A+ A A-

जनजाति हैन बाहुन क्षेत्री गर्देछन् जातीय राजनीति


 किरात राई परिवर्तन


राजकुमार लेखी र पासाङ शेर्पाले एमाले  छाड्दैमा एमालेलाई त्यति साह्रो-गाह्रो पर्दैन किनभने प्रचण्डले ३-३ करोड दिएर जनजाति र मधेशी नेताहरूलाई किनेको हल्ला एमालेका जिल्लास्तरीय कार्यकर्ताले फैलाउन थालिसकेका छन्। यी हल्लाले पार्टीमा जनजाति वा मधेशी नेताहरूले किन पार्टी छाडे वा किन छाड्दैछन्? भन्ने कुराको बहसको अन्त्य गरिदिन्छ र नेतृत्वको गलत नीतिको ढाकछोप गरिदिन्छ। अर्थात्, एमालेको नीति, कार्यक्रम सबै ठीक थियो र छ बरू जनजाति वा मधेशी नेताहरू नै खराब हुन्, उनीहरू पैसाको लागि बिके भन्‍ने हल्लाका आधारमा एमाले अगाडि बढ्नेछ। समस्या एमालेको मात्र होइन, कांग्रेस, अखण्डका माग गर्नेहरू, अनि पढेलेखेका भनिएका बाहुन-क्षेत्रीहरूको पनि हो।

उनीहरूले आफूहरू इमान्दार, आफूहरू जान्ने, आफूहरू बुझेको, आफूहरू देश चलाउन सक्ने, आफूहरूले देश टुक्रन नदिने, आफू पैसाको लागि नबिक्ने, आफूलाई मात्र देशको चिन्ता भएको र जनजाति, मधेशी, मुसलमान, दलित वा अन्य वर्ग र क्षेत्रका मान्छेहरू जान्दैनन्, बुझ्दैनन्, देशलाई विगार्न लागे, देश टुक्र्याउन लागे वा यस्तै अनगिन्ति मनगढन्ते तर्क गर्छन्। यदि बाहुन, क्षेत्री, एमाले, कांग्रेस वा हिजोका पञ्चहरूले भनेकै सबै सही हुने, उनीहरूले मात्र विश्लेषण गर्न सक्ने, उनीहरू मात्र जान्ने-बुझ्ने र उनीहरूले नै भविष्यको आँकलन गर्न सक्ने वा उनीहरूले नै देश विकास गर्न सक्ने भए यो देशको हालत यस्तो हुने थिएन। किनभने २०० वर्षदेखि यो देशमा उनीहरूको हालीमुहाली थियो र छ।

यहाँ पार्टीगत रूपमा वा व्यक्तिगत रूपमा कसैको कमजोरी देखाउन जरूरी छैन तर हाम्रो समग्र सांस्कृतिक चिन्तन नै यस्तो भएको छ कि बुढा-पाकाले नयाँ पुस्ताले जान्दैन, धान्दैन भनेर उनीहरूलाई अधिकार र हक दिंदैन वा दिन खोज्दैन। पुरूषहरूले महिलाले गर्न सक्दैनन्, जान्दैनन् भन्छन् र आफ्नो वर्चश्वमा रहेको कुरा गुमाउन चाहँदैनन्।

सत्तामा हुने वा कुनै पनि पेशामा हुने आम मान्छे (वकिल, पत्रकार, व्यापारी, लेखक, कलाकार) राजनीतिक कार्यकर्ता, नागरिक समाज, पढे-लेखेका भनाउँदाहरूले सबै कुरा आफूले जानेको, बुझेको र अरूले वा नयाँले नजान्ने र नबुझ्ने तर्क मात्र गर्दैनन् बरू उनीहरूले ती काम गरेमा देश भाँडिने, सबै तहसनहस हुने तर्क गर्छन्। यस्तै तर्क हिजो राजाका वरिपरिकाले गर्थे, उनीहरूका विचारमा राजावादी शक्तिबाहेक अरूले देश चलाउन सक्दैन। राजा नरहे देश रहन्न। तर, त्यस्तो केही भएन। यदि हाल तर्क गरिएजस्तो मधेशी, जनजाति वा दलितहरू प्रधानमन्त्री हुँदा देश नरहने हो भने राजाको ठाउँमा आएका अहिलेका मठाधिशहरूले देश चलाउँदा पनि देश नरहनु पर्ने हो तर त्यसो भएन र हुन पनि सक्दैन।

देश कुनै एक व्यक्ति, क्षेत्र वा जातले बचाएर बच्ने कुरा होइन। यो सम्पूर्ण जनताहरूले बचाउने कुरा हो र त्यसका लागि समग्र जनता जागरूक हुन जरूरी छ। तर, जुन देशमा जनताले आफ्नो देश भन्ने गौरव प्राप्त गर्न सक्दैन, जुन देशमा अरू जनताले जस्तै समान अधिकार र अवसर पाउँदैन त्यो देशका जनताले देश बचाएर अर्को पक्षलाई सदैव पोस्ने काम गर्न सक्दैन। त्यो सम्भव छैन।

अहिलेको समस्या पनि त्यस्तै हो। देशमा पहिले नै प्रभुत्व जमाएकाहरूले नयाँ आउन वा आउन सक्ने समुदायप्रति शंका गरिरहेको छ। यस्तो लाग्छ संसारमा उनीहरूले आफू बाहेक अरूलाई योग्य ठानेकै छैनन्।

पार्टीभित्र देखिने जातीयता

यसैको प्रतिविम्ब नेकपा एमालेमा देखा परेको छ। संविधान सभा चुनाव हारेका माधव नेपाल, केपी ओली लगायत संविधान बनाउन कस्सिए अर्थात् हिजो चुनावले केही हदसम्म खुस्काएको आफ्नो वर्चश्व अझ धेरै गुम्ने डरले उनीहरूले आफ्नै पार्टीभित्रको आवाजलाई दवाउने चेष्ठा गरे। फलस्वरूप उनीहरूले आफू नेतृत्वमा नभएमा समग्र देश भाँडिन्छ भन्ने मात्र सोचेनन् बरू रामचन्द्र झा हरूको आवाजलाई पनि मधेश टुक्य्राउने आवाजका रूपमा बुझ्न थाले। पासाङ शेर्पाहरूले मागेका अधिकारहरूलाई जातीय सद्‌भाव विथोल्ने मागका रूपमा बुझिन थाल्यो। यसैको फलस्वरूप भीम रावलको नेतृत्वमा अखण्ड सुदुरपश्चिमको आन्दोलन शुरू गरियो अनि जिल्लाका टुक्रे नेताहरूले “अखण्डता”का नाममा आन्दोलन गरे।

जातीय सद्‌भाव विग्रेको भन्दै उचालिए र आफैसँग २० औं वर्षदेखि काम गरिरहेका आफ्नै साथीहरूलाई विश्वास गरेनन्। यो मामलामा कांग्रेस पनि केही कम छैन। यसको नेतृत्वले पनि यो देशमा बाहुन-क्षेत्रीले मात्र जातीय सद्‌भाव कायम गरेको, उनीहरूले मात्र देश जोगाएको र देश टुक्रन नदिनेमा विश्वास गर्छ। यसले पनि मधेशी, जनजाति र दलित जनताले लोकतन्त्रप्रति देखाएको आस्था र विश्वासमाथि शंका गर्छ। त्यसैले त कांग्रेसमा कोइराला (बीपी, मातृका, गिरिजा, शुशील, सुजाता, शेखर, शशाङ्क आदि) महत (रामशरण, प्रकाशशरण) र केसी (अर्जुन नरसिंह, बलबहादुर, खुमबहादुर, गगन थापा लगायतका)का सपरिवार, एमालेमा पाण्डे (सुरेन्द्र, राजेन्द्र), ज्ञवाली (प्रदिप, युवराज), पोखरेल (ईश्वर, शंकर) वा नेपाल र माओवादीमा दाहाल, भट्टराईहरूका सपरिवारले राजनीति गर्दा त्यहाँ जातीय राजनीति हुँदैन तर पूर्वको राई र पश्चिमको मगर वा हिमालको शेर्पा र तराईको थारू समुदाय मिलेर आफ्नो अधिकार माग्दा जातीय राजनीतिका रूपमा परिभाषित गरिन्छ। कतिसम्म भने नेपाली कांग्रेस भित्र चर्चित भनेर चिनिने र आफूलाई जात वा धर्म भन्दा माथि राख्‍न खोज्ने युवा नेता गगन थापाले महाधिवेशनमा पाएको भोटमा जातीय गन्ध मिसिएको थियो।

घोषित रूपमै क्षेत्रीहरूलाई जिताउने योजना अनुरूप गगन थापा, अर्जुन नरसिंह केसी, खुमबहादुर खड्काले महाधिवेशनमा सबैभन्दा धेरै भोट ल्याएका थिए। यो कुरा थाहा पाएर शुशील कोइराला त्यतिवेला नै रिसाएका थिए। यसरी पार्टी भित्र नै जातीय गठबन्धन गर्नेहरूले जातीय राजनीति गरेको ठहर्दैन तर आफ्नो हक, अधिकार माग्ने जनजाति वा मधेशीले भने जातीय राजनीति गरेको आरोप लाग्ने गर्छ। अहिले संघीयता वा जातीय अधिकारको कुरामा सबैभन्दा धेरै विवाद र विरोध गर्नेमा हिजो जातीय राजनीति गर्नेहरू यिनै सबैभन्दा सक्रिय छन्। त्यसैले जातीय राजनीति गलत हो भने यस्तो खालको जातीय राजनीति पनि बन्द हुनुपर्छ होइन भने आफूले गरेको जातीय राजनीति सद्‌भावका लागि हुने र अरूले गरेको जातीय राजनीति वैरभावका लागि हुने दोहोरो मापदण्डले कसैको भलो गर्दैन। ठूला-ठूला आदर्शका कुरा गर्ने र अरूलाई अर्ति दिने थापाले भीमबहादुर तामाङको पक्षमा एक शब्द बोल्न चाहेनन् वा उनको नजिक हुन पनि चाहेनन् किन भने त्यसो गरेको भए उनी चुनाव हार्ने थिए।

केन्द्रीय सदस्यमा जित्‍ने लोभमा उनले आदर्शको राजनीति छोडिसकेका थिए र जातीय राजनीतिमा सक्रिय थिए।

मिडिया र अन्य

यो सांस्कृतिक वर्चश्वको मानसिक समस्या भने मिडियामा अझ चर्को छ। माउन्टेन टेलिभिजनले बाहुन-क्षेत्रीहरूले गरेको आवेशपूर्ण भाषणलाई LIVE टेलिकास्ट गर्दा पनि त्यहाँ जातीय सद्‌भाव नै झल्कियो अनि NEWS24का पत्रकारले पत्रकार भन्दा पनि कार्यकर्ताका रूपमा मञ्चमै कराँदा पनि जातीय सद्‌भाव र पत्रकारको हक, अधिकारका रूपमा परिभाषित गरियो। स्वतन्त्र हुनुपर्ने पत्रकारहरूले नै “अखण्ड”का नारा लगाउँदै त्यसको पक्षमा आन्दोलन गर्दा होस् वा जनजाति, मधेशी र दलितहरूको आन्दोलन र व्यक्तिलाई होच्याउँदा पनि त्यहाँ जातीय सद्‌भाव नै देखियो तर जातीय पहिचानको पक्षमा आन्दोन गर्ने कार्यकर्ताले लगाएको नाराले भने जातीय सद्‌भाव विथोलेको आरोप लगाइयो।

अहिलेको समस्या पत्रकार र जनजाति कार्यकर्ताका माझ भएको होइन वरू पत्रकारका नाममा “अखण्ड” चाहने वा पार्टीगत कार्यकर्ताका रूपमा संघीयताको विरोध गर्ने कार्यकर्ता र जनजाति आन्दोलनका कार्यकर्तामाझ भएको झडप हो। त्यसैले यसलाई पत्रकारहरू माथिको हस्तक्षेप भन्दा पनि एउटा पक्षको कार्यकर्ताले अर्को पक्षको कार्यकर्तामाथि गरेको हस्तक्षेप भनेर बुझ्न सजिलो हुन्छ। त्यसो त सबै ठाउँका घटनालाई त्यसै रूपमा बुझ्ने भुल भने गर्न सकिंदैन र केही हिंस्रक घटनाका लागि भने आन्दोलित पक्षको दोष देखिन्छ।

दरबार मार्गमा देखा परेका विशेषत: बाहुन, क्षेत्री, नेवार (व्यापारी) र NGO, INGO मा काम गर्ने केही जनजातिहरूको सद्‌भाव र्‍यालीले अर्को दिनका सबै मिडियामा ठाउँ पायो, फ्रन्ट पेजमा, मेन हेडलाइनमा तर बसन्तपुरमा भएको आमसभाले कतै चर्चा पाएन, त्यहाँ के कुरा बोलिएका थिए भन्ने कुरा कतै सुनिएन। यस्ता अनगिन्ति उदाहरणहरू देख्न सकिन्छ जसले एउटा समूहलाई जान्ने, बुझ्ने, विश्लेषक, चिन्तक र देशका सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, शैक्षिक वा पेशागत रूपले सु-सभ्य नागरिकका रूपमा परिभाषित गर्छ र आफू बाहेका सबैलाई बहिष्कार गर्न चाहन्छ वा आफ्नो नजिक नआउन् र आफूले ओगटेको ठाउँमा साझेदारी नगरून् भन्ने चाहन्छ।

 समय थोरै छ।

मिलेर बाँड्ने हो भने सबैले पाउने वातावरण बन्न सक्छ होइन भने कलम हुनेले कलमले लेखेर विरोध गर्छ कलम नहुनेले आफूसँग भएको हतियार (कोदालो, हँसिया)ले लेख्‍न शुरू गर्छ। हो आफूले पाएको हक, अधिकार र सुविधा दिन सबैलाई गाह्रो नै हुन्छ तर बृटिशहरूले भारत छोडेको कुरा वा अफ्रिकामा गोराहरूले गरेको सम्झौता भने सम्झनै पर्छ। अधिकार सबैले पाउनु पर्छ र आफ्नो अधिकार प्राप्त गर्नका लागि फेसबुक हुनेले फेसबुक, ब्लग हुनेले ब्लग र ट्वीटर हुनेले ट्वीटर तथा रेडियो, टेलिभिजन र पत्रिकाको प्रयोग गर्ला तर यस्ता साधन नहुनेले बोल्नै पाउन्न, लेख्नै जान्दैन, बुझ्दै बुझ्दैन र उनीहरू असक्षम छन् भन्ने पक्कै होइन। यो कुरा वर्चश्व कायम राख्‍न खोज्ने पार्टी वा पार्टीका नेताहरूले मात्र होइन आम नागरिक, पेशाकर्मी, बुद्धिजीवि र पार्टी कार्यकर्ता सबैले वेलैमा बुझ्न जरूरी छ।


Last Updated on Friday, 01 June 2012 05:42

Hits: 1920

एमालेमा भुईचालो । जनजाति नेताहरु धमाधम निस्कन थाले

एमालेका प्रभावशाली जनजाति नेता पासाङ शेर्पाले राजिनामा दिएलगत्तै आज अर्का पुराना र प्रभावशाली नेता तथा केन्द्रिय सदस्य राजेन्द्र श्रेष्ठ र अर्का बौद्धिक नेता डा.प्रा. मंगलसिद्धि मानन्धर पनि उक्त पार्टीबाट बारिरिएकाछन् ।
एमाले बहुदलीय जनवादी दल नभई बाहुनवादी जनैवादी दल भएको भन्दै जनजाति नेताहरुले दल छाडेकाहुन् । यी नेताहरुको त्यहाँ भित्र लामो इतिहास छ ।
एमालेले जातीय संघीयतामा प्रतिगामी कदम लिएको भन्दै जनजाति नेताहरु धमाधम निस्कन थालेकाछन् । देशमा पहिचानको राजनीतिले आकार लिदैं गैरहेकोछ । यस्तो अवस्थामा चुनावमा गइए पत्तासाफ भईन्छ भनि एमाले र नेकाले चुनावको विरोध गरेकाहुन् ।
जनजातिको यस्तो निर्णयबाट अत्तालिएको बल्खु दरवारले  केहि क्षणमै पत्रकार सम्मेलनको आयोजना गरेकोछ । त्यसमा झलनाथ खनाल लगायतका नेताहरुले सम्बोधन गर्देछन् ।

Last Updated on Thursday, 31 May 2012 10:18

Hits: 1562

सत्ता डग्मगाएपछि राष्ट्रपतिलाई यसरी 'महादेव' बनाउन खोजिदैछ

राज्यसत्ता ब्यूरो
सत्ताको क्रुर षड्यन्त्रका कारण लाखापाखा बसेर शासनरुपी महको चाका नियालीरहेका बहुसंख्यक  उत्पीडित जनताको भाग्य लेख्ने संविधानसभाको घाँटी निमोठ्न एकजुट भएका नेताहरु अहिले आएर सत्ताको कुर्सी लुछाचुड गर्न कुकुर झैं लड्न शुरु गरिसकेकाछन् ।  तर यथार्थ त्यो होइन । त्यो नाटक मात्र हो । भित्री रुपमा आफ्नो एकजातीय सत्ता बचाउन संविधानसभाको बली दिन बन्दकोठामा खासखुस गरेकाहरु अहिले  कुर्सी भागबन्डामा दावी प्रतिवादी ठोक्न शुरु गरिसकेको नाटक गरेका मात्र हुन् । भित्री कहानी अर्के छ ।


अहिलेकै माओवादीको नेतृत्वमा ७ मंसीरमा चुनाव गराइए त्यो चुनावले आफुहरुको पत्तासाफ हुन्छ भन्ने अड्कलवाजी गरेर बसेका नेका र एमालेले प्रम भट्टराईको चुनावी प्रस्तावलाई मानेका छैनन् भनिन्छ । यद्यपि यी दलले आफुहरुलाई घाँडो भएको संविधानसभाको बध गर्न चलाखीपूर्ण रुपमा बाबुरामलाई अगाडि सारे तर अहिले बाबुरामले गरेको चुनावी प्रस्तावमा भने यिनले सहमति जनाएका छैनन् भनेर ब्याख्या गरिदै । मुद्दाको हिसावले मधेसी, जनजाति र दलितसंग नजिक देखिएको एमाओवादीले जातीय स्वायत्तताका कट्टर विरोधी नेका र एमाले जस्ता दललाई चुनावबाट कहिल्यै उठ्न नसक्ने बनाउन सक्छन् भन्ने हिसावकिताप गरेर ती दलका नेताहरु पछिल्लो समय राष्ट्रपतिकहाँ हारगुहार माग्न दौडिरहेकाछन् भनेर हामीलाई यहाँका मीडियाहरुको माध्यमबाट पढाईदैछ ।
प्रम भट्टराईले अन्तिम समयमा संविधानसभा वध गरि ७ मंसीरमा चुनाव घोषणा गर्देछु है भन्दै राष्ट्रपतिकहाँ गई निवेदन विसाएकाथिए । तिनको पछिपछि अन्य दलका नेताहरु ७ मसीरमा चुनाव कुनै पनि हालतमा गरिनुहुदैंन तपाईले रोकिदिनुपर्यो भन्दै अनुनय विनय गर्न पुगेकाथिए ।
अचम्म छ , नेपाली सत्ताको केन्द्रमा रहेका बाहुन नेताहरुको आत्मविश्वास किन यो विध्न कमजोर हुन्छ जसमा अफ्नो निर्णयमा अडान लिनै सक्दैनन् भनि गम्ने केहिले यस्को कारण बुझेकाछन् । इतिहास साक्षी छ । तिनका पुर्खाले इतिहासमा आफ्नो जातीय स्वार्थ परिपोषित गर्न यहाँका रैथाने जातिलाई जनै पहिराई अर्थात क्षेत्री बनाई पर्दा पछाडिबाट शासन चलाए ।
पृथ्विनारायणशाहका पाँच प्रमुख सल्लाहकारमा एक जना मगर बाहेक अरु सबै बाहुन थिए । ती मध्ये एक जना अहिलेका प्रधानमन्त्री बाबुरामका बराजु थिए । यिनै पाँच जना थिए जसले नेपाल एकिकरणका निम्ति उनलाई उक्साउने र योजना तर्जुमा गर्थे ।
पृथ्विनारायण शाह अगाडिको इतिहास पनि करिब यस्तै जातीयताको रणनैतिक षड्यन्त्र वरिपरि घुमेको देखिन्छ । राणाकाल आयो । त्यसमा जँग बहादुर देखिने पात्र थिए तर उनलाई चलाउने दिमाग पुजापाठ गरि खाने र चण्डी घोकेर आएका यहि समूदायको थियो ।
पँचायत आयो गयो । एउटा ठकुरी ९ बंशानुगतले मगर ० लाई सत्ताको शीर्षमा राखेर आफुले के गर्न सकिन्छ गरियो ।
जातीय स्वार्थ र सत्ता डगमगाएपछि यसलाई कमजोर बनाईयो । तिनकै स्वार्थमा बहुदल ल्याईयो तर सबैले जानेकै हुन् त्यसपछि बाहुनदल नै सतहमा आयो । उनीहरुको वर्चश्व एकाएक देखियो तर त्यस्तो थिएन । त्यसको पृष्ठभूमी लामो थियो । त्यतिबेला झ्याप्प देखिएको मात्र थियो ।
पहिला पर्दा पछाडिबाट काम गर्र्ने दिमागहरु अब खुलेरै मैदानमा आएर राजनीति गर्न थालेपछि त्यो देखिएकोथियो । तैपनी एउटा देउता उनीहरु बनाएरै राख्थे । विरेन्द्र र ज्ञानेन्द्र त्यसैको निरन्तरता थियो ।
हेर्दा सक्रिय जस्तो देखिने तर खोपीमा बसेर राज गरेको भ्रममा रहने यी देउताहरुले यो समूदायको कुटिल चाल राम्ररी कहिल्यै बुझ्न सकेनन् । यो देशको वास्तविक शासक ति होइनन् कोहि अर्के समूदाय छ, जो संरचनागत रुपले षड्यन्त्रमा अब्बल छ भन्ने कुरा । जतिखेर बुझ्थे ति सत्ताबाट तल ओर्लिसकेका हुन्थे या मारिन्थे । राणाकालको कोतपर्व देखि लिएर विरेन्द्रको वंशनाश सम्म कहिं न कहिं यहि जातीय राजनीतिको निहित स्वार्थ लुकेको देखिन्छ ।
आफ्नो जातीय स्वार्थ विपरित अलिकता यताउति हुने वित्तिकै भित्री संजालमा एकजुट हुने यी समूदायको मास्टरमाईण्डमा ति ब्यक्ति शहिद नभई रहन सक्दैनथे, अहिले पनि त्यहि हुन्छ । साम दाम दण्ड भेद सक्रिय भै हाल्छ । आफ्नो जातीय स्वार्थ यताउति हुनासाथ त्यस्ता सत्ता तुरुन्त ढाल्न सक्ने यस्तो समूदायले आज राज्य, दल , मीडिया, प्रशासनमा एकछत्र राज गरिरहेकाछन् । जनजाति, मधेसी , दलित जस्ता राजनीतिको यस्तो भयानक खेलबाट धेरै टाढाबाट पर राखिएका समूहहरु यिनको एकजातीय सत्ता फाल्न तम्सिएकाछन् तर त्यो फलामको च्यूरा चपाउनु भन्दा गाहे काम हो भन्ने बुझिएकोछैन ।
दिमागले चल्ने यो समूदायसंग बलको लडाईले केहि काम गर्न सक्दैन भन्ने कुरा पनि बुझिएको देखिदैन । यसपटक जनजातिको अपार एकता देखिएकोछ तर त्यो दिमागी भन्दा भावुकताले ओतप्रोत छ, जसको राजनीतिमा दुरगामी महत्व रहदैंन । तिनका जोस सेलाउनासाथ  फासफुस भएर जान्छन् । अहिले संविधानसभा मारिदा त्यसरी सडकमा निस्किएका भुमिपुत्रहरु कहाँ हराए भनेर विश्लेषण गर्ने हो भने त्यसको पछाडि यहि कारणले काम गरिरहेकोछ । आफ्नै भाग्य लेख्ने संविधानसभा मार्दा समेत रमिता हेरेर बस्ने जनजातिहरुको बल नभएको होइन तर त्यो बललाई राजनैतिक आकार दिन सकिएकोछैन । यसपटक जनजाति आन्दोलन जोशिलो देखिएतापनि राजनैतिक रुपले केटाकेटी खेले भन्दा बढ्ता केहि देखिएन । संगठित छैन । एउटा गैरसरकारी सँस्था जसको कुनै राजनैतिक लक्ष्य हुँदैन, आन्दोलनको नेतृत्व लिएपछि यस्तै हुन्छ । जसको काम नै विकास निर्माण र सामूदायिक सशक्तिकरणमा विदेशी रकम ल्याई गोष्ठी, सेमिनार र तालिम दिने हो उसले राजनैतिक नेतृत्व लिन नसक्नु अस्वाभाविक पनि होइन । त्यस्तो संस्थाले नेतृत्व लिएर राजनैतिक माग राखेको नैतिकताले पनि दिदैन । त्यसो हुनासाथ विदेशीको उक्साहटमा डलरको खेती गर्नेहरुले समाज भाँड्न थाले भनेर जायज माग पनि तुहाईदिन सक्छ राज्यले । जुन भैरहेको पनि छ ।
यद्यपि यो एकताबाट अत्तालिएको सत्ताले संविधानसभाबाट सत्ता सुविधाको भागबन्डा गर्न समेत उचित ठानेन । जनजातिले बलजफ्ती सत्ता खोस्ने कुरा त धेरै परको कुरा रहयो । त्यसैले अलिअलि आश रहेको संविधानसभा नै मारिदियो । अब संविधानसभा हुन्छ, हुदैन केहि भन्न सकिने अवस्था छैन । ४ बर्षको अभ्यासमा सत्ताधारीहरु ९ नेपालको सन्दर्भमा सत्ताधारीको अर्थ सरकारमा बस्ने मात्र होइन । एउटा निश्चित समूदाय बाहुन र क्षेत्रीलाई बुझ्नुपर्छ ० ले राम्ररी बुझेकाले अब त्यसमा जान उनीहरु तयार हुदैनन् ।
अहिले चुनाव नगराउन राष्ट्रपतिकोमा धाउने नाटक त्यहि भएर मन्चन गरिएको हो । अन्तिम घडीमा आफ्नो जातीय सत्ता बचाउन सबै दलमा आवद्ध दाज्यूभाईहरु कसरी एक हुँदो रहेछन् भन्ने कुरा यसपटक नजान्नेले पनि जान्न बुझ्न खोजेकाछन् । सत्तामा भएपनि ति आफै केहि गर्न सक्दैनन् । किनकी यिनको हिन्दु धर्ममा सिकाइएकै त्यहि छ । वध गर्न आफै तम्तयार हुने होइन । एउटा पुजारी तयार पार्ने हो, मन्त्रोच्चारण मात्र आफुले गर्ने हो । नेपाली राजनीतिमा अहिलसम्म भैरहेकै त्यहि हो । त्यसो गर्दा उचाल्ने र पछार्ने पात्र भने कहिल्यै स्वजातीय हुँदैनन् । अर्के समूदायका लडाकु या भनौं मुर्ख ब्यक्ति नै हुनुपर्छ ।
यसपटक मधेसी यादव राष्ट्रपति ९ यादव अर्थात ग्वाला, महाभारतमा यो समूदायलाई कसरी उपयोग गरिएकोछ जातीय सत्ता बचाउन पढे थाहा लाग्छ ० लाई त्यस्तो पात्र बनाइएकोछ ।
तिनलाई उक्साईदैंछ । जातीय मागले विखण्डन हुन थाल्यो देश बचाउन पर्यो भन्दै यादवलाई चक्रब्यूहमा पारिदैछ । उत्तेजित पारिदैछ । स्वाभाविक रुपमा खुन तात्ने समूदायका उनी कुन दिन बुरुक्क उफ्रेर ल आज देखि म यो गर्छु भनि जंगिए भने त्यो जति दर्दनाक स्थिति केहि हुने वाला छैन उत्पिडितहरुका निम्ति ।
राष्ट्रपतिको सल्लाहकारमा सबै बाहुन समूदायकै छन् । तिनकै सल्लाहमा हुन् उनी चल्ने जसरी हिंजो राजसंस्था लगायत अरु सबै पुराना सत्ता चल्दै आइरहेकाथिए । यसपटक बाहुन सत्ता धरमर भैरहेको अवस्थामा महादेवको रुपमा यादवलाई सिंगार्न शुरु गरिएकोछ ।  विस्तारै शक्ति राष्ट्रपति कार्यालयतर्फ सिमित पार्न थालिएकोछ । भोलि एउटा कानुनी ब्याख्या बनाएर सत्ता उनको हातमा दिईन सक्ने संभावना छ । सर्वोच्चका प्रमुख न्यायाधिसकै निर्णयमा संविधानसभा मार्ने पहिलो कदम थालिएको यहाँ नभुलौं । भोलि उनकै सहोदरहरु जताततै विराजमान छन् । कानुन र संविधान हाड नभएका जिब्रो हुन् जातीय सत्ता बचाउन ति जता पनि बटारिन सक्छन् । अहिले जे जति खेल भैरहेकाछन् ति सबै भूमिपुत्रहरुलाई सत्ता बाहिरै राखिराख्ने र आफ्नो एकछत्र राज कायम राखिराख्ने राजनीतिक स्वार्थ अनुरुप चालिदैंछ । राष्ट्रपतिलाई महादेव बनाएर श्रृष्टि बचाउने ढोंग त्यसैको दोश्रो कदम हो, जसमा एउटै रुपरंगकाहरु  कैलाशकुटमा लहरै उभिएर प्रार्थना गरेको अभिनय गरिरहेकाछन् । इतिहासमा यि शासक जातिका पूर्खाले पनि यसै गर्थे, जबजब आदिवासी बलियो हुन्थे त्यतिबेला महादेव जस्ता आदिवासी युवालाई जँग्याएर स्वर्गको शासन बचाउथे आज तिनका अनुयायीहरुले त्यसैको अनुसरण गरेका मात्र हुन् ।

Last Updated on Wednesday, 30 May 2012 05:45

Hits: 1022

पासाङ शेर्पाद्वारा एमाले परित्याग

नेकपा एमाले आदिवासी जनजाति विरोधी पार्टी भएको भन्दै नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष पासाङ शेर्पाले एमाले छाडेका छन् । एमाले र कांग्रेसका कारण संविधानसभा विघटन भएको तीन दिनपछि शेर्पाले साधारण सदस्य समेत नरहने गरी एमाले छाडेका हुन । उनी एमालेको जातीय महासंघ नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रिय महासचिव तथा एमाले विदेश विभाग सदस्य समेत थिए ।

जेठ १७ गते लेखिएको राजिनामा पत्रमा एमाले मेची अन्चल सर्म्पर्क समन्वय कमिटीलाई सम्बोधन गरिएको छ । एमाले अध्यक्ष, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्ष, पार्टी विदेश विभाग प्रमुखलाई समेत सम्बोधन गरिएको छ ।

मन्त्रीपरिषदबाट मनोनीत गरिएका २६ जनाको कोटाबाट सभासद बनेका शेर्पाले त्यसअघि आदिवासी जनजातिको एक जाति एक प्रतिनिधित्वका लागि लिएको योगदानको निकै चर्चा भएको थियो ।
 



Last Updated on Wednesday, 30 May 2012 12:06

Hits: 1142

आखिर मध्यरातमा मारियो संविधानसभा


अन्ततस् संविधानसभाको हत्या गरिएकोछ । प्रधानमन्त्रीको १२ बजे मध्यरात्रीको सम्बोधनपछि जनताको भाग्य कोर्न बनाइएको संविधानसभालाई हत्या गरिएकोछ । हत्याका प्रमुख खलनायक बाबुराम भएकाछन् भने साक्षी सबै समूदायहरु बन्नु परेकोछ ।
संविधानसभाबाट संविधान जारी नगरेपछि ३ विकल्पमा छलफल चलाइएकोथियो । तर त्यसमध्ये नयाँ जनादेशमा जाने निर्णय सहित संविधानसभा विघटन गरिएकोछ ।
विहान ११ बजे बस्ने भनि सभासदहरुलाई संविधानसभा भवनमा बोलाइएपनि राती १२ बजेसम्म पनि बैठक बस्न कुनै खबर दिइएन । आखिर जनताको बलमा खडा भएको चार बर्ष लामो अभ्यास गरिएको संविधानसभालाई बेमौत मारिएकोछ । यसमा प्रमुख ३ दलले प्रमुख भूमिका निभाएकाछन् ।

Last Updated on Sunday, 27 May 2012 19:01

Hits: 1092

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६