A+ A A-

"जिवित साँस्कृतिक इतिहास र हाम्रो दायित्व"

बम बहादुर घर्ती मगर

 

Image may contain: 2 people, hat

उवा-८ रोल्प, पौष २२ - मानव सभ्यताको विकास सँगै कुनै पनि जातजातिले आ–आफ्नै किसिमको भाषा, धर्म, संस्कृति र भेष-भुषामा अपनाउँदै आ–आफ्नै प्रकारले जीवन व्यथित गर्दै आइरहेका छन् । जसले तिनै जातिहरुको पहिचान गराउनुको साथै परिचालित पनि गरिरहेको छ । जुन लिपिबद्ध भएर संरक्षित हुनु पर्दछ र विकसित पनि ।

विश्वका थोरै मात्रामा जातिहरुको भाषा, धर्म, संस्कृति र भेषभुषाहरु चलनचल्तीमा छन् । त्यसैको आधारमा विकसित भएर संसारभरि नै आ–आफ्नो प्रभुत्व जमाउने तर्खरमा छन् भने कुनै–कुनै जातिहरुको लिपि अन्य जातिहरुको षड्यन्त्रद्वारा वा अन्य कारणले हराइनु र तिनै भाषा, धर्म र संस्कृतिहरुको लिपिबद्ध नहुनुले लोपोन्मुख अवस्थामा पुगेका छन् ।

लिपिबद्ध नभएका भाषा, धर्म, संस्कृति र भेषभुषाहरुसँग सम्बन्धित जातिहरु पनि प्रशस्त मात्रामा देख्न सकिन्छ । त्यो पनि निश्चित क्षेत्र र भूगोलमा मात्र । जसलाई मैले जिवित इतिहास भन्न रुचाउँछु । किनकी इतिहास त संसारमै नभएको वस्तुहरुको मान हुन्छ जो विगतमा थियो वर्तमानमा छैन । हो, त्यही पीडा भोगेर जिवित तर तड्पीरहेको इतिहास भित्र नेपालका आदिवासी जनजातिहरु मध्ये मगर जाति पनि एक हो ।

जसको आफ्नै कर्मकाण्ड, रहन सहन हुँदा-हुँदै पनि अन्य जाति र राज्यका विभिन्न काल खण्डको षड्यन्त्र रुपी कारणले लोप गराइएका लिपिमा लिपिबद्ध नहुनुले अहिलेको अवस्थामा मर्नु न बाँच्नुको दोसाँधमा छट्पटि रहेको छ । तिनै इतिहासहरु जिवित राख्न विभिन्न क्रियाकलापहरु आदिम देखि आधुनिक अवस्था सम्म निरन्तर नै चल्दै आइरहेको छ र चलिरहने पनि छ ।

नेपालका अधिकांस आदिवासी जनजातिहरुले जस्तै मगर जातिले पनि धेरै मात्रामा सौर्यमास (महिना र ऋतु) र कम मात्रामा चन्द्रमास (औंसी र पूर्णिमा) को आधारमा चाड-पर्वहरु मान्ने गर्दछन् । जसमा सौर्यमासको आधारमा मनाइने चाड-पर्वहरु माघे सक्रान्ति (चेली-बेटी पुज्ने, गाजाबाजा बन्द गर्ने र उधेलीको विदाई गर्दै उभेलीको स्वागत गर्दै मान्ने पर्व), जेठ संक्रान्ति (गाजाबाजा फूकाउने), भूम्हे संक्रान्ति (जमिनको पुजा गर्ने), राँके संक्रान्ति (आगोको पुजा गर्ने, उभेलीको विदाई र उधेलीको स्वागत गर्दै मान्ने पर्व), घ्यूवार संक्रान्ति (घ्यू खाने पर्व), बाह्रभदौ (अंश पुरुष जम्मा गर्ने, जडिबुटी खेर्ने) र चन्द्रमासको आधारमा मनाइने पर्वहरु जेठ पूर्णिमा, भदौरे पूर्णिमा, द्वारा र मङ्सिरे पूर्णिमा आदि हुन् भने यिनै चाडपर्वहरुमा विभिन्न खानाका परिकारसँगै पर्वअनुसारको नाच नाच्ने, गीत गाउने र बाजा बजाउने गरिन्छ । यिनै पर्वहरुमा नाचिने नाच, गाइने गीतहरु, मासे र बाह्रमासे गरी दुवै किसिमका हुन्छन् । मासे भन्नाले कुनै निश्चित चाड-पर्व र महिनामा मात्र नाचिने, गाइने र बाह्रमासे भन्नाले जहिले जुनसुकै बेला पनि नाचिने, गाइने नाच र गीतहरुलाई भनिन्छ र बुझ्नु पर्दछ ।

मासे नाचहरुमा लोकोबाङे, सिङ्गारु, जोरास्याँई, खुतुम्की, सतिस्याङ हुन् र गीतहरुमा लसरी, जोमारे, स्याभो, झोम्ला, जोगिया, लाम्सिने (मर्दा गाइने), षटुवा, न्याहो हुन् भने बाह्रमासे नाचहरुमा खण्जनी, झ्याउरे, सरङ्या, पैस्याँरु, दमाचाल हुन् र गीतहरुमा झुमुरा, झ्याउरे, फाङ्क, टप्पा, चुड्का, यानीमाया, साइलाबरै, कठौटा, सालैजो, ठाडो भाका इत्यादि हुन् ।

यिनै नाच र गीतहरुलाई साथदिने गाजाबाजाहरु दमाहा, कुर्तुरके (तटम्के), सहन (सहनाई), झ्याली, छेलम (सानो झ्याली) मुझौरा, दुन्दी, मादल, पैजन, बाँसुरी, गोङ्ला, बोङ्कर, काहाला (कर्णाल), मुर्चुङ्गा, बिनायो, कोलो इत्यादी हुन् ।

मगर जातिहरुले विभिन्न चाडपर्वहरु मनाउने गर्दछन् । जुन माथि नै चर्चा गरिसकेको छु । यसरी इतिहास र संस्कृतिविद्हरुको खातामा समेटिन नसकेपनि आफैमा जिवित इतिहास भएका यिनै संस्कारहरुलाई अब भने हामी जस्ता सचेत नागरिकहरुले लिपिबद्ध गर्दै, विकसित गराउँदै लैजानुपर्ने स्थिति हाम्रो काँधमा आइसकेको छ । किनकी भाषाको नाममा जसरी भानुभक्तको नामले भाषा एकीकरण भयो र हाम्रो पूर्खाहरुको जिब्रो थुटियो । त्यस्तै बाँकी रहेकाहरुलाई आलिमका नाममा मर्दा मर्ने सँगै नामेट गर्ने स्थिति आयो ।

राज्य एकीकरणको नामले राज्य खोसियो । अधिकार खोसियो । धर्म एकीकरणको नामले हिन्दु धर्मालम्बी गराइयो । र जबरजस्त आफ्नो पहिचान बाट नामेट गराउँदै लगियो । त्यस पछि कोही खस भाषा बोल्न र हिन्दु धर्म मान्न पुग्यौं ।

बाँकी रहेकाहरुलाई पनि शेषीको नामले अपहेलित गरियो भने एकातर्फ त्यसरी नै बाँकी रहेको भाषा, धर्म, संस्कृति र भेष-भुषालाई पनि धर्मको नामले इसाई, भाषाको नामले अङ्ग्रेजी र संस्कृतिको नामले भाको नभाको अवस्थामा आइरहेको छ । आफ्नोपनबाट सबै ठाउँ बाट अतिक्रमण गरी अपहेलित गरिएको छ ।

आधुनिकताको नाममा आफ्नो पहिचान गर्ने तत्वहरुलाई लात मार्दै गलहत्याउनेहरु पनि कति सम्म अगाडि बढी रहेका छन् । जसले आफ्नो अस्थित्वप्रति आधुनिकताको नाममा आदिम भन्दा पनि तल गिरेर नाक खुम्च्याउने गरि रहेका छन् । तिनीहरुलाई सवक सिकाउनुछ । त्यसकै प्रतिरोधमा उभिनु छ । त्यसको लागि हातेमालोको खाँचो छ । लागौं सबै यही बाटोमा लामबद्ध हुँदै हामीलाई हाम्रो जातिसँगै पहिचान गराउने भाषा, धर्म, संस्कृति र भेष-भुषाहरुको संरक्षण-सम्वर्द्धन र विकास गर्दै राष्ट्रिय र अन्तराष्ट्रिय अस्तित्व कायम गरौं ।

हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी