A+ A A-

एमालेका जनजाति नेताको जिम्मेवारी खोसेर वाहुन क्षेत्रीलाई

आदिवासी जनजाति, दलित र मधेशी समुदायका लागि अधिकार मागेको भन्दै एमालेले जनजाति नेताहरुको जिम्मेवारी खोसेको छ । साउन ३ गते एमाले मुख्यालय मदननगर बल्खुमा बसेको स्थायी समिति बैठकले पार्टी उपाध्यक्ष अशोक राईलगायतले सम्हाल्दै आएको जिम्मेवारी खोसेको हो । बैठकमा एकमात्र गैर-वाहुन सदस्य अशोक राई भने उपस्थित थिएनन् ।
 
पार्टी उपाध्यक्ष अशोक राईलाई मोर्चा-संगठनको संयोजकबाट हटाएर सचिव शंकर पोखरेल ल्याएको छ । जातीय पहिचान सहितको संघीयताको पक्षमा उभिएको भन्दै पृथ्बी सुब्बा गुरुङलाई लोकतान्त्रिक आदिवासी जनजाति महासंघको संयोजकबाट हटाएर रघुबीर महासेठ ल्याइएको छ । मधेशी समुदायका महासेठलाई जवरजस्ती आदिवासी जनजातिको नेता बनाइएको छ ।
 
पोलिटब्यूरो सदस्य विजय सुब्बालाई हटाएर सांस्कृतिक मञ्चमा संघीयता विरोधी प्रदीप नेपाललाई ल्याइएको छ । संघीयता विरोधी भएकै कारणले शिक्षा मन्त्री भएको बेलामा चुनाव लड्दा पनि प्रदीप नेपाल काठमाडौं १ बाट हारेका थिए । समावेशी विभागको नेतृत्व किरण गुरुङबाट खोसेर उर्मिला अर्याललाई दिइएको छ । रकम चेम्जोङलाई पदच्यूत गरेर बुद्धिजिवि विभागमा गोकर्ण विष्टलाई नेता बनाइएको छ ।

एमालेले जनजाति विभागमा मधेशी समुदायका महासेठलाई दिएको वाहेक बाँकी सबै जनजातिको पद खोसेर क्षेत्री र वाहुनले भाग लगाएका छन् । जनजाति र मधेशी नेताहरुसँग असार २१ गते एमाले अनुशासन आयोगले लिखित बयान मागेको थियो । समुदायगत अधिकार मागेको निहुँमा जनजाति र मधेशी नेताहरुलाई कारवाही गरेपनि यसअघि पदका लागि लविङ गर्दा पनि वामदेव गौतमलगायत कसैलाई पनि कारवाही गरेको थिएन । आदिवासी जनजाति र मधेशी नेताहरुले संविधानसभा पुनर्स्थापना गरेर संविधान बनाउनु पर्ने माग गरेपछि स्थायी समिति बैठकले कुनै पुनर्स्थापना नगर्ने निर्णय गरेको छ ।
 
तिलिसरा राना, काठमाडौं

Error: No articles to display