A+ A A-

मगर्नी पनि पढ्छ र भन्ने तीरले क्याम्पस प्रमुख बनायो



नेपालमा एउटा डरलाग्दो प्रवृत्ति हावी छ । त्यो हो–अरुले सक्दैन, त्यो अछुत हो, त्यो कमजोर छ, त्यो गर्ने जातकै हैन, त्यो कनिष्ठ हो भन्ने । यो प्रवृत्ति धेरै मात्रामा कथित उपल्लो जात र हुने खाने संभ्रान्तहरुमा हावी छ । यहि मानसिकतबाट श्रृजित साहित्य, कला, राजनीतिका कारण  नेपालका अन्य थुप्रै जातजातिहरुको मनोविज्ञानमा नकारात्मक असर पारेको छ । जस्तो कि कुनै मगरले वा अर्को पिछडिएको जनजातिले अलिअलि पढ्न थाल्यो भने त्यो मगरले पनि पढ्यो र, हैन होला ? भनि प्रतिप्रश्न गरिन्छ । कारण हो सताब्दीयौदेखि घोकाईएको दास पाठशालाबाट उत्पादित मानसिकता । ‘त मगरले सक्दैनस् र तं मगरले गर्नु हुंदैन’ भन्ने संस्कारले उनीहरुलाई एजेरु जसरी गांजेको छ । यहि प्रबृत्तिले नै पढेलेखेकाहरुले समेत ‘मगर भएर पनि यत्ति धेरै पढेको’ ? भन्ने जस्ता मन अमिलो बनाउने प्रश्नको सामना गर्नुपर्छ । मगर समुदाय भन्नासाथ पुरुष बैदेशिक रोजगारमा जाने र महिला लाहुरेनी भई विलासी जीवन बिताउँछन् भन्ने पूरातन सोचाइले यस्तो मानसिकता बनाइदिएको ठानिन्छ । तर यथार्थ त्यो मात्र होईन । पढेलेखे आफ्नो अधिकारका निम्ति सजग र सचेत हुन्छन भनि नियोजित रुपमा यस्तो बिषाक्त सन्देश स्थापित गराउन हरयत्न प्रयत्न गरिन्छ । यस भित्र ठुलो राजनीति लुकेकोछ ।



यहि राजनीतिक स्वार्थका कारण मगर बहुल क्षेत्र गण्डकमा  ‘मगरले पढ्न लेख्न सक्दैनन्’ भन्ने परम्परागत सोंचलाई अद्यापि तन्काउन खोजिन्छ। तर, धेरै मगर विद्वानले यस्तो सोचाइलाई गलत सावित गरिदिएका छन् । अझ मगर महिलाले समेत पछिल्लो समय अध्ययन/अध्यापनमा फड्को मारेपछि यस्ता गलत प्रश्न तेस्र्याउनेहरु क्रमशः  खुम्चिन बाध्य छन् । त्यस्ता वर्गलाई गतिलो जवाफ दिएकी छिन्– स्याङ्जा राम बाच्छाकी रिना रानामगरले । नेपालको इतिहासमा मगर महिलाबाट पहिलो क्याम्पस प्रमुख भएर उनले नयाँ मानक बनाएकी छिन् । मगर जाति भन्ने बित्तिकै नाँच्ने, गाउँने अनि विलासी हुन्छन् भन्ने संस्कारलाई तोड्न सफल भएकीछन् रिना । २०६४ असोज २२ गते देखी रिनाले स्याङ्जाको वालिङ बहुमुखी क्याम्पस प्रमुखको कार्यभार सम्हालेयता उनले दिएको कुशल नेत्तृत्वले सावित गरिदिएकोछ, पुरातन मान्यता कति मक्किएकोछ ।




सूर्यपटुवा मा.बि. बर्दियाबाट २०४२ सालमा एसएलसी उत्तिर्ण गरेपछि बैबाहिक जीवनमा बाँधिएकि रिनाले त्यसपछि बर्दियाको बंगालीपुर प्राविमा अध्यापन शुरु गरिन् । उनलाई हरहालतमा पढ्नु थियो । त्यसैले घरपरिवारलाई खुसी बनाउन उनी मास्टरनी भइन् । त्यतिबेला बुहारीले पढ्नुहुन्न भन्ने  गलत धारणा थियो । रिनाले यस्तो गलत धारणालाई समेत चिर्न सफल भइन् । जस्तो बाधा आएपनि रिनाको पढ्ने ईच्छालाई कसैले रोक्न सकेन । उनले पढाउँदै पढ्दै गरेकोले घरपरिवारले पनि साथ दियो । ‘त्यति बेला छोरीले त पढ्न हुँदैन भन्ने सोचाइ थियो भने बुहारी पढ्न पाउनु टाढाको कुरा हो’ उनी भन्छिन्,‘म पढ्न जाँदा त्यो मगर्नी बुहारी भएर पनि पढ्न जान्छे भन्दै कुरा काट्नेहरु थुप्रै थिए ।’

घरायसी कामकाज । विद्यालयमा पढाउनुपर्ने । साथमा आफूले पनि पढाईलाई सँगै लैजानु कम्ता गाह्रो थिएन । रिनाले यी सबै कठिनाई पार गरिन् । त्यसैले नेपालकै पहिलो मगर महिला क्याम्पस प्रमुख हुन सफल भएको बताउँछिन् उनी । केही समय प्राविमा पढाएकी उनले आई. ए. र बि.ए. वालिङ बहुमखि क्याम्पस स्याङ्जाबाटै उत्तिर्ण गरिन् । स्नातक पास भएपछि हौसिएकी रिनाले २०५१ सालमा पृथ्वीनारायण क्याम्पस पोखराबाट राजनीति शास्त्रमा एम.ए. उत्तिर्ण गर्ने बित्तिकै वालिङ बहुमुखि क्याम्पसमै पार्ट टाईम प्राध्यापन गर्ने मौका पाईन् । राजनीतिशास्तमा एमए सकाएपनि उनले आफ्नो पढाईलाई फराकिलो बनाइन् । उनले २०५६ सालमा त्रिभुवन विश्व विद्यालय किर्तिपुरबाट एमएड गरिन् । वालिङ बहुमुखी क्याम्पसमा पढाउँदै अध्ययनलाई जारी राखेकी उनले निरन्तरको मेहनतपछि आफूले नै अध्ययन गरेको क्याम्पस प्रमुख हुन सफल भइन् । ‘बुहारी भएपछि पढ्न त निकै कठिन थियो, तर समाजमा कुरा काट्नेहरुको ईखले गर्दा नै मलाई यहाँसम्म पुर्यायो’ रिना भन्छिन्–‘सबभन्दा आफ्नो ईच्छा हुनुपर्यो, अगाडि बढ्न कसैले रोक्दैन ।’ जिल्लागत रुपमा शिक्षाको हिसाबले धेरै अगाडि स्याङजा जस्तो ठाँउमा रिनाले क्याम्पस प्रमुख पाउनु चानचुने कुरो होईन ।



नाम्चे – १ कोल्मा स्याङ्जामा लाहुरे परिवारमा जन्मिएकी रिनालाई लाहुरे संस्कृतिले पटक्कै छोएन । मगर संस्कृतिमा लाहुरेलाई मात्र छोरी दिन्छन् भन्ने विकृतिको पनि अपवाद बनेकीछन् रिना । उनका श्रीमान् पनि शिक्षण पेशामा संलग्न थिए । शिक्षामा अगाडि बढ्न नसकेका मगर समुदायमा मात्र हैन, बुहारी भएकाले पढ्न सक्दैनन् भन्ने समाजको मुख बन्द गराएकी छिन् उनले । ‘सबैभन्दा ठुलो शिक्षा हो,समाजमा रहेर आलोचनालाई पनि सकारात्मक रुपमा स्वीकार्न सक्नुपर्छ’ उनी भन्छिन्–‘मगर समुदायमा अझै पनि पढाईलाई त्यति महत्व दिइदैन यो गलत सँस्कृति हो । हामीले पढाइलाई महत्व दिनुपर्छ ।’



क्याम्पस प्रमुखको जिम्मेवारीलाई चुनौति र अवसरको रुपमा लिएको  बताउने उनले ५० प्रतिशत महिलाहरु आफ्नै कारणले पछाडी परेको सुनाउँछिन् । पढ्न जाँदा त्यतिवेला उनका कुरा काट्नेहरुले बुहारी भएर पनि पढ्न जान्छे भनेर खिसि टिउरी गरेको कुरा अझै बिर्सन सकेकी छैनन् । बुहारीले पढ्न हुन्न भन्ने तत्कालीन समयमा परिवारले आफूलाई पढ्न स्वीकृती दिएकोमा घरपरिवारप्रति आभारी छिन् उनी । स्वाभिमानी हुनुपर्छ भन्ने कुरालाई आत्मसात गर्दै आफू अगाडि बढेको बताउने रिनाले लामो संघर्ष पश्चात क्याम्पस प्रमुख हुन पाएको बताउँछिन् ।  अझै पनि उनलाई समाजको डर कायमै छ । आफू मगर समुदायबाट क्याम्पस प्रमुख भएकोमा गर्व लागे पनि ‘यो मगर्नीको पालामा क्याम्पस कस्तो हुन्छ’ भनेर अझै कुरा काट्ने गरेकोमा उनको चित्त दुःखेको छ । अझै पनि महिलालाई समाजमा हेयको दृष्टिले हेर्ने र महिलाले महिलालाई सहयोग गर्ने सँस्कार बसिसकेको छैन । त्यसमाथि जनजाति महिला । उनी भन्छिन ‘महिला पछाडि पर्नमा महिलाको हात बढी हुन्छ, सबैले महिलाको स्थानमा बसेर सोचिदिनुपर्छ

मनोज घर्तीमगर,पोखरा
तस्वीर ः विनोद रखालीमगर, स्याङ्जा

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी