरा'  प्रचण्डले मर्ने (झुन्डिने),मार्ने र मारिन सक्ने भाषण अहिले मात्र गर्या होईनन् । त्यो पनि घोषित चुनावकै दुई महिना अघि । उनले यसअघि  भारतसंग सम्बन्ध बिग्रदा आफु पनि मदन भण्डारी जस्तै मारिन सक्ने  हल्ला फिंजाएकैहुन् । बाहिरिया त होईन - कताकति राजकाजमा इन्दिराको फलोअर जस्ता लाग्ने प्रचण्ड हिंजो 'आफ्नै राज्य' को सपना देखाई हतियार बोकाएका युवाहरु जातीय़, भाषिक, क्षेत्रीय मुद्दाले उग्र मात्र होईन बिचारले भिन्द्रावाले भन्दा बलिया  भएकाछन् भन्ने राम्ररी बुझेकाछन् । बहुसांस्कृतिक अन्तर्विरोधमा खेलि सिंहासनमा पुग्ने चाह राख्ने प्रचण्ड आफैले तयार पारेकाे मानव अस्त्रसंग डराएका हुन सक्छन् जसरी इन्दिरा डराएकिथिईन ।

पहिचानको आगोंसंग खेलेर जसरी रातारात उदाउन सुगम छ त्यति नै त्यसको प्रज्वनशीलताले तत्कालै भष्म भईन्छ भन्ने शिक्षा भारतभूमीबाट 'जनयुद्ध' हाँक्ने कामरेडले पढेनन्,सुनेनन् होला भनि तिनको अवमूल्यन गर्न मिल्दैन । इन्दिरा यस्ता महत्वाकाँक्षी राजकाजी महिला थिईन जसले नेपालमा समेत सशस्त्र संघर्षका निम्ति जनजातिका हातमा गोलाबारुद दिन चाहन्थिन् । लड्न गुर्खा रेजिमेन्टका ५० हज़ार मध्येबाट' रेडीमेड गुरिल्ला' हरु उपलब्ध गराईदिने तिनको योजना थियो । तर जनजाति नै यसका निम्ति तयार थिएनन् । धन्य हो तिनका ति परिमार्जित 'मुक्ति सेना' बन्न चाहेनन् । यो त्यो बेलाको कुरा हो जतिखेर राजा महेन्द्र आफुहरुलाई लज्जास्पद हार दिने चीनसंग टाँसिन थाले भन्दै गान्धीको पारा चढिरहेकोथियो ।

महेन्द्रका तत्कालीन दुत खगेन्द्रजंग गुरुगं ( स्वास्थ्य मन्त्री ) संग इन्दिराले जनजाति बिद्रोह थाल्न उक्साएको गुरुगंले उहिल्यै सार्वजनिक गरिसकेकाछन् । त्यस्तो सशस्त्र सहयोग गान्धीले  विपि कोईरालालाई पहिल्यै दिईसकेकाथिए, संयोगले बंगलादेशमा जस्तै त्यसको नाम पनि मिल्दोजुल्दो 'मुक्ति सेना' राखिएकोथियो, जसलाई गुर्खा सेनाहरुको' उल्लेख योगदान' थियो । इन्दिराको जातिय बिग्रह ल्याउन सक्ने त्यो प्रस्तावित योजनाको पछाड़ी के ख़ुराफ़ात थियो उनले जन्माएको RAW को ब्लुप्रिन्टमा केहि छ कि छैन कम्तिमा यस सोपेराका नेपाली पात्रहरुलाई त थाहा भए जस्तो देखिदैन तर संयोग कस्तो मिलेको छ भने २०५२ साल देखि   RAW को छत्रछाँयामा हुर्किएको भनिएको 'प्रचन्ड जनयुद्ध' को नियत र नियति चाहि  जातीय ध्रुवीकरण बढाउन उद्दत रहेको प्रष्ट झल्कन्छ । फ़र्क़ यति मात्र रहयो, मुक्तिसेनाको अगाडी 'जन' थपियो । त्यो एके-४७ सहितको लालझन्डा सिंहदरवार पसेपछि सबै ठिक हुने ठानिएकोथियो, कम्तिमा प्रचन्डको डरले त्यसको आयतन घटेको रहेनछ भन्ने बुझाउँछ  ।

तर कन्सपिरेसी थ्योरीमा सबैभन्दा बढ़ी विश्वास राख्ने प्रचन्ड जस्ता कम्युनिस्ट नेताहरुका निम्ति तल उद्दरण गरिएका वाच्य गुरुमन्त्र हुन्छन् भन्ने कथ्य र तथ्य भुल्नु हुँदैन -'पहिला हतियार दिने पछि 'मेलमिलाप नीति' मा ल्याईपुर्याउने विपीको नियति, पैठेजोरी खेल्ने बिरेन्द्रको बंशनाश, बनारस बास दिने मदन भन्डारीको सर्वनाश, पुल्पुल्याईएका ज्ञानेन्द्रको बनबास, ' एशियाकै सबैभन्दा बढ़ी सम्मानित प्रधानमंत्री' गिरिजाप्रसाद कोईरालाको बालुवाटारको कुनामा बास' बनाउन सक्ने इन्दिरा डक्टरिन ( युज एन्ड थ्रो) ले  आफुलाई पनि तह लगाउन थालिएको महसुस प्रचन्डले गरेका हुनसक्छन् ।

भारतले मधेसमा उपेन्द्र, गोइतहरु  र दलमा बाबुराम बलियों बनाई आफुलाई  चेक गरेको ठान्ने प्रचन्डलाई गालामा चडकन हान्ने पदम कुँवर जस्ताहरुसंग होईन पार्टीमा भएका नयाँ उपेन्द्र, गोइत, मातृका,लक्ष्मण थारु,गोपाल किरातीहरु जस्तासंग डर छ । त्यसो त पुष्पकमल भन्दा प्रचन्ड प्रितकर लाग्ने यि महत्वाकांक्षी पात्र बाहिर बलवान देखिन त खोज्छन तर तिनको बयान सुन्दा भित्रभित्रै जलिरहेका जस्ता  देखिन्छन् । हिंसासंग खेल्नेहरु कहिल्यै सुखी हुन सक्दैन भनिन्छ । प्रचन्डलले आदर्श मान्ने केहि नेताहरुका अन्त सुखदायी रहेनन् । त्यहि आत्मपिरलोले पनि हुनसक्छ, प्रचन्डलाई अस्वाभाविक मृत्युवरणको भयले असाध्यै सताईरहेको जस्तो देखिन्छ ,जसरी उनको राजनीतिक करियरसंग परोक्ष जोडिन आउने इन्दिरा गान्धीलाई मर्ने बेला यो चिन्ताले ज्यादै पिरोलेकोथियो । प्रचण्डलाई  हिंसाको रापले त्यसैगरि भत्भति पोलिरहेको संकेत हो उनको पछिल्लो अभिब्यक्ति ।

-जेवी पुन मगर

Last Updated on Thursday, 04 September 2014 11:28

Hits: 2159

बाहुन सराप्ने जनजाति नेताहरुले सिक्नैपर्ने यी कुरा

१२ बजे शुरु हुने भनिएको कार्यक्रम १:३० मा पनि शुरु नभएपछि बाणिज्यदुत पर्खिएको होला भनि अड्कल काड्नेहरुले किरण शाक्यलाई सराप्न थालेकाथिए । मलाई पनि त्यस्तै लागि चेम्बर अफ कमर्सका अध्यक्ष जेएन ज्ञवालीलाई सोधिसकेकोथिंए तर त्यतिन्जेल कार्यक्रम शुरु भएको घोषणा गरिएकोले प्रश्न मुखैमा अड्कियो । कार्यक्रमको ३ दिन अघि चेम्बर्सका अध्यक्ष जेएन ज्ञवाली सहितको टिम र जनजाति महासंघका निवर्तमान अध्यक्ष भुपेन्द्र चेम्जोङ लगायतका टिमबीच भएको लामो छलफलले बाणिज्यदुत किरण शाक्यलाई बोलाउने सहमति भएको सूचना प्राप्त गरेको म जस्ता केहिलाई कार्यक्रमका प्रमुख अतिथि शाक्य नै होलान भनि लाग्नु स्वाभाविक थियो । तर होईन रहेछ । बाणिज्यदुत शाक्यबिनै कार्यक्रम शुरु गरियो ।

विशेष अतिथिका  नाममा हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापा, एनआरएनएका अध्यक्ष दुर्गा गुरुङ, आदिवासी जनजाति महासंघका अध्यक्ष एमवी थापा र एनआरएन आईसीसी प्रतिनीधि कृष्ण पाण्डेलाई ड्यासमा राखियो तर प्रमुख अतिथिको कुर्सी खाली राखि कार्यक्रम शुरु गरियो । मेरा निम्ति यो आकस्मिक कौतुहलता थियो । अन्य पाहुनाका मुहार पनि पढ्न खोजे तर तिनका भावभगिंमा आश्चर्यले खुम्चिएको देखिन । सोंचे, चेम्बरले हङकङमा नयाँ मानक राख्न खोजेको होला– प्रमुख अतिथि बिना कार्यक्रम गरि देखाउने । केहि फरक हुनासाथ पत्रकारको ऐन्टेना सक्रिय हुने र त्यसपछि मगज चल्ने स्वाभाविक क्रियाबाट उब्जिएको प्रतिक्रिया थियो त्यो । तत्क्षण एउटा चर्चित ब्यक्तिको उद्गार दिमागमा खेल्यो– ‘ नबुझ्नु पनि समस्या बढी बुझ्नु झन समस्या ।’

कार्यक्रम शुरु गरिएपछि मात्र थाहा भो कार्यक्रमका प्रमुख अतिथि नै महाबाणिज्यदुत महेश प्रसाद दाहाल रहेछन् । स–शरिर उनी त्यहाँ थिएनन तर उनले सरकारी लेटरप्याडमा सहिछाप ठोकी पठाएको पत्रलाई प्रमुख आतिथ्यको दर्जा दिइएकोथियो । तर सहभागीहरुले त्यो भेऊ नै पाएनन । कार्यक्रम संचालक महासचिव राजेन्द्र थापाले महाबाणिज्यदुताबासको लेटरप्याडमा अग्रेंजीमा टाईप गरिएको महाबाणिज्यदुत महेशप्रसाद दाहालद्धारा हस्ताक्षरित पत्र पढ्न शुरु गरेपछि मात्र मेरो दिमागमा उल्झिएको ‘खाली कुर्सी’को गुत्थी सुल्झिएकोथियो । पत्रको मजनुनमा ‘चेम्बरले  तेस्रो अधिवेशनमा प्रमुख आतिथ्यताको निम्ति आफुलाई बोलाएपनि कार्यब्यस्थताका  कारण आउन नसकिएको ’ भन्दै कार्यक्रमको सफलताको शुभकामना दिईएकोथियो ।

महाबाणिज्यदुतको पत्रको मजनुन

खुल्दुली लागेर मसंगै बसिरहेका चेम्बरको तर्फबाट जनजातिसंग वार्तामा बसेका मित्र कमल पौडेलसंग जिज्ञासा मेट्न ‘ हैन महाबाणिज्यदुतले त प्रमुख अतिथि बोलाएको भनि उल्लेख गरेकाछन् त ?’ भनि सोंधे । उनको दिमाग कतै ब्यस्त थियो या जवाफ दिन चाँहदैनथे । मुद्दालाई बिषयान्तर गरिदिए । दुई दिन अघि मैले एउटा अनलाईनमा लेखेको समाचारबाट उनी त्यति सन्तुष्ट थिएनन त्यसैले मौन बसेका होलान् भनि बढी कोट्याईन । अधिवेशन सकिएपछि आज (मंगलबार) चेम्बरका निवर्तमान अध्यक्ष ज्ञवालीसंग त्यसबारे बुझ्न खोजे । कुराकानीका आधारमा केहि तथ्य बुझ्न पाँए । उनका अनुसार, चेम्बरका संरक्षक महाबाणिज्यदुतलाई तेस्रो अधिवेशनमा प्रमुख अतिथि बोलाउनका निम्ति ३ दिन अघि दुई पक्षबीच वार्ता भएकोथियो । जनजाति महासंघले लिखित रुपमा नवनियुक्त महाबाणिज्यदुतलाई औपचारिक कार्यक्रममा नबोलाईदिन गरेको अनुरोधका आधारमा अन्य संस्थाले जस्तै चेम्बरले पनि त्यो अनुरोधको मान राख्दै आईरहेकोथियो । महासंघले वार्ताबाट छिटै कुरा मिल्ने भनि दिएको आश्वासनका कारण  घोषित समय भन्दा केहि पर अधिवेशनलाई सारिएको पनि थियो । तर दुई चरणको वार्ता विफल भएपछि चेम्बरले अधिवेशनको मिति तोकि आफ्नो संरक्षकलाई प्रमुख अतिथि बोलाउने योजना अनुरुप जनजाति महासंघसंग वार्ता बसेकोथियो । ज्ञवालीले भने,‘ महाबाणिज्यदुतलाई बोलाउने हाम्रो कुरा सुनेपछि उहाँहरुले यदि त्यसो गरिदिनुभयो भने हामीलाई अप्ठेरो पर्छ । यो मुद्दा अन्र्तराष्ट्रियकरण भएकोले हाम्रो पछाडि रहेको समुदाय भड्कन्छ, त्यसैले कृपया बरु महाबाणिज्यदुताबासबाट बाहुन समुदायकै अरु कुनै कर्मचारीलाई प्रमुख अतिथि बनाई कार्यक्रम गर्नाेस तर महाबाणिज्यदुतलाई नबोलाईदिनोस् भनेपछि हामीले उहाँहरुको मान राखेका हौं । यो निर्णयले महाबाणिज्यदुतलाई पनि आहत बनाएको होला ।’ उनको भनाईमा चेम्बरको कार्यक्रममा महाबाणिज्यदुतलाई प्रमुख अतिथि बोलाउनुपर्छ भन्दै उक्साउन स्वंय जनजाति मूलका केहि संस्थाका नेताहरु नै उनीकहाँ पुगेकाथिए । तर चेम्बरले त्यस्तो उक्साहटलाई भाउ दिएन र महाबाणिज्यदुतलाई कार्यक्रममा ल्याएन ।

अधिवेशनमा शुभकामना दिने क्रममा जनजाति महासंघका अध्यक्ष एमवी थापाले चेम्बरको यो सहयोगको खुलेरै प्रशंसा गरे । महासचिव राजेन्द्र थापाले चेम्बरको अधिवेशनमा पहिलोपटक जनजाति महासंघलाई मन्च उपलब्ध गराइएको भनि बाँधेको भूमिका लगत्तै माईक समातेका थापाले चेम्बरलाई मुरीमुरी आभार प्रकट गरेकाथिए । अधिवेशन लगत्तै महासंघका अध्यक्ष एमवी थापासंग पनि कुरा गरेकोथिए । उनको भनाईमा वार्तामा बाणिज्यदुत किरण शाक्यलाई बोलाउने दुई पक्षबीच मोटामोटी सहमति भएकोथियो । तर चेम्बरले शाक्यलाई नबोलाएकोमा उनी स्वंय आश्चर्यमा थिए ।

७ बर्ष देखि थालिएको भनिएको जनजाति महासंघको सबैभन्दा ठूलो कमजोरी के हो भने त्यसलाई हाँक्नेहरुसंग आक्रोश जनित राप र ताप त छ तर आन्दोलनलाई उचाईमा पुर्याउने प्रतापको भने नितान्त खडेरी छ । विवेकको अभाव छ, जसले निर्णय क्षमतामा सोझै प्रभाव पारिरहेकोछ । सरोकारवाला सबैले प्रष्ट के बुझेकाछन् भने नवनियुक्त महाबाणिज्यदुत दाहाल प्रमोशन भएको खण्डमा बाहेक फर्कने अवस्था छैन । उनलाई नबोलाइएपनि महाबाणिज्यदुतावासमा दैनन्दिन कार्य भई नै रहेकाछन् । त्यसमा रत्ति फरक परेकोछैन । गएका वार्तामा उनले महासंघका प्रतिनीधिहरुसंग हङकङमा जनजाति महाबाणिज्यदुत किन चाहियो कारण सहित लिखितम ल्याए आफुले च्यानल मार्फत सम्बन्धित निकायमा पुर्याईदिने प्रतिबद्धता जाहेर गरिसकेकाछन् । अहिले गर्ने नै त्यहि हो । यो मुद्दालाई सम्बन्धित निकायमा सशक्त रुपमा पुर्याउन सिस्टममा कसरी छिराउने र अर्को पालि जनजाति महाबाणिज्यदुत आउने चर्को भावभूमी तयार पार्ने । अन्यथा आन्दोलन मात्र गरेर हुनेभए ७ बर्षमा तेस्रो महाबाणिज्यदुत नियुक्त गरिदा जनजाति आईसक्नेथियो ।

त्यसो त जनजाति महासंघका  नेताहरुले हामीले नेताहरुलाई बुझाएको ज्ञापनपत्र के कागजको खोस्ता हो त ? भनि प्रतिप्रश्न पनि गर्ने गरेकाछन् । त्यस्तो आक्रोश जनित प्रतिक्रियाले आन्दोलनलाई तात्विक निष्कर्षमा पुर्याउदैन । अहिलेको समय भनेको बुद्धिको लडाई हो । मुद्दालाई सतहमा पुर्याउन आन्दोलन गरिनुपर्छ तर त्यो आन्दोलनबाट प्राप्त शक्तिलाई परिणाममा बदल्न विवेकको जरुरी अत्यावश्यक हुन आँउछ । अन्यथा जसरी २०६२/६३ को आन्दोलनको ज्वारले संविधानसभा आयो तर जनजाति लगायतका सरोकारवालाहरुको  विवेकले सहि रुपमा काम गर्न नसक्दा प्राप्त उपलब्धि नै गुम्न पुग्यो । अब संविधान बन्ने हो वा होईन भन्ने परिस्थति श्रृजना हुन गएकोछ । प्राप्त उपलब्धिलाई संस्थागत गर्दे जान नसक्नु जनजातिहरुको जुन कमजोरी नेपालमा पनि छ, हङकङमा त्यसको मात्रा झन बढी देखियो ।

धेरैले ध्यान दिएनन र दिएकापनि छैनन् । मैले माथि उल्लेख गरेको महाबाणिज्यदुतावासको पत्रको अन्र्तवस्तुको अद्योपान्त अध्ययन गर्ने हो भने असहज र विपत्तिमा पनि मगज प्रयोग गर्ने हो भने चुनौतीलाई कसरी अधिकतम उपयोग गर्न सकिन्छ भन्ने बडेमानको पाठ त्यस पत्र भित्र लुकेकोछ । त्यो जनजातिलाई पाठ हुन सक्छ कि सक्दैन थाहा छैन तर आन्दोलनकारीहरुले आक्रोशले हैन मगजमारी गरि संघर्षलाई थन्को लगाउनुपर्छ भन्ने शिक्षा भने त्यो पत्र नै हो । चेम्बरले जनजाति महासंघसंग वार्ता गरि महाबाणिज्यदुतलाई नबोलाउने आश्वासन दिई सौहार्दपूर्ण सम्बन्ध विकसित गर्यो र पहिलोपल्ट आफ्नै मन्च उपलब्ध गराई महासंघको अध्यक्षबाट प्रशंसाको शब्द सुन्ने वातावरण गरायो । त्यसो नगरि चेम्बरले प्रहरीलाई जानकारी गराई महाबाणिज्यदुतलाई बोलाई कार्यक्रम गर्न सक्थ्यो । तर त्यस्तो मुख्र्याई बिकल्पमा उसले ध्यानै दिएको देखिएन । जबकि त्यस्तो सुझाव दिने मुर्ख नेताहरु थुप्रा थिए । उता महाबाणिज्यदुत स–शरिर पो प्रमुख अतिथि बन्न नपाईने हो उनको पत्र त हुन पाउने भो नि । त्यहि गरियो एउटा तीरले तीन तीर शिकार गरियो । एकातर्फ महाबाणिज्यदुतको मान पनि राखियो । उनलाई कार्यक्रममा त बोलाइएको हो तर कार्यब्यस्थताको कारणले मात्र उनी नआएका हुन् भन्ने पारियो । त्यसले चेम्बर र महाबाणिज्यदुतको सम्बन्धमा कुनै दरार पर्न नदिई समस्याबाट पार लगाईयो । यदि बाणिज्यदुत वा अर्को कुनै कर्मचारीलाई बोलाइएकोभए त्यसले चेम्बर र महाबाणिज्यदुतावास दुबै हार्थ्यो । अर्को तर्फ स–शरिर महाबाणिज्यदुतलाई नबोलाएर जनजाति महासंघको अनुरोधको सम्मान राखेको पनि देखियो । जनजाति महाबाणज्यदुत माग राखि गरिएको हङकङको जनजाति आन्दोलनको ब्यवस्थापन पनि यसरी ‘सबैले जित्नेगरि’ गरिन जरुरी छ । तर त्यसका निम्ति बल र आक्रोश हैन विवेकको प्रयोग अपेक्षित छ ।

सरकारी पत्रमा लेखिएको शब्दको विशेष अर्थ हुन्छ । त्यो दस्तावेज हो । शुभकामनापत्रमा लेखिएका शब्दले महाबाणिज्यदुतले हारेर पनि जितेकोछ । चेम्बर्सको नेतृत्वले संस्थालाई कसरी नेतृत्व गर्नुपर्छ भन्ने पाठ नेपाली समाजलाई सिकाईदिएकोछ, यस्तो क्षमता सबै नेताहरुले सिक्दा हुन्छ । महासंघले जति बहिष्कार गरेपनि र जति संस्थाहरुलाई रोक लगाएपनि महाबाणिज्यदुत दाहालको सार्वजनिक कार्यक्रममा आवतजावत रोकिने देखिदैन । कसैले मानेपनि नमानेपनि चेम्बर अधिवेशन औपचारिक रुपमा महाबाणिज्यदुत दाहालको पहिलो सार्वजनिक कार्यक्रम हो । तर यस्तो कार्य सबैले ‘जित्नेगरि’ गरियो । त्यसैले मैले बारम्बार भन्ने गरेको महासंघले पनि प्राप्त मौकालाई विवेक प्रयोग गरि कसरी आफ्नो पक्षमा पार्न सकिन्छ, पार्ने प्रयास गर्नुपर्छ । आन्दोलनलाई दस्तावेजीकरण गर्दे लैजानुपर्छ र त्यसलाई नेपालमा राजनैतिक मुद्दा बनाउनुपर्छ । हङकङ जनजाति महासंघको आन्दोलन यस्तो आन्दोलन हो, न त्यस्को दस्तावेजीकरण भएकोछ न त्यस्ले सम्बन्धित निकायमा राजनैतिक मुद्दाको रुपमा स्थान बनाउन सकेकोछ । हङकङमा चिच्याएर मात्र हुँदैन । मुलतः आक्रोशले मात्र हुँदैन बुद्धि र विवकले आन्दोलन हाँक्न र त्यसलाई निष्कर्षमा पुर्याउन मगजमारी जरुरी छ । बाहुनलाइ गाली गरेर मात्र हुँदैन । आफ्ना कमी कमजोरी र क्षमतालाई पनि बढाउदै लैजान जरुरी छ । नेपालको राज्यसत्तामा शतप्रतिशत किन बाहुनको वर्चश्व भयो र किन जनजातिहरु विदेश भूमीमा पुस्ता दर पुस्ता बिताए होलान भनि बुझ्न र हङकङमा जनजाति नेताहरुले दावी गर्ने गरेको ‘२ प्रतिशत बाहुनले किन ९८ प्रतिशत जनजाति‘माथि राज गरे होलान् भनि गम्न कुनै ईतिहास पढ्नै पर्देन । चेम्बरको अधिवेशनमा महाबाणिज्यदुतको पत्रले प्रमुख आतिथ्य प्राप्त गरेको ‘बुद्धि–खेल’ लाई राम्ररी विश्लेषण गरे पुग्छ  । आफ्नो आन्दोलनमा यस्तो बुद्धि र विवेक उपयोग गर्ने क्षमता आन्दोलनकारीहरुको पनि पलाओस् त्यसले निश्चित रुपमा एउटा परिणाम दिनेछ जसले हङकङेली नेपाली समाजकै भलो गर्नेछ र त्यसले विश्वभरका नेपाली माझ सकारात्मक सन्देश दिनेछ ।
जेवी पुन मगर

Last Updated on Thursday, 04 September 2014 11:30

Hits: 1855

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी