A+ A A-

मादी गाउँपालिकाको थाकमा सञ्चालित मगर भाषा कक्षाको समापन

रूद्र श्रीसमगर
पोखरा, ५ फागुन
नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद्, मादी गाउँपालिका–६, थाक, कास्कीको आयोजनामा थाकस्थित भूमे आधारभूत विद्यालयमा सञ्चालित २१ दिने मगर भाषा साक्षरता कक्षाको समापन गरिएको छ ।
शनिबार भएको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले कुनै पनि भाषा जाति विशेषको पहिचान भएको बताउनुभयो । ‘मगर भाषा हामी मगरको पहिचान हो’, रानामगरले भन्नुभयो, ‘हाम्रो मातृभाषा हामीले नै बिर्सिँदै गइरहेका छौं, यो दुर्भाग्यको कुरा हो ।’


अब हरेक मगर बस्तीमा मगर भाषा साक्षरता कक्षा चलाउनुपर्ने आवश्यकता रहेको भन्दै उहाँले मगर भाषा बचाउन पूरानो पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरणको आवश्यकता औंल्याउनुभयो । ‘पूरानो पुस्ताले नयाँ पुस्तामा भाषा र संस्कृति दुवै हस्तान्तरण गर्न आवश्यक छ’, रानामगरले भन्नुभयो, ‘यसो गर्न नसके हाम्रो पहिचान समाप्त भएर जान्छ, हामी पहिचानविहीन बन्छौं ।’ थाकमा संख्यात्मक हिसाबले थोरै मगर समुदायको बसोबास भएपनि आफ्नो भाषा र संस्कृतिप्रति चासो देखाएकोमा प्रशंसा गर्दै अध्यक्ष रानामगरले आगामी दिनमा मगर संघले गर्नुपर्ने सहयोगका लागि तयार रहेको प्रतिबद्धता पनि जनाउनुभयो ।
कार्यक्रमका विशेष अतिथि एवं मगर भाषा प्रतिष्ठान, कास्कीका सचिव रूद्रबहादुर श्रीसमगरले मगर भाषा लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै मगर भाषा बचाउने एकमात्र उपाय नबोलिने मगर बस्तीहरूमा मगर भाषा साक्षरता कक्षा अभियान नै सञ्चालन गर्नुपर्ने बताउनुभयो । मादी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष लालबहादुर गुरुङले राज्यले हरेक वर्ग र समुदायलाई लक्षित गरेर विशेष बजेटको व्यवस्था गरेको जनाउँदै भाषा र संस्कृति बचाउनु राज्यको पनि दायित्व भएको उल्लेख गर्नुभयो ।
सो मगर भाषा साक्षरता कक्षाका मुख्य प्रशिक्षक विवेक थापामगरले भाषा कक्षामा सिकेका कुराहरूलाई निरन्तर अभ्यास गर्न सुझाव दिँदै व्यवहारमा उतार्न सके मात्र भाषा बोल्न सक्षम भइने बताउनुभयो । मादी गाउँपालिका वडा नं. ६ का वडा सचिव सूर्यबहादुर पाण्डेले आदिवासी जनजातिका नाममा रहेको लक्षित वर्गको बजेटमार्फत् भाषा कक्षा सञ्चालनका लागि बजेटको व्यवस्था गरिएको जनाउँदै कार्यक्रम सफल भएकोमा धन्यवाद दिनुभयो ।


सो अवसरमा प्रशिक्षार्थीहरूका तर्फबाट हुमकुमारी थापामगर, विष्णु थापामगर, भाषा परीक्षामा प्रथम हुन सफल राजकुमारी थापामगर, द्वितीय हुन सफल उमेश थापामगर र तृतीय हुन सफल सिजन थापामगरलगायतले भाषा कक्षा निकै प्रभावकारी रहेको उल्लेख गर्नुभएको थियो । प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।


नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद्, मादी गाउँपालिका–६ र ७ का अध्यक्ष भीमबहादुर थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सन्तोष थापामगर र भूमे आधारभूत विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर थापामगरले स्वागत गर्नुभएको थियो । मगर भाषा साक्षरता कक्षा सञ्चालनका लागि साबिकको सिल्दुजुरे गाविस तथा मादी गाउँपालिकाले सहयोग गरेको थियो ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर