A+ A A-

नाग पूजिने मगर पर्व भूम्याको इतिबृतान्त

देविका घर्ती मगर, दाङ

आधुनिकता सँगै केहि यूवाले आफ्नो संस्कृति परम्परा भुल्दै गएको पाईन्छ । तर, केहि तन्नेरीहरु पनि छन् जसले आफ्नो पहिचानलाई जिवन्त राख्न केहि न केहि गरिरहेकाछन् । यसपालि मगरको मुख्य पर्व भुम्यालाई भव्य बनाउन सक्रिय मगर विद्यार्थी सँघ दाङकी अध्यक्ष समेत रहेकी जुनु मगर र तिनको  कार्यसमितिको सक्रियतालाई त्यहि कोटीमा राख्न सकिन्छ ।  मगर सँघ दाङसंग मिलेर यसवर्ष घोराहीमा भव्य भुम्या महोत्सवको आयोजना गरिएकोथियो ।
लाख बुढा मगरको उमेर ढल्कदै गएको छ । तर मगर सँंस्कृति र परम्परा भनेपछि उनको जवानी ढल्केको महसुस नै हुँदैन । लाख भुम्या नाचको अगुवा (गुरुआमा) हुँन् । उनी भुम्या नाच कसरी नाच्ने र यसमा के–के गरिन्छ भनेर यूवा पूस्ताहरुलाई सिकाउँछिन् । ‘गाउँमा सानैमा सिकेको हो, यो हाम्रो परम्परागत पर्व भएकोले दाङमा पनि हामीले हर साल भुम्या पर्व बनाउछौ–उनले भनिन् ।’ लाख बुढा पनि जुनु जस्तै रुकुम तकसेरा गाविसको सेराबाट बसाईसराई गरेर दाङ आएकी हुँन् ।
भुम्या पर्व अथार मगरात क्षेत्रका मगर जातिको प्रमुख चाड हो । मुख्यगरी रोल्पा, रुकुम तथा मध्यपश्चिम क्षेत्रमा बसोवास गर्ने खाम÷पाङ मगर भाषा बोल्ने मगर जातिले मुख्य पर्वको रुपमा भुम्या मनाउने गर्छन् । आफ्नो पुर्खाले मनाउदै आएको यो पर्व बसाईसरेर दाङ आएका मगर समुदायले दाङमै भएपनि भव्य रुपमा मनाउने गर्छन् । त्यसो त थारु जातिको बाहुल्यता रहेको दाङमा पछिल्ला समय बसाई सरेर आउने मगरहरुको सँख्या पनि उल्लेख्य रहेको छ । यसक्षेत्रमा मगर जातिको गौरव र परम्परासँग जोडिएको विषय भएका कारण हरेक वर्ष भुम्या महोत्सवको आयोजना गरिएको नेपाल मगर सँघ दाङका अध्यक्ष भोपलाल रोका मगरले बताए ।
    
के हो भूम्या (नोगोबाङ्गे)
अथार मगराँत क्षेत्रमा बसोबास गर्ने खाम मगर बोल्ने मगर समुदायले परा पुर्व कालदेखि नै अति महत्वका साथ मनाउँदै आएको यो चाड यस क्षेत्रका मगरहरुले मनाउने मुख्य चाड हो । मगर समुदाय भुमिलाई आफ्नो देवताको रुपमा मान्छन् । र यो भुम्या पर्व पनि भुमीलाई पुजा गर्नु हो । मगर समुदायको कर्मथलो कविलायुगदेखी नै प्रायः घरभन्दा बाहिर प्रकृतिसंगको सामिप्यतामा बढी हुने गरेको पाईन्छ । त्यस अवसरमा हरेक वर्षको आषाढ महिनाको एक गतेको समयलाई केन्द्र मानेर स्थानानुकुलता अनुसार बैशाख देखि भदौ महिनाको हरेक संक्रान्तिहरुमा भेला हुने र उक्त भेलालाई वार्षिक जनगणनाको रुपमा पनि लिन थालियो । उक्त अवसरमा अनुपस्थित रहनेलाई मृत घोषणा गरी उसको किरिया काज समेत गरिदिने (कुनै स्थानमा मात्र) तथा अन्य स्थानमा घर परिवारमा नराम्रो हुँन्छ, बिपत्ति आउँछ त्यसकारण यो पर्व सबैले मनाउँनुपर्छ भन्ने मान्यता रहेको थियो ।

यो पर्व मनाएमा प्राकृतिक बिपत्तिबाट बच्ने विश्वासका साथ प्रकृतिको पुजा गर्न थालियो । भुम्या पर्व पुजापाठ तथा नाचगान गरी मनाउने गरिन्छ । पुजापाठ संग संगै २२ चालमा नांच नाच्ने गरिन्छ । स्थानिय  भाषामा यस पर्वलाई नोगोबाङ्गे पनि भन्ने गरिन्छ । यस पर्व मनाउनुको प्रमुख कारण आफू बसेको ठाउँको भूमी र भूमी देवतालाई पूजा गरेर मात्रृभुमिप्रति श्रद्वा र आदर प्रकट गर्नु हो । साथै यो पर्व मनाएपछि दैवी विपत्तिबाट जोगिन गरिने कर्म र जोगाएको उपलक्ष्यमा गरिने उत्सवको रुपमा पनि लिने काम गर्दछ । यो पर्वको अवसरमा गाउँका भद्र भलाद्मीहरु बसेर गाउँको जनप्रतिनिधि चयन गर्ने चलन समेत रहेको छ । अहिले पनि यो कार्य केही ठाउँमा कायमै रहेको छ । भूम्या पर्व मगर जातिले सञ्चालन गरेको ऐतिहासिक अथार, बाह्र राज्यसत्ताहरु संग समेत सम्बन्ध रहेको मगर गाउँका बुढापाकाहरु बताउँछन् ।

मनाईने शैली र किवदन्ती
मगर समुदाय पहाडी आदिवासी जनजाति हुन् । यिनिहरुको बसोबास पहाडी क्षेत्रमा हुने र भौगोलिक बिकटताका कारण पनि पहाडी क्षेत्रमा प्राकृतिक प्रकोप, दैबि बिपत्ति बढी हुँने हुनाले भूमिका पुजारी मगर समुदायले त्यसको रोकथामका  लागि भूम्या पर्व मनाउन सुरु गरेको यस क्षेत्रका अग्रजहरुको भनाई रहेको छ । यस पर्व अथार मगरात क्षेत्रमा खाम बोल्ने मगर समुदायले निकै लामो समयदेखी मनाउँदै आएका छन् । बिशेष गरेर राप्ती अञ्चलको रोल्पा, रुकुम, प्युठान, सल्यान, दाङ तथा धौलागिरी अञ्चलको बाग्लुङ, म्याग्दी लगायतका जिल्लामा यस पर्वलाई बिशेष महत्वका साथ मनाउने गरिन्छ । असार एक गते मनाईने भूम्या पर्वको तयारी एक महिना अगाडीबाट नै गर्ने चलन रहेको छ । भूमे मनाउने बिभिन्न बिधि र प्रक्रियाहरु रहेका छन् । 

बुकी टिप्दै
परापुर्व कालमा अथार मगराँत क्षेत्रमा रहेको गाउँमा मगर समुदायको बाक्लो बसोबास रहेको थियो । त्यसै गाउँमा दर्लामी गोत्रका पुन मगरको  पगिनभ बसोवास रहेको थियो भने शिर्पाकोटबाट आएका शेर्पाली कामी (दलित) पनी त्यसै गाउँमा बस्ने गर्दथे । गाउँलेहरु  खोलातिर पानी भर्न जाने गर्दथे । गाउँको तल्लोतिर रहेको जारी खोलामा पानी भर्न जाने क्रममा खोलाको तिरमा बास टेकेर बसेको सर्पले गाउँलेलाई सताउँन थाल्यो । गाउँका मान्छेहरु चार जना पानी भर्न भएमा दुई जनलाई मारिदिने, दुई जना गयो भने एक जनालाई मारिदिने र एक जना मात्र गएमा आधा मारिदिने गर्न थाल्यो । खोलाको किनारमा बसेको सर्पको यस प्रकारको हर्कतले गाउँलेहरु त्रशित भए । यसको कसरी निकाश निकाल्ने भनी छलफल गर्न थाले । गाउँका अन्य कसैले निकास निकालन सकेनन् । गाउँलेहरु मध्येकै दर्लामी गोत्रका पुन मगर र शेर्पाली कामी बिचमा छलफल गर्दा सर्पलाई नमारिए सारा गाउँलेहरुलाई नै सखाप पार्ने विश्वासका साथ त्यसको शिकार  गरियो ।
 लुकुमका भूम्या पुजारी भक्तबहादुर शेर्पालीका भनाईमा     त्यसै अनुरुप शेर्पाली कामीले घले सनासो र हाते घन तताएर सर्पको टाउको च्यापेर मार्न थालेपछि सर्पले मलाई नमार, हाम्रो (सर्प) शाकाले हा¥यो तिमिहरुको शाकाले जित्यो, म त भूमि देवता हुँ, प्रत्येक वर्षको असार महिनाको पहिलो हप्ता सेतो कपडामा धुपधार गरी मलाई बलि दिंई पूजा गर्नु त्यसो गरेमा म शान्त हुँन्छु भन्यो ।  त्यसै समयदेखी भूम्याको शुरुवात भएको यस पर्व पुर्खाले मान्दै आएको रस बहादुर शेर्पालीले बताए । त्यसै समयमा सर्पको रुपमा रहेको भूमि देवताले नै शेर्पाली कामीबाट चोखो पानी, दुधको धार लिने र दर्लामी पुन मगरबाट बली दिने भन्ने भनाई अनुसार शेर्पाली कामीबाट धुँपधुवार गर्ने र दर्लामी पुन मगरले मार तान्ने गरिन्छ ।

त्यस मध्येमा पनि मगर समुदायका एक जना जैसिद्वारा ग्रह हेरेर राहु ग्रह भएका व्यक्तिले काट्ने केतुले तान्ने गरिन्छ । यसैका आधारमा भूम्या देवताको पुजा नगरेमा ठुलो बिपत्ति आईलाग्छ, भूमे देवता रिसाएमा अनष्ठि हुँन्छ भनेर निकै लामो समयदेखि अथार मगराँत क्षेत्रका मगर जातीले भुम्या पर्व भव्य रुपमा मनाउँदै आएको मगर जैसी जितबहादुर पुन मगरले जानकारी दिए ।
    भूम्या पर्व असार १ गते बाट सुरु हुँन्छ भन्ने गरिए पनि यसको तयारीका लागि गाउँका सारा मानिसहरु एक महिना अगाडीबाट नै त्यसको तयारीमा जुटिसकेका हुँन्छन् । असार महिना लाग्दाको एक दुई हप्ता पहिले नै गाउँको एक खुल्ला स्थानमा भूम्या पर्वको नाचगान तथा जमघटका लागी नोगोपो (नाच्ने ठाउँ) को सरसफाई गरिन्छ । भूम्याका लागि आवश्यक पर्ने बाजागाजा बजाउनका लागि गाउँका दमाईहरु समेत तयार भएपछि नाच्ने तथा मेला लाग्ने स्थानको सरसफाई पछि गाउँका भद्र भलाद्मी, बुढापाका अग्रजहरुको उपस्थितिमा गाउँभरीका सम्पुर्ण गाउँलेहरु उपस्थित भएर जेठ मसान्तको अघिल्लो दिन बिधिवत रुपमा भूम्या पर्वको उद्घाटन गर्ने चलन रहेको छ  ।

फूल टिप्न २ दिन  
    भुम्या नाच्ने ठाउँलाई नागोपो भनिन्छ । नोगोपोमा अग्रज बुढापाकाहरु द्वारा भूम्या पर्वको उद्घाटन भैसकेपछि गाउँभरीका तरुनातन्नेरीहरु गाउँका केही अग्रज बुढापाकाहरु सहित बाजागाजा बजाउँदै २०-२५ जना देखी ४०-४५ जना सम्मको समुह ३५ हजार देखी ५ हजार सम्मको उचाईमा बुकीको फूल टिप्न जान्छन् । जेठ महिनाको मसान्तको पहिलो  दिन गाउँमा भूम्याको उद्घाटन गरिसकेपछि बुकी फूल टिप्न जाने समुह दिउँसो ३-४ बजेतिर बुकी तिर जाने गर्छन् । केही गाउँका अग्रजहरुको साथ गएको उक्त समुह बाटोभरी नाचगान गदै बाजागाजा सहित नास्ता पानी गर्दै जाने गर्छ ।
फूल टिप्न जाने युवतीहरु मगर भेषभुषा छिट्को गुन्यु, मखमलको चोलो, गादो (भाङग्रो), पहेलो पटुकी, पुराना चाँदीका गहना, पहेलो, हरियो पोते चुरामा चिटिक्क परेका हुँन्छन् भने युवाहरु मखमलको भोटो, घरमै भेडा तथा भाङ्गोबाट तयार पारेको कछाड, घरमै तयार पारेको पटुकी बाँधेर छड्के खकुरी भिरेर चिटिक्कै परेका हुँन्छन् । संगसंगै केटाहरुले भेडाको ऊनबाट तयार पारेको भोटो ओढेका हुँन्छन् भने युवतिहरु घरमा ऊनबाट तयार पारेको झोलाभरी घरमा बनाएका कोसेलीहरु बोकेर जाने गर्छन् । बुकी जाँदा लामो उकाली यात्रालाई सहज बनाउनका लागी यूवायूवतीहरुले गित गाउँदै रमाईलो गर्ने गर्छन् ।
गाउँको सबैभन्दा अग्लो उचाई ४०००-५००० मिटर अग्लो स्थानमा बुकीको फूल टिप्न जाने गरिन्छ । उक्त कामलाई मगर भाषामा नोगो जाने पनि भन्ने गरिन्छ । नोगोपोमा निकै चिसो हुँने र पानी समेत नपाईने हुँनाले गाउँका यूवतिहरुले घरबाटै पानी, अर्नी पानी (नास्ता खानेकुरा) लिएर गएका हुन्छन । सगुन स्वरुप जाँड, रक्सी पनि लग्ने गरिन्छ । नोगोपो जाने क्रममा संगै गएका दमाई थरका बाजा बजाउने कलाकारले उकालोभरी नै  बाजा बजाएर मनोरन्जन गर्छन् ।
    नोगोपो जाँने क्रममा एकै दिनमा पुग्न नसकिने भएका कारण सबैजना आधा बाटोमा रहेको गोठमा बास बस्ने गरिन्छ । बाटोमा रहेको उक्त गोठ सानो भएका कारण गाउँबाट गएको सबै समुहलाई बस्न ठाउँ सानो  हुन्छ । त्यसकारण युवाहरु खुला आकाशमुनी रमाईलो गर्दै बस्छन् । चिसो कम गर्नका लागि सबै जना आगो बालेर आगो ताप्दै रात काट्ने गर्छन् । यसैगरी घरबाट लगेका रोटी, अचार लगायतका खानेकुरा सबैले मिलेर बाँडीचुडी गरी खाने गर्छन ।
बुकीमा चिसो लाग्छ भनेर लसुन, टिमुरको अचार बनाएर लैजाने गरिन्छ । रात काट्न सहज बनाउनका लागी बुढापाकाहरु यानीमाया गित गाएर रमाईलो गर्ने गर्दछन् भने युवायुवतीहरु गित गाउने तथा नाचगान गरेर रमाईलो गर्ने गर्दछन्। उक्त समयमा नागोपोमा बिशेषगरी युवायुवती मात्र जाने भएको हुँनाले त्यही समयमा नै युवायुवतीको बिचमा मायाँ बसेर बिवाह समेत हुने  कांक्री गाविस–६ लुकुम रुकुमका श्रिबहादुर पुन मगरले बताए । रातभर रमाईलो गरेर रात काटिसकेपछी बिहानै ४ बजे सबैजना उठेर उचाईमा पाईने रंगिबिरंगी बुकीको फूल टिप्नका लागि सबैभन्दा उचाईमा रहेको स्थानमा जाने गर्छन । फूल टिप्ने क्रममा लाइन लागेर रमाईलो किसिमले पनि टिप्ने गरिन्छ । स्पटमा अलि अप्ठ्यारो ठाउँमा मात्र फूल पाईने हुँनाले कस्ले बढी टिप्न सक्छ भनेर प्रतिस्पर्धा समेत हुँने गर्छ । तर फूल भने अलि भिर भएको ठाउँमा मात्र पाईने हुँदा युवायुवती मात्र फूल टिप्ने गर्छन । भने बुढापाकाहरु फूल टिपिसकेपछी आएर गरिने बिधि, पुजाआजाको तयारी गर्ने गर्छन ।
    बिभिन्न रंगिबिरंगी फूल टिपेर आईसकेपछी बुकी पाइने ठाउँको केही तल्लो अलि खाल्डो परेको स्थानमा आएर गाउँबाट आएका सबैले आ–आफ्नो थरको गोत्र अनुसार  छुट्टाछुट्टै  चौतारी बनाएर नाचको सुरुवात गर्ने गर्छन ।  टिपेर ल्याएको फूल यूवायुवतीहरुले त्यहाँ भएका सबैलाई शिरमा पहि¥याईदिएर ठुला अग्रजसंग  आर्शिवाद लिने र अन्य आफुसंगैका साथिभाईसंग माया साटासाट गर्ने चलन रहेको छ । आ–आफ्नो गोत्र अनुसार चौतारीमा केटाकेटी लामो समय भूम्या बाजाको तालमा नाच्ने, पूजाआजा गर्ने र केही समय बिश्राम लिँदै नास्ता पानी खाँदै रमाईलो गर्ने गरिन्छ । त्यसैगरि निकै समय चौतारीमा नाचगान गरिसकेपछी नाच्ने समयमा युवतिहरुले काँधमा भिर्ने गरेको हरियो, पहेलो, निलो, रातो बिभिन्न रंगको पछ्यौरालाई बाँधेर लामो बनाएर घरतिर फर्कदाँ सबैले त्यो पछ्यौरा समातेर गोलो घेराजस्तो बनाएर रमाईलो गर्दै फर्किने चलन रहेको छ । यो चलन भूम्या पर्व मान्ने सबै क्षेत्रमा रहेको छ  ।


पन्थौली
नोगोपो जानेहरुले जाने, फर्किने क्रममा ठाउँ–ठाउँमा बसेर सल्लाको हाँगा काटेर मुर्ला बनाउने, त्यसमा धजा टङ्गाउने, अक्षता, ढुंगा, सक्क क्षेत्रमा फाल्ने काम गरिन्छ । त्यसठाउँमा सबैले थकाई मार्ने अर्निपानी खाने काम पनी गर्दछन् । फूल टिप्न जाने क्रममा धेरै ठाउँमा पन्थ्यौली बनाउँदै जाने चलन रहेको छ । त्यस ठाउँमा बाजा बजाउँदै नाचगान गर्ने चलन समेत रहेको छ । यो क्रम जाने आउने दुबै समयमा गर्ने गरिन्छ ।

न्याहो गित
    बुकीको फूल टिपेर फर्कने क्रममा बाटोमा महिलाहरुले न्याउली चराको भाकामा गित गाउँदै फर्किने चलन रहेको छ । गित गाउँदै गाउँतिर फर्कदा गित गाउँदै रमाईलो गर्ने र बाटो काट्न पनी सजिलो हुँने हुँनाले यो गित गाउँने गरिन्छ । न्याहो गित गाउँदै बाटोभरी पन्थ्यौली बनाउँदै जेठको मसान्तको दिनमा साँझपख गाउँमा फर्किने गरिन्छ ।
    गाउँमा रहेका अन्य गाउँलेहरु नोगोपो गएकाहरुको पर्खाईमा रहेका हुँन्छन् । नाचगान तथा मेलाका लागी गाउँमा तयार पारिएको स्थानमा सबैजना नोगोपो गएकाहरुको पर्खाईमा रहेका हुँन्छन् । नोगोपो गएकाहरु आईसकेपछि गाउँका बुढापाकाहरु द्वारा बिशेष रुपमा उनिहरुलाई केही भुत पे्रत नलागोस भनेर फुकफाक गर्ने गरिन्छ । गाउँतिर फुकफाक गरेपछी भुत, पे्रत, दै, देवता लाग्दैन भन्ने मान्यता रहेको छ । यसैगरी गाउँका प्रत्येक घरबाट नोगोपो गएका केटाकेटीलाई आ–आफ्नो घरबाट खानेकुराहरु ल्याएर खान दिने चलन रहेको छ । भूम्या नाच्ने ठाउँमा नोगोपो गएकाहरुलाई आ–आफ्नो घरबाट ल्याएको खानेकुरा नखाएमा नराम्रो हुने मान्यता रहेको छ । त्यसकारण जे भएपनी आ–आफ्नो घरबाट ल्याएको खानेकुरा खाने गरिन्छ । यसैगरी भूम्या नाच्ने ठाउँमा जम्मा भएका सबैलाई बुकी बाट ल्याएका रंगिबिरंगी फूलहरु शिरमा लगाईदिएर ढोग गरि ठुलाबडासँग आर्शिवाद लिने चलन रहेको छ । बुकीबाट ल्याएको फूल गाउँका सबैलाई प्रत्ययेकले पु¥याउने गरिन्छ । त्यसपछी त्यहाँ मगर समुदायमा प्रचलित खानपान जाँड, रक्सी लगायतका खानपान गरिन्छ । केहीबेर बाजाको तालमा नाचगान गरेर साँझतिर त्यसदिनका लागि सबैजना घर फर्कन्छन् ।
    असार १ गते बिहानैबाट गाउँका सबैजनाहरु भूम्या पुजाका लागि तयारी गर्ने गर्छन् । बिहानको खाना खाएर पुजाको पुरा तयारी भैसकेपछि गाउँमा निर्माण गरिएको भुम्या नाच्ने ठाउँमा गाउँलेहरु जम्मा हुन्छन् । पुजारीले पनि आफुले गर्ने करिब–करिब सम्पुर्ण बिधि पुरा गरिसकेपछि गाउँको पुर्वतिरको छेउँमा सबैजना जम्मा हुँन्छन् । र पुजाका लागि तयार गरिएको मार (भेंडा, बोका, कुखुरा, सुंगुर) लाई सबैको माझमा राखेर पुजारीले धुँप धुँवार गरिसकेर मारले मानेपछी मार काट्ने तान्ने अन्य गाउँलेहरुले मारलाई दगु¥याउँदै गाउँ निकाला गर्ने गरिन्छ । जस्लाई भुम्या निकाल्ने पनी भनिन्छ । गाउँबाट भुम्या निकाल्दा घरमा रहेका महिलाहरुले नाङ्लो (सुपो) मा धैसो, खरानी, दशैको बेला ढोकामा लगाएको टिका जमरा, घरमा उपलब्ध भउका अन्नहरु (गौ, जौ, कमै, धान, कोदो, तोरी, आदी) राखेर सबैले घरबाहिर फाल्ने गरिन्छ । यसो गरेमा वर्षभरीको गह्रदशा, बिपत्ती भूम्याले लैजान्छ भन्ने मान्यता रहेको छ ।
    भूम्याको रुपमा पुजाका लागि तयार पारिएको मारलाई गाउँबाट निकालिसकेपछि गाउँको पल्लो छेउमा रहेको भुम्या थानमा लगिन्छ । भुम्या थानमा लगीसकेपछि पुजापाठ, धुँपधुँवार गरेर मगर जातीतिरका मार काट्ने समयमा दुईजनाले मारको खुट्टा समाउने र एक जनाले काट्ने गरिन्छ । भूम्या मारलाई काटिसकेपछि गाउँभरीका स–साना केटाहरुले त्यस मारलाई पल्ट्याउँदै–पल्ट्याउँदै गाउँको मुनि (छेउतिर) रहेको खोलामा झार्ने गरिन्छ । जो निकै रमाईलो हुँन्छ ।
 खोलामा मारलाई झारिसकेपछि गाउँभरिका केटाकेटीहरुले त्यो मारलाई खोलाको कुनै ठाउँमा लुकाएर राखेका हुँन्छन् । ठुला युवा, बुढापाकाहरु आएर त्यसलाई खाज्ने काम गरिन्छ । अचम्म त के छ भने भूम्या थानमा पुजा गरिएको त्यो मार खोज्नै पर्ने र नभेट्याए सम्म खोजिरहने चलन रहेको छ । नखोजे सम्म बच्चाहरुले नभनिदिने अथवा नदिने चलन रहेको छ । यो भूम्या पर्व मनाईने प्राय ठाउँमा गरिन्छ । गाउँका ठुला मान्छेहरुले खोजेर भेट्याएपछी त्यही खोलाको एक छेउमा आएर अर्को बोका त्यही पुजा गरेर पकाएर खाने चलन रहेको छ । उक्त मार भेटाईसमेपछि खोलामा नै बोका पुजा गरी भेँडा र बोका सँगै पकाएर खाने गरिन्छ । तर, त्यस स्थानमा महिलालाई भने उपस्थित गराईदैन ।
 यस विषयमा के कारणले महिला जान नहुने भन्ने बारेमा भने खासै केही कारण रहेको छैन । भूम्या पर्वको शुरुवात देखी नै मासु पकाएर खाने ठाउँमा महिला जाने नगरेको लुकुमका श्रिबहादुर पुन मगरले बताए । मगर समुदायको महत्वपुर्ण पर्व भएका कारण पर्व त महत्वपुर्ण हुने नै भयो संगसंगै खानपान पनि बिशेष प्रकारको हुन्छ । यस पर्वमा  हरेक कामका लागि आवश्यक पर्ने जाँड, रक्सी संगै रोटी लगायतका खानपान पनी खाने गरिन्छ । यसैगरी मासू तथा अन्य राम्रा–राम्रा परिकार बनाएर खाने गरिन्छ । बिशेष गरेर यस पर्वमा नाचगान निकै रमाईलोका साथ गर्ने गरिन्छ ।  

पालैपालो पूजारी
     दर्लामी पुन र शेर्पाली कामी बिचमा भएको सरसल्लाह अनुसार शेर्पाली कामी पूजारी हुने चलन छ । त्यसैअनुसार शेर्पाली कामीहरु बिचमा पनी पालैपालो पूजारी हुने परम्परा रहेको छ । शेर्पालीहरुको भाईसंगोलमा पालैपालो प्रत्येक वर्षको पुजारी छान्ने गरिन्छ । एक वर्ष एक भाई पूजारी भएमा अर्को वर्ष अर्को भाई पूजारी हुने चलन रहेको छ । आफ्नो पुर्खाले पहिलेदोख नै पालैपालो पूजारी हुने परम्परा बसालेका कारण त्यसलाई निरन्तरता दिईरहेको धनबहादुर शेर्पालीले जानकारी दिए । तर पूजारी हुने पालो आएको भाईको घरमा त्यस घरको महिला सुत्केरी भएमा, गर्भवती भएमा भने त्य वर्ष पूजारी बन्न नपाईने हुन्छ । घरमा महिला सुत्केरी अथवा गर्भवती भएमा घरमा जुठो भएको भन्ने गरिन्छ ।

२२ चालको नाच
    असार १ गते भुम्या थानमा भूम्या देवतालाई बलि दिएर पूजापाठ गरिसकेपछि लगातार पाँच दिनसम्म भूम्या नाच नाच्ने गरिन्छ । गाउँभरीका सम्पुर्ण महिला पुरुष, केटाकेटी, युवायुवती, बुढाबुढी सबै भूम्या नाच्ने ठाउँमा जम्मा हुन्छन् । अनि प्रत्येक दिन पाँच दिनसम्म दमाहा, झ्याली, सहनाई लगायतको बाजाको तालमा भूमि देवतालाई पुग्दै नाच्ने गर्दछन् । अथार मगराँत क्षेत्रको मगर समुदायमा प्रचलित भेषभुषा महिलाहरुले मखमलको चोलो, छिट्को लुंगी, पहेलो पटुकी, मखमल तथा घरमै भांगोद्वारा तयार पारिएको भांग्रो(गादा), नाक, कान, घाटीमा चाँदि तथा सुनका बिभिन्न गहनाहरु, मुंगा  एवं पोतेका मालाहरु लगाएर हरियो, रातो, पहेंलो बिभिन्न रंगका पछ्यौरामा चिटिक्क परेका हुन्छन् भने पूरुषहरु घरमा तयार पारिएको घरेलु कपडाको छड्के, मखमलको भोटो घरमै तयार पारेको पटुकी, शिरमा टोपी, खुट्टामा पाइजामा, कम्मरमा खुकुरी भिरेर चिटिक्क परेर नाच्ने गरिन्छ ।

एक गतेबाट शुरु भएको नाच पाँच दिनसम्म नाचिन्छ । भूमे पर्वमा गाउँका प्रत्येकलाई अनिवार्य रुपमा उपस्थिती हुँनुपर्ने हुन्छ । महिलाहरुले समातेको पछ्यौरा एउँटा हातको काँधको माथिल्तिर र अर्को हातको तल्लोतिरबाट भिरेर हातमा समात्ने गरिएको हुँन्छ । नाच्ने क्रममा महिलाहरुले दुई हातमा बिभिन्न रंगका पछ्यौराद्वारा बाजाको तालमा भूमितिर पछ्यौरा फर्काउँदै बिभिन्न तालमा नाच्ने गरिन्छ । केटाहरुले हातको चालमा बिभिन्न चालहरु नाच्ने गर्दछन् ।

माओवादीका कारण बन्द
    भूम्या पर्व मनाउँदा माथि उल्लख भए जस्तै बिभिन्न बिधिहरु अपनाईने गरिन्छ । तर माओवादी बिद्रोहका कारण बिचमा तिन चार वर्ष भुम्या बन्द भएको थियो । केही समय बन्द भएको भुम्या पर्व अहिले आएर केही  स्थानहरुमा परिमार्जित भएको छ । थवाङ लगायतका ठाउँहरुमा भुम्या शुरु हुनुभन्दा पहिले बुकीमा फूल टिप्न जाने, भूम्या थानमा बलि दिने लगायतको बिधि गर्न बन्द भएको छ । भूम्याको पूजा गरी सकेपछि पाँच दिन सम्म बाजाको तालमा नाचिने बिभिन्न २२ चाल नाच अहिले आएर १७ चालमा सिमित भएको छ । समय अनुसार पुराना थुर्पै परम्परा संस्कृतिहरुमा परिवर्तन भए जस्तै भूम्या पर्वमा नाचिने २२ चाल नाचमा पनि केही परिमार्जन गर्नुपर्ने आवश्यक भएकोले १७ चाल नाच नाच्न थालिएको थवाङ निवासी रोल्पा क्षेत्र न. २ का एकिकृत नेकपा माओवादी संबिधानसभा सभाषद सन्तोष बुढा मगरको भनाई रहेको छ । भूम्या पर्व मनाउनका लागि आर्थिक रुपमा पनि खर्चिलो भएका कारण परिमार्जन गर्नु आवश्यक भएको रोल्पा थवाङस्थित स्थानिय क्लवका अध्यक्ष महेश बुढा मगर बताउंछन् ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर