A+ A A-

खैरेनीटारमा मगर भाषा तथा संस्कृतिसम्बन्धी पाँच दिने प्रशिक्षण सुरु

रूद्र श्रीसमगर

खैरेनीटार, २६ चैत

खैरेनीटार मगर समाज, शुक्लागण्डकी नगरपालिका–६, खैरेनीटार, तनहुँको आयोजनामा पाँच दिने मगर भाषा, लिपि तथा संस्कृतिसम्बन्धी प्रशिक्षण सुरु भएको छ ।

शुक्लागण्डकी नगरपालिका–६, वडा कार्यालयको सहयोगमा सोमबारदेखि सुरु भएको प्रशिक्षणमा मगर भाषा प्रतिष्ठान, कास्की शाखाका सचिव रूद्रबहादुर श्रीसमगरले प्रशिक्षण दिइरहनुभएको छ । प्रशिक्षणको वडाध्यक्ष कृष्णबहादुर पौडेलले उद्घाटन गर्नुभयो ।

सो अवसरमा बोल्दै वडाध्यक्ष पौडेलले राज्यले खर्च गर्ने बजेटको प्रभावकारिता जाँच्नुपर्ने बेला आएको बताउनुभयो । तालिमका तालिम भन्दा पनि तालिमको उपयोगितामा जोड दिनुपर्ने बताउँदै पौडेलले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै, नेपाल आदिवासी जनजाति महासंघका क्षेत्रीय अध्यक्ष इन्द्रबहादुर थापामगरले आदिवासी जनजातिका भाषा, संस्कृति बिस्तारै लोप हुने क्रममा रहेको भन्दै संरक्षणका लागि राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

शुक्लागण्डकी नगर कार्यपालिका सदस्य खिमबहादुर कुमालले आदिवासी जनजातिका भाषा, संस्कृति र भेषभूषाको संरक्षणका लागि नगरपालिकामार्फत् बजेट विनियोजन गरिएको जानकारी दिँदै प्रशिक्षणमा सिकेका कुरालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । नेपाल मगर संघ शुक्लागण्डकी नगर समितिका अध्यक्ष खड्कबहादुर थापामगरले पछिल्लो पुस्तामा मगर भाषा, संस्कृतिप्रति चासो हराउनु चिन्ताको विषय भएको बताउनुभयो ।

कार्यक्रममा खैरेनीटार मगर समाजका पूर्व अध्यक्ष नेत्रबहादुर थापामगर, बेसारडाँडा टोल विकास संस्थाका अध्यक्ष केशर पौडेल, बेलडाँडा टोल विकास संस्थाकी अध्यक्ष बेलकुमारी कुमाललगायतले आदिवासी जनजातिका भाषा, संस्कृति राज्यको अमूल्य सम्पत्ति भएको बताउँदै जगेर्ना गर्नु सबैको दायित्व भएको बताउनुभएको थियो ।

खैरेनीटार मगर समाजका अध्यक्ष बलवीर थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन खुमाया थापामगर ‘सीता’ र जयबहादुर थापामगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रशिक्षण यही चैत ३० गतेसम्म चल्नेछ ।

हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी