A+ A A-

अब हामीले चुनावबाट राजनीतिक हत्कडी तोड्छौ : अध्यक्ष ठाकुर

सागर
काठमाडौं,बैषाक २० - मिति २०७४/०१/१९ गते  राजधानीमा राष्ट्रिय जनता पार्टी नेपालका “पार्टी एकीकरण बैठक" अध्यक्ष मण्डलका अध्यक्ष महन्त ठाकुरको सभापतित्वमा  सम्पन्न भयो ।

 उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राजपा नेपाल अध्यक्ष मण्डलका अध्यक्ष महन्त ठाकुरले अहिलेको प्रमुख समस्या संविधान संशोधनको कुरा भएको उल्लेख गर्दै संविधान कार्यान्वयनको नाममा चुनावको कुरा ल्याएर सरकारले थप समस्या थपेको आरोप लगाउनु भयो । बिगतमा मधेसी  मोर्चाले नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्रको गठवन्धन सरकारसंग गरेको ३ बुँदे समझदारीको सम्बोधन नभएको दुखेसो ब्यक्त गर्दै नागरिकता, भाषा, सिमांकन र राजनीतिक प्रतिनिधित्वको विषयलाई संविधान संशोधन मार्फत सम्बोधन हुनुपर्ने बिचार ब्यक्त गर्नुभयो । समान अवसर, अधिकार र सम्मानको लागि आफूहरुको संघर्ष भएको बताउँदै यी सबै कुरा यदि राज्यबाट स-सम्मान प्राप्त नभए आफूहरुले जस्तो सुकै कदम चाल्न सक्ने बाध्य हुने कुरा ब्यक्त गर्नुभयो । पटक-पटक वार्ता र सम्वादबाट समस्याको समाधान आफूहरुले चाहेको भएपनि नश्लवादी सरकारले धक्का लगाउँदै किनारामा पुर्‍याएको आरोप लगाउँदै भन्नुभयो-  "हामी संग नलडेर बस्नुको बिकल्प छ ?, अब हामीले राजनीतिक हत्कडी तोड्नु पर्छ ।”

  अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले विगतमा  आफूहरु आपसमै लडिरहेको कारणले नश्लिय चिन्तन बोकेका सत्ताले फाइदा लुटेको बताउँदै अब सारा मधेसका जनता एउटै छातामुनि आइसकेकोले  सरकारलाई घुँडा टेकाई छाड्ने उद्धोष गर्नुभयो । यतिखेर आफूहरुलाई चुनावको  चुनौती मात्र नभई सिमांकन, नागरिकता, राष्ट्रिय सभा लगायतका  बिषयको टुंगो लागि नसकेको औल्याउँदै यी सबै विषय संविधान संशोधन पश्चातबाट मात्र हुने भएकोले संविधान संशोधनको मुद्दा प्रमुख रहेको बिचार ब्यक्त   गर्नुभयो । चुनाव गर्नुपूर्ब सरकारले थरुहट र मधेस आन्दोलनको क्रममा झुट्टा मुद्दा लगाई जेल चलान गरिएका लक्ष्मण थारु लगाएतका सबै राजनीतिक योद्धाहरुलाई रिहा गर्नुपर्ने अन्यथा चुनाव हुन नसक्ने धारणा ब्यक्त गर्नुभयो ।

  अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले राजपा भोलीका दिनमा मुद्दाको आधारमा अघि बढ्ने बताउँदै संघीयता र समानुपातिक समावेशिता नै नेपाललाई समृद्धि र सम्पूर्ण नेपालीलाई अधिकार सम्पन्न गराउने अचुक औषधि भएको कुरा ब्यक्त गर्नुभयो । राजपाले तराईका २२ जिल्लामा रहेका आदिवासी जनजाति, थारु, मुस्लिम, दलित सबैको सह अस्तित्वलाई स्विकार्नु पर्ने धारणा ब्यक्त गर्नुभयो । वहाँले सरकारले ल्याएको अपुरो संविधान संशोधनको प्रस्तावलाई सहमतिको आधारमा सँच्याएर दर्ता गराएको स्मरण गराउँदै  दरवारिया शक्तिले पारित हुन नदिई सडयन्त्र गरेको आरोप लगाउनु भयो । वहाँले संविधान संशोधन गर्न सहयोग गर्नेहरु मित्र भएको र  असहयोग गर्नेहरु शत्रु रहेको  बताउँदै उनीहरुको पहिचान गर्नुपर्ने कुरा ब्यक्त गर्नुभयो । वहाँले मुलुकमा बैकल्पिक राजनीतिक शक्तिको खाँचो भएको बताउँदै राजपालाई बैकल्पिक शक्तिको रुपमा अघि बढाउने बाचा ब्यक्त गर्नुभयो ।

अध्यक्ष मण्डलका सदस्य महेन्द्रप्रसाद यादबले एकिकरणको मुख्य श्रोत भनेको मधेसी सहिद र मधेसी जनता भएको उल्लेख गर्दै राजपालाई संगठित र सुदृढ गर्दै अगाडि लान अपिल गर्दै पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यासको साथै समानुपातिक समावेशीको सिध्दान्तलाई अवलम्बन गर्नुपर्ने धारणा राख्नुभयो । मधेसमा बसेका सबै जातजाति, भाषाभाषी, आदिवासी जनजाति, थारु, मुस्लिम, दलित विशेष गरि तराईमा रहेका पहाडिया समुदायलाई जातिय जनसंख्याको आधारमा पार्टीमा समेट्न र प्रतिनिधित्व गर्नुपर्ने सुझाब ब्यक्त गर्नुभयो । एकल राष्ट्रबादले नभई बहुलराष्ट्रबादले मात्र मुलुक चल्ने भएकोले बहुल राष्ट्रबादलाई अंगाल्नु पर्ने धारणा थप्नु भयो । वहाँले यो मुलुकमा सदियौ देखि एकल जातिय सत्ता भएको बताउँदै भविष्यमा जातिय युध्द हुन सक्ने चेतावनी  दिनुभयो । सरकार अन्यौल अवस्थामा रहेको र विधान संशोधन प्रस्ताव पारित गर्न नसकेको बताउँदै राजपा चुनावमा नजाने बिचार ब्यक्त गर्नुभयो ।

अध्यक्ष मण्डलका सदस्य अनिल झाले मधेसी जनताको सम्मान र स्वाभिमानको लागि एकीकरण भएको उल्लेख गर्दै मुलुकको समृद्धिका लागि मधेसी जनताको साथै बिभेदमा पारिएको समुदायहरुको भावनालाई एकाकार गर्दै जानू पर्ने आवश्यक्ता औल्याउनु भयो । मधेसी जनताको अधिकार प्राप्तिको लडाइँमा अब कुनै मोर्चा र गठवन्धनको आवश्यकता नरहेको स्पष्ट  गर्नुभयो । वहाँले कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई संविधान संशोधन प्रस्ताव पारित बिना चुनावमा जाने वा नजाने? यस विषयमा सोचेर सुझाव दिन आग्रह गर्नुभयो ।

अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादबले शहिदको सपना पूरा गर्न र जनताको इच्छा आकांक्षालाई सम्मान गर्न आफूहरुले  पार्टी एकीकरण गरेको उल्लेख गर्दै के पार्टी एकता पछि नेपालको नश्लिय सत्तालाई हामी परास्त गर्न    सक्छौ ? यतिखेर प्रश्न खडा भएको छ भन्दै भन्नुभयो - “हामीले हाम्रो शक्तिलाई चट्टान जस्तो बनाउनु पर्छ ताकि बिभेदकारी नश्लिय सत्ताले फोड्न नसकोस” । वहाँले यो एकीकरण चुनावका लागि नभई अधिकार प्राप्तिका लागि भएको कुरा पनि थप्नुभयो ।

उक्त बैठकमा एकीकरण भएका ६ वटै पार्टीका शीर्षस्थ नेताहरु, पदाधिकारीहरु, केन्द्रीय समितिका सदस्यहरू, बहालवाला माननीय सांसदहरू, सल्लाहकार समितिका सदस्यहरु लगायतका नेताहरूको सहभागीता रहेको थियो ।

अत: यो बैठक पार्टी एकीकरण पश्चात् पहिलो पटक बसिएको   हो । स्मरण रहोस, आज भन्दा १२ दिन पहिले ६ वटा पार्टी क्रमश: तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी , तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी नेपाल र मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) को पार्टी एकिकरण भएको थियो ।

आज बसेको पार्टी एकीकरण बैठकले  गरेका ३ बुँदे निर्णयहरु :

१. ६ वटै पार्टीव्दारा ७ गते गरिएको सम्झौता र हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख भएका बिषयको अनुमोदनको साथै स्वामित्व ग्रहण गर्ने निर्णय गर्यो ।
२. निर्वाचन आयोगमा दल दर्ता देखि सरोकार राख्नु पर्ने सबै कानुनी प्रक्रिया ब्यवस्थापनको जिम्मा अध्यक्ष मण्डललाई दिइने निर्णय  सहित,
३. ६ वटै पार्टीको चल अचल सम्पति राजपा नेपालको अधिनमा रहने निर्णय गरिएको राजपा नेपालको बैठकले पारित गरेको छ ।

Last Updated on Wednesday, 03 May 2017 04:37

Hits: 644

एकात्मक शासन बिरुद्ध जनमुक्ति पार्टी : एमएस थापा

संजय सिंजाली मगर

काठमाण्डौं, फागुन २३ – राष्ट्रिय जनमुक्ति पार्टीको प्रथम अन्तराष्ट्रिय सम्मेलन काठमाण्डौंमा सुरु भएको छ ।

२३ देखि २५ तिन दिन सम्म चल्ने सम्मेलनको उद्घाटन पार्टीका संस्थापक अध्यक्ष एमएस थापा मगरले गरेका थिए । उद्घाटन मन्तव्यमा थापाले संबिधान मान्य छैन, एकात्मक शासन भैरहेको छ, हिजो पनि यहि अवस्थामा रहेका थियो र आज पनि पुरानै स्थितीमा रहेको बताए । सम्मेलन लाई पार्टीका महासचिव केशव सूर्यबंशीले शुभकामना दिदैं एकात्मक बादिले एकल जाहनिय शासन चलाईरहेको छ, परिवर्तनको आवश्यक छ  भने ।

राष्ट्रिय जनमुक्ति पार्टी बिदेश शाखा मञ्चको रुपमा खडा गरिएका राष्ट्रिय जनमुक्ति मञ्च बेलायत, हंगकंग, ईजरायल, साउदीअरब, कतार, मलेसिया, कोरिया लगायतका राष्ट्र बाट आएका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिएका थिए । शुभकामना दिनेहरुमा जनमुक्ति मञ्च मलेसियाका अध्यक्ष पदम राना, ईजरायलका बसन्त रास्कोटी मगर, साउदीअरब बाट हुम सुनारी, यूरोप ईन्चार्ज यूकेका थर्क राना लगायतले शुभकामना दिएका थिए ।

 पार्टीका उपाध्यक्ष तथा प्रवास बिभाग ईन्चार्ज कमला थापा मगरले स्वागत मन्तव्य राखेका थिए । पार्टीको बिभिन्न मोर्चाको तर्फबाट ममता बुढाथोकी र सह-अध्यक्ष बुद्ध श्री लामाले पनि शुभकामना दिएका थिए ।

संघीय परिषद सदस्य होम लाल पूनको रचनामा पार्टीको गितको लोकापर्ण प्रमुख अतिथिले गरेका थिए । कार्यक्रममा तामाङ समुदायको लोकप्रिय नृत्य तामाङ सेलो र नेवार समुदायको नृत्य पनि प्रस्तुत थिए ।

पार्टीका बरिष्ठ उपाध्यक्ष यम बहादुर बुढाथापाको सभापतित्व भएको कार्यक्रममा पार्टी अध्यक्ष के.पी पालुङ्गले राखेका थिए ।
प्रथम अन्त्तराष्ट्रिय सम्मेलन ३ दिन सम्म चल्ने र काठमाण्डौं घोषण पत्र जारी गर्दै फागुन २५ गते कार्यक्रम समापन हुनेछ ।


फोटो: संजय सिंजाली मगर
 

फोटो हेर्न यस लिङ्क थिच्नुहोस् ।

राष्ट्रिय जनमुक्ती पार्टीको प्रथम अन्तराष्ट्रिय सम्मेलन(केही फोटो

 

Last Updated on Tuesday, 07 March 2017 07:11

Hits: 737

संविधान संशोधन होइन पुनः लखन गर्नु पर्छः राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सूर्यवंशी !

गोविन्द घर्ती

 देवदह, पौष २५ - संविधान संशोधन होइन पुनः लखन गर्नु पर्ने राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सूर्यवंशीले बताउनु भएको छ ।

उहाले अहिलेको संविधानले आम नेपाली नागरिकको अधिकार सुनिश्चित गर्न नसकेको भन्दै पुनः लेखन गर्नुपर्नेमा जोड दिनु भयो । राष्ट्रिय युवा मोर्चा रुपन्देहीले तिलोत्तमाको शंकरनगरमा आयोजित भेटघाट तथा जलपान कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । महासचिव सूर्यवंशीले राष्ट्रिय समस्या समाधान गर्न बृहत्त राष्ट्रिय सहमति आवश्यक रहेकोमा जोड दिदै राष्ट्रिय सहमतिको लागि ठूला राजनैतिक दलहरुले पहल गर्नु पर्ने बताउनु भयो ।

अहिलेको सरकारले स्थानीय निकायको निर्वाचनको कुरा भएपनि निर्वाचनका विधेयकहरु अहिले सम्म स्पष्ट रुपमा नआएको बताउनु भयो । उहाले पार्टी अहिले संगठन विस्तारलाई वित्रता दिईरहेको बताउदै आगामी दिनमा पार्टीलाई गतिशिल बनाउन विश्व जनमुक्ति सम्मेलनको तयारीमा रहेको बताउनु भयो । उहाले राज्यले युवाहरुलाई स्वरोगार बनाउन नसक्दा विदेशिन युवाहरु वाध्य भएको बताउनु भयो ।

युवा मोर्चाका जिल्ला अध्यक्ष हेमन्त बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका संघीय परिषद सदस्य हरिदेव थापा, लुम्विनी राज्य परिषदका कार्यवहाक अध्यक्ष धनी आले, पार्टीका जिल्ला अध्यक्ष झमबहादुर गुरुङ्ग, राष्ट्रिय महिला मोर्चा रुपन्देहीका अध्यक्ष बिमला गुरुङ्ग लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा युवा मोर्चाले संचालन गरेको देउसी भैलो कार्यक्रममा सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो ।

मोर्चाका उपाध्यक्ष दुर्गा राजकोटीको स्वागत र सचिव पहल सिंह रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

Last Updated on Monday, 09 January 2017 17:14

Hits: 727

प्रथम शहीद लखन थापा मगरको १४० औं लखन स्मृति दिवस काठमाडौंमा मनाइयो

सरकारलाई ७ बुँदे माग सहित ज्ञापन पत्र पेश

दिल प्रसाद पूर्वछाने मगर

 काठमाडौं, फागुन ३ -  प्रथम शहीद लखन थापा मगरको १४० औं स्मृति दिवस २०७३ फागुन २ गते भव्यताका साथ काठमाडौंमा मनाइयो ।
No automatic alt text available.

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री मा. इन्द्रबहादुर बानियाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको विशिष्ट अतिथि नेपाली कांग्रेसका प्रमुख सचेतक मा. चिनकाजी श्रेष्ठ तथा विशेष अतिथिहरू सांसदहरू अमरसिंह पुन, लिला राना र तुलसा राना तथा विभिन्न संघसंस्थाका प्रतिनिधि एवं बुद्धिजिवीहरू अतिथि रहनु भएको थियो । स्मृति दिवसको सन्दर्भमा प्रमुख अतिथि, विशिष्ट अथिति, विशेष अतिथि एवं अतिथिहरू गरी जम्मा १२ जनाले विभिन्न संघसंस्था, राजनैतिक दलहरूको तर्फबाट प्रतिनिधित्व गर्दै आफ्ना मन्तव्य राख्नुभएको थियो ।
 
मन्तव्यको क्रममा प्रायः सबै वक्ताहरूले प्रथम शहीद लखन थापा मगरको योगदानको खुलेर प्रसंशा गर्नुका साथै उनको बलिदानीले नेपालमा आजको दिन (लोकतन्त्र) आएको कुरामा मैतेक्यता व्यक्त गर्नु भएको थियो । प्रमुख अतिथि राज्यमन्त्री बानियाले प्रजातन्त्र हुदै लोकतन्त्र आएपछि लोकतान्त्रिक सरकारले लखन थापा मगरलाई प्रथम शहीद घोषणा गरेको तर सरकारले अझै पनि उनको योगदानको कदर गर्दै राज्यको दायित्व पूरा गर्न धेरै बाँकी रहेको बताउनु भयो । साथै उहाँले नेपालमा सयौं शहीदहरू घोषणा गरेको र वास्तविक शहीदको अपमान भएकोले प्रथम शहीद र चार शहीदलाई भिन्न एवं विशिष्टकोटीमा राखी राज्यले त्यसै अनुसारको व्यवहार गर्नु पर्ने आवश्यकता रहेको औल्याउनु भयो । अन्त्यमा, उहाँले कार्यक्रममा सरकारलाई पेश गरिएको ज्ञापन पत्रमा उल्लेखित मागमा विषयमा आफूले मन्त्रीपरिषदमा पुर्याउने र आफ्नो कार्यकालमा लखन प्रतिष्ठान र सरोकारवाला संस्थाहरूले राखेका मागको विषयमा आफूले सदै सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । स्मरण रहोस्, कार्यक्रममा लखन प्रतिष्ठानले ७ बुँदे माग सहितको एक ज्ञापन पत्र प्रमुख अतिथि मन्त्री बानिया मार्फत नेपाल सरकार (मन्त्रीपरिषद)लाई पेश गरेको थियो ।

धेरै वक्ताहरूले लखन थापा मगरलाई प्रथम शहीद घोषणा र उनको हुलाकटिकट प्रकाशन गरेर मात्र सरकारको दायित्व पूरा नहुने र अझै धेरै काम गर्नु पर्नेमा जोड दिनुभएको थियो । राष्ट्रिय शहीद एवं शान्ति पार्क, गोकर्णका अध्यक्ष सुदर्शन सिग्देलले गोकर्ण पार्कमा प्रथम शहीदको शालिक स्थापना गर्ने संबन्धमा आफूले प्रयास गरिरहेको र शहीदहरू संबन्धी हर्ने आयोग वा यस्तै कुनै उच्चस्तरिय निकायको स्थापना गर्नु पर्ने र सोको लागि सरकारले छुट्टै ऐन ल्याई संसदबाट पारित गरी लागू गर्नु पर्ने र त्यसको लागि शहीद संबन्धी संरोकारवाला संस्थाहरूसंग सरकारले समन्वय गर्नु पर्ने बताउनु भयो । त्यस्तै ने.का. संसदिय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ, सांसदहरू अमरसिंह पुन (ने.का.), लिला राना (ने.क.पा.ए.मा.ले.) र तुलसा राना (ने.क.पा. माओवादी केन्द्र)ले प्रथम शहीदको विषयमा पहिलेदेखि लखन प्रतिष्ठानलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि राज्यका तर्फबाट के गराउन आवश्यक छ त्यसका लागि सरकार, सदन र आ–आफ्नो दलमा भूमिका खेल्ने प्रतिबद्धता जाहेर गर्नु भयो । कार्यक्रममा इतिहासविद एवं प्राज्ञ प्रा. दिनेशराज पन्त, राष्ट्रिय विभूति अमरसिंह थापा स्मृति प्रतिष्ठानका अध्यक्ष उप–प्रा. बाबुरामसिंह थापा, लखन थापा प्रतिष्ठानका सल्लाहकार एवं नेपाल मगर संघका पूर्व अध्यक्ष क्या. यमबहादु्र बुढाथोकी, नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगर र नेपाल मगर विद्यार्थी संघका केन्द्रिय अध्यक्ष कमल थापामगरले पनि मन्तव्य राख्नु भएको थियो ।

यस स्मृति दिवशको सन्दर्भमा लखन प्रतिष्ठानका एक दर्जन नयाँ आजीवन सदस्यलाई सम्मान सहित आजीवन सदस्यताको प्रमाण पत्र प्रदान गरिएको थियो भने कार्यक्रममा मगर संघ, बेलायतले गोरखा बुंकोट स्थित भूकम्पले क्षतिग्रसत लखन थापा प्रा.वि.लाई स्थानान्तरण गरी नयाँ भवन बनाउन सवा ४ रोपनी जग्गा किन्न आर्थिक सहयोग गरिदिएकोमा सम्मान पत्र प्रदान गरिएको थियो । यूके मगर संघका सलहाकार हुम बहादुर थापा मगर सम्मान पत्र लिन गई दिनु भएको थियो । साथै, प्रमुख अतिथिलाई प्रथम शहीदको तस्विर उपहार दिइएको थियो । औपचारिक कार्यक्रम शुरुहुनु पहिले लखन प्रतिष्ठानको आगामी कार्यदिशा विषयमा प्रतिष्ठानको मस्यौदा खाका प्रस्तुत गरी छलफल गरिएको र सहभागी बुद्धिजिवीहरूबाट सल्लाहसुझाव लिइएको थियो ।

साथै नेपाल प्रज्ञा प्रतिष्ठानबाट निकट भविश्यमा प्रकाशन हुन लागेको बृहत नेपाली शब्दकोशको संशोधित संस्करणमा विगतको संस्करणमा भएको लखन थापा मगरको विवरण संशोधन गर्न नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिलाई ध्यानकर्षण पत्र समेत फागुन २ गते लखन प्रतिष्ठानले बुझाएको छ । स्मृति दिवसको कार्यक्रममा बुझाउने तयारी भएता पनि कुलपतिको अनुपस्थिथिको कारण पछिल्लो दिन बुझाइएको हो ।
 
(लेखक : प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठानका महासचिव हुन )


फोटो: संजय सिंजाल मगर

 

फोटो हेर्न यस लिङ्क थिच्नुहोस् ।

 

प्रथम शहिदको प्रतिष्ठानले १४०औं लखन स्मृति दिवस मनायो !

 

Last Updated on Wednesday, 15 February 2017 16:19

Hits: 636

हाम्रो लडाई सिंहदरबारसंग हो : रोका मगर !

प्रेमबहादुर राम्जा

 

 Image may contain: 4 people, people sitting and outdoor

घोराही, पुस १६ - नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नबीन रोका मगरले मगरको संघको आन्दोलन कुनै जातीसंग नभएको बताउनुभएको छ । मगर संघ दाङलगायतका मगर मोर्चाहरुले संविधान संशोधनको पक्षमा गरेको स्वागत सभालाई सम्बोधन गर्दै अध्यक्ष रोकाले राज्यका कारण मगरलगायतका अन्य समुदायहरु पिछडियको भन्दै आन्दोलनले सिंहदरबारसंग हिसाव मागीरहेको बताउनुभयो ।
 
दाङमा क्रियासिल नेपाल मगर संघ,मगरात संघर्ष समिति र सयुक्त मगर मञ्चले आज घोराहीमा गरेको स्वागत कार्यक्रममा प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै अध्यक्ष रोकाले मगरको आन्दोलन जातसंग जोड्नु विडम्बना भएको बताउनुभयो । मगर राज्यको माग नगरेको बताउँदै रोका मगरले पहिचान र सामथ्र्य सहित संघीयताको पक्षमा रहेको बताउनुभयो ।
 
त्यस अवसरमा मगर संघका बरिष्ठ उपाध्यक्ष रुद्रप्रसाद घर्ती मगर, सल्लाहकार बसन्त घर्ती मगर, उपाध्यक्ष निमबहादुर बुढाथोकी मगर, पुर्व केन्द्रीय सदस्य हितबहादुर थापा मगर,मगर मोर्चाकी केन्द्रीय उपाध्यक्ष भिमकुमारी वाठा मगरलगायतकाले बोल्नुभएको थियो ।
 
घोराहीको ट्राफिकबाट सुरु भएको स्वागत र्याली बजारका विभिन्न भाग परिक्रमा गरी तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । मगर संघकी जिल्ला उपाध्यक्ष दिलकुमारी बुढा मगरको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव डिल्ली घर्तीले गर्नुभएको थियो ।

 

Last Updated on Saturday, 31 December 2016 14:45

Hits: 1087

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर