A+ A A-

राजनीतिक संकट समाधानमा राष्ट्रपतिको सक्रियता बढ्यो

संविधान भन्दा बाहिर आफू नजाने बताउँदै आएका राष्ट्रपति डा. रामवरण यादवले राजनीतिक संकट समाधानका लागि सक्रियता देखाउँन थालेका छन् ।  प्रमुख राजनीतिक दलहरु बसेर आपसी समझादारीमा राजनीतिक गतिरोध अन्त्य गर्न बहस र छलफल समेत नगरिरहेको अवस्थामा राष्ट्रपति डा. रामवरण यादवले सत्ता पक्ष र प्रतिपक्ष सबै राजनीतिक दलहरुलाई आफ्नै निवासमा बोलाएर राजनीतिक निकासको लागि पहल सुरु गरेका हुन् । आइतवार राष्ट्रपति डा. यादवले पाँच घण्टासम्म राजनीतिक दलहरुसंग छलफल गरेर विताए । संविधानसभाको अवसान भएको दुई महिना वितिसक्दा पनि राजनीतिक सहमति नजुटे पछि राष्ट्रपति डा. यादवले विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक शक्तिलाई बोलाएर राजनीतिक सहसहमति जुटाउँन आग्रह गरेका हुन् । संविधानको रक्षक भएकाले राजनीतिक संकट गहिरिदै जाँदा आफू टुलुटुलु हेरेर नवस्ने राष्ट्रपतिले बताएको राजनीतिक भेटघाट पछि एमालेका नेता माधबकुमार नेपालले बताए । राष्ट्रपतिले सहमतिको आग्रह गरिरहे पनि दलहरुका नेताहरु आफ्नै अडान दोहोर्याएकाले राजनीतिक सहमति धेरै टाढाको विषय बन्दै जान थालेको छ । गतिरोध अन्त्यका लागि सुरुवात भए पनि थप परार्मश आवश्यक पर्ने माओवादी अध्यक्ष प्रचण्डले बताए । राष्ट्रपति डा. यादवले दिवा भोज सहित आयोजना गरेको पाँच घण्टा लामो राजनीतिक छलफलले भने कुनै ठोस निष्कर्ष निकाल्न सकेन । राष्ट्रिय सहमतिको रटान रट्दै गरे पनि राजनीतिक दलहरु त्यो सहमति कहिले र कसरी गर्न सकिन्छ भन्नेमा आफै अन्यौलमा छन् । प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामालाई मुख्य सर्त बनाएका राजनीतिक दलहरु सहमतिमा अन्य कुरा कसरी टुंग्याउँने भन्ने स्पष्ट मार्ग चित्र कसैमा देखिन्न । कांग्रेसले सहमतिको सरकारको नेतृत्व गर्न पाउनु पर्ने अडान लिइरहे पनि प्रधानमन्त्रीमा को छनौट गर्ने त्यही कुरा कांग्रेस पार्टीमा अझै टुंगो लागिसकेको छैन । राजनीतिक दलहरु संकट कसरी समाधान गर्ने भन्ने साझा मुद्धामा सहमति जुटाउँनु ठूलै चट्टान फोर्नु झै कठिन बनेको छ । मुलुकमा संवैधानिक र राजनीतिक संकट बढ्दै जाँदा राजनीतिक भविष्य झन् अध्यारो सुरुङ तिर धकेलिने पो हो कि भन्ने चिन्ता आमजनतामा बढेर गएको छ ।

(राज्यसत्ता नेपाल व्युरो)  

 

 

Error: No articles to display